पानीको मोलमा दूध

Share:
  
- केदार शर्मा
दूधले उचित मूल्य र स्थान नपाएर विरक्तिएका किसानलाई बचाउन नेपाली उपभोक्ताहरूले मात्र सक्दछन्।
p44
 
 
तस्बीर: रासस

मुलुकलाई आत्मनिर्भर हुन नदिने कुराहरूलाई राष्ट्रघात भन्न मिल्छ भने 'मिल्क होलिडे' लाई पनि राष्ट्रघात भन्नुपर्छ। मिल्क होलिडे ठूला ग्राहक, खासगरी दुग्ध विकास संस्थानले हप्तामा एक दिन वा त्योभन्दा बढी किसानहरूसँग दूध नकिन्ने दिन हो। अहिले किसानहरू मिल्क होलिडे शुरू हुने त्रासमा छन्, जबकि मुलुकमा दिनहुँ रु.३६ लाख भन्दा बढीको दूध र दुग्धपदार्थ विदेशबाट भित्रिरहेको छ। 

दूध उत्पादन अत्यन्त मिहिनेतले घडीले जसरी गर्नुपर्ने काम हो। अण्डा जस्तो पछि टिपे पनि हुने वा सुविधा अनुसार बजारमा लगे पनि हुने वस्तु होइन, ताजै बजारमा पुरुर्‍याउन नसके बिग्रिने वस्तु हो― दूध। बजारमा माग कम भयो भनेर दूध उत्पादन रोक्न सकिंदैन।  
 
मिल्क होलिडे नहुँदा पनि दूध उत्पादकहरूलाई सजिलो छैन। रु.५० हजारभन्दा बढी पर्ने गाईलाई दैनिक डेढ–दुई सयको घाँस–दाना खुवाएर र गोबर–गउँतमा लटपटिएर निकालिने त्यो गोरस किसानहरूले पानीको मोलमा सरकारी वा निजी कम्पनीहरूलाई बेच्नुपर्दछ। करीब तीन प्रतिशत घृतांश भएको गाईको दूधको मूल्य सरकारी निकाय दुग्ध विकास संस्थानले प्रति लिटर रु.२५ हाराहारी दिन्छ, बोतलबन्द (मिनरल) पानीको मोल पनि बजारमा झ्ण्डै त्यस्तै छ। 
 
दूधबाट हुने आयस्ताको ठूलो अंश गोठमा खर्च हुन्छ। त्यसैबाट किसानले ब्याङ्कको साँवा–ब्याज पनि तिर्नुपर्छ। एउटा सामान्य गाईको दूधबाट रु.४०–५० नाफा हुन्थ्यो भने त्यही दूध नबिक्दा सरदर रु.२५० घाटा लाग्छ। धेरै गाई पाल्नेको घाटा पनि ठूलै हुन्छ र त्यो देख्ने अरूलाई पनि व्यावसायिक गाईपालन गर्न डर लाग्छ। अनि निर्वाहमुखी कृषि अर्थतन्त्रका जरा अझ् बलिया हुन्छन्। 
 
अहिले किसानबाट प्रतिलिटर रु.२४–२५ मा दुग्ध उत्पादक कम्पनीहरूले किनेको दूधको खुद्रा मूल्य रु.५० छ भने कोक–पेप्सी लिटरको रु.७० र बियर ६८० मिलिको रु.१८० भन्दा बढीमा बिक्छन्। विदेशबाट आएका स्किम लगायत विभिन्न ब्रान्डका दूध लिटरको रु.२५० सम्ममा बिक्री हुन्छन्। चल्तीको 'रेडकाउ' दूध उसकै विधिअनुसार घोल्दा लिटरको रु.१५५ पर्छ। नेपाली चीजहरूको मूल्य केजीको रु.५०० भन्दा तलै छ, तर काठमाडौंकै बजारमा रु.३००० माथिका विदेशी चीजहरू पाइन्छन्। आफ्नै देशका किसानहरूद्वारा उत्पादित दूध भने पानीको मोलमा समेत नबिकेर मिल्क होलिडे हुन्छ! 
 
दोष शिवजीको!  
ब्याङ्कबाट गाई किन्नभन्दा सजिलै र कम ब्याज दरमा गाडी किन्न ऋण पाइन्छ। गाई मर्न सक्छ, गाडी मर्दैन। गाडीको बीमा बाट ऋण असुलउपर गर्न सकिन्छ, सासको धन गाईको भरपर्दो बीमा हुँदैन। अनि ब्याङ्कले किन जोखिम लेओस्? विदेशबाट निर्वाध दुग्ध पदार्थ भित्र्याउन दिने सरकारको पनि यसमा कुनै गल्ती छैन। आयात गर्दा कर लिएर राजस्व बढेको देखाउन र अन्य लाभ पनि गर्न मिल्छ, तर किसानहरूबाट त्यस्तो केही असुल्न मिल्दैन। दूध किनेनन् भनेर उपभोक्तालाई केही भन्न पनि मिल्दैन।  
 
खाने बित्तिकै लाग्ने पेय पदार्थहरूको मोह छाडेर लाग्ने टुङ्गो नभएको दूध खाने 'बच्चा' सोख शहर–बजारका धेरै नेपालीलाई छैन पनि। केटाकेटीलाई हर्लिक्स वा बूस्ट नहाली दूध मन पर्दैन। दूध उत्पादकहरू कुनै खेलकुदका प्रायोजक बन्न सक्दैनन्, उपहार योजना चलाउन सक्दैनन्। दूध नबिक्नुमा दोष छ भने मात्र दुईथरीको छ― पहिलो किसानको र दोस्रो शिवजीको! 
 
एकताका मर्त्यलोकको भ्रमणमा निस्केका महादेव बूढा जोगीको भेष धारण गरेर हिंड्दै रहेछन्, उनको नजर एउटा गोठमा गाई दुहुँदै गरेको किसानमा परेछ। गोरु मात्र पालेर बसेका महादेवलाई दूध खान मन लागेछ र भनेछन्, “ए भाइ, दूध खान पाइन्छ?”  
 
बाटैबाट दूध मागेको देख्दा किसानलाई झवाँक चलेछ र ओठे जवाफ फर्काएछ, “यो पानी हो र बाटो हिंड्नेलाई बाँड्न? दूध खानेभए गोबर सोहोर्न सघाऊ, घाँस काटिदेऊ!”  
 
“त्यसो भए त भइहाल्यो!” भन्दै शिवजी बाटो लागेछन्।  
 
त्यसपछि रक्सी पारिरहेको ठाउँमा पुगेका शिवजीले त्यहाँ पनि चाख्न मागेछन्। रक्सी पार्ने महिलाले चाहिं उनलाई आदरपूर्वक गुन्द्रीमा बसाएर सितन समेत टक्र्याइछन्। ठीक–ठीक भएपछि महादेवले नमागिकनै वरदान दिएछन्, “यो आनन्ददायी पेयले संसार पिटोस्। मानिसहरूमा यसको लत लागोस्। बजार खोज्नु नपरोस्, बजारले यसलाई खोजोस्। संसारमा अरूतिर ड्राइ डे भए पनि पाशुपत भूमि नेपालमा सबैले सधैं तिम्रो उत्पादन निर्वाध ग्रहण गरून्।”  
 
उनले त्यसमाथि थपेछन्, “त्यो घमण्डी किसान भने दूध नबिकेर हैरान होओस्। बिके पनि राम्रो मोल नपाओस्। जति राम्रो दूध बेचे पनि मानिसले शङ्का मात्र गरून्। बेला–बेला मिल्क होलिडे भएर धरधरी रुनु परोस्।” 
 
कुरा फैलियो, किसानहरू आत्तिए। गौशाला नै स्थापना गरेर पशुपतिनाथको ज्योतिर्लिङ्गलाई दूधले स्नान गराउन थाले। तर उनीहरूको प्रयत्न 'कपाल दुखेको ओखती नाइटोमा' सावित भयो। अझ्सम्म पनि त्यो श्राप कटेको छैन। अनि अर्कालाई दोष लगाएर के फाइदा? 
 
उही ख्याल उही साँचो, नेपालका दुग्ध उत्पादक किसानहरूलाई सराप परे जस्तै भएको छ। सरकार दुग्ध उत्पादन बढाउने भाषण गर्छ, अनुदान र ऋण सहयोगहरू भित्र्याउँछ, तर त्यो बैला गाईलाई खुवाएको घाँस जत्तिकै हुन्छ। उत्पादन र बजारमा हुनुपर्ने जति सुधार हुँदैन। बल्लबल्ल केही सकारात्मक लक्षणहरू देखिए पनि तिनलाई आयातीत दूधको बाढीले बगाइदिन्छ। 
 
संसारमा भएका सयौं पेशा छाडेर गाई नै पाल्न अघि सर्नुपर्ने किन? पेशा छान्न पनि नजान्ने, त्यसमाथि मान्छे चिन्न पनि नसक्नेले दुःख पाउनु स्वाभाविक हो! एउटा नेपाली किसानले मान्छे नचिनेको फल अहिले सबैले भोगिरहेका छन्। 
 
खुवा, गुँदपाक र सोनपापडी 
प्रायः नेपालीलाई खुवा–कुराउनी मनपर्छ तर त्यसमा हामी हमेशा मिसावटको शङ्का गर्छौं। बरमझ्ियाको पेडाको प्रसङ्ग चल्दा कुन बूढो असली र कुन बूढो नक्कली भनेर माथापच्ची गर्न थाल्छौं। सरकारी अनुगमनकर्ता र सचेत उपभोक्ताहरू मिलेर गुँदपाकको जातैलाई बजारबाट हटाइछाड्यौं, तर कुनै भारतीय ब्राण्ड अङ्कित बट्टाको मिठाईको गुणस्तर वा के कस्ता प्रिजर्भेटिभका कारण ती लामो समयसम्म बिग्रिंदैनन् भन्नेबारे केही नसोची खुरुक्क 'मुँ मीठा' गर्छौं।  
 
केही वर्षयता सोनपापडी भन्ने मिठाईले नेपालका परम्परागत मिठाईहरूलाई विस्थापित गरिसकेको छ। भारतका कारखानामा बनेर आउने यो मिठाईमा मैदा, बेसन, वनस्पति घ्यू र चिनी बाहेक केही हुँदैन। सिङ्गो सोनपापडी बट्टाबाट उठाउन पनि सकिंदैन। तर लुगामा धूलो झ्ार्दै, ठाडो मुन्टो पारेर भए पनि हामी त्यो खान्छौं। मिल्की बार वा डेरी बार वा अन्य नाममा आयात हुने करोडौंका चकलेटभन्दा तिनका साथ सित्तैंमा पाएको दन्त समस्याको मोल अझ् ठूलो छ। 
 
नेपाली किसानहरूले दूधको मूल्य अलिकति राम्रो पाइयोस् भनेर अनेक प्रयास नगरेका होइनन्। चीज, पनीर, छुर्पी, सेर्गेम, नौनी, घ्यू, दही, मोही, लस्सी, खुवा, बम्बइसन, गुँदपाक, पेडा― दूधका हाम्रा उत्पादन गनेर सकिंदैनन्। तर गुणस्तर र स्वाद दुवै दृष्टिबाट उत्तम यी उत्पादनले पाउनुपर्ने महत्व पाएका छैनन्। किनभने यिनका उत्पादकहरू बजारमा धमास जमाउन सक्ने अवस्थामा छैनन्। 
 
विवेकसम्मत किनमेल 
उपभोक्ता र उत्पादकहरू साइकलका दुई पांग्रा हुन्। कहिले मागले आपूर्ति बढाउँछ, कहिले आपूर्तिले माग। किसानहरूको उत्पादनसितै ग्राहकहरूले उपभोग बढाइदिने हो भने बजारमा सन्तुलन आउँछ। अनि मूल्य नबढाए पनि किसानहरूलाई पोसाउँछ। अन्ततः दुवैथरीलाई फाइदा हुन्छ। 
 
मुलुकको उत्पादकत्व बढाउन सरकारको ठूलो भूमिका हुन्छ। तर उत्पादकका असली देवता भनेका उपभोक्ता नै हुन्। उपभोक्ताको माया पाएका उत्पादनलाई सरकारले खेदो गरे पनि फरक पर्दैन। घरेलु जाँडरक्सी त्यसका उदाहरण हुन्। त्यसैले किसानले अहिले उपभोक्ताहरूसित सविनय निवेदन गर्नु परेको छ― हामी सकभर राम्रो उत्पादन दिइरहेका छौं, अझ् राम्रो पार्छौं। तर दूध र दूधजन्य उत्पादनमा तपाईंहरूको कृपादृष्टि पर्नुपर्‍यो। 
 
यो लेख नेपाली किसान वा मिठाई उत्पादकले मिसावट गर्दैनन् वा मिसावट गरे पनि उनीहरूको उत्पादन किन्नुपर्छ भन्ने जिकिर होइन, उपभोक्तालाई बियर वा शीतल पेयपदार्थ नपिउन आह्वान पनि होइन। तर राष्ट्रिय आत्मनिर्भरता भन्ने शब्दको कुनै अर्थ छ र दुग्ध उत्पादन पनि हाम्रो अर्थतन्त्रको अङ्ग हो भने, किसानले उपभोक्तालाई आह्वान गरेर मात्र पुग्दैन; कृषि मन्त्रालय र दुग्ध विकास बोर्डले दूधको उपभोग बढाउन व्यापक विज्ञापन गर्नुपर्छ, दूध प्रशोधनशाला र मिल्क बारहरू खोल्न मद्दत गर्नुपर्छ।  
 
राष्ट्रिय आत्मनिर्भरताको एउटा चाबी विवेकसम्मत किनमेल पनि हो। काम लाग्ने, स्वस्थकर र सस्ता सामग्री किन्नु र आफ्नो पाएसम्म अर्काको नकिन्नु पनि विवेकसम्मत किनमेल हो। पानीले दूधको काम दिंदैन, न दूधले पानीको। तर दूधको मूल्यमा पानी किन्नु वा पानीको मूल्यमा दूध किन्न खोज्नु विवेकसम्मत किनमेल होइन। 
 
किसानका टाउकाबाट शिवजीको श्राप कटाउने सामर्थ्य अब नेपाली उपभोक्ताको विवेकमा मात्र छ। 
comments powered by Disqus

रमझम