१७-२३ फागुन २०७१ | 1-7 March 2015

प्रेमध्वजको प्रविधिप्रेम

Share:
  

सबै भन्छन्– जमाना प्रविधिको छ। संगीत क्षेत्रमा त प्रविधिको भूमिका झनै बढ्दो छ। कुरा वरिष्ठ गायक प्रेमध्वज प्रधानको हो। फिल्म 'माइतीघर' को 'नमान लाज यस्तरी' देखि 'घुम्तीमा नआऊ है' जस्ता प्रेमध्वजका रोमान्टिक गीतका आवाज अब युट्युबमा खुला भएको छ। त्यसो त युट्युबमा उनलाई सुन्न थालेको पहिल्यैदेखि नै हो। तर, अब उनी आधिकारिक रुपमै प्रविधिको संसारमा प्रवेश गरेका छन्।

१४ फागुनमा काठमाडौंस्थित मार्टिन चौतारीको संगीत–बहस श्रृंखलामा निम्त्याइएका प्रेमध्वजले पुराना साथै आफ्ना नयाँ सिर्जनालाई पनि युट्युब मार्फत सार्वजनिक गर्ने घोषणा गरे। पुराना संगीतकर्मीलाई अमर बनाउन युट्युबले मद्दत गरेको भन्दै उनले प्रविधिको यो उपलब्धिको सराहना समेत गरे।


ब्युटि विथ ब्रेन

मेगा ब्यांककी नायब महाप्रबन्धक रविना देसराज श्रेष्ठको मोडलिङप्रतिको रुचि नयाँ होइन। ब्यांकर उनी विभिन्न फेशन शोकी शोस्टपर बनिसकेकी छन्। पछिल्लो समय उनी कलाकारका रुपमा पनि देखिइन्। नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'सोल सिस्टर्स' मा पनि उनको अभिनय हेर्न पाइन्छ।

वित्तीय क्षेत्रको अनुशासनमा रहेर पनि 'सेलिब्रेटी वुमन' को छवि बनाउन सफल रविना आफ्नो पेशामा पनि अब्बल छिन्। 'लेडी अफ एक्सिलेन्स', 'गोल्डेन फिनिक्स अवार्ड' जस्ता अन्तर्राष्ट्रिय पुरस्कारले उनलाई 'ब्युटि विथ ब्रेन' बनाइदिएको छ।

रोचक त के छ भने आमासँगै उनका दुई छोरा, आयुष्मान र आर्शिमान पनि मोडलिङमा रुचि राख्छन्। दुवै मोडलिङमा संघर्षरत् छन्। छोराहरुको रुचिप्रति रविना दंग छिन्।


तृष्णाको पुनरागमन

'खनी हो यामू ए कान्छा...', तृष्णा गुरुङको यो गीतले केही साताका 'काउन्टडाउन' मा कब्जा जमाएको छ। युट्युबमा लाखभन्दा बढी दर्शकले यो गीत हेरे/सुनेका छन्।

गीतको गायकी र संगीतले गायिका तृष्णा गुरुङको आधुनिकता झल्काउँछ तर म्युजिक भिडियोले गुरुङ युवा र गुरुङसेनी युवतीको प्रेम प्रकट गर्छ। बाँकी शब्द नेपाली नै भएको गीतको 'खनी हो यामू' चाहिं गुरुङ भाषाको शब्द हो। गायिका तृष्णाका अनुसार यसको अर्थ 'कता जान लागेको' भन्ने हुन्छ। गीतको रचना, संगीत पनि उनैको हो। आफ्नो गीत लोक–पप शैलीको हुनाले चर्चित भएको हुनसक्ने तृष्णाको अनुमान छ। यसका साथै गुरुङ शब्दले पनि गीतमा सौन्दर्य थपेको उनको अनुमान छ।

सुन्दा नयाँ स्वर लागे पनि तृष्णा पाँच वर्षअघि नै संगीत संसारमा पसेकी हुन्। केही गीत पनि रेकर्ड गराइन्। तर, यो क्षेत्रबारे आफूलाई खासै थाहा नभएको भन्दै अध्ययनमा जोड दिइन्। “यो गीत सबैले मन पराइदिए, अब म अन्त जान्नँ”, तृष्णा भन्छिन्।

comments powered by Disqus

रमझम