बस्ने भन्ने बित्तिकै गुन्द्री, चकटी र मुढा बिछ्याउने चलन पुरानो हो। शहरीकरणसँगै बजारमा आएका नयाँ―नयाँ उत्पादनले गुन्द्री र चकटी दुर्लभ बन्दै गएका छन्। बस्नेखाने परम्परागत चीजलाई कुर्सीले प्रयोगविहीन बनाउँदै लगेको छ।
राजधानीको फर्निचर ल्याण्डका प्रबन्ध सञ्चालक मदनमान जोशी देख्दा सुन्दर होइन, आरामदायी कुर्सीको चाहना राख्नेहरु बढ्दै गएको बताउँछन्। उनको अनुभवमा मौसम र स्थानविशेष, जस्तै भान्सा, डाइनिङ, लबी र बगैंचाका लागि छुट्टाछुट्टै डिजाइनका कुर्सीको माग बढ्न थालेको छ। पहिले जस्तो एउटा सामान जीवनभर चलाउने जमाना नरहेको बताउँदै उनी भन्छन्, “चार–पाँच वर्षमै फर्निचर परिवर्तन गर्नेको जमात देखिएको छ।” इन्टरनेट र टेलिभिजनले नयाँ ब्राण्डका कुर्सी छनोटमा सघाएको छ।
पहिलेपहिले काठको कुर्सीलाई महत्व दिने गरिए पनि अहिले फलाम, बेत, प्लाष्टिक, आल्मुनियमका कुर्सी प्रचलनमा आउन थालेका छन्। जोशीका अनुसार जंगल फडानी गर्नु हुन्न भन्ने कुरालाई बुझाउन पनि प्लाष्टिक र आल्मुनियमका कुर्सीलाई प्राथमिकता दिने गरिएको छ।
स्वास्थ्य र कुर्सी
अचेल आम्दानी र आवश्यकतासँगै स्वास्थ्य समेत विचार गर्ने ग्राहकको संख्या बढिरहेको छ। आरामदायी भन्दैमा हुँदैन, कुर्सी आरामसँगै स्वास्थ्य सुहाउँदो हुनुपर्छ।
ललितपुरको सानेपास्थित कुण्डलिनी अस्पतालका डा. हेमराज कोइराला बसाइ नमिल्दा पनि अनेक समस्या देखिन सक्ने बताउँछन्। काम गर्दा, खाँदा वा अन्य समयमा बसाइको अवस्था मिलाउन सके धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने उनको अनुभव छ। कुर्सीमा धेरैबेर झुकेर बस्दा ढाड र नसामा समस्या पर्ने भएकाले सीधा र 'ब्याक रेष्ट' गर्न मिल्ने कुर्सीमा बस्नु उपयुक्त हुने उनको सल्लाह छ।
कोइरालाका अनुसार पलेंटी कसेर बस्ने, निहुरिएर बस्ने र खाने गर्नु स्वास्थ्यका दृष्टिले त्यत्ति राम्रो मानिंदैन। बसाइ अवस्था अनुसार कुर्सी छनोट गर्नुपर्छ। खुट्टाले भुईं छुने कुर्सी स्वस्थकर मानिन्छ।
प्रस्तुतिः मीना शर्मा