२४-३० फागुन २०७१ | 8-14 March 2015

सुन फलाउने शिक्षा

Share:
  
- रुपा जोशी
'छोरी पायौ, भाग्यमानी भयौ, छोरीलाई खूब पढाउनुपर्छ, विद्वान् मान्छे बनाउनुपर्छ!'

पाँच पुस्ताको अनुभव : लेखिका जोशी (सबैभन्दा दायाँ) सासू अंगूरबाबा, छोरी कृपा, नातिनी रिया (बायाँबाट क्रमशः) र बूढीसासू चन्द्रकुमारी (बीचमा) का साथमा।
पूरै सय बसन्त पार गरेकी मेरी बूढीसासू (मुवा) ले जिन्दगीमा धेरै उतारचढाव देख्नुभएको छ। बडागुरुज्यूको परिवारमा जन्मेकी चन्द्रकुमारी (पाण्डे) जोशीको ९ वर्षको उमेरमै बिहे भयो, १४ वर्षको उमेरमा आमा बन्नुभयो र छोरा ८ महीनाको हुँदा विधवा हुनुभयो। उहाँले ८५ वर्ष एकल महिला भएर बिताउनुभयो। माइतबाट बुवामुवाको आड पाए तापनि साहस र मनोबलले नै हो उहाँले आफ्नो सानो परिवारलाई उन्नतितिर डोर्‍याउन सकेको। उहाँको सबैभन्दा सबल पक्ष भनेको, समय र परिस्थितिसित परिवर्तित हुँदै जान सक्ने क्षमता।

चार दशकअघि मेरो बिहे हुँदा म सुन्ने गर्थें, मुवालाई छोराहरूको बढी महत्व छ। छोरीहरूलाई अलि हेप्नुहुन्छ भन्थे। मेरो पहिलो सन्तान छोरा भयो, सबै दंग थिए घरमा। दोस्रो सन्तान छोरी चाहिएको थियो मलाई, र छोरी नै भयो। मलाई अस्पतालमा हेर्न आउँदा म गद्गद् भएको देखेर, मुवाले “छोरी पाएर पनि कत्ति दंग परेको!” भन्नुभयो। पछि बुझदै जाँदा त्यो छोरीलाई मायाले त्यसो भन्नुभएको थाहा भयो।

ऊ जमानामा आफूले र आफ्ना दौंतरीहरूले छोरी भएकै कारण दुःख सहनु परेकोले छोरी नपाएकै बेस भन्नुभएको रहेछ मुवाले। “छोरी भनेको दुःख पाउने जात हो। जस्ताका पनि जोई बनाएर पठाइदिने। अर्काको दास बनाइदिने”, मुवा भन्नुहुन्थ्यो, “जतिसुकै माया गर्ने बाबुआमा भए पनि के गर्ने र, अर्काको घरमा दिनुपर्ने बाध्यता थियो उहाँहरूलाई।”

चालीस वर्षयता, मुवाको धारणा फनक्कै घुमेको छ। आजकल मुवाले कोही गर्भवती महिलालाई भेट्नुभयो भने, “छोरी पाऊ है बा! छोरी त चाहिने रहेछ परिवारमा” भन्नुहुन्छ। अनि स–साना छोरीहरू भएका आमाबाबुलाई मुवाले, “छोरीले नै बढी माया गर्छन्, उनीहरूलाई झ्नै सक्षम बनाउनुपर्छ। सबैभन्दा ठूलो धन भनेकै शिक्षा हो। छोरीहरूलाई खूब पढाउनुपर्छ” भन्नुहुन्छ।

मुवाको छोरीलाई सक्षम बनाउनुपर्छ भन्ने विचार भने आजकल सबैसित वकालत गरे तापनि उहाँले दशकौं अघि, बुहारी भित्र्याउने बेलामा नै दर्साइसक्नुभएको थियो। आफ्नो एक्लो छोरोको बिहे हुँदा मुवा ३० वर्ष पनि पुग्नुभएको थिएन। तन्नेरी सासू बुहारीलाई पनि पढाउनुपर्छ भनेर कस्सिनुभयो। उहाँका दौंतरीहरूले 'बुढेसकालमा दुःख पाउनका लागि हो, बुहारीलाई पढाउन लागेको' भनेर खिस्याए पनि रे!! तर आफैंले पनि माइतमा बुवाआमाको दूरदृष्टिले गर्दा म्याटि्रक सरहको शिक्षा हासिल गर्नुभएकी मुवाले कसैको कुरा सुन्नु भएन। “सुख पाउँछु कि दुःख, हेर्दै जाउँला” भन्दै सानीमैयाँ (उहाँले कहिल्यै बुहारी भन्नुभएन) लाई पढाउने व्यवस्था मिलाउनुभयो।

राणाकालीन समयमा केटीहरू स्कूल जान पाउँदैनथे। जति पढाइ हुन्थ्यो, घरमै हुन्थ्यो। मुवाकी बुहारी मेरी सासू अंगूरबाबा जोशीको पढाइ पनि घरमै भयो। पढाइको ढोका सासूले उघारिदिएकै कारण उहाँ नेपालमा एसएलसी दिने पहिलो चार महिलामध्ये एक हुनुभयो।

अक्सर, महिलाहरूको पढाइमा तगारो बन्छ बालबच्चा हुर्काउने जिम्मेवारी। त्यो जानेर मुवाले नातिनातिनाको जिम्मेवारी आफूले लिएर बुहारीलाई निर्धक्कसित आफ्नो पढाइ पूरा गर्ने मौका दिनुभयो। बनारसको चारवर्षे र बेलायतको पाँचवर्षे बसाइमा मेरी सासूले पढाइको बलियो जग बसाल्न पाउनुभयो। त्यै जग माथि आफ्नो मनोबल र पसिनाले सिञ्चित गरेर मेरी सासू पद्मकन्या कलेजको प्राध्यापन र व्यवस्थापन अनि समाजसेवामा फड्को मार्न सफल हुनुभयो। घर र बालबच्चाको पीरले थिचिएको भए मेरो सासूले पढाइमा त्यति ध्यान पुर्‍याउन सक्नु हुनेथिएन।

न त म नै अहिले जहाँ छु, त्यहाँ पुग्न सक्ने थिएँ। दुई वर्षका लागि पढ्न अमेरिकामा जाँदा जहिले पनि मुवाले फोनमा वा चिठ्ठीमा भन्नुहुन्थ्यो, “फुच्चा फुच्चीहरूको पीर नगर्नू, म छँदैछु!” न्यास्रो त मलाई लाग्थ्यो नै बच्चाहरू छोडेर गएकोले, तर पीर कहिल्यै लिइनँ, लिनै परेन। आफूले भन्दा राम्रो स्याहारसुसार पाउने मायालु जिजुमुवाको काखमा छोडेका छोराछोरीहरूको चिन्ता लिने कुरै थिएन!

मुवाले नातिनातिनाहरूको र त्यसपछि पनाति र पनातिनीहरूको शिक्षामा पनि त्यत्तिकै ध्यान दिनुभयो। छोराबुहारी विदेश गएका बेला मामाघरमा बसिरहेकी नातिनीको पढाइ बिग्रेला भनेर मुवाले अरूको इच्छा विपरीत भए पनि बोर्डिङमा भर्ना गराउनुभयो। नातिनातिनाको पढाइ खर्च पुर्‍याउन बरू आफू रातरातभर स्वेटर बुनेर फी तिर्ने जोहो गर्नुहुन्थ्यो। “मेरो मिहिनेतको फल यही हो। मैले रोपेको सुन यही हो”, भन्नुहुन्छ मुवा नाति र नातिनीको सफलता देखेर। नातिनी (ज्योति) त्यतिबेला नेपालमा दुर्लभ मानिने महिला आर्किटेक्ट बनिन् भने, अर्की नातिनी (प्रभा) ले मज्जाले क्यानिङ उद्योग चलाएकी छिन्।

मुवाका पनाति र पनातिनी, मेरा छोराछोरीहरूलाई पढ्न सबैभन्दा प्रोत्साहित गर्ने श्रेय पनि उहाँलाई नै जान्छ। उनीहरूले दिनरात विद्याको महिमा सुनिरहे मुवाबाट, विशेषगरी छोरीहरूको पढाइबारे। स्कूल सकेर भारत र अमेरिकामा पढ्न जाँदा, फोनमा कुरा हुँदा उहाँले मुख्यतः पढाइकै बारेमा सोध्नुहुन्थ्यो। अमेरिकाको ग्रेडिङ प्रणाली थाहा पाएपछि बच्चाहरूलाई मुवाको चेतावनी हुन्थ्यो, “ल है 'ए' र 'बी' भन्दा तल ल्याउन पाइन्न!” छोराको एरोस्पेस इन्जीनियरिङको उडान, छोरी कृपाको चित्रकला र कान्छी छोरी प्रियाको प्रकृतिको फाँटको फड्को यसरी नै संभव भएको हो।

अहिले पनि मुवाले पनातिनी प्रियालाई सम्झाउनुहुन्छ, “तिम्रो पढाइ पुगेको छैन। यो वन–वनेलु विषयमा मास्टर डिग्रीले मात्र पुग्दैन, पीएचडी। गर्नुपर्छ। अनि पो सुन फल्छ। सुन फलाउने बोट हो पढाइ भनेको! उमेरमा गर्नुपर्छ सबै कुरा।” पन्ध्र महीनाअघि हाम्रो परिवारमा एउटा अर्को पुस्ता थपियो, जनातिनी रियाको रूपमा। अब पाँच पुस्ता भयो। रियाको किताबप्रतिको लगाव देखेर मुवा पनातिनी कृपालाई भन्नुहुन्छ, “खूब पढाउनु छोरीलाई। यसलाई मान्छे बनाउनुपर्छ, विद्वान् मान्छे। छोरी पायौ, भाग्यमानी भयौ!”

comments powered by Disqus

रमझम