८-१४ चैत २०७१ | 22-28 March 2015

राजधानीमा धामीको स्वर

Share:
  

३० वर्षदेखि साधनारत राम धामी (५१) ले पहिलोपटक राजधानीको मञ्च भेटे। ४–५ फागुनमा लाजिम्पाटस्थित थिएटर भिलेजमा गाउँदागाउँदै उनले भने, “मेरो गीत काठमाडौंले सुन्दैन, यहाँका रेडियोमा बज्दैन।”

अनुशील

पूर्वको इटहरीमा बस्ने रामलाई हिमाल एसोसिएसन र थिएटर भिलेजले राजधानीमा प्रस्तुत गरेको हो। लेखक बसन्त थापा र कवि विप्लव प्रतीकले गत माघमा इटहरीमा भएको एक जमघटमा रामको प्रतिभा सुनेलगत्तै यस्तो कार्यक्रम गर्ने सोच पलाएको थियो। 'राम धामी एकल साँझ' मा उनले डेढ दर्जन गीत गाए। जसमा उनकै सिर्जना र नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठका चर्चित गीत थिए। जसलाई दर्शकहरुले मन पराएका थिए। धामीलाई कार्यक्रममा इटहरीबाट साथै आएका विदुर कार्की, राजेन लामा, नवीन श्रेष्ठ, रोशन राना, त्रिजंग बस्नेत, प्रवेश राई र नवीन न्यौपानेले साथ दिएका थिए।

थारु भाषाको गीत गाएर २०४८ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका धामीको स्वरमा ५० वटा गीत रेकर्ड भएका छन्। उनको संगीतमा ३० वटा गीत अरुले नै गाएका छन्। संगीत साधना केन्द्र इटहरीका संस्थापकमध्येका धामी २०५० सालयता संगीत प्रशिक्षकका रुपमा सक्रिय छन्।

अनुशील


तीन नाटक, तीन जिन्दगी

फूटबल चलिरहेको छ। लिभरपुल क्लबले जित्नेमा नवीन खड्का विश्वस्त देखिन्छन्। त्यसैले साथीसँग रु.१० हजारको बाजी थाप्छन्। तर, हार्छन्। काँकरभिट्टाबाट आएकी 'फेसबुककी केटी' सँग पनि नवीनले भेट्न पाउँदैनन्। विना कसूर रातभर प्रहरी निगरानीमा बस्नुपर्ने भएपछि उनी निराश हुँदै भन्छन्, “संसार आफू अनुसार भन्थे, होइन रै'छ।”

देबकी बिष्ट

दयाहाङ राई लिखित/निर्देशित नाटक 'जिरो जिरो जेड' का पात्र हुन् नवीन। उनी कुनै गोदामको चौकीदार र अफिस ब्वाय दुवै हुन्छन्। कोठाछेउ भएको आत्महत्याबारे बुझ्न आएको प्रहरी टोलीले नवीनलाई निगरानीमा राख्छ। प्रहरीका दुई जवान र नवीन रातभर घटनास्थलमा बस्छन्। उनीहरूबीच भएको संवाद नै नाटकको मूल अंश हो। “यसमा कुनै कथा छैन”, सहायक निर्देशक सोमनाथ खनाल भन्छन्, “तीन फरक विचार र परिवेशका पात्र एकै ठाउँमा जम्मा हुँदा निस्किने हाँसोलाई नै नाटकको विषयवस्तु बनाइएको छ।”

नाटकमा भाष्कर वली, रियर राई र मोहम्मद नाजिर हुसेनको अभिनय हेर्न सकिन्छ। साम्तेन भुटियाको मञ्च परिकल्पनाले नाटकको परिवेश झल्काएको छ। नाटकको अन्त्य भने अलि फितलो लाग्छ। यो १८ चैतसम्म मञ्चन हुँदैछ।
काठमाडौंस्थित थिएटर मल र कालिकास्थानको सर्वनाम नाटकघरमा पनि क्रमशः 'सम्बोधी' र 'जिम्दा सपना' नाटक चलिरहेका छन्। राम केसीको लेखन तथा निर्देशन रहेको 'सम्बोधी' ले बलात्कारको घटनालाई समेटेको छ भने राज शाहको 'जिम्दा सपना' वैदेशिक रोजगारीमा जाने युवाको कथामा आधारित छ।

सजना


'रियल' विवाह

लेक्सलिम्बुडटकम
२५ फागुनमा अभिनेत्री सुमिना घिमिरेले रोशन सापकोटासँग विवाह गरेको समाचार सुनिएसँगै त्यसको तीन दिनपछि अभिनेत्री झ्ारना बज्राचार्यको विवाहको तस्वीर सार्वजनिक भयो। भारतीय मूलका व्यापारी राहुल अग्रवालसँग उनको प्रेम रहेको खासखुस त चल्न थालेको थियो तर विगतमा धेरैसँग नाम जोडिएका कारण विवाह नै पुष्टिको अन्तिम आधार थियो। तीन वर्षअघि फिल्म 'सेफ ल्यान्डिङ' को प्रिमियरका बेला यी दुवैको भेट भएको थियो। राहुल उक्त चलचित्रका निर्माता हुन्।

सन् १९९७ की मिस वर्ल्ड नेपाल झरनाले 'हतियार', 'चाहन्छु म तिमीलाई', 'कोही मेरो' जस्ता फिल्ममा अभिनय गरेकी छन्। कुनै समय क्षमता देखाउन मुम्बई पुगेकी झरना 'लभ इन नेपाल' फिल्ममा पनि देखिइन्। मुम्बईमा टिक्न नसकी नेपाल फर्किएकी उनी योग–ध्यानतर्फ तानिएकी थिइन्। 'जेज् मेडिटेशन सेन्टर' खोलेकी उनी योगगुरु समेत बनिन्। त्यसबीच उनी पहिले झैं म्युजिक भिडियोमा समेत देखिइन्। क्षमतावान् छवि बनाएकी झरना डेढ दशकको व्यावसायिक जीवनमा खासै सफल हुन भने सकिनन्। विवाहपछि झरनालाई फेरि पुरानै स्वरुपमा देख्न पाइने हो वा होइन, स्पष्ट छैन। तर, अध्यात्ममा रम्न थालेकी उनलाई नयाँ सम्बन्धले ठूलै मानसिक राहत दिएको हुनुपर्छ।

comments powered by Disqus

रमझम