८-१४ चैत २०७१ | 22-28 March 2015

नमिलेका खबर

Share:
  
- मिलन बगाले
यो धर्तीमा मान्छे रहुन्जेल गल्ती रहन्छ, तर त्यसलाई नघटाउने हो भने गल्तीले मान्छेलाई सिध्याउँछ।

“दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले २४ लाख १८ हजार ३७० मत पायो भने दोस्रो हुने एमालेले २२ लाख ३९ हजार ६०९ मत। तेस्रो हुने एमाओवादीले पनि ६ लाख ६० हजार ६९७ मत पाएको थियो।” (बेमौसमको आन्दोलन, हिमाल साप्ताहिक, १७–२३ फागुन २०७१)

“माओवादी अध्यक्ष दाहाल 'मासिक रु.१ लाख भाडामा' बसेको लाजिम्पाटको घरजग्गा १३ साउन २०६८ मा नवलकिशोर अग्रवालबाट शिशु अर्याल भण्डारीले लिएको देखिन्छ। ३४, ११९ र १२० कित्तानम्बर रहेको यो जग्गा क्रमशः ४४२, १५१ र ९३५ वर्गफीटको छ।” (सन्देहको धन, हिमाल साप्ताहिक, १०–१६ फागुन २०७१)

“तीन हजार मीटरको उँचाइमा रहेको १० वर्गफीटको शान्त रारा ताल चारैतिर हिउँको पहरेदार राखेर बसेको थियो।” (कर्णालीको द्रुतयात्रा, हिमाल साप्ताहिक, ११–१७ माघ २०७१)

“आदिसंस्कृति ध्वस्त पारेर, युनिसेफको विश्वसम्पदा सूची अन्तर्गत पशुपति राख्ने, बोरोबुदूर राख्ने, एङकोरबाट राख्ने जस्ता कुरा रूख काटेर मुढाको पूजा गर्ने बाँदर संस्कार नै बढी लाग्छ।” (आदिधर्म सापेक्ष संविधान, कान्तिपुर दैनिक, १५ चैत २०६७)

छापिएका कुरालाई ढुंगाको अक्षर मान्ने समाज छ हाम्रो, तर कहिलेकाहीं दाँतमा ढुंगा लगाउने तथ्य–तर्क छापिएर आउँछन्। अझ् कम्प्युटरको जमानामा बढी गल्ती लेखिंदैछ। यस लेखमा तीन वटा गल्ती हिमाल बाटै र एउटा कान्तिपुर दैनिकबाट लिइएको छ। कतिपय पाठकले 'इन्साइक्लोपेडिया' भन्ने गरेका लेखक सौरभले केही वर्षअघि कान्तिपुर मा गरेको गल्ती त्यसपछि पनि आफ्नो पुस्तक असहमति को पेज ६४ मा समेत दोहोर्‍याएका छन्।

हिमाल ले रारा तालको क्षेत्रफल घटाएर करेसाबारी जत्रो खाल्डोमा सीमित पारेको छ। धेरैका किताबमा रारा तालको लम्बाइ ५.५ किलोमीटर र चौडाइ २ किलोमीटर लेखेको भेटिन्छ। धधध।चबचबबिपभ।अय्क मा चाहिं लम्बाइ ५ किलोमीटर र चौडाइ २ किलोमीटर लेखिएको छ। यो भनेको १० वर्ग किलोमीटर हो, तर हिमाल चिप्लियो र बन्यो १० वर्गफीट। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बसेको घर बनेको जमीनको हिसाब पनि त्यस्तै छ। हिमाल मा लेखिए अनुसार त दाहाल १५२८ वर्गफीट (४.४६ आना) जमीनमा बनेको घरमा बसेको बुझ्िन्छ, जबकि उनी थुप्रै गाडी अटाउने कम्पाउण्ड भएको तीन रोपनी जमीनमा बनेको घरमा छन्। यस्तै, ६ लाख ६० हजार भोटको कुरा कमल थापाको बाह्रै महीने गर्जनबाटै सबैलाई कण्ठस्थ भइसकेको छ। थापा 'साढे ६ लाख मतदाताको पार्टी' भनिबस्छन्। तर, हिमाल ले राप्रपा, नेपालभन्दा तेब्बर ठूलो एमाओवादी पार्टीले त्यति भोट पाएको लेख्यो। एमाओवादीले त १४ लाख ३९ हजार ७२६ मत पाएको थियो।

सौरभले 'आदिधर्म सापेक्ष संविधान' शीर्षकको लेखमा गरेको त्रुटि अझ् डरलाग्दो छ। उनी चिप्लिंदा पाठकले विश्व सम्पदा सूचीकृत गर्ने युनिसेफ भनेर बुझ्े। तीन जनाले सम्पादन गरेको किताबमा पनि त्यही गल्ती छ। कान्तिपुर का सम्पादक पनि लेखकलाई अति विश्वास गर्दा चिप्लिएको हुनुपर्छ।

गल्ती घटाउने काइदा

अखबार र किताबमा अनेक गल्ती भेटिन्छन्, जुन घटाउने प्रयास हुनुपर्छ। 'बफर जोन' लाई 'बफरजंग क्षेत्र' लेखिएको देख्दा हाँसो उठे पनि यस्तो गल्तीले रुवाउन पनि सक्छ। एउटा ट्रकबाट सयौं क्युबिक फीट काठ बरामद भएको, एउटै गाविसमा हजारौं हेक्टर खेत रहेको जस्ता समाचार पनि राष्ट्रिय अखबारहरूमा पढ्न पाइन्छ। कति रिपोर्टरले फलानो ठाउँको क्षेत्रफल यति 'वर्ग स्क्वायर फीट' लेखेका र सम्पादकले त्यस्तै छापेका हुन्छन्। यो त 'राइस भात' भने जस्तो भयो। आना, पैसा, हेक्टर, रोपनी, वर्गफीट आदिको हिसाब निकाल्ने एउटा चिर्कटो न्यूजरुमको भित्तामा टाँसिदिए यो रोग निको हुन्छ।

हो, अखबारको काम जहिल्यै हतारमा सिध्याउनुपर्छ, पत्रकारहरूलाई 'डेडलाइन' ले पेलिरहेको हुन्छ। तर, त्यसो भन्दैमा जे पायो त्यही लेखेर छापिदिंदा पेशागत 'डेथलाइन' मा पुगिन्छ।

रिपोर्टर/सम्पादकले 'विज्ञ' माथिको भर घटाउनु गल्ती घटाउने अर्को काइदा हो। केही महीनाअघि एकजना चल्तीका 'तन्त्रविद्' ले हिमाल का रिपोर्टरलाई वास्तुशास्त्र मिलेको घरमा बसे निःसन्तान दम्पतीलाई सन्तान लाभ हुने कुरा टिपाएछन्, जुन पछि हामीले पढ्यौं। अब रसेन्द्र भट्टराई, डा. भक्तमान श्रेष्ठ, अनुजा बानियाँ, दिलशोभा श्रेष्ठ आदि बारेका बहुचर्चित समाचारका कटिङ वा फोटोकपी न्यूजरुमहरूका भित्तामा टाँस्नुपर्छ, जसमा बेलाबेला आँखा गइराख्यो भने गल्ती घट्छ।

पाइलट, डाक्टर, इन्जिनीयर, वैज्ञानिकहरू एउटा गल्तीले कहिल्यै उठ्न नसक्ने गरी थचारिन्छन्। उनीहरूको गल्तीले अरूलाई पनि सिध्याउँछ। लेखक/पत्रकारहरूको गल्ती त्यो विघ्न खतरनाक नभए पनि उनीहरूको लापरबाहीले हजारौं दिमागमा गलत जानकारी रोप्छ। गल्ती घटाउने लेखक, पत्रकार र सम्पादकको जय होस्।

comments powered by Disqus

रमझम