८-१४ चैत २०७१ | 22-28 March 2015

बोल्न थाल्यो देश

Share:
  
- सजना बराल
अन्तरसंवादलाई खुला समाजको ऐना मानिन्छ। कलाक्षेत्रमा पछिल्लो समय भइरहेका यस्ता गतिविधिले लामो समयदेखि दबिएका आवाज मुखरित हुन सघाएको छ।

मन्डला थिएटरमा फिल्म जानकार र दर्शकबीच छलफल हुँदै।
फिल्म सम्बन्धी रुचि राख्नेहरूका लागि हरेक सोमबार बेलुकी ४ बजे 'मन्डे मूभिज' को समय हो। 'मन्डे मूभिज' अन्तर्गत अनामनगरस्थित मण्डला नाटकघरमा यो साता नेपाली फिल्म 'देउता' देखाइयो। चलचित्र समीक्षक समाज, मण्डला नाटकघर र इन्डिजिनियस फिल्म आर्काइभले आयोजना गर्दै आएको 'मन्डे मूभिज' मा फिल्मका विद्यार्थी, साहित्यकार, पत्रकार भेला हुन्छन्। फिल्म हेरिसकेपछि दर्शक र उपस्थित फिल्म–जानकारबीच छलफल गरिन्छ।

हरेक महीनाको सुरुआत केही राम्रा कविता सुनेर गरौं भन्ने आग्रहमा कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रत्येक महीनाको पहिलो साता 'हामी, कवि र कविता' श्रंृखला भइरहेको छ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा पनि कवि र कविताबारेको अन्तरक्रिया कार्यक्रम 'मुक्त अनुभूति' हुँदै आएको छ। शिल्पीका घिमिरे युवराज फरक विधाबीचको अन्तरक्रियाले ज्ञान बढ्नुका साथै थिएटर समेत सम्पन्न हुने भएकाले कार्यक्रम शुरु गरिएको बताउँछन्।

पछिल्लो समय राजधानीमा नेपाल–भारत पुस्तकालयले साहित्य, कला, संगीत र चलचित्रबारे महीनैभर कुनै न कुनै कार्यक्रम गर्दै आइरहेको छ। ललितपुर, पाटनढोकास्थित यलमाया केन्द्रमा पनि विविध विषयमा अन्तरक्रिया गरिंदै आएको छ।

देश अन्तरक्रियात्मक हुन थालेको छ। साहित्यकार अभि सुवेदी ससुरा–बुहारीबीच संवाद नहुने हाम्रो समाजमा यस्ता छलफल चलाइनुलाई 'समाज उदार हुँदैछ' भनी बुझ्नुपर्ने बताउँछन्। “मान्छे अहिले बोल्न सक्ने भएका छन्। यो खुला समाजको प्रतिबिम्ब हो”, सुवेदी भन्छन्।

अन्तरक्रियात्मक कार्यक्रम बढेसँगै कुराकानीको विषय र दायरा पनि फराकिलो हुँदैछ। पहिले राजनीति र विकास सार्वजनिक छलफलका विषय बन्थे भने अहिले कला–साहित्यबारे उत्तिकै गम्भीर बहस हुनथालेको छ।

कलामान्डु

१२ वर्षदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) चलिरहेको छ। महोत्सवले 'ट्राभलिङ किम्फ' भन्दै छानिएका फिल्मलाई विभिन्न जिल्लामा देखाउँदै पनि आएको छ। प्रत्येक दुई वर्षमा राजधानीमा हुने फिल्म साउथ एसिया वृत्तचित्र महोत्सव यसै वर्ष हुँदैछ। छोटा चलचित्रका विभिन्न उत्सव पनि हुनथालेका छन्।

चारवर्षदेखि काठमाडौंमा नेपाल लिटरेचर फेस्टिभल भइरहेको छ। यो साहित्य मेलामा देश–विदेशका साहित्यानुरागी भेला हुन्छन्, विचारविमर्श गर्छन्। यसबाहेक पटकपटक हुने पुस्तक प्रदर्शनी र त्यसैको सेरोफेरोमा हुने छलफलले साहित्यप्रेमीलाई व्यस्त बनाउने गरेको छ।

'अमालगम' र 'आर्टमान्डु' जस्ता चित्रकला सम्बन्धी कार्यक्रमको अनुभव बटुलेको सिद्धार्थ आर्ट फाउन्डेसनले आउँदो कात्तिकदेखि 'नेपाली एस्थेटिक' नामक श्रृंखलाबद्ध कला संवादको तयारी गरिरहेको छ। फाउन्डेसनका संयोजक निश्चल ओली स्थान र प्रविधिको अभावमा फाउन्डेसनले चित्रकलाबारे यस किसिमका थप कार्यक्रम गर्न नसकेको बताउँछन्।

मार्टिन चौतारीमा हालै आयोजित 'संगीत–बहस' श्रृंखलामा सहभागी गायक प्रेमध्वज प्रधानले यसप्रकारको कार्यक्रमबाट नौलो अनुभव गरेको बताए। “मनमा लागेको कुरा भन्न पाइयो”, उनी भन्छन्। श्रृंखलाका आयोजकमध्येका एक प्रभाकर गौतमले नेपालमा अनेक विषयमा छलफल हुने भए पनि संगीत र संगीतकर्मीबारे खासै अन्तरक्रिया नभएकाले आफैं अग्रसर भएको बताए।

गतिशील समाज

राणाशासन, प्रजातन्त्र, पञ्चायतकाल, राजाको 'कु' हुँदै देश संघीय गणतन्त्रमा प्रवेश गरेको छ। राजनीतिक परिवर्तनका उपलब्धिमध्ये वाक् स्वतन्त्रता प्रमुख मानिन्छ। “२०४६ सालअघि वैचारिक स्वतन्त्रता थिएन, व्यवस्था विरुद्ध चुँइक्क बोल्न पाइन्थेन”, साहित्यकार श्रवण मुकारुङ भन्छन्, “त्यसपछि सबैले आफ्नो विचार राख्न पाउने भए।” हरेक विषयमा खुला बहस थालिनुलाई उनी 'गणतन्त्रको देन' भन्न रुचाउँछन्।

अभि सुवेदी यसखाले बहसमा सबैभन्दा सक्रिय अघिल्लो पुस्ताका साहित्यकारमा पर्छन्। उनी यस्ता बौद्धिक संवादले समस्याको हल गर्नुका साथै विपरीत विचारप्रति सहिष्णु बन्न सिकाउने तर्क गर्छन्। तर, अधिकांश कार्यक्रम 'साधारण' र 'परिचयात्मक' तहमै सीमित भएको उनलाई चित्त बुझ्ोको छैन। “प्रचारमुखी भावले 'गहन' छलफल दुर्लभ भएका छन्। विपरीत विचारको सम्मान हुनसकेको छैन”, सुवेदी भन्छन्।

नेपाल लिटरेचर फेस्टिभलका आयोजक बुकवर्म फाउन्डेसनका निरज भारी साहित्यिक मेलाले 'जीवन्त समाज' निर्माणमा सहयोग पुर्‍याएको बताउँछन्। मेलाले लेखक–पाठक दुरी घटाएको तर्क गर्दै उनी भन्छन्, “सानो हलबाट प्रज्ञा–प्रतिष्ठानको आँगनसम्म पुगेका छौं। सही समयमा सही काम गरिएछ भन्ने लागेको छ।”

'मन्डे मूभिज' का आयोजक एवं चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञश पनि यस्तो कार्यले एकअर्काको विचार सुन्ने–सुनाउने संस्कारको विकास गर्नेमा विश्वास गर्छन्। “फिल्म देखाउने र छलफल गर्ने अभ्यासले एकअर्काको सोच र कार्यशैली जान्न सकिन्छ, यसले फिल्मकर्मीलाई समाज बुझ्न सहयोग पुर्‍याउँछ”, उनी भन्छन्।

साहित्यकार मुकारुङ भने लामो समयदेखि दमित आवाजलाई सार्वजनिक मञ्चमा ल्याउन यस्ता छलफल निकै सहयोगी बनेको बताउँछन्। “गणतन्त्र आउनासाथ देशमा स्वाट्टै ठूलो परिवर्तन आउँछ भन्नेहरू अहिले निराश छन्। तिनलाई यस्ता कार्यक्रमले नै थुम्थुम्याइरहेका छन्”, उनी भन्छन्।

जाग्दै मोफसल

यसखाले बहस उपत्यकामा मात्र सीमित छैनन्। पोखराको र्‍यान्डम रिडर्स सोसाइटीले समयसमयमा देशभरबाट साहित्यकार बोलाएर लेखक–पाठक जमघट गराउँदै आएको छ। दाङको 'मदानी साहित्य समूह नेपाल', धरानको कलरव जस्ता संस्थाले मोफसलमा कला संवादलाई भरथेग गरिरहेका छन्। दुईवर्षदेखि झापाको काँकरभिट्टामा 'कला साहित्य उत्सव' भइरहेको छ। “काठमाडौंमा हुने छलफलबारे पत्रिका र रेडियोबाट मात्र थाहा पाउने जिल्लावासी आफैं सहभागी भई सवाल–जवाफ गर्न पाउन् भन्ने हाम्रो उद्देश्य हो”, उत्सव आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईं भन्छन्।

युवामाझ्ा लोकप्रिय उपन्यासकार सुबिन भट्टराई पुस्तककै बारेमा कुरा गर्न विराटनगर, इटहरी, धरान, दाङ, धादिङ, हेटौंडा, पोखरा पुगेका छन्। पात्रकै नामबाट भएका 'डान्स पार्टी विथ साया', 'कन्सर्ट विथ साया' जस्ता कार्यक्रममा पनि उनी नाचेका छन्। उनी यस्ता कार्यक्रमले पठन संस्कृति विकास गर्न मद्दत गरेको बताउँछन्। “साहित्य नपढ्नेहरू पनि छलफलमा भाग लिएपछि पढ्न थाल्छन्। यसले साहित्यकै प्रवर्द्धन हुन्छ”, उनी भन्छन्।

कवि मुकारुङ भने यस्ता छलफल अझै पनि शहरकेन्द्रित भएकोमा चिन्तित छन्। गाउँघरमा यस्ता कार्यक्रमको आवश्यकता अझ बढी देख्ने उनी भन्छन्, “विद्वान्हरू शहरमा मात्रै छन् भने जस्तै यस्ता कार्यक्रम पनि शहरमै मात्र भइरहेका छन्।” साहित्यकार सुवेदी चाहिं चित्रकला सम्बन्धी बहसले पर्याप्त स्थान नपाएको गुनासो गर्छन्।

comments powered by Disqus

रमझम