फोहोर व्यवस्थापनमा आइपर्ने यस्ता समस्याले बेला बेला राजधानी अस्तव्यस्त बनाउँछ। तर, घरबाट निस्कने फोहोर व्यवस्थापन घरभित्रै गर्न सके टोल र शहर नै सफा राख्न सकिन्छ। विदेशमा भने घरबाट निस्कने विभिन्न फोहोरलाई फरक फरक छुट्याएर 'रि–साइकल' केन्द्रमा पुर्याउने गरिन्छ।
काठमाडौं सामाखुशीका बसन्त र उर्मिला थापाको घरबाट फ्याँकिने फोहोर भनेको प्लाष्टिकका झोला र टीनका बट्टा मात्र हुन्। हरेक दिन फोहोर उठाउन आउने सफाइ कर्मचारीले थापाको घरबाट खासै फोहोर पाउँदैनन्। घरभित्रै फोहोर व्यवस्थापन गरेकाले यो घरबाट फोहोर उठाउन आउनेले पनि आधा मात्रै शुल्क लिन्छ।
थापा दम्पतीले घरबाट निस्कने विभिन्न फोहोरको व्यवस्थापन अलग–अलग ढंगले गर्छन्। दम्पतीले कुहिने फोहोरलाई खाल्डो खनेर गलाई कम्पोष्ट मल बनाउने गरेका छन्। मल करेसाबारीमा प्रयोग गरेर फाइदा लिइरहेका छन्। बसन्त थापा भन्छन्, “घरको फोहोर बाहिर पठाएर दुर्गन्ध बढाउनु भन्दा मल बनाउँदा फाइदा भएको छ।” उनको भनाइमा घरबाट निस्कने फोहोरमध्ये सिसाका बोतल तथा फुटेका सिसाकोे व्यवस्थापनमा भने समस्या छ। कतिपय घरधनीले गल्ने फोहोरबाट मल बनाउन घरैमा छुट्टै कन्टेनर राख्ने गरेका छन्। यसरी तयार गरेको मल बगैंचा, करेसाबारी तथा छतका बगैंचालाई पर्याप्त हुन्छ।
विकसित देशहरूका बाटोमा कागज, प्लाष्टिक, टीनदेखि खानेकुराका लागि छुट्टाछुट्टै कन्टेनर राखिएका हुन्छन्। आर्किटेक्ट प्रबल थापा विदेशमा आफैं फोहोर लिएर त्यस्ता कन्टेनरसम्म जानुपर्ने तर यहाँ घरघरै फोहोर उठाउन आउँदा पनि व्यवस्थित गर्न नसकिएको बताउँछन्। उनी घर बनाउने बेलैदेखि फोहोर व्यवस्थापनबारेमा सुझाव दिने गरेको बताउँछन्। भन्छन्, “फोहोर र दूषित पानी व्यवस्थापन घरको लागि महत्वपूर्ण कुरा हो। घरभित्रको फोहोर व्यवस्थापनमा दराज राख्ने जति ठाउँ भए पुग्छ।” कतै वनभोज र जमघट भयो भने खाएका टपरा, प्लाष्टिक, कागजका प्लेट, ग्लास र बाँकी रहेको खानेकुरा असरल्ल छाडेर हिंडेको देखिने गरेको बताउँदै थापा भन्छन्, “आम मानिसमा फोहोर व्यवस्थापनप्रति अझ्ौ चेतनाको खाँचो छ।”
प्रस्तुतिः अनुशील