नसुन्ने स्वतन्त्रता

Share:
  
- केदार शर्मा

राजधानीबाट एकजना साथीले गुनासो गरिन्, “घरछेउको कलेजमा १२–१२–१२ को महापर्व मनाएको होला, चारघण्टादेखि ठूल्ठूला स्पीकर बजाएको बजायै छन्। म माइग्रेनकी बिरामी, हेडफोनमा गीत सुन्न पनि सक्दिनँ, के गरौं?”  

मैले भनें, “तपाईंको छिमेकमा कलेज चल्न सक्छ, तर माइक लगाएर कन्सर्ट गर्न पाइँदैन। त्यसो गर्नेले उपयुक्त ठाउँका हलमा जानुपर्छ। १०० मा फोन गर्नुहोस्, हाम्रो प्रहरी प्रभावकारी छ। सञ्च नभएका बेला कलेज गएर उनीहरूका गीत नसुन्ने आफ्नो स्वतन्त्रताका पक्षबाट गम्भीर कुरा पनि गर्नुहोस्। कि त एक्टिभिजम गर्नै पर्छ कि त हरूवा भएर मुर्मुरिंदै बाँच्नुपर्छ। मलाई थाहा छ, तपाईं हरूवा व्यक्ति होइन।” 
 
कुनै उद्योगधन्दा वा ठूला व्यापारिक संस्था सञ्चालन गर्न छरछिमेकीको सहमति चाहिन्छ। छरछिमेकीलाई असुविधा नहोस् भनेर बनाइएका यस्ता प्रावधानहरूको पालना हुने हो भने नागरिकहरूले मुर्मुरिनुपर्ने अवस्था स्वतः कम हुन्छ। हामीकहाँ आवासीय क्षेत्रमा चर्को ध्वनि, गन्ध र धूलो–धुवाँ आउने कलकारखाना राख्न नदिने नीति छ। ठूलो उद्यमको रूप लिइसकेको स्कूल कलेज संचालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन? छरछिमेकीको सहमति लिनुपर्छ कि पर्दैन?  
 
मुलुकमा यातायात व्यवसायीहरूको दादागिरी छ। सबै सरकारहरूले हुँदैन भनेको सिण्डिकेट उनीहरू निर्वाध चलाइरहेका छन्। ट्राफिक प्रहरीले बेलाबेलामा भाँचिदिने प्रेसर हर्न पनि बजाइरहेका छन्। राजमार्गनगरहरूमा राती बास बसेको पाहुनाको निद्रा बिहान चारबजेदेखि हर्नले खुल्छ। अनुदानसहितको डिजेल खर्चेर बसलाई चालु अवस्थामा राख्ने पुगिसरी उनैलाई छ। त्यसबाट हुने वायु र ध्वनि प्रदूषणको हिसाब हुनुपर्छ कि पर्दैन? 
 
हिजोआज अत्यन्त हल्ला गर्ने अर्को उद्योग खुलेको छ– धर्म। त्यो उद्योगका गतिविधिहरूमा अंकुश लगाउने हुती कसैसित छैन। लाउड स्पीकरको आविष्कार हुनुअघिका करीब डेढ हजार वर्षसम्म मुसलमानहरूलाई 'अल्लाहु अकबर' भनेर प्रार्थना गर्न आफ्नै स्वरले पुगेको थियो, तर अहिले लाग्छ, लाउड स्पीकर विना उनीहरूको प्रार्थना नै पूरा हुँदैन। नेपाली हिन्दूहरूले पनि देउताकै कानको जाली फुट्ने गरी लाउड स्पीकर बजाउन थालेका छन्। लाग्छ, लाउड स्पीकरबाट हिन्दी भजन नधन्काई हिन्दू धार्मिक अनुष्ठान नै पूरा हुँदैन। साउण्डसिस्टम विना नाना विशेषणधारी कथावाचकहरूको वाचकी नै खुल्दैन। अर्काको स्वतन्त्रताको त कसले मतलब राखेको छ र पण्डित वा मुल्लाहहरूले राखून्!  
 
साथीले पुराण वा भजनले त्यस्तो अतिचार गरेको सुनाएको भए म प्रहरीमा जाने अमूल्य सुझाव आफैंसित राख्ने थिएँ होला। किनभने मानिस धर्मका मामिलामा आफूलाई अनावश्यक रूपले संवेदनशील देखाउन थालेका छन्। शान्त वातावरणमा बस्ने र आफूलाई मन पर्ने कुरा मात्र सुन्ने मान्छेको अधिकारबारे बोल्न थाल्यो भने “तिमी अमेरिकाबाट आएको हो?” भनेर सोधिदिन्छन्। १६–१७ वर्षअघि काठमाडौंको कालिकास्थानमा कार्यालय रहेको एउटा संचार संस्थामा काम गर्दा डिल्लीबजारस्थित सांस्कृतिक संघमा कार्यालय भएको एउटा धार्मिक संस्थाको भजनले धुरुक्क पार्थ्यो। एकदिन त्यहीं गएर भनें, “तपाईंका भगवान साँच्चै अन्तरयामी हुन् भने तपाईंको भक्तिभाव आफैं थाहा पाउलान्। होइन भने यहाँ माइक नै लगाए पनि उनले सुन्दैनन्। बरु फोनै गरेर सुनाए राम्रो होला।”  
 
ती पक्का ब्राह्मण भक्तले मलाई तलदेखि माथिसम्म हेरे। अंग्रेजी नमिसाइकन बोलेको मेरा शब्द शब्दको मूल्याङ्कन गरिसकेपछि स्वरमा अपमानको भाव भरेर भने, “तपाईं अमेरिकाबाट आउनुभएको हो?” 
 
म हारेर फर्केको थिएँ। भजन सुन्नका पीरले जागिर छाड्ने पुगिसरी थिएन, धन्न अफिसै सरिदियो र आफ्नो स्वतन्त्रता र तर्कको पराजयको पीडा विस्तारै बिर्सिएँ। साथी, सबैतिर त नसकिएला, तर सकेका ठाउँमा बोलौं, विरोध गरौं, लेखौं, कसै न कसैले त कसो नसुन्ला! 
comments powered by Disqus

रमझम