१७-२३ फागुन २०७१ | 1-7 March 2015

सम्मोहन 'शक्ति'

Share:
  
- मीना शर्मा
अस्पतालबाट समेत निको नभएका मानसिक समस्याका लागि हिप्नोथेरापी नयाँ आशा बन्न पुगेको छ।

मीना शर्मा
हिप्नोथेरापीबाट उपचार गर्दै अर्चना।
अरू मस्तसँग निदाएको देखेर महेन्द्रनगरका विनोद विष्ट (२३) लाई सधैं ईर्ष्या लाग्थ्यो। मान्छे कसरी निदाउन सक्छन् होला भन्ने जिज्ञासाले उनलाई खान्थ्यो। कारण, उनी १० वर्षदेखि राम्ररी निदाउन सकिरहेका थिएनन्। जाँगर नलाग्ने, सधैं थकाइ मात्र लागिरहने तर निद्रा पटक्कै नलाग्ने समस्याले सताएपछि विष्ट उपचारका लागि भारतका विभिन्न अस्पतालसम्म पुगे। औषधि खाएको केही दिन हल्का निद्रा लागे जस्तो हुन्थ्यो तर फेरि रातभरि जागै रहनुपर्थ्यो।

पाँच वर्षअघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनलाई 'डिपे्रसन' भएको ठहर गर्दै औषधि चलाइयो। औषधिले असर नगरेपछि उनमा 'इन्सोम्निया' (निद्रा नलाग्ने) को शंका गरियो।

चिकित्सकले इन्सोम्निया भएको बताएपछि काठमाडौंमै बीबीए पढिरहेका विष्टले इन्टरनेट मार्फत उपचार खोज्न थाले। गत भदौ अन्तिम साता उनी राजधानीको भाटभाटेनीस्थित नेपाल हिप्नोसिस साइकोसोसल केयर सेन्टरमा पुगे।

१८ पुस २०७१ को दिन उनी कहिल्यै बिर्सदैनन्। जुन दिन उनी पहिलोपटक मस्त निदाए। उनी भन्छन्, “राम्रो निद्रा कस्तो हुन्छ भन्ने अनुभव गर्न मलाई १० वर्ष कुर्नु पर्‍यो।”

एसएलसीमा राम्रो अंक ल्याएकी काठमाडौंकी रक्षा घिमिरे (२६) लाई फेसन डिजाइनिङ पढ्ने रहर थियो। उनले घरमा आफ्नो इच्छा सुनाइन्। तर बुबाले मानेनन्। परिवारकै दबाबमा उनी व्यवस्थापन पढ्न थालिन्।

हेर्दा सबै ठीकठाक देखिन्थ्यो। तर, घिमिरेलाई नै थाहा छ जीवन कस्तो कहालीलाग्दो छ। आफूले चाहेको विषय बुबाले पढ्न नदिएदेखि उनलाई घर तर्साउने ठाउँ जस्तो लाग्थ्यो। “फेसन डिजाइनिङ नै पढ्न पाएको भए म धेरैथोक गरिसक्थें”, उनलाई जहिल्यै यस्तै लाग्थ्यो।

उनै घिमिरे पनि ६ महीनादेखि हिप्नोथेरापी उपचारमा छिन्। एमबीए अध्ययनरत उनको गएको माघमा विवाह पनि भयो। पहिले त उनमा विवाहपछिको घर पनि राम्रो हुँदैन भन्ने लाग्थ्यो। तर, अहिले विस्तारै आफूमा परिवर्तन आएको महसूस गर्दैछिन्। “धेरै वर्षपछि आफूले आफूलाई भेटेको जस्तो लागिरहेको छ, अब म केही गर्न सक्छु जस्तो छ”, घिमिरे भन्छिन्।

यसरी हुन्छ उपचार

हिप्नोटिज्म् अर्थात् सम्मोहन यस्तो कला हो जसको मद्दतले मानिस अवचेतन अवस्थामा पुग्दछ। यो एककिसिमको निद्राको अवस्था हो। सामान्य निद्रामा चेतन मन आफैं निदाउँछ तर सम्मोहन निद्रामा अवचेतन मन जागृत हुन्छ। इन्द्रियको सहायताले चेतन मनले अवचेतन मनलाई दिने सुझावका आधारमा गरिने उपचारलाई सम्मोहन चिकित्सा भनिन्छ। अवचेतन मनमा यस्तो सुझ्ाव परामर्शदाताले पनि दिन सक्छन्।

“हिप्नोटिज्म् भन्ने वित्तिकै कतिपयले गलत अर्थ लगाउँछन् तर यसको माध्यमबाट गरिने उपचार साँच्चै उपयोगी छ”, काठमाडौंको भाटभटेनीमा नेपाल हिप्नोसिस साइकोसोसल केयर सेन्टर चलाइरहेकी हिप्नोथेरापिष्ट अर्चना विभोर भन्छिन्।

सबैभन्दा पहिले समस्या भएको व्यक्तिलाई आरामदायी कुर्सीमा सुताइन्छ। अनि एउटै कुरामा ध्यान केन्द्रित गरेर दुई पटक लामो सास फेर्न लगाइन्छ। तेस्रोपटक सास लिंदा दुई सेकेण्डजति रोकेर विस्तारै आँखा बन्द गर्दै सास छाड्न लगाइन्छ। पैताला हुँदै शरीरका विभिन्न भागमा ध्यान केन्द्रित गर्न भनिन्छ। यसो गरिरहँदा मनोपरामर्शकर्ताले तपाईं आराम महसूस गर्दै हुनुहुन्छ? भनी पटक–पटक सोधिन्छ। जस्तो कि, 'तपाईं २० सिंढी भएको घरको उपल्लो सिंढीमा हुनुहुन्छ। जति तल ओर्लनुहुन्छ, विस्तारै आराम महसूस गर्दै जानुहुन्छ। सिंढीबाट ओर्लिएर तपाईं एउटा सुन्दर कोठामा प्रवेश गर्नुहुन्छ, त्यहाँ तपाई आफूलाई झ्नै आराम महसूस गर्नुहुन्छ।' यस्ता विभिन्न कुराले शरीरमा मात्र ध्यान केन्द्रित हुने हुँदा निद्रा लागे जस्तो हुन्छ। “जसरी बारम्बार पढिरहे नजानेका कुरा जानिन्छ, त्यसरी नै आफूमा समस्या छैन भन्ने कुरा अवचेतन मनले सोचिरहे समस्या समाधान हुने रहेछ”, निद्राको समस्याबाट मुक्त विष्ट भन्छन्।

हिप्नोथेरापिष्ट विभोर हिप्नोथेरापी उपचारमा गेस्टाल्ट, मनोपरामर्श, साइकोथेरापी, हिलिङ टच जस्ता पद्धति अपनाइने बताउँछिन्। व्यक्तिलाई अवचेतन अवस्थामा पुर्‍याई समस्याको कारण पत्ता लगाउने र त्यसलाई मनोपरामर्शका विभिन्न तरीकाद्वारा हल गर्ने विधि नै हिप्नोथेरापी भएको बताउँदै उनी भन्छिन्, “तर, सबैमा एउटै विधिले काम गर्दैन, उपचार महीनौं पनि चल्न सक्छ।” नेपालमा २०६४ सालदेखि हिप्नोथेरापी विधिद्वारा उपचार शुरू गरिएको हो। भारतको क्यालिफोर्निया हिप्नोसिस इन्ष्टिच्युट अफ इन्डियाबाट हिप्नोथेरापीको दुईवर्षे तालीमपश्चात् केयर सेन्टर खोलेकी विभोर नेपालमा भने यस किसिमको पढाइ शुरू नभएको बताउँछिन्। उनका अनुसार नेपालमा ६ जना तालीमप्राप्त हिप्नोथेरापिष्ट छन्।

विकल्प बन्दै

सुन्दा अनौठो लाग्न सक्छ, तर काठमाडौंकी ममता गौतम (२६) ले जीवनको झ्न्डै १५ वर्ष यस्तै समस्याको सामना गर्दै काट्नुपर्‍यो। १०–११ वर्षको उमेरदेखि डराउने, बोल्न मन नलाग्ने गौतमलाई हरेक दिन कम्तीमा एकपटक रुने बानी नै लागेको थियो। इच्छा लागेको काम गर्ने त परैको कुरा नयाँ लुगा लगाएर हिंड्ने इच्छा नै उत्पन्न हुँदैनथ्यो। बाटोमा स्कुटी कुदाएर हिंडिरहेका आफू समानका युवती देख्दा पनि उनमा भित्रैबाट डर लागेर आउँथ्यो।

एक वर्षदेखि निरन्तर हिप्नोथेरापी मार्फत उपचार गर्दै आएकी ममतामा अहिले डर हराएको छ। रुनु उनका लागि दुर्लभ बनेको छ। साथीहरू झैं उनी पनि नयाँ नयाँ लुगा मन पराउन थालेकी छिन्। आफैं स्कुटर चलाएर कलेज जानसक्ने भएकी छन्। “अहिले उत्साह जागेको, डर पनि गायब भएको छ”, उनी भन्छिन्।

टाउकोमा केही हिंडे जस्तो हुने अनि टाउको दुख्ने समस्याले सताएपछि काठमाडौंका उज्ज्वल श्रेष्ठ (५०) ले देशका नाम चलेका अस्पतालमा सिटी स्क्यान, एक्सरे लगायत सबै शरीर पटकपटक जाँच गरे। तर, शरीरमा केही समस्या देखिएन। चिकित्सकबाट पार नलागेपछि उनी धामी–झाँक्रीको सहारा लिन पुगे। तर, बीसको उन्नाइस भएन। “अब मृत्यु कुरेर बस्नुको विकल्प छैन भन्दै बसेको थिएँ”, उनी भन्छन्। २० पटकको हिप्नोथेरापी उपचार पछि श्रेष्ठको समस्यामा धेरै सुधार आएको छ।

काठमाडौंको थापाथलीस्थित बोध इन्टिग्रेटेड हिलिङ एण्ड साइकोलोजिकल सर्भिसेज्की प्रबन्ध निर्देशक मीनाक्षी राणा हिप्नोथेरापीप्रति विस्तारै विश्वास बढ्न थालेको बताउँछिन्। कडा खाले मानसिक रोग बाहेकका उपचार हिप्नोथेरापीबाटै हुने बताउँदै राणा भन्छिन्, “उपचार गराउन आउनेमा २०–४० वर्षसम्मका व्यक्ति बढी देखिन्छन्।”

आठ वर्षदेखि हिप्नोथेरापी सेवा दिंदै आएकी विभोर परिवारमा खुलेर समस्या राख्न नसक्ने व्यक्तिमा यस्ता खालका समस्या बढी हुने बताउँछिन। हिप्नोथेरापीबाट औषधि नभई परामर्शबाटै रोग निको हुने बताउँदै उनी भन्छिन्, “यहाँसम्म आउँदा समय र पैसा धेरै सकिइसकेको तर समस्या जहाँको त्यहीं हुन्छ।”

(उपचारमा संलग्नहरूको नाम परिवर्तन गरिएको छ।)

comments powered by Disqus

रमझम