१७-२३ फागुन २०७१ | 1-7 March 2015

सरकार सारंगी सुन्दैन

Share:
  
सारंगीको धुनमा नेपाली परम्परा देख्ने सरकार सारंगीवादकको संरक्षणमा भने उदासीन देखिन्छ।

दुई वर्षअघि जन्मथलो, भोजपुर पुग्दा वर्त गन्धर्व (२७) भावुक बनिन्। त्यहाँका रुखबिरुवा, खोलानाला, बाटाघाटा, पहाडहिमाल आदिले उनलाई विगत सम्झाए। त्योभन्दा बढी उनलाई सुत्केरी आमासँगै सारंगी रेट्दै माना–चामल बटुलेको याद आयो।

“गरीबी र बाध्यताले मान्छेलाई पौरखी बनाउँदोरहेछ”, उनी भन्छिन्, “त्यतिबेला सारंगी बजाउनु मेरो बाध्यता थियो, बजाएँ। त्यसैले यहाँसम्म आइपुगें।”

सानो डाल र होचो कदकी वर्त मसिनो स्वरले बोल्छिन्। तर, उनको वादन र गायकी हृदय थर्काउने खालको छ। उनी प्रायः पीडाका गीत गाउँछिन्। “जीवन नै त्यस्तै भएर होला, भावुक गीत गाउँदा नै आनन्द महसूस हुन्छ”, उनी भन्छिन्।

सात वर्षदेखि सारंगीवादन र स्वरको कक्षा लिंदै आएकी वर्तले योबीचमा फर्पिङको आर्यतारा विद्यालयदेखि नर्वेको एड्जर युनिभर्सिटी क्रिस्टिएनसाण्डका विद्यार्थीलाई समेत सारंगी सिकाइन्। 'श्रीतारा' ब्यान्डकी सदस्य समेत रहेकी उनी यतिबेला नर्वेमा छँदा तयार पारेका गीतको अल्बम निकाल्ने तयारीमा छिन्। नेपाल संगीत विद्यालयमा साताको दुई दिन प्रशिक्षण पनि दिन्छिन्।

समय बदलिए पनि सारंगी रेटेरै जीवन चलाउन हिजो जस्तै आज पनि गाह्रै भएको वर्तको तर्क छ। जस्तो कि, सात वर्षदेखि उनी कार्यरत आर्यतारा विद्यालयले यसै महीनाबाट सारंगीवादन कक्षा बन्द गर्‍यो। अहिले अरू विद्यालय चहार्दैछिन्। “तर, जहाँ पनि 'गिटार बजाउन आउँछ? किबोर्ड खेलाउन जानेको छ?' भन्दै सोध्छन्। सारंगी र स्वर भएर मात्रै नपुग्ने रहेछ”, उनी भन्छिन्। फ्युजन धुनका लागि मात्रै सारंगी प्रयोग गरिन थालेका कारण पनि आफू जस्ता कलाकारको महत्व घटेको उनको ठम्याइ छ। यस्तो स्थितिमा सारंगीवादनमा महिला कलाकार तयार गर्नु असम्भव जस्तै भएको उनी बताउँछिन्। भन्छिन्, “भविष्य नदेखेरै होला राम्रो गरिरहेका विद्यार्थी बीचमै छोड्छन्, नरमाइलो लाग्छ।”

छात्रवृत्ति पाए स्वरमा स्नातकोत्तर सिध्याउने वर्तको रहर छ। कहिलेकाहीं त आफ्नै रहरप्रति पनि हाँसो लाग्छ रे उनलाई। सारंगीकै लय समातेर उनी भन्छिन्, “कर्म गरेर त केही भएको छैन, रहर गरेर के हुन्छ यहाँ?”

सजना बराल

comments powered by Disqus

रमझम