गुल्मीमा धुवाँविहीन भान्साघर

Share:
  
p11a
 
 

गएको १० वर्षमा गुल्मीका ७९ मध्ये ६९ गाविसका २३ हजार १६८ घरमा सुधारिएको चुलो प्रयोग भएको छ। हर्दिनेटा गाविसका ११०१ घरमध्ये १०६० (९५ प्रतिशत) वटामा सुधारिएको चुलो बल्छ। गाविस सचिव कमल श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले हर्दिनेटा, म्यालपोखरी, पल्लीकोट, बलेटक्सार र पराल्मी गाविसलाई घरमा धुवाँरहित गाविस घोषणा गर्न लागेको बताए। उता हस्तीचौर र दर्लामचौर गाविसमा सुधारिएको चुलो अभियान शुरू भएको छ। जिल्लामा २०५७ देखि २०५९ सम्म चलेर रोकिएको सुधारिएको चुलो कार्यक्रम २०६० देखि पुनः संचालन भएको हो।  

ग्रामीण आर्थिक विकास संघ (रेडा) का बायोमास इनर्जी इञ्जिनियर शिवजी भुसालका अनुसार, सुधारिएको चुलोमा परम्परागत चुलोमा भन्दा ६० प्रतिशत कम दाउरा खपत हुनुका साथै खाना छिटो पाक्छ र धुवाँ कम आउँछ। गृहिणीहरूलाई सजिलो र स्वस्थकर यो चुलोले वन संरक्षणमा समेत टेवा पुर्‍याएको छ। जिल्लाका सहायक वन अधिकृत कर्णबहादुर पाण्डे सामुदायिक वनका उपभोक्ताले अभियानकै रूपमा सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरेकाले वनमाथिको चाप स्वतः घटेको बताउँछन्। ग्रामीण प्रविधि प्रवर्द्धक संघ गुल्मीका अध्यक्ष तथा चुम्पले सामुदायिक वन उपभोक्ता समूहका सचिव श्याम खनाल भन्छन्, “विभिन्न सामुदायिक वनसँग समन्वय गरेर वन उपभोक्ता समितिलाई सुधारिएको चुलो बनाउने तालिम पनि चलाएका छौं।” 
 
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर केसी सुधारिएको चुलोको बढ्दो प्रयोगका कारण जिल्लामा श्वास–प्रश्वासका रोगी घटेको बताउँछन्।
 
गगनशिला खड्का, गुल्मी 

शिविरमा  सिलिण्डरको खतरा 

p11b
 
 

गएको ९ मंसीरमा झापाको बेलडाँगी–२ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ६३ टहरा खरानी भए। आगो फैलिन नदिन २२ टहरा भत्काइए, कम्तीमा सवा करोड रुपैयाँको क्षति भयो। त्यसअघि १ मंसीरको राति मोरङको शनिश्चरेस्थित भुटानी शिविरको आगलागीमा ३० टहरा नष्ट भए, रु.४० लाखभन्दा बढीको क्षति भयो।  

गत वर्ष १७ फागुनमा बेलडाँगी–२ कै शिविरमा आगलागी हुँदा तीन दर्जन टहरा जलेर रु.२० लाखभन्दा बढीको क्षति भयो। ८ चैत २०६७ मा झापाको गोलधाप शिविरमा आगो लाग्दा शरणार्थीका अढाइ सय टहरा खरानी भएका थिए। त्यसै दिन मोरङको शनिश्चरे शिविरका ८५ टहरा जले। ८ माघ २०६८ मा बेलडाँगी–१ स्थित शिविरमा २५ टहरा जल्दा रु.१० लाख हाराहारीको नोक्सानी भयो। 
 
बितेका २२ वर्षमा झापा र मोरङका भुटानी शरणार्थी शिविरहरूका लागि आगलागीको विपत्ति नियमित आकस्मिकता जस्तै बन्यो। शरणार्थीहरूले शिविर बाहिर मजदुरी गरेर अनि पछिल्ला वर्षहरूमा पुनर्वासमा पश्चिमा देश गएका आफन्तले पठाइदिएको पैसाबाट जोडेको घरायसी सम्पत्ति खरानी भइरहेका छन्। शिविरका टहराबीच मुस्किलले दुई हात खाली ठाउँ छ। टहराहरूको दुई लाइन बीच हुनुपर्ने खाली ठाउँ पनि अतिक्रमण गरेर छाप्रा बढाइएकोले दमकल, एम्बुलेन्स जस्ता आपतकालीन उद्धारका साधन भित्र पस्न सक्दैनन्। “यस्ता शिविरमा आगोको लापरबाहीपूर्ण प्रयोगले निरन्तर क्षति बेहोर्न बाध्य पारिरहेको छ”, बेलडाँगी शिविरका सचिव धनवीर सुब्बा भन्छन्।  
 
शिविरमा केरा रोप्ने, नाटक, पर्चा, पोष्टरमार्फत जनचेतना जगाउनेबाहेक निदानको अरू काम भएको छैन। चार वर्षमा तीन पटक आगोबाट छाप्रो गुमाएका गोलधाप शिविरका पूर्व सचिव रामचन्द्र बाँस्कोटा निदानका लागि अब नयाँ पक्षहरूमा विचार पुर्‍याउनुपर्ने बताउँछन्। जस्तो, ९ मंसीरको आगलागी स्थलमा विस्फोट भएका ग्याँस सिलिण्डर, टिभी, सोलार प्यानल आदिका टुक्राहरू भेटिएका थिए। आगलागीबाट शिविर सुरक्षाका सन्दर्भमा यो पक्ष अति महत्वपूर्ण हुनपुगेको बाँस्कोटा बताउँछन्।
 
गोपाल गडतौला, दमक  

मगरले वन जोगाउँछ 

p11c
पाल्पाको भिरुवासमा पहिलो वर्ष लगाएको अमि्रसो
गोड्दै गाउँलेहरू।
 

पहिले खोरियाखेती गरिने नवलपरासीको हुप्सेकोट र पाल्पाको भिरुवास गाविसमा थालिएको अमि्रसो खेतीले तीन वर्षमै यस क्षेत्रको पर्यावरण र आय वृद्धि गरेको छ। स्थानीयवासीले फिनल्याण्ड सरकारको सहयोगमा विश्व खाद्य तथा कृषि संगठन (एफएओ) बाट खोरिया व्यवस्थापनबारे प्राविधिक ज्ञान लिएर अमि्रसो खेती शुरू गरेका हुन्। जिल्ला वन कार्यालयबाट हुप्सेकोटको १८५ हेक्टर खोरिया जग्गामा कबुलियती वन बनाउने ४० वर्षे अनुमति लिएर अमि्रसो खेती गरिएको बताउँदै हुप्सेकोटका यमबहादुर सोतीले भने, “हरियाली र आम्दानी दुवैका लागि अमि्रसो उत्तम विकल्प भएको छ।”  

पाल्पा भिरुवासका किसानले पनि २२७ हेक्टरमा अमि्रसो लगाएका छन्। जुनेलो र मकै हुने खोरिया अहिले अमि्रसो र डाले घाँसले भरिएको छ। नयाँ खेतीबाट भिरुवासमा गत वर्ष रु.५ लाख ४१ हजार आम्दानी गरेको भिरुवास कबुलियती वन समूहका अध्यक्ष दमन पाटामगरले बताए। यहाँको सामूहिक खेती अवलोकन गर्न देश–विदेशबाट मानिसहरू आउने गरेका छन्। हुप्सेकोट अन्तर कबुलियती वन समूहले वन तथा भू–संरक्षण मन्त्रालयबाट पर्वतीय पुरस्कार २०११ पाएको छ। त्यसअघि भिरुवासले यो पुरस्कार पाएको थियो।   
 
अमि्रसोले कुचो, घाँसको उत्पादनसँगै भूक्षय नियन्त्रणमा सघाउ पुर्‍याएको छ। खोरिया क्षेत्रमा अमि्रसोसँगै तेजपात, डालेघाँस र नेपियर लगायतका प्रजातिका घाँस रोपिएको छ। अमि्रसोको घाँसले व्यावसायिक बाख्रापालनमा सजिलो भएको छ। “रमाइलो कुरा के छ भने”, भिरुवास–८ का दिलबहादुर बयम्वु मगर भन्छन्, “पहाडमा मगरले जंगल सखाप पार्छ भन्ने भनाइलाई यो हरियालीले गलत सावित गरिदिएको छ।”
 
विद्रोही गिरी, नवलपरासी 
comments powered by Disqus

रमझम