मानव वधशालामा तीन घण्टा

Share:
  
कम्बोडियाको चोईङ ईक मानव वधशालाको छोटो भ्रमणले मेरा पुराना पाठशाला, किताब र ज्ञानलाई च्यातचुत पारेको छ।
p34
 
चोइङ ईक मानव वधशालाका सामूहिक चिहानको
उत्खननपछि फेला परेका खप्पर।
तस्बीर: बद्री पौड्याल

हालै एउटा कार्यक्रमको सिलसिलामा कम्बोडियाको राजधानी नोमपेन गएको थिएँ। पोलपोटको शासनकाल (सन् १९७५–७९) मा लाखौं नागरिक मारिएको कम्बोडिया गएपछि ती मान्छे मारिएको 'किलिङ फिल्ड' (मानव वधशाला) नहेरी कहाँ फर्किन सकिन्थ्यो र! त्यसैले नेपालीहरूको एउटा समूहसँगै नोमपेन नजिकैको 'चोईङ ईक' मानव वधशाला पुगें।  

पोलपोटको विषयमा पहिलो पटक २० वर्षअघि काठमाडौंमा सुनेको थिएँ, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास जान्ने एक कम्युनिष्ट नेताको प्रशिक्षणमा। अध्यक्ष माओको सांस्कृतिक क्रान्ति, काका होचिमिन्हको भियतनाम प्रतिरोध, कोरियाली नायक किम ईल सुङ्गको जुछे अभियानसँगै पोलपोटको 'लाल खमेर' को बखान गरिएको सो प्रशिक्षणमा कसैले पोलपोटको लाल आतंकबारे कुरा उठाए पनि त्यो बेला उनी हामीबीच क्रान्तिका नायक थिए,उनको आतंक न्यायिक सफाया थियो। 'राज्यसत्ता बन्दूकको नालबाट जन्मिन्छ' भन्ने पाठ पढाइएका हामी ठिटालाई जे बताइयो, त्यही ठीक लाग्यो। हाम्रो राजनीतिक स्कूलिङ नै त्यस्तै थियो। 
 
तर, अहिले पोलपोटकै देशमा पुगेपछि भने उनको इतिहास मैले पढे जस्तो पाइनँ। त्यहाँ पोलपोटलाई श्रद्धा गर्ने र क्रान्ति नायक मान्ने एकजना पनि भेटिएन। पोलपोटसँग क्रान्ति, लोकतन्त्र, समाजवाद र मानव मुक्तिको कथा जोडिंदैनथ्यो। मान्छेहरू पोलपोटको कुरा गर्दा भयङ्कर दुःस्वप्नबाट भर्खर ब्युँझिए झै हुन्थे। कम्बोडियामा उनी निरंकुश, आततायी, हत्यारा, मानवता विरोधी र इतिहासकै सबैभन्दा तुच्छ एवं घृणायोग्य पात्र थिए। उनले निर्दोष मान्छेहरूको हत्या गरेका थिए,जसमा बालबालिका र आमाहरू, खेतमा काम गरिरहेका किसानहरू, कवि, कथाकार र कलाकारहरू थिए। शहरका सुकिला–मुकिला बुर्जुवालाई श्रममा लगाउने नीति अनुसार नोमपेनका ९० प्रतिशत बासिन्दालाई गाउँतिर धपाइएको थियो। फूलबारीहरू मानव वधशाला बनाइएका थिए। पोलपोटको मैले सुनेभन्दा धेरै अलग यो वर्णनले मेरा पुराना स्कूल, ज्ञान र गुरुहरूलाई झु टो बनाएको थियो। म थाहै नपाई नयाँ ज्ञानले भरिंदै थिएँ।  
 
नोमपेनका फराकिला सडक छिचोल्दै ३० मिनेटको यात्रापछि चोईङ ईक मानव वधशाला पुगियो। कम्बोडियाका सयौं किलिङ्ग फिल्डमध्ये चर्चित चोईङ ईकमा मानव सभ्यताको कालो इतिहास चियाउन दैनिक हजारौं पर्यटकहरू आउँछन्। ५ अमेरिकी डलर तिरेर 'वधशाला' प्रवेश गर्दै गेटमा दिइएको वधशालाको परिचय–पुस्तिका, नक्सा र सुन्ने मेसिन बोकेर हामी अगाडि बढ्यौं।  
 
बिहान नौ बजेको समय। सयौं मान्छे मौन भएर अगाडि बढ्दै थिए। कसैसँग बोल्ने शब्दहरू थिएनन्। वधशाला परिसरभित्र प्रवेश गर्नासाथ चोकमा उभिएर सुन्ने मेसिनमा नम्बर १ थिचें। आकाशबाट देवदूतले बोलेजस्तो स्वरले भन्यो, “मानव वधशालामा तपाईंलाई स्वागत छ। म एक भाग्यमानी कम्बोडियन हुँ। किनभने मेरा सबै आफन्तहरू मारिए, म बाँचें। आज म तपाईंलाई इतिहासको त्यो कथा सुनाउँछु जसमा मेरा लाखौं बन्धुहरू मारिएका थिए।”  
 
p34a
 
लुगाफाटा।

 

p34b
 
केटाकेटीलाई बजारेर मारिने गरेको रुख जहाँ आगन्तुकहरूले
श्रद्धाले रंगीचंगी धागोहरू बाँधिदिएका थिए।
तस्बीर: केशव दाहाल 
 

ओहो, लाखौं आफन्त मारिएको यस्तो भयङ्कर कथा सुनाउने तागत कसरी आयो यो मान्छेमा! उसले सुनाएको कथा १००–२०० वर्ष अगाडिको थिएन, मेरै जीवनकालको थियो। त्यो बेला मारिने साना नानीहरू कम्बोडियाको सडकमा खेल्दा म पनि नेपालको कुनै गाउँमा त्यसैगरी खेल्दै थिएँ। उता उनीहरू मारिए, यता म बाँचें। त्यसैले आज म उनीहरूको त्यस्तो इतिहास सुन्दैछु,जसलाई सुन्न पनि तागत चाहिन्छ। बिहानै बे्रकफाष्ट टेबलमा किलिङ्ग फिल्ड घुम्न जाने कुरा गर्दा रोमबाट आएकी एक महिला एनालिजा भन्दै थिइन्, “म त्यहाँ जान सक्दिनँ, त्यो सब हेर्ने तागत मसँग छैन।” 

हामी वधशालाको प्रवेशद्वारबाट केही अगाडि बढेर दाहिनेतिर लाग्यौं। म आफू उभिएको ठाउँमा लेखिएको नम्बर मेसिनमा दबाउँदै जान्थंे। मेरो कानमा बजि्रने इतिहासका त्रासद कथाको आवाज कहिले तीव्र, कहिले सिरसिर बतास चलेजस्तो त कहिले वनमा झ्रिपरेजस्तो हुन्थ्यो। उसको आवाजको लयमा म अगाडि बढ्दै गएँ। उसले सुनायो, “तिमी अहिले जुन ठाउँमा उभिएका छौ त्यहाँ हरेक दिन र हप्ता ट्रकका ट्रक जिउँदा मान्छेहरू झ्ारिन्थे। उनीहरूका हात बाँधिएका हुन्थे। उनीहरू भोकै–प्यासै हुन्थे। उनीहरूलाई किन यहाँ ल्याइयो र उनीहरूको कसुर के हो, कसैलाई थाहा हुँदैनथ्यो। उनीहरूलाई बन्चरो, खुर्पा, झ्म्पल, घनले हानिन्थ्यो। दिनभरि लगातार मार्दा पनि नसकिएपछि बाँकीलाई अर्को दिन मार्न राखिन्थ्यो।” 
 
ऊ भन्दै गयो, “अहिले तिमी उभिएको ठाउँ सामूहिक चिहान हो। यहाँ २०० मान्छे गाडिएको भेटियो। तिनमा आमाको छातीमा टाँसिएर दूध चुस्दै गरेका साना नानीहरूको कंकाल समेत थियो। देशभरि सयौं यस्ता चिहान छन्।” साना नानीहरूको हत्याको कथा सुन्दा एकछिन त म आफ्ना छोराछोरी सम्झ्ँदै डराएँ। अलिकति अगाडि सयौं मान्छे काटिने र अर्धमृत मान्छेमाथि डीडीटी पाउडर छर्किने गरेको ठाउँ आयो। त्योभन्दा केही अगाडि अजंगको रूख देखियो। राति रूखको आडैमा जेनेरेटर चलाएर पोलपोटको क्रान्तिका गीतसँगै हत्याको श्रृंखला शुरू हुन्थ्यो र निर्दोष नागरिकको पीडा जेनेरेटरको कर्कश आवाज एवं माइकको चर्को स्वरसँगै बिलाउँथ्योरे! यो सब सुनिरहँदा मलाई वान्ता होला जस्तो भयो। मनको देव्रेतिरबाट आँधी आयो। नरकंकाल नजिकैबाट हिंड्दा मान्छे कसरी शान्त रहन सक्छ र?  
 
p34c
 
परीक्षण गरिएका बंगारामध्ये पाँच प्रतिशतमा टाउकोमा धारिलो
हतियार प्रहारको चोट पत्ता लागेको थियो।

मानव वधशालाको आधा फन्को लगाउँदा मैले कम्बोडियाली इतिहासका दर्जनौं पीडा देखें र सुनें। गहिरा सामूहिक चिहान, खप्पर, हड्डी र हत्याको जिउँदो साक्षी भएर ठिंग उभिएका रूखहरू। एउटा अग्लो र मोटो रूखको फेदमा श्रद्धाले चढाइएका हजारौं रंगीचंगी धागाहरू बाँधिएका थिए। यहाँ आइपुग्दा मेसिनले साउती गरेझै भन्यो, “यो केटाकेटीहरू मार्ने ठाउँ हो। यहाँ तीनदेखि पाँच वर्षका केटाकेटीलाई रूखमा बजारेर मारिन्थ्यो। टहटह जून लागेको रात, आमाको दूध चुस्दै गरेका नानीहरूलाई यही रूखको फेदमा बजारिन्थ्यो।” नजिकै उत्खननमा भेटिएका साना नानीहरूका कपडा सिसाको बाकसभित्र थुपारेर राखिएका थिए।  

यो सब देख्दा मन वेचैन भयो, तर त्यहाँ हेर्नुपर्ने अझै धेरै कुरा थिए। म्युजियमका इतिहास बोल्ने फोटा, हत्यामा प्रयोग भएका हतियार, मृतकका कपडा, मानव कंकाल, साक्षीका बयानहरूसहितको डकुमेन्ट्री आदि। फर्किने बेलामा मानव वधशालाको अन्तिम अवलोकन स्थल हजारौं मानव खप्परहरू राखिएको नौ तले मुख्य स्तम्भ देखियो, जसभित्र मानव खप्परहरूको सिंगो पहाड नै थियो। यो हेरिसकेपछि मन भरिएर आयो, न केही खान मन लाग्नेन त केही हेर्न नै।  
 
चोईङ ईक मानव वधशालाको केवल तीन घण्टाको यो भ्रमणले मलाई जिन्दगीभरका लागि अविस्मरणीय, उथलपुथलपूर्ण र बोझ्िलो प्रभावछाडेको छ। यसले मेरा पुराना पाठशाला, किताब र ज्ञानलाई च्यातचुत पारेको छ। मैले पढेको राजनीतिक इतिहास, मेरो आस्थाको संसार र मेरा गुरुहरूको ज्ञान असाध्यै सानो, एकलकाँटे र छिपछिपे ठहरिएका छन्। एक पुरातन कम्युनिष्ट नेता पोलपोटको सनकबाट मारिएका ३० लाख मान्छेको बीभत्स गाथा सुन्दा–देख्दा लाग्यो जीवन राजनीतिभन्दा धेरै महत्वपूर्ण छ। मनमनै मेरो भगवानसँग प्रार्थना गरें― प्रभु, मेरो देशमा यस्तो इतिहास कहिल्यै नदोहोरियोस्! ह 
 
चोइङ ईक मानव वधशालाका सामूहिक चिहानको उत्खननपछि फेला परेका खप्पर र लुगाफाटा। केटाकेटीलाई बजारेर मारिने गरेको रुख जहाँ आगन्तुकहरूले श्रद्धाले रंगीचंगी धागोहरू बाँधिदिएका थिए। परीक्षण गरिएका बंगारामध्ये पाँच प्रतिशतमा टाउकोमा धारिलो हतियार प्रहारको चोट पत्ता लागेको थियो। 
comments powered by Disqus

रमझम