'संवाद फेरि थालौं है'

Share:
  
- डा. सरोज धिताल
p22
 
तस्बीर: विलाश राई

प्रिय छोरी, 

धेरै भइसकेछ, तिमीलाई चिठी नलेखेको। 
 
कति कुरा बदलिइसकेछ! तिमी अर्कै भइसकिछ्यौ― किशोरावस्थाको दूरीसँगै। म अर्कै भइसकेको छु― नजिकिंदै गएको बुढ्यौलीसँगै। कुनै बेला 'अधिराज्य' भनिने देश गणतन्त्र भइसकेको छ। तर पनि, यो परिवर्तनशील संसारमा केही कुरा शाश्वत लाग्दा रहेछन्। यथास्थितिप्रति मानिसको असन्तुष्टि पनि शायद यस्तै कुरा हो। 
पछिल्लो पटक मैले तिमीलाई चिठी लेख्दा राजतन्त्रविरुद्ध युवाहरूले शङ्खनाद गरेको बेला थियो। उनीहरू भन्थे― 'प्रजातन्त्रका लागि युवाहरू धेरैचोटि लडिसके। हरेक पुस्ताका युवा लडेका, लड्दालड्दै बूढा भएका र मृत्युवरण गरेका छन्। अब हामी अन्तिम लडाईं लड्न चाहन्छौं। फेरि फेरि प्रजातन्त्रका लागि भनेर हामीपछिका युवाहरूले लड्नु नपरोस्, मर्नु नपरोस्...।' 
 
तिनको सक्रिय प्रयत्न युवा हृदयबाट निस्केको सुन्दर भावनासँग मिस्सिएर हरेक विवेकी मनलाई छुने अद्भुत संगीत बनेको थियो त्यो बेला। कर्मशील यौवनको त्यो संगीत र शङ्खनादले, अरूका जस्तै मेरा आँखा पनि रसाएका थिए। लोकतन्त्रका लागि 'अन्तिम युद्ध' लडिरहेका ती युवा जति प्रिय लाग्थे त्यति नै पीडा हुन्थ्यो मनमा― किनकि, लोकतन्त्रका निम्ति उनीहरूको त्यो लडाईं पनि अन्तिम हुने छैन भन्ने कुरामा म विश्वस्त थिएँ।  
 
त्यतिबेला पनि मेरो मान्यता थियो― लोकतन्त्र लक्ष्य भन्दा बढी यात्रा र मानव जीवनको सम्यकता वा पूर्णतातर्फको एउटा महत्वपूर्ण पाटो हो। यस्तो महान् यात्रा पनि टुङ्गिन्छ र कहिल्यै? राजतन्त्रलाई विदा र गणतन्त्रलाई स्वागत गर्नु त ढोका खोल्नु मात्र थियो― यही अविरल यात्राको बाधा पन्छाउन तथा मानिसको जीवनलाई झ्न् झ्न् सुन्दर र सम्मानजनक बनाउँदै लैजान।   
 
ती युवाहरूप्रतिको प्रेम र सम्मान अनि उनीहरूले छानेको सही दिशाका कारण त्यो आन्दोलनलाई 'उनीहरूको' भनेर सहयोग गर्न मात्रै हैन आफ्नै मानेर पूर्णरूपेण त्यसमा हेलिनु स्वधर्म थियो मेरो र मेरो पुस्ताका जिम्मेवार मानिसको। तर त्यो संघर्ष नै 'अन्तिम' हुन सक्दैन भन्ने सत्यबोध पनि थियो हामीसँग। त्यो स्वधर्म र सत्यबोधबाट जन्मेको छटपटीका बीच मैले तिमीलाई चिठीहरू लेखेको थिएँ। मलाई झ्लझ्ली ती दिनको र तिमीलाई भन्न खोजेका कुराको अन्तरवस्तुको सम्झ्ना भइरहेको तथा हामी बाँचिरहेको आजको यथार्थताबारे फेरि तिमीसँग सार्थक संवादको थालनी गर्न मन लागिरहेको छ।  
 
अहिलेका सबैजसो राजनीतिक दल र तिनका धेरै नेताप्रति जताततै असन्तुष्टि पोखिइरहेको छ। गज्जबकै हाँसोका पात्र भएका छन् ती। तर तिनको मूर्खता, लोभ, अदूरदर्शिता, आत्मसम्मानको खडेरी, पाखण्ड, उत्तरदायित्वविहीनता आदिबारे ठट्टा गरेर हाँसिरहँदा पनि जनताका मन भित्र कतै नापिनसक्नु गहिरो उदासी छाइरहेको हुन्छ। त्यो उदासी तिमीले पनि अनुभूत गरेकी हौली। जब जब यो असुन्दर ठट्टाभित्र लुकेको उदासीमा म पौडिन्छु, आन्दोलनका ती दिनको बेस्सरी याद आउँछ। किन यस्तो भयो भनेर गम्न मन लाग्छ।  
 
त्यसबेला राजतन्त्र यति अलोकप्रिय र बदनाम भइसकेको थियो, त्यसलाई ढाल्न आन्दोलन त्यति लम्बिनै पर्ने थिएन। कसरी लम्बियो, अहिले पनि अचम्म लाग्छ। तै पनि यति चाहिं भन्न सक्छु― राजतन्त्र बलियो भएर टिकेको हैन, ऊ त झ्न् झ्न् संकट झ्ेलिरहेको र झ्न् झ्न् बदनाम भइरहेको थियो। बरु आन्दोलनकारीहरू अचम्मको संकटमा थिए, जसको अचेल त्यति चर्चा हुँदैन। त्यो संकटको कारण थियो― त्यतिखेरका राजनीतिक दलका धेरै नेताहरूको अलोकप्रियता।  
 
जनता कहिल्यै यथास्थितिसँग सन्तुष्ट हुँदैनन्, तानशाहहरूको कुशासनमा अथवा भ्रष्ट र असक्षम राजनीतिक खेलाडीहरूको अव्यवस्थामा मात्र होइन लोकतन्त्रको यात्रामा पनि। वर्तमानप्रति असन्तुष्ट हुनु, जे छ त्यसले पुगेन भन्नु जनताको स्वभाव हो। के चाहिएको हो, कता जाने हो, विकल्प के हो भनेर देख्न, बुझन, बुझाउन र पथप्रदर्शन गर्न सक्ने थोरै जो हुन्छन्, ती हुन् नेता। यस्ता नेताका निम्ति सत्ताको एउटै मात्र उपादेयता हुन्छ― जनताका निम्ति अझ् सुन्दर भविष्य निर्माण गर्न र जीवनमुखी परिवर्तनको अविरल सिलसिलालाई सहजीकरण गर्न त्यसको उपयोग गर्नु। तर जब तिनका लागि त्यो साधन साध्यमा परिणत हुन्छ, तानाशाहहरूबाट सत्ता किन खोस्नु परेको थियो भन्ने बिर्सेर आफैं सत्तालिप्सामा रम्न थाल्छन्, देश र जनताको भलाइलाई एकातिर पन्छाएर आफैं छोटे राजा हुने प्रतिस्पर्धा गर्छन्, उनीहरू नेताको पगरी गुथ्न योग्य रहँदैनन्।  
 
पञ्चायती व्यवस्था भनिने राजतन्त्रको विशिष्ट रूप विरुद्ध संघर्षमा लडेकै हुन्, योगदान गरेकै हुन्र दुःख पाएकै हुन् विभिन्न दलका नेताहरूले।तर जब राजतन्त्र अन्तर्गतकै बहुदलीय व्यवस्थामा सत्तामा तिनको पहुँच हुनथाल्यो, सामाजिक न्याय र लोकतन्त्रको यात्रालाई सहजीकरण गर्ने साधनका रूपमा सत्तालाई प्रयोग गर्न भन्दा पनि सत्तामोहमा डुब्न थाले ती। यसरी डुबे कि राजतन्त्र अत्यन्त अलोकप्रिय भएको बेला ती पनि उत्तिकै अलोकप्रिय भइसकेका थिए। राजतन्त्र विरुद्धको संघर्षमा तिनको नाम लिन पनि असजिलो हुन थालिसकेको थियो।  
 
तर पनि संगठित त तिनै थिए। त्यसैले राजतन्त्रविरुद्ध जनताको असन्तुष्टिको विष्फोट हुने बेला मदारी झै खेला देखाउन सक्षम भए। युवा पुस्ताको बलिदानको श्रेय लिने र फूलमाला पहिरिने नाटकमा स्वाभाविक रूपमा तिनै अघि बढे।  
 
त्यही बेला अर्कोतिर चलिरहेको सशस्त्र संघर्षबारे पनि तिमीलाई थाहै छ। सामाजिक न्याय र राष्ट्रवादको नारामा असंख्य युवा आकर्षित भएर होमिएका थिए त्यो विद्रोहमा। इतिहासमा जहिले पनि हिंसात्मक विप्लव र भूमिगत संघर्षले आकर्षित गर्छ युवाहरूलाई। त्यसबेला दन्त्य कथाका तिलस्मी पात्र जस्ता भएका ती 'क्रान्तिकारी' प्रति शहरिया बुद्धिजीवी पनि कम आकर्षित थिएनन्। तिनको हिंसाप्रियताको, अव्यावहारिकताको र आन्तरिक कलहको कुरा बेला बेलामा प्रकाशमा आए पनि निकै लामो समयसम्म परिवर्तनकामी शक्तिका रूपमा आकर्षण कायम रह्यो र तिनका गल्ती–अपराधलाई समेत जनताले क्षम्य नै ठाने। उनीहरूका लागि त सत्ता एउटा साधन मात्रै हुनुपर्ने हो प्रगतिका लागि,तर अहिले हेर्दा तिनमा पनि सत्तालिप्सा चर्कै देखिन्छ।  
 
यसरी, पुराना र परम्परागत राजनीतिका सबै खाले अभ्यास निरर्थक, हास्यास्पद र असफल देखिन थालेका छन् यो देशमा। त्यसबेला 'अन्तिम लडाईं' भनेर आफ्नो सबथोक गुमाउन तत्पर तत्कालीन युवा पुस्ताका केही प्रतिनिधि अहिले परम्परागत राजनीतिका उनै खेलाडीबीच अल्मलिइरहेका छन्। पक्कै पनि तिनका मनमा पीडा हुँदो हो।  
 
लोकतन्त्रका निम्ति युवा पुस्ताको लडाईंको अन्त्य भएको छैन। 'अन्तिम लडाईं' हुँदा पनि हुँदैन। यो सत्य हो छोरी― तीतो सत्य वा यथार्थ। लोकतन्त्रलाई मानिसको पूर्णता र सम्यकताको दिशामा जारी अविरल यात्राकै रूपमा बुझनुपर्छ। हामी बाँचिरहेको यस कालखण्डमा यसलाई जारी राख्न के गर्ने? के अझै  पनि यी राजनीतिक दलहरूलाई सप्रिन सघाउन सक्ला युवा पुस्ताले? यीमध्ये अलि आशलाग्दा कोही छन् कि भनेर खोज्नुको औचित्य बाँकी होला? दल–विशेष वा नेता–विशेषको कमजोरी मात्र हो अहिलेको बेहालको कारण कि परम्परागत राजनीतिका सबै रूपहरू असफल, थोत्रा र मृत्यु उन्मुख भइसकेका हुन्? के अझै पनि हिंसात्मक क्रान्तिको महङ्गो मूल्य चुकाइरहन सक्ला मानव समाजले? के लोकतन्त्रको हाम्रो यात्रा साँच्चै शुरू भइसकेको छैन? अब के गर्ने होला?  
 
म देखिरहेको छु, तिम्रो पुस्ता साँच्चैको उम्दा पुस्ता भएर देखा परिरहेको छ। त्यस्तो पुस्ताकी एक प्रतिनिधि तिमी यी प्रश्नबारे पक्कै पनि गम्भीरतापूर्वक विचार गरिरहेकी हौली। आफ्ना सोचहरू तिमीमाथि थोपर्ने मनसाय बिल्कुल छैन मेरो। अघिल्लो पुस्ताले जस्तै अनाहकमा घुमाउरो बाटो हिंड्नु नपरोस् तिम्रो पुस्ताले भन्ने चाहना त छ नै। आफूले गर्न नसकेको सबै कुरा आफ्ना सन्तानले गरिदिउन् भन्ने चाहना पनि हुन्छ। तर त्यो बोझ् थमाउन खोजेको पनि हैन। अन्तरपुस्ता संवादको केही महत्व हुन्छ भन्ने लाग्छ तिमीलाई भने, हामी त्यो संवाद फेरि थालौं न है? 
 
बुबा 
comments powered by Disqus

रमझम