१६-३० मंसिर २०६९ | 1-15 December 2012

२२ देशका ६२ फिल्म

Share:
  
p59a
 
किम्फमा प्रिमियर हुने लेस्बियनको कथामा आधारित सुनगाभा फिल्ममा
नायिका निशा अधिकारी र दिया मास्के।

हिमाल एशोसिएसनको आयोजनामा वर्षेनि हुँदै आएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) यसपालि २२–२६ मंसीरमा हुँदैछ। काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने किम्फको नवौं संस्करणमा २२ देशका पर्वतीय संस्कृति, पर्वतारोहण, द्वन्द्व, बसाइँसराइ, विश्वव्यापीकरण, जैविक विविधता, मानवअधिकार, पर्यावरण, लैङ्गिकता जस्ता विषयका ५२ वटा डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन फिल्म प्रदर्शन गरिने छ। यीमध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १७, विना प्रतिस्पर्धी समूहमा २१ र नेपाल प्यानोरमामा ६ फिल्म सहभागी हुनेछन्। महोत्सवमा विभिन्न संघ–संस्थाका प्रकाशन तथा उत्पादनहरूको प्रदर्शनी पनि हुनेेछ।  
किम्फमा उत्तरी युरोपको सबैभन्दा ठूलो ताम्पेरे फिल्म फेस्टिभल फिनल्यान्डका ६ वटा छोटा फिल्म पनि हेर्न पाइनेछ। ताम्पेरे फेस्टिभलका कार्यकारी निर्देशक तथा फिल्मकर्मी युहानी अलानेनले ती फिल्मको परिचयका साथै 'स्थानीय फिल्म कला प्रवर्द्धनमा फिल्म महोत्सवको भूमिका'बारे प्रवचन दिनेछन्। यो पटकको किम्फमा सन् १९५० को दशकको नेपाली सङ्गीत र नृत्यसम्बन्धी टोनी हागनद्वारा निर्मित 'कल्चरल भिन्यात्स अफ नेपाल'को विशेष प्रदर्शनी हुनेछ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) को अवसरमा मानवअधिकार उच्चायुक्त कार्यालयको फिल्म 'भ्वाइस फर जस्टिस' पनि देखाइनेछ।

यो महोत्सवमा बेलायती निर्देशक मुरे केरले फिल्मको पटकथा लेखन कार्यशाला, इसीएस मिडियाले नेपाली संस्कृतिका कलात्मक फोटो प्रदर्शनी, डेनमार्कका टोस्टेन भासले 'फिल्म वितरण तथा बजार प्रवर्द्धन' र पत्रकार कुन्द दीक्षितले 'हिमाल चिनौं' प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नेछन्। यो महोत्सवको निर्णायक मण्डलमा फिनल्यान्डका हलेना मेलोनेन, बेलायतका जोन इनरडेल र नेपालका सञ्जीव उप्रेती रहेको किम्फकी निर्देशक रम्यता लिम्बूले बताइन्। उत्कृष्ट तीन फिल्मले ट्रफीका साथ क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार पाउनेछन्। नेपाल पानोरमा अन्तर्गतको उत्कृष्ट फिल्मलाई चलचित्र विकास बोर्डले रु.२५ हजार पुरस्कार दिनेछ।

comments powered by Disqus

रमझम