चीन नेतृत्वको महासंग्राम

Share:
  
- लेखनाथ पौड्याल
युवा लिग, सिन्ह्वा, सांघाई र राजकुमार– मूलतः चार वटा प्रभावशाली गुटमा विभक्त चिनियाँ कम्युनिस्ट पार्टीको आगामी १८ औं महाधिवेशनमा युवा लिग–सिन्ह्वा तथा सांघाई–राजकुमार गुटबाट बनेको महागुटको शक्ति सन्तुलनमार्फत नेतृत्वको चयन हुन गइरहेको छ।

विश्व राजनीतिमा सन् २०१२ महाशक्ति राष्ट्रहरूको नेतृत्व छनोटको वर्ष रह्यो। रूस र फ्रान्सले नेतृत्व चयन गरिसकेका छन् भने २२ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन तथा अक्टोबरमा हुने चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि) को १८औं महाधिवेशनले यी दुई देशको नेतृत्वमा कसलाई ल्याउँछन् हेर्न बाँकी छ, जसमा उदारवादीहरू सत्तामा आए विश्व राजनीतिले सहकार्यको बाटो समाउनेछ भने कट्टरपन्थीहरू आए प्रतिस्पर्धा तीव्र हुनेछ। 

अन्तर्राष्ट्रिय मञ्चमा बेइजिङको बढ्दो महत्वका साथै एशिया र खास गरेर छरछिमेकमा चिनियाँ चासोले सिपिसिको महाधिवेशन उत्सुकताको विषय बनेको छ। चिनियाँ राज्यसत्ता सञ्चालक दलको महाभेलाले यो पटक क्रान्तिको अनुभव भएको तेस्रो र चौथो पुस्ताबाट त्यस्तो अनुभव नभएको पाँचौं पुस्तामा देशको नेतृत्व हस्तान्तरण गर्दैछ। वर्तमान विश्वको दोस्रो ठूलो आर्थिक र सैन्य महाशक्ति तथा कूटनीतिक क्षेत्रमा पनि सफल राष्ट्र चीनमा आउने नयाँ नेतृत्वका अगाडि १८–१९औं शताब्दीको युरोप जस्तो अलगथलग हुने, शीतयुद्धकालको जस्तो भूराजनीतिक प्रतिस्पर्धामा उत्रिने वा विद्यमान विश्व व्यवस्थामा समाविष्ट भएर सहज समृद्धितर्फ लम्कनेलगायतका विकल्पहरू छन्। चीनले यीमध्ये जुनसुकै बाटो अपनाए पनि त्यसमा विश्व राजनीति, महाशक्ति राष्ट्रहरूको चलखेल र आन्तरिक राजनीतिको प्रमुख भूमिका रहनेछ। 

माओत्सेतुङपछि चीनलाई आर्थिक सुधारको बाटोमा हिंडाउने देङ स्याओपिङ (अगस्त १९०४–फेबु्रअरी १९९७) कै योजना अनुसार आउन लागेको नयाँ नेतृत्वले चीनको आर्थिक–राजनीतिक उदयलाई निरन्तरता दिने मात्र हैन, बढ्दो आन्तरिक स्वार्थ समूहहरूको टकराव, केन्द्रदेखि स्थानीय तहसम्म खुकुलिंदो पार्टी नियन्त्रण, जनस्तरमा बढ्दो विरोधको पनि सामना गर्नुपर्नेछ। तिब्बत र ताइवान जस्ता राष्ट्रिय एकता अभियानका पुराना घाउ ओभाइसकेका छैनन् भने सिन्जियाङको स्वायत्तताको माग र विखण्डन गतिविधि, साउथ चाइना सीमा छिमेकीहरूसँगको विवाद र पश्चिमाहरूसँगको प्रतिस्पर्धाले घेराबन्दीको रूप लिइरहेको छ। 

संक्रमण र शक्ति संघर्ष 
सिपिसिको नेतृत्व हस्तान्तरणको शक्ति संघर्ष बुझन चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास केलाउनुपर्छ। पार्टीले राज्यसत्ता कब्जा गर्नु एक दशक अगाडि सन् १९३८ को छैटौं केन्द्रीय कमिटीको छैटौं प्लेनममा अध्यक्ष माओले च्याङ काईसेकको कोमिन्ताङ सरकारसँग 'एकता र संघर्षको' नीति लिएका थिए भने अर्का नेता वाङ मिङले 'निकटता'को। त्यसमा माओको विजयसँगै वाङको अवसान भयो। सिपिसिमा जित्नेलाई हस्तिनापुरको रजाईं र हार्नेलाई चपरीमुनिको बासमा पुर्‍याउने प्रवृत्तिको सुरुआत त्यहींबाट भएको थियो। 

माओको नेतृत्वमा भएको सन् १९४९ को सत्ताकब्जा र त्यसपछिको शक्ति सुदृढीकरणको क्रममा सिपिसिको आन्तरिक संघर्षका कुरा बाहिर आएनन्। त्यसको दुई दशकपछि १९६९ मा माओले आफ्ना प्रथम उत्तराधिकारी लुई साओचीलाई पदच्यूत गरे, जसको मृत्यु जेलमै भयो। १९७१ मा रहस्यमयी विमान दुर्घटनामा मारिएका दोस्रा उत्तराधिकारी लिन विआओलाई मृत्युपर्यन्त गद्दार घोषित गरियो भने तेस्रा उत्तराधिकारी हुआ गोफेङले पनि त्यस्तै नियति भोग्नुपर्‍यो। सन् १९६९ र १९७६ मा माओले नै देङ स्याओपिङको पार्टी राजनीति समाप्त पार्ने प्रयास गरे। माओको 'ग्रेट लिप फरवार्ड' र 'सांस्कृतिक क्रान्ति' पनि आन्तरिक शक्ति संघर्षकै परिणाम थिए, जसमा उनले जनमुक्ति सेनालाई सफलतापूर्वक परिचालित गरे। पछि त्यही सेनाको सहयोगमा माओकी श्रीमती वियाङ किङ नेतृत्वको कट्टरपन्थी गुट 'ग्याङ अफ फोर' लाई गिरफ्तार गरेर देङ शक्ति संघर्षमा विजयी भए। 

सिपिसिमा नेतृत्व हस्तान्तरणको दीर्घकालीन योजना लागू गरेका देङले पनि आफ्ना प्रथम उत्तराधिकारी हु याओवाङलाई 'पश्चिमा निकट र वैचारिक रूपमा पतीत' भएको आरोपमा सन् १९८७ मा पदच्यूत गरे। त्यसको दुई वर्षपछि हुको मृत्यु हुँदा श्रद्धाञ्जली दिन तियानान्मेन चोकमा भएको भेलाले नृशंस दमन खेप्नु पर्‍योर यो घटनासँगै देङका अर्का उत्तराधिकारी झाओ जियाङको पनि राजनीतिक जीवन समाप्त भयो। अन्तरसंघर्षका बीच अन्ततः देङले सत्ता हस्तान्तरण गरेका जियाङ जमिनले १३ वर्षे कार्यकाल पूरा गरेपछि देङकै योजनामुताविक शुरू भएको हु जिन्ताओ नेतृत्वको १० वर्षे कार्यकाल आगामी अक्टोबरमा पूरा हुँदैछ। 

p20
वर्तमान पोलिटब्यूरो भित्र र पोलिटब्यूरो–स्थायी कमिटी भित्र चोङकिङका प्रमुख बो सिलाई कारबाहीमा परेपछि पोलिटब्यूरोमा एक स्थान खाली छ। 
५–५ वर्षमा हुने महाधिवेशनमा झण्डै २५०० कार्यकर्ताका बीचबाट २०४ जना पूर्ण र १६७ वैकल्पिक सदस्यसहितको केन्द्रीय कमिटी, २५ सदस्यीय पोलिटब्यूरो र त्यसभित्र नौ जनाको पोलिटब्यूरो–स्थायी कमिटी चयन हुन्छ। 
p21

आधुनिक चीनका पिता मानिएका देङले उदारीकरण र पुनर्निर्माणसँगै चिनियाँ सत्तामा सिपिसिको निरन्तरताका निम्ति केही अलिखित विधिविधान तयार पारेका थिए, जसअनुसार १६औं महाधिवेशनमा जियाङ जमिनबाट हुमा शान्तिपूर्ण तवरले नेतृत्व हस्तान्तरण भयो र हुभन्दा वरिष्ठ नेताहरू सहज रूपमा अवकाशमा गए। माओको पालामा स्थापित आजीवन राष्ट्रप्रमुख पार्टीको पनि प्रमुख रहने चलनले नेतृत्व हस्तान्तरणमा संकट भोगेका देङले १९८२ मा पार्टी र राज्यका अधिकारीहरूको पदोन्नतिमा अनुभव र योग्यतासँगै पदावधि तथा उमेर हद निर्धारण गरेका थिए, जस अनुसार राष्ट्रपति, जनकांग्रेस अध्यक्ष र राज्यपरिषद् अध्यक्षको पदबहालीको उमेर ६५ वर्ष र कार्यकाल दुई वटा तोकिएको थियो। 

देङ स्वयम् औपचारिक रूपमा पार्टी प्रमुखको पद त्यागे पनि विभिन्न हैसियतमा १४औं महाधिवेशन (अक्टोबर १९९२) सम्म शक्तिको केन्द्रमा रहिरहे। उनका चार उत्तराधिकारी हुवा गोफेङ, हु याओवाङ, झाओ जियाङ र जियाङ जमिनले देङकै छायाँमा पार्टी अध्यक्ष र महासचिव चलाए। दुई कार्यकाल पूरा गरेर हु जिन्ताओलाई उत्तराधिकार सुम्पेका जियाङले १९९४ मा आफ्नो शक्ति सुदृढ गरेपछि चीनमा देङको प्रभाव सकिएको थियो। यसको परिणामस्वरुप १९९७ को १५औं महाधिवेशनमा जियाङले उमेर हदको र लि पेङले पोलिटब्यूरो स्थायी कमिटीमा तथा तियान युआन र लि टाइईङले पोलिटब्यूरोमा तेस्रो कार्यकालको छुट पाए। १६औं महाधिवेशनमा महासचिव हु जिन्ताओ, जनकांग्रेस अध्यक्ष वु बङगाओ र वेन जिआबाओले पनि यस्तै छुट पाए। तर, पछिल्लो समयमा नेतृत्वको हस्तान्तरणमा गुटहरूको मोलमोलाइ र शक्ति सन्तुलनले खेल्न थालेकाले र, देङकै नियम क्रमशः संस्थागत हुने सम्भावना बढेको छ। 

पार्टी–सरकार नेतृत्व 
पार्टी केन्द्रीय कमिटी, राज्यका केन्द्रीय, प्रान्तीय र स्थानीय निकाय तथा सेना र केन्द्रीय सैन्य आयोगमा ६५ वर्षको उमेर हद लागू छ। यद्यपि, पार्टी प्रमुखको हैसियतबाट औपचारिक बिदा लिएको एक दशकपछिसम्म देङले पोलिटब्यूरो–स्थायी कमिटी र केन्द्रीय सैन्य आयोगका जिम्मेवारीहरू आफूसँगै राखेजस्तै १६औं महाधिवेशनपछि जियाङ जमिनले सैन्य आयोग अध्यक्ष छाडेनन्, पार्टी महासचिव र राष्ट्रपतिमा हु जिन्ताओ आउँदासम्म पनि। तर, १८औं महाधिवेशनपछि राष्ट्रपति हुले भने त्यस्ता जिम्मेवारीहरू नराख्ने वा थोरै अवधिका लागि राख्ने अनुमान गरिंदैछ। 

चीनमा पार्टी र सरकारप्रमुख अलग व्यक्ति रहँदा प्रशस्त शक्ति संघर्षहरू भए। चौधौं महाधिवेशनपछि जियाङ जमिनले पार्टी र सरकारमा शक्ति सुदृढ गर्दै महासचिव र राष्ट्रपति चलाए। उनको समयमा पोलिटब्यूरो–स्थायी कमिटीका लि पेङ, च्याओ सी र लि रुइहुआन क्रमशः प्रधानमन्त्री, राष्ट्रिय जनकांग्रेस अध्यक्ष र राष्ट्रिय जनसल्लाहकार सम्मेलनका अध्यक्ष नियुक्ति भएपछि पार्टी–सरकार दूरी सकियो। अधिकांश प्रान्त, स्वशासित क्षेत्र र नगरपालिकामा पनि यो नियम लागू भयो। सत्तामा ६ दशकको अनुभव र पाठका आधारमा सिपिसिले बसालेका यस्ता औपचारिक–अनौपचारिक विधिविधानले १८औं महाधिवेशनलाई निर्देशित गर्नेछन्। 

सिपिसिको नेतृत्वमा चौथो पुस्ताका हु जिन्ताओ आएपछि शक्ति सन्तुलनको परिपाटी संस्थागत भएको छ। पार्टीमा दोस्रो वरियताका वु बङगाओ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष भए भने युवा लिग गुटका वाङ झाओगु उपाध्यक्ष। पार्टी संगठन विभागका प्रमुख सांघाई समूह र राजकुमार गुटका सि जिङपिङलाई कम्युनिष्ट युवा लिग गुटका लि युचाओले सन्तुलित गरेका छन्। पार्टीका प्रमुख निकायहरूमा दुई गुटले एक–एक व्यक्तिको आधारमा शक्ति सन्तुलन गरेका छन्। नेतृत्व हस्तान्तरण बुझन यसका तीन प्रमुख पक्ष सिपिसि, जनमुक्ति सेना र राज्यपरिषद् (सरकार) को नेतृत्वको श्रेणी विभाजन र हस्तान्तरण प्रक्रिया बुझनुपर्छ। किनभने, सिपिसिको नेतृत्व हस्तान्तरण भनेको सरकार, सेना लगायत राज्यव्यवस्थाका सबै पक्षको नेतृत्व फेरबदल हो। 

लेनिनवादी सांगठनिक संरचनामा आधारित सिपिसिको प्रत्येक पाँच वर्षमा हुने महाधिवेशनमा विभिन्न तहबाट आउने (यो वर्ष २४००–२५००) कार्यकर्ताका बीचबाट २०४ जना पूर्ण र १६७ वैकल्पिक सदस्यसहितको केन्द्रीय कमिटी, २५ सदस्यीय पोलिटब्यूरो र त्यसभित्र नौ जनाको पोलिटब्यूरो–स्थायी कमिटी चयन हुन्छ। यो प्रक्रियामा पार्टीका वरिष्ठ नेता, शक्ति केन्द्र र गुटहरूबीचको 'बार्गेनिङ' ले महत्वपूर्ण भूमिका खेल्छ। पार्टी केन्द्रीय कमिटी, सरकार र सेनाभन्दा माथिको निकाय हो। राज्यका सम्पूर्ण पक्षको नीति केन्द्रीय कमिटीले बनाउँछ, तर पोलिटब्यूरो–स्थायी कमिटी शक्तिका असली केन्द्र हुन्। 

सिपिसि नेतृत्व हस्तान्तरणका औपचारिक–अनौपचारिक विधि अनुसार यस वर्ष पोलिटब्यूरो स्थायी कमिटीबाट सि जिङपिङ र लि केच्याङबाहेक हु जिन्ताओ र वेन जिआबाओसहित सात जना बाहिरिंदै छन्। परिस्थितिमा नाटकीय उतारचढाव आएन भने अहिलेको पोलिटब्यूरो–स्थायी कमिटीमा छैटौं वरियताका सि जिङपिङ पार्टी महासचिव, राष्ट्रपति र सैन्य आयोगका अध्यक्ष तथा सातौं वरियताका लि केच्याङ प्रिमियर (प्रधानमन्त्री) हुनेछन्। उत्तराधिकार प्राप्तिको लाइनमा आएका सि अहिले पार्टी संगठन विभाग प्रमुख, उपराष्ट्रपति र पार्टी स्कूल विभागका प्रिन्सिपल पनि हुन्। चिनियाँ जनमुक्ति सेनाको 'कमाण्ड एण्ड कन्ट्रोल' केन्द्रीय कमिटीद्वारा निर्वाचित ११ सदस्यीय केन्द्रीय सैन्य आयोगको हातमा छ, जसमा रक्षा मन्त्रालयले समन्वयकारी भूमिका खेल्छ। राज्यपरिषद् भनिने चिनियाँ राज्यसत्ताको तेस्रो पक्ष सरकारको प्रधानमन्त्रीमा लि केच्याङलाई कार्यकारी उपप्रधानमन्त्री बनाएर अगाडि बढाइएको छ। नौ सदस्यीय स्थायी कमिटिका खाली सात सीटका लागि आठ जना प्रतिस्पर्धामा छन्। 

राष्ट्रपति हुले आफ्ना उत्तराधिकारी सि जिङपिङलाई २००८ को पार्टी प्लेनमबाट सैन्य आयोगको उपाध्यक्षमा नियुक्ति गर्ने अपेक्षा गरिएकोमा त्यसो नहुँदा हुले पनि देङ र जियाङले जस्तै अवकाशपछि सेनामा प्रभाव कायम राखिराख्न चाहेको र सिसिवाईएल (चाइना कम्युनिष्ट युथ लिग) गुटका आफ्ना निकटस्थ ली केच्याङलाई अगाडि बढाउने अनुमान गरिएको थियो। तर, २००९ मा विना कुनै विवाद सैन्य आयोग उपाध्यक्षमा नियुक्त भएपछि सि 'कमाण्डर इन चीफ' र सैन्य आयोगको अध्यक्ष बन्ने निश्चित भयो। सैन्य आयोगमा हुबाहेक सि मात्र गैरसैनिक अधिकारी हुन्, जसले पदभार ग्रहण गरेपछि मात्र सेनामा आफ्नो नियन्त्रण बलियो बनाउनुपर्नेछ। आगामी राष्ट्रपति सिले जनमुक्ति सेनामा पश्चिमाप्रति अनुदार मानिने जनरल लुई युआकालाई उपाध्यक्ष बनाउने आकलन छ। 

स्थायी कमिटीको सात सिटका एक प्रभावशाली प्रतिस्पर्धी बो सिलाईको केही महीना अगाडि एउटा हत्याकाण्डमा मुछिएर राजनीतिक पतन भएको छ। चोङकिङ प्रान्तका पार्टी प्रमुख रहेका बो भ्रष्टाचार विरोधी अभियान र नवमाओवादी राज्यकेन्द्रित आर्थिक मोडेलका लागि चर्चित थिए। पोलिटब्यूरो–स्थायी कमिटीका लागि पार्टीभित्रको अपारदर्शिताबीच गुट, उपगुट र स्वार्थ समूहहरूको चर्को चलखेल चलिरहेको अनुमान छ। नेतृत्वमा आउन शक्तिकेन्द्रहरूबीच चर्काे बार्गेनिङ हुने भए पनि आफ्नो रुझ्ानबारे कोही नखुल्ने भएकाले ठम्याउन सजिलो छैन। 

एक पार्टी दुई महागुट 
आफ्ना उत्तराधिकारीले प्रतिद्वन्द्वीको रूप लिन थालेपछि माओ र देङले चार–चार समूहलाई सखाप पारे पनि सिपिसिको नेतृत्व तेस्रो–चौथो पुस्तामा आइपुग्दा गुटबन्दी संस्थागत भएको छ भने अन्तरसंघर्ष 'शक्ति सन्तुलन' को खेलमा परिणत भएको छ। देङले आफू पछाडि अलग आधार, प्रवृत्ति र क्षमताका दुई पुस्ताको नेतृत्वको उत्तराधिकारलाई योजनावद्ध ढंगले अगाडि बढाएका थिए। यसरी आएका जियाङ जमिनलाई समृद्ध तटीय क्षेत्र र राजकुमार भनेर चिनिने पूर्व पार्टी नेताहरूका सन्तानको समर्थन थियो भने वर्तमान राष्ट्रपति हुलाई पार्टी संगठन, भित्री प्रान्त र प्रचार विभागको। 

जियाङ जमिनको कार्यकालमा सांघाईमा कार्यरत तथा पूर्व नेताका सन्तानहरूलाई नेतृत्वको केन्द्रमा ल्याउने उनको अभियानले 'सांघाई गुट' जन्मायो भने युथ लिगमा कार्यरतहरूको 'सिसिवाईएल गुट' बन्न पुग्यो। पार्टी इतिहासमा पहिलो पटक शान्तिपूर्ण सत्ता हस्तान्तरण भएको १६औं महाधिवेशनमा यिनै गुटहरूको शक्ति–सन्तुलनबाट सामूहिक नेतृत्वको अभ्यास अगाडि बढेको थियो। १८औं महाधिवेशनको सँघारमा पनि युथ लिग गुट सर्वाधिक प्रभावशाली छ। संख्यात्मक हिसाबले सिपिसिभित्रको सबैभन्दा ठूलो र संगठित यो गुट पार्टी संगठन, स्थानीय तथा प्रान्तीय निकाय र भित्री भूभागहरूमा प्रभावशाली छ। यसका नेताहरू प्रचार, संगठन र प्रशासनमा माहिर छन्। राष्ट्रपति हु र आगामी प्रधानमन्त्री लि केच्याङ यही समूहका नेता हुन्। 

अर्को छ, राजकुमारहरूको बहुचर्चित गुट जसमा सिपिसिको पहिलो पुस्ताका नेताका सन्तानहरू पर्छन्। सोभियत संघमा जस्तो कुनै गोर्भाचेभ जन्मेर सिपिसिको सत्ता डुबाउने सम्भावना रोक्न चालिएको योजनावद्ध अभियानअन्तर्गत पार्टीमा महत्वपूर्ण योगदान भएका पुराना नेताका सन्ततिहरू अहिले दोस्रो बलियो गुटका रूपमा अगाडि आएका छन्। पद, प्रतिष्ठा र आर्थिक लाभका स्वार्थहरूले यो समूहलाई संगठित हुन भने दिएको छैन। तटीय शहर, विशेष आर्थिक र वित्तीय क्षेत्रका सम्भ्रान्तहरूमा यो गुटको बढी पकड छ। 


तटीय, विशेष आर्थिक र वित्तीय क्षेत्रमा हुर्केको अर्को शक्तिशाली समूह पनि छ― सांघाई गुट। हालको स्थायी कमिटीमा यो गुटको बहुमत छ। तर, जियाङको कार्यकालको अन्त्य र सांघाईका हस्ती मानिएका पूर्व पार्टी सचिव चेन लियानयुलगायतका नेताहरू भ्रष्टाचारमा मुछिएपछि यो गुट क्रमशः अलोकप्रिय र कमजोर बन्दैछ। 
सिन्ह्वालगायतका समूहहरू पनि गुटको राजनीतिक दृश्यमा छन्। सांस्कृतिक क्रान्तिकालदेखि नै आर्थिक–राजनीतिक सुधार र खुलापनको केन्द्र रहेको सिन्ह्वा विश्वविद्यालयमा पढेका नेताहरूको सिन्ह्वा गुटकम संगठित र बढी अनौपचारिक छ। सुधारवाद र खुलापनमा विश्वास गर्ने हालका प्रधानमन्त्री वेन जिआबाओ प्रमुख नेता रहेका प्राविधिक शिक्षा प्राप्त र पेशागत दक्षता भएका टेक्नोक्र्याटहरूको समूह पनि अन्य गुटमा विलीन हुँदैछ। विदेशमा पढेपछि फर्केर पार्टीमा काम गर्नेहरूको समूह पनि छ, जो त्यति प्रभावशाली छैन। आर्थिक उन्नतिसँगै जन्मेका मध्यमवर्गको विभिन्न स्वार्थ समूहहरू भने क्रमशः बलियो बन्दै गएका छन्। राज्य नियन्त्रित ऊर्जा कम्पनीको नेतृत्वमा रहेकाहरूको यो समूहले नवमाओवादको अभ्यासका लागि दबाब सिर्जना गर्दैछ। 

सिपिसिमा एकातिर स–साना गुट र स्वार्थ समूहहरू तीव्र्र रूपमा जोडिंदैछन् भने अर्कोतिर ठूला गुटहरू क्रमशः ध्रुवीकृत हुँदै दुई महागुटमा परिणत हुँदैछन्। युवा लिग र सिन्ह्वा समूहबाट पपुलिस्ट (सुधारवादी) महागुट बन्दैछ, जसलाई उदीयमान मध्यमवर्गीय उद्यमी, भित्री प्रान्त र सांगठनिक प्रशासनमा रहेकाहरूको समर्थन छ। उता सांघाई र राजकुमार गुट एकीकृत हुँदै सम्भ्रान्तहरूको महागुट बनेको छ, जसलाई राज्य नियन्त्रित व्यापारिक प्रतिष्ठान र वित्तीय क्षेत्रमा काम गर्नेहरूको समर्थन छ। यसरी एक पार्टी दुई महागुटमा परिणत भइरहेको सिपिसिलाई दुई महागुटको शक्ति सन्तुलन र नेतृत्व हस्तान्तरणले पुनर्ताजगी र स्थिरता प्रदान गर्दै क्युवा वा उत्तरकोरियाको जस्तो जहानियाँ पार्टी हुनबाट जोगाएको छ। 

अमेरिकाको वासिङ्गटनस्थित ब्रुकिङ्स इन्ष्टिच्युटमा चीनको अन्तरपार्टी संघर्ष र नेतृत्व मामिलाका विज्ञ चेङ ली आगामी नेतृत्व हस्तान्तरणले चीनमा तीन वटा 'पावर सिफ्ट' निम्त्याउने विश्लेषण गर्छन्― कमजोर नेता–बलियो महागुट, कमजोर सरकार–बलियो स्वार्थ समूह र कमजोर पार्टी–बलियो मुलुकको। पार्टीको शासनमाथि चुनौती थपिइरहेको संकेत गर्ने यो परिवर्तन अलि विवादित छ। यी बाहेक अरू ठूला 'पावर सिफ्ट' पनि सहजै दृष्टिगोचर हुन्छन्― पार्टीको वैधानिकताको संकट टार्न परिचालित राष्ट्रवादी नारा र जारी आर्थिक वृद्धिले सामाजिक असन्तुष्टि थेग्न नसक्ने गरी बढेको प्रदर्शन तथा विरोधका स्वरहरू। यस्तो 'पावर सिफ्ट'सँग जोडिएको आगामी नेतृत्वले लिने नीतिको आकलन दुई महागुटको वैचारिक अन्तर र समानता केलाएर मात्र सम्भव छ। 

दुई महागुटको मुख्य सैद्धान्तिक अन्तर आर्थिक विकासको मोडल र कुन भौगोलिक क्षेत्रमा बढी लगानी गर्ने भन्नेमा छ। पपुलिस्टहरू आर्थिक–सामाजिक–राजनीतिक सुधार र खुलापनको पक्षमा छन् भने सम्भ्रान्तहरू बलियो राज्य, राज्य नियन्त्रित अर्थतन्त्र र नवमाओवादी वैचारिक धारको। पपुलिस्टहरू आर्थिक समृद्धि भएका ठूला शहर, तटीय क्षेत्र र अति कम विकसित भित्री प्रान्तबीच सन्तुलन चाहन्छन् भने सम्भ्रान्तहरू आर्थिक वृद्धिका लागि तटीय क्षेत्रमा लगानी बढाउन। राजनीतिक पारदर्शितासँगै पार्टी, सरकार र सेनाको संस्थागत सम्बन्धमा जोड दिने पपुलिस्टहरू सामाजिक न्याय, सामाजिक सहिष्णुता र समानताका पक्षपाती छन् भने सम्भ्रान्तहरू आर्थिक उन्नतिमा बढी केन्द्रित। 

आर्थिक मोडलका सन्दर्भमा सम्भ्रान्तहरू राज्य नियन्त्रित कम्पनीलाई प्रोत्साहन गर्न चाहन्छन् भने पपुलिस्टहरू आम उद्यमीहरूलाई उकास्न। परराष्ट्रनीतिको सन्दर्भमा पपुलिस्टहरू पश्चिमी मुलुकसँग सन्तुलित सम्बन्ध र विकासशील मुलुकहरूप्रति उदार सहयोगको भावना राख्छन् भने सम्भ्रान्तहरू पश्चिमा राष्ट्रहरू विशेषतः अमेरिकासँग बढी प्रतिस्पर्धात्मक रुझ्ान राख्छन् भनेविकासशील मुलुकहरूप्रति पारस्परिक फाइदाको सम्बन्धमा जोड दिन्छन्। 

यी दुई महागुटबीच राज्यसत्तामा सिपिसिको सर्वोच्चता र निरन्तरता, विश्व व्यवस्थामा चिनियाँ श्रेष्ठता र उच्च प्रतिष्ठा तथा अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा चीनको उच्च स्थानका विषयमा भने समान धारणा छ। फरक व्यावसायिक पृष्ठभूमि र अलग नीतिको समन्वयले एक किसिमको सन्तुलन ल्याएकाले दुवै पक्षका नेताहरू एकअर्काको परिपूरक भूमिकामा देखिन्छन्। शक्ति सन्तुलनको यो स्थितिमा दुवै गुट एक अर्कोलाई समाप्त पार्ने सामर्थ्य राख्दैनन्। एकले अर्कालाई समाप्त पार्ने तहको शक्ति संघर्षमा लाग्दा चीनमा सिपिसिको शासन नै खतरामा पर्ने महसूस उनीहरूले गरेका छन्।


(अन्तर्राष्ट्रिय राजनीतिका शोधकर्ता पौड्याल हाल जेनेभास्थित एक थिङ्कट्याङ्कमा कार्यरत छन्।) 


१८औं महाधिवेशनको सम्भाव्य पोलिटब्यूरो–स्थायी कमिटी


सि जिङपिङ (५८) पोलिटब्यूरो स्थायी कमिटीमा छैटौं वरियताका सीले चिनियाँ राज्यसत्ताका तीन वटै अंगको प्रमुखका रूपमा हु जिन्ताओलाई प्रतिस्थापन गर्नेछन्। चिनियाँ क्रान्तिका पहिलो पुस्ताका नेता सि झोङसुनका छोरा भएकोले सीले चिनियाँ राजनीतिमा 'राजकुमार' समूहको प्रतिनिधित्व गर्छन्। सिन्ह्वा विश्वविद्यालयबाट इन्जिनियरिङका स्नातक र 'मार्क्सवादी सिद्धान्त र वैचारिक शिक्षा' मा विद्यावारिधि सि जिङपिङलाई सांघाई गुटको सहानुभूति छ। सिले सन् १९७६ पछिको राजनीतिक जीवनमा अधिकांश समय फुजियान, झोजियाङ र सांघाई जस्ता समृद्ध तटीय प्रान्तमा काम गरे। यिनका बुबा सि झोङसुन सांस्कृतिक क्रान्तिताका प्रतिक्रान्तिकारीको आरोपमा जेल चलान हुनुअघिसम्म उपप्रधानमन्त्री थिए। पछि देङद्वारा गुआङ डोङ प्रान्तका गभर्नर नियुक्त भएका उनी 'सेनजेन विशेष आर्थिक क्षेत्र'को एक प्रमुख परिकल्पनाकार र तियानान्मेन घटनाका प्रखर आलोचक थिए। 

ली केच्याङ (५६) राष्ट्रपति हु जिन्ताओको समर्थन रहेको मानिएका पोलिटब्यूरो–स्थायी कमिटीमा सातौं वरियताका लि, पपुलिस्ट समूहको अगुवा मानिन्छन्। कम्युनिस्ट युवा लिगको नेतृत्वबाट उठेका यिनी सिपिसि शासनको इतिहासमै सबभन्दा कम उमेरमा गभर्नर भएका थिए, हेनान प्रान्तको। हेनानको कार्यकाल असफल भए पनि हु जिन्ताओको आशीर्वाद र युवा लिग गुटको समर्थनका कारण उनले लियाओनिङ प्रान्तका पार्टी सचिवमा पदोन्नति पाएका थिए। नम्बर एक बन्ने दौडमा पार्टी भेट्रान र सम्भ्रान्त वर्गको असहयोग बेहोरेका यिनी आफ्नै पुराना असफलताका कारण दुई नम्बरमा बस्न बाध्य छन्। राजनीतिक विकासक्रम स्वाभाविक बाटोमा अघि बढेमा वर्तमान कार्यकारी उपप्रधानमन्त्री तथा जनकांग्रेस उपप्रमुख लि, प्रिमियर (प्रधानमन्त्री) बन्नेछन्। 

वाङ ची सान (६४) बेइजिङमा 'संकटमोचक' का रूपमा परिचित पोलिटब्यूरो सदस्य वाङ हाल उपप्रधानमन्त्रीको रूपमा वित्तीय क्षेत्र हेर्छन्। चाइना कन्स्ट्रक्सन ब्यांकका अध्यक्ष, पिपुल्स ब्यांक अफ चाइनाका डेपुटी गभर्नर लगायतका पद सम्हालेका वाङले सन् २००३ को महामारीताका बेइजिङको मेयरको जिम्मेवारी पनि पाएका थिए। त्यही कार्यकालमा उनले बेइजिङ ओलम्पिकको सफलताको श्रेय पाए। पूर्व उपप्रधानमन्त्री याओ इलिनका ज्वाईं वाङ पूर्व प्रधानमन्त्री झु रोङझीका निकटस्थ मानिन्छन्। सफल 'ट्र्याक रेकर्ड' का कारण प्रधानमन्त्रीको दावेदार मानिए पनि उमेर हदका कारण एक कार्यकाल मात्र काम गर्न पाउने भएकाले वाङ जनकंग्रेसका अध्यक्ष बन्ने संभावना छ। 

लिउ याङडोङ (६७) उमेरको हद लागेन भने पोलिटब्यूरो–स्थायी कमिटीमा आउने पहिलो महिला बन्नेछिन्, लिउ। एकीकृत मोर्चाको निर्देशक रहिसकेकी लिउले सिसिवाईएलबाट राजनीतिक जीवन शुरु गरेकी हुन्। पूर्व कृषि सहायक मन्त्री लिउ रुइलोङकी छोरी लिउ, राष्ट्रपति हुकी निकटस्थ र सिसिवाईएल–पपुलिस्ट गुटकी हस्ती मानिन्छिन्। 

यू झोङसेङ (६७) सांघाई–सम्भ्रान्त गुटका पोलिटब्यूरो सदस्य यूले पार्टी स्कूल अध्यक्ष पाउने संभावना छ। तर यिनको पनि उमेर हद समस्या बन्न सक्छ। 

लिउ युन्सान (६५) पोलिटब्यूरो सदस्य लिउ सिसिवाईएल–पपुलिस्ट गुटका हुन्। यिनी हाल प्रचार विभाग हेर्छन्। 

वाङ याङ (५७) साँच्चिकै सर्वहारावर्गबाट उठेर पार्टीको उच्चतम तहमा पुगेका सुधारवादी नेता हुन्, वाङ। कार्यकारी उपप्रधानमन्त्रीको पद पाउने संभावना बोकेका वाङ सिसिवाईएल–पपुलिस्ट गुटलाई प्रतिनिधित्व गर्छन्। 

लि यून्चाओ (६२) सिसिवाईएल–पपुलिस्ट गुटका ली ले केन्द्रीय अनुशासन आयोगको जिम्मेवारी पाउने संभावना छ। 

झाङ गाउ–ली (६६) केन्द्रीय सरकारद्वारा सोझै सञ्चालित चार नगरपालिकामध्ये एक तियान्जिनका प्रमुखका रुपमा कार्यरत झाङ अर्थशास्त्री हुन्। सांघाई सम्भ्रान्त गुटका पोलिटब्यूरो सदस्य रहेका झाङ जिआमिन विश्वविद्यालयका उत्पादन हुन् ।

comments powered by Disqus

रमझम