राजसी सपना र दलको मनोविज्ञान

Share:
  
- पुरुषोत्तम दाहाल
दलहरू आफ्नो अकर्मण्यताबाट बच्न पूर्वराजाका विचारलाई अनावश्यक सेतु बनाइरहेका छन्।
17
तस्बीर: मुकेश पोखरेल 

सहमतिको भाषा बोल्दाबोल्दै नेपालको राजनीति पूर्वराजा ज्ञानेन्द्रको परिक्रमा गर्न पुगेको छ। राजनीतिका महापण्डित–विश्लेषकदेखि दलका नेतासम्म मरिसकेको घोडाको पीठमा चाबुक बर्साइरहेका छन्। २०३६ सालतिर बीपी कोइराला पञ्चायतका विषयमा भन्ने गर्नुहुन्थ्यो, “मरेको घोडामा चाबुक लगाउनु समय र विचार दुवैको बर्बादी हो।” तर, अहिलेका नेताहरू मुलुकका जल्दाबल्दा समस्याबाट जनताको ध्यान हटाउन र आफ्नो असफलतामा पर्दा हाल्न, मरिसकेको घोडामाथि चाबुक बर्साउँदैछन्!

अभिभावकत्व र भय
गएको दुईसाता पूर्वराजा ज्ञानेन्द्र देशका सबै समस्यालाई पन्छाएर चर्चा र बहसको केन्द्रमा रहन सफल भए। गद्दीच्यूत भएको पाँच वर्षपछि उनले जनताको अभिभावक हुने सपना देखेछन्। लोकतन्त्रमा शान्तिपूर्ण रूपमा समुदायको सद्भाव र एकतालाई कुण्ठित नपारी कुनै विचार प्रकट गर्न तथा सपना देख्न–सुनाउन पाइन्छ। २०५० सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि यस्तै सपना देखेका थिए, तर त्यसले १५ हजार नागरिकको ज्यान लियो, दुईहजार भन्दा बढीलाई गायब गर्‍यो, हजारौंलाई अपाङ्ग बनायो र देशको अरबौंको सम्पत्ति स्वाहा पार्‍यो। विस्थापित राजा ज्ञानेन्द्र पनि त्यस्तै कुनै परिवर्तनको सपना देखिरहेका छन्।

ज्ञानेन्द्रलाई सपना नदेख्न प्रधानमन्त्री बाबुराम भट्टराई, सत्तारुढ दलका अध्यक्ष दाहालसहित प्रतिपक्षी कांग्रेस र एमालेका शीर्षनेता सबैले सुविधा खोस्ने चेतावनी दिए। सात वर्षमा राजनीतिक नेतृत्व कति कमजोर भइसकेछ! पूर्वराजाले बोल्दैमा देशमा लोकतन्त्र र गणतन्त्रको अवसानको भय पैदा भएछ। पूर्वराजा र राजावादी कसरी परिवर्तन विरुद्ध बोल्ने साहस गर्न पुगे? के साढे दुईदशक शासन गरेर ध्वंस भएको सामन्ती राजसंस्थाका एक सदस्य परिवर्तनको प्रवाह विकास गरेका राजनीतिक दलहरू भन्दा शक्तिशाली भएका हुन्?

केही दिनअघि न्यूज २४ टेलिभिजनमा पूर्वराजा ज्ञानेन्द्र ११ वैशाख २०६३ को घोषणापूर्व राजसंस्था राख्ने–नराख्ने विषयमा कुनै छलफल र सहमति नभएको विषयमा जोड दिंदै थिए। तर उनले के बुझ्ेनन् भने सबै विषय सहमति र समझ्दारीका भरमा मात्र चल्न जरुरी हुँदैन। आज राष्ट्रिय एकता, अखण्डता धरापमा परेको र जातिवादी बहसले नेपालीलाई आमनेसामने उभ्याएको छ। नेपाल जातीय विभेद र विभाजनको शिकार भएको, देशको एकता र सार्वभौम सर्वोच्चता विरुद्ध खतरा हुनसक्ने तथा समाज आहत मनस्थितिमा पुगेको विषयमा ज्ञानेन्द्रको चासो एवं चिन्ता सकारात्मक छ। तर यसलाई उपयोग गरेर निष्त्रि्कय राजाका रूपमा नेपाल र नेपालीको अभिभावक हुने चाहना राख्नु आफैंमा हास्यास्पद हुनेछ।

सांस्कृतिक राजाका पक्षमा माओवादी नेताहरू र 'बेबी किङ'का विषयमा गिरिजाप्रसादले बहस चलाएका वेला ज्ञानेन्द्रले त्यसलाई सही तरीकाले अनुभव गरेका भए ज्ञानेन्द्र–पारसले गद्दी छाड्नुपर्ने अवस्था त आउँथ्यो तर राजसंस्थाले बिदा हुनुपर्ने थिएन। तैपनि, उनले आजको राजनीतिक परिवर्तन विरुद्ध केही ठोस यथार्थताका आधारमा औंलो ठड्याएका छन्। उनलाई गाली गरेर वा सुविधा खोस्ने धम्की दिएर त्यो औंलो भाँच्चिने वा त्यसले दिएका संकेतहरू साम्य हुने छैनन्। आजको राजनीतिक नेतृत्वले पूर्वराजाको सपनामा आफ्नो असफलताको प्रतिबिम्व देख्नु आवश्यक छ।

सपनाको मलिलो भूमि
सांस्कृतिक अतिक्रमण र जातिवादी राज्यको माग तथा समुदायबीच प्रतिशोध, घृणा, विभेद र विद्वेष तीव्र भएका छन्। राजसंस्था विस्थापित भए पनि राजनीतिक नेतृत्वका कठमुल्लावादी सामन्ती नेतृत्व षड्यन्त्रमूलक ढंगले देशलाई अनेक खण्डमा विभाजित गरी स्थानीय राजा हुने उपक्रममा छन्।

वर्षौंदेखिको सपनालाई किनारा लगाउँछ भन्ने विश्वासका साथ निर्वाचित संविधानसभाले चार–चार वर्ष जनतालाई मूर्ख बनाउने र राष्ट्रिय ढुकुटी रित्याउने बाहेक केही गरेन। दैनिक उपभोग्य वस्तुमा झेल्नु परेको कठिनाई र सेवाग्राहीका पीडा राजनीतिक नेतृत्वका लागि चुनौती बनेका छन्। आर्थिक व्यभिचारदेखि अपराधवृत्ति र दण्डहीनताको पहाड अग्लिंदैछ। जनताको मत पाएका सबैजसो दलमा धाँजा परिरहेको छ। विदेशी चलखेल बढेको र नेपाली राजनीतिक नेतृत्व मदारीको कान्छो जस्तो हुनपुगेको छ। हिजोका दिनमा शान्त कूटनीतिमा विश्वास राख्ने चीनदेखि मानवअधिकारमा सीमित पश्चिमा आज भिन्न स्वार्थको डुङ्गामा चढेर नेपालमा तागत र पहुँच विस्तार गर्न जुटेका छन् भने परम्परादेखिको मित्र भारत आफ्नो पहुँचलाई जरैसम्म पुर्‍याउन सक्रिय छ।


जनताका अपेक्षा र राजनीतिक नेतृत्वको पूर्व प्रतिबद्धता विपरीत विकास भएको यस्तै अवस्थाको आडमा पूर्वराजाले अभिभावकत्वको सपना देखेको हुनुपर्छ। त्यो सपनालाई निष्फल बनाउन नेतृत्वले राष्ट्रिय एकता र अखण्डता, सार्वभौम सर्वोच्चता, जातीय विभेदबाट उन्मुक्ति, नागरिक विभेदको अन्त्य, समुदायबीच सद्भाव, राजनीतिक विश्वसनीयतासहित स्थायित्व र विकासको सपना साकार पार्नु आवश्यक छ। अन्यथा श्रीपेच गुमाएका राजाले जनतालाई सपना सुनाएर हैरान पार्ने र भ्रमित तुल्याउने खेती गर्न छाड्ने छैनन्।

comments powered by Disqus

रमझम