१८-२४ माघ २०७१ | 1-7 Febuary 2015

'अनकमन' आर के लक्ष्मण

Share:
  
आफ्नो व्यावसायिक जीवनमा लक्ष्मणले धेरैलाई घोचपेच गरे, धेरैलाई व्यङ्ग्यबाणको शिकार बनाए, तर त्यहाँ छुद्रताको अंश हुन्थेन, हुन्थ्यो त शालीनता।

कुनै पत्रिका या म्यागेजिन हात पर्नासाथ मैले सबभन्दा पहिले हेर्ने कुरा भनेको त्यसमा छापिएको कार्टुन हो। जतिसुकै हतार भए पनि कार्टुन त हेरेरै छाड्छु। एउटा तस्वीर वा फोटोले हजार शब्द बोल्छ भन्छन्। तर कार्टुन त्यो कला हो जसले किरिङमिरिङ रेखाहरूका माध्यमबाट फोटोभन्दा बढी शब्द बोल्न सक्छ। र त्यस्ता बोल्ने कार्टुनहरू कोर्नमा सबभन्दा अब्बल थिए आर के लक्ष्मण।

स्नातकोत्तर पढ्ने उम्मेदले म सन् १९७० को आखिरीतिर काठमाडौं छिरेको थिएँ। त्यसबेलाको राजनीतिक सरसंगातीका कारण भारतीय अंग्रेजी दैनिक पत्रिकाहरू पढ्ने चस्का लाग्यो। दी टाइम्स अफ इन्डिया त्यसै बेलादेखि पढ्न लागें र आर के लक्ष्मणले सिर्जेका 'कमन म्यान' या आजभोलि चल्ती भाषामा भनिने 'आम आदमी' सित त्यसै बेला मेरो परिचय भएको हो। क्या चोटिला लाग्थे शेरवानी टाइपको चारखाने लामो कोट र धोती लगाएको आम आदमीको भनाइ र उसका भावभङ्गिमा देखाउने आर के लक्ष्मणको स्केच। थोरै रेखाहरूमा धेरै कुरा भन्ने दी टाइम्स अफ इन्डिया को मुखपृष्ठको एउटा कोष्ठकमा 'यु सेड इट' शीर्षकमा आउने 'आम आदमी' को नियमित कार्टुन बाहेक अन्य समसामयिक विषयमा आर के लक्ष्मणले कोरेका ठूला साइजका कार्टुनहरू झनै रमाइला र सटिक हुन्थे।

अखबारमा छापिएका कार्टुन हेर्ने बानी बसाउने काम चाहिं म धरानमा स्कूले विद्यार्थी नै छँदा हिन्दी दैनिक आज ले गरेको थियो, जो बनारसबाट प्रकाशित हुन्थ्यो। हाम्रा टोलछिमेकका दाइहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा सन् १९६० मै 'लक्ष्मी वाचनालय' नामक पुस्तकालय खोलेर माथ्लो छाता चोक भनिने हाम्रो टोललाई 'लक्ष्मी चोक' मा रूपान्तरित गरिदिएका थिए। त्यस पुस्तकालयमा ढिलो गरी भए पनि दैनिक आज हुलाकबाट नियमित आउँथ्यो।

त्यसको मुखपृष्ठमा बहुधा छापिएको हुन्थ्यो कांजीलालको कार्टुन। मैले प्रारम्भिक तवरमा अखबारमा देखेका कार्टुनहरू तिनै कांजीलालका थिए। तिनमा प्रायःजसो एक जना देहाती पात्र हुने गर्थ्यो। म त्यसको नाकनक्स नक्कल गर्ने कोशिश गर्थें पेन्सिल वा कलमबाट। सामाजिक–राजनीतिक विषयमा व्यङ्ग्य गरिएका कांजीलालका कार्टुनबाहेक कुनै काल्पनिक कथामा आधारित 'कमिक स्ट्रीप' हेर्न सिकाउने पनि आज नै थियो। अंग्रेजीका फ्यान्टम र म्याजिसिएन म्यान्ड्रेक 'वनभैरव' र 'जादूगर म्यान्ड्रेक' शीर्षकमा त्यहाँ नियमित छापिन्थे।

त्यसपछि आयो धर्मयुग को दौर। रङ्गीन कलेवरमा राम्रो साजसज्जाका साथ छापिने त्यस म्यागेजिनमा पठनीय कुरा धेरै हुन्थे। त्यसमा मेरा लागि ठूलो आकर्षण भने 'ढब्बुजीका कार्टुन कोना' हुने गर्थ्यो, जसको सृजनाकार थिए आबिद सुरती। ढब्बुजीका कैयन् चुट्किला अझै मेरो दिमागमा तरोताजा छन् र आबिद सुरतीको नाम पनि कुँदिएर बसेको छ। त्यसपछि देखा परे प्राण नामका कार्टुनिस्ट जसको सृजना चाचा चौधरीले पनि निकै ख्याति कमायो।

धरानमा म पढेको पब्लिक हाईस्कूलकै ठ्याक्क सामुन्ने ब्रिटिश लाइब्रेरी खुलेको थियो। त्यहाँ अंग्रेजी भाषाका किताब बाहेक इलस्ट्रटेड विक्ली अफ लन्डन र कार्टुन नै कार्टुनले भरिएको पन्च नामक म्यागजिन पनि पढ्न पाउँथ्यौं। तर त्यो बेला ममात्र होइन मेरो पुस्ताका पढैयाहरूको ध्यान हिन्दी भाषाका पुस्तक र पत्रपत्रिकाप्रति बढी थियो।

त्यसै हुनाले अंग्रेजी दैनिक अखबारमा कार्टुन बनाउने आर के लक्ष्मण जस्ता कार्टुनिस्टका सृजनासित परिचित हुने मौका मलाई काठमाडौं आएपछि मात्र मिल्यो। सन् १९७० दशकको प्रारम्भतिर विभिन्न पत्रिकामा राजनीतिक विषयमा कार्टुन बनाउने प्रतिभाशाली भारतीय कार्टुनिस्टहरूको एक समूह सक्रिय थियो। तिनमा कोही लक्ष्मणभन्दा केही अघिका, केही सँगसँगैका र केही पछिका कार्टुनिस्ट थिए। शंकर नामले प्रख्यात शंकर पिल्ले सिनियर थिए। उनी शंकर्स विक्ली नामको साप्ताहिक कार्टुन पत्रिका नै निकाल्थे। त्यस पत्रिकाको विमोचन भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेका थिए। विडम्बना, त्यो पत्रिका नेहरूकी छोरी इन्दिरा गान्धीको पालामा लगाइएको 'इमर्जेन्सी' को समयमा बन्द हुन पुग्यो।

लक्ष्मण टाइम्स अफ इन्डिया का लागि कार्टुन कोर्थे भने अबु अब्राहम, मारियो मिरान्डा, सुधीर धर, ओ भि विजयन, राजेन्द्र पुरी आदि कार्टुनिस्ट इन्डियन एक्सप्रेस, हिन्दुस्थान टाइम्स, स्टेट्सम्यान लगायतका दैनिकहरूमा। त्यसबेला त नेशनल हेराल्ड र पेटि्रयट पनि छापिन्थे। अन्य म्यागेजिनहरू पनि थिए कार्टुनलाई ठाउँ दिने। आ–आफ्नै शैली थिए सबैका। अबु अब्राहमलाई निकै 'इन्टेलेक्चुअल' मानिन्थ्यो। उनको व्यक्तित्व पनि त्यस्तै थियो– खल्वाट र पाइप तानिरहने। सकेसम्म कम रेखांकन हुनुपर्छ भन्ने उनको मान्यता थियो। प्रष्ट आकृति फेला पार्न गाह्रो हुने खालका विजयनका कार्टुन हुन्थे। यी दुई जनाले बनाएका कार्टुनहरू हेर्दा त सद्धे चित्र बनाउन ढङ्ग नपुगेर बाङ्गाटिङ्गा रेखा कोरेका हुन् कि भन्ने लाग्थ्यो। इलस्ट्रटेड विक्ली अफ इन्डिया सित जोडिएका मारियो मिरान्डाले राजनीतिमा भन्दा बढी सामाजिक–सांस्कृतिक विषयमा आफूलाई केन्द्रित राखे। खुशवन्त सिंह इलस्ट्रटेड विक्ली का सम्पादक हुँदाताका त मारियोले कमाल गरेका थिए। लक्ष्मणको 'कमन म्यान' झै मारियोले सृजना गरेको रजनी निम्बुपानी खूबै लोकप्रिय कार्टुन चरित्र बन्न पुगेको थियो। सामाजिक–राजनीतिक दुवै विषयलाई मिसाउने सुधीर धरको चित्र कोराइमा डिटेल हुन्थ्यो। राजेन्द्र पुरीको विषय त पूरै राजनीतिक हुने गर्थ्यो। कुट्टी थिए अर्का चर्चित कार्टुनिस्ट जसले कोलकाताबाट छापिने अंग्रेजी अखबारलाई आधार बनाएका थिए।

यी समकक्षीको तुलनामा लक्ष्मणका कार्टुन छुट्टै खालका हुन्थे। उनका कार्टुनहरूमा पात्र मात्र नभई ऊ वरिपरिको परिवेशको समेत झल्को पाइन्थ्यो। अनि पात्रको अनुहारमा देखिने भावभङ्गिमा पनि पढ्न सकिने लाग्थ्यो। उनले कोरेका व्यक्तिचित्रमा त्यस व्यक्तिको अनुहार ठ्याक्कै आउँथ्यो। उनका पात्रले बोल्ने संवाद र शीर्षकका लागि उनले लेखेका वाक्य पनि सटिक, खँदिला र शुद्ध हुन्थे। कुचीमा मात्र होइन अंग्रेजी भाषामा पनि उनको पकड उत्तिकै दह्रो थियो। उनले लेखेका कैयन् कथा र उपन्यासले उनी सिद्धहस्त लेखक भएको प्रमाण दिन्छन्। आखिर उनी विख्यात लेखक आर के नारायणका सुयोग्य भाइ थिए।

दाजु आर के नारायणले आख्यानमा निर्माण गरेका काल्पनिक नगरी 'मालगुडी' का कथाहरूलाई लक्ष्मणका चित्रसज्जाले झनै जीवन्त बनाइदिएका थिए। ती कथाका आधारमा टेलिसिरियल पनि बनेको थियो जसको अविभाज्य अङ्गका रूपमा लक्ष्मणका चित्रहरूको उपयोग भयो। यसो त लक्ष्मणका 'कमन म्यान' र कार्टुनका अरू प्रसङ्ग तथा अवधारणामा आधारित 'वाग्ले की दुनियाँ' नामको अर्को टेलिसिरियल पनि बनेको थियो। त्यो पनि 'मालगुडी डेज' जतिकै लोकप्रिय भएको थियो।

(२४ अक्टुबर १९२१ ― २६ जनवरी २०१५)
शुरूमा लक्ष्मणले बम्बईबाट निस्कने दी फ्री प्रेस जर्नल मा कार्टुनिस्टको जागिर खाएका थिए। त्यहाँ उनका सहकर्मीमध्येमा एक बाल ठाकरे थिए जो उनीसरह कार्टुनिस्टको काम गर्थे। पछि तिनै बाल ठाकरे शिवसेना नामको पार्टी खोलेर महाराष्ट्र हल्लाउने राजनीतिक शेर बने। लक्ष्मण भने दी फ्री प्रेस जर्नल छाडेर दी टाइम्स अफ इन्डिया मा काम गर्न थाले। अल्पभाषी र एकान्तमा रमाउने उनले त्यहीं आफ्नो जीवनका पचास वर्ष कार्टुन र चित्र कोर्दै बिताए।

लक्ष्मणमा निहित बौद्धिक संवेदनाको कमाल मान्नुपर्छ, सडकमा हिंड्ने जनसाधारणको नाडी सजिलै समात्न सक्थे उनी। कुनै कार्टुनिस्टले छुन नसकेको लोकप्रियताको उँचाइ उनले छुन सकेको कारण त्यही थियो। उनको सृजना 'कमन म्यान' को आदमकद सालिक पुणेको सिम्बियोसिस इन्स्टिच्युटको प्राङ्गणमा ठडिनु त्यसैको सबुत हो।

उनका पिता पक्षाघातको शिकार भएर बिते। संयोग, लक्ष्मणलाई पनि त्यही रोगले थला पार्‍यो, २००३ मा। त्यति भएर पनि उनले कुचीको साथ छाडेनन्। केही तंग्रिनासाथ फेरि कार्टुन कोर्न थाले। तर पक्षाघातले पार्नु असर पारिसकेको थियो। विचार चनाखो भए पनि उनका रेखाहरू पहिले झै धारिला रहेनन्।

मैसुरमा जन्मेका लक्ष्मणले महाराष्ट्रलाई कर्मथलो बनाए, अन्तिम सास पनि त्यहीं फेरे। उनका दाजु आर के नारायण ९४ वर्षसम्म बाँचेका थिए, लक्ष्मण पनि त्यति नै दीर्घ र सफल जीवन बाँचे। महाराष्ट्र सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान दियो। कुन कार्टुनिस्टले यस्तो सम्मान पाएको थियो, जो लक्ष्मणले पाए? त्यस सम्मानको सही हकदार थिए उनी, किनभने जनगणका आशा–निराशा, सुख–दुःखलाई उनले चित्र मार्फत वाणी दिएका थिए। उनको 'कमन म्यान' समग्र दक्षिण एशियाकै 'कमन म्यान' को प्रतीक जस्तो थियो र त्यस्तै प्रतीत हुन्थ्यो पनि। त्यस्ता 'अनकमन' सृजनाकार रासिपुरम कृष्णास्वामी लक्ष्मण अर्थात् आर के लक्ष्मणलाई सलाम।

comments powered by Disqus

रमझम