इन्दरकुमार गुजराल

Share:
  
- डा. भेषबहादुर थापा
(सन् १९१९–२०१२)
p54
 
 

सन् १९९३ मा अन्तरिम सरकारले पाकिस्तानमा चुनाव गराउँदा साउथ एशिया फोरमको तर्फबाट इन्दरकुमार गुजरालले नेतृत्व गर्नुभएको पर्यवेक्षण टोलीमा म पनि थिएँ। हामी त्यहाँका प्रधानमन्त्रीको भ्रमण दलमा सामेल भएर रावलपिण्डीबाट इस्लामावादतिर जानलाग्दा गुजरालले सरकारी घेराभित्रबाट चुनावको वास्तविकता थाहा हुन्न भन्दै छुट्टै हिंडेर 'लुकिछिपी' पर्यवेक्षण गर्ने प्रस्ताव राखे। सबभन्दा पहिले हामीले 'डन' पत्रिकाको कार्यालय गएर त्यसको सम्पादक टीमसँग कुराकानी गर्‍यौं।  

रावलपिण्डीबाट इस्लामावाद जाँदा उनले आफू जन्मेको ठाउँ देखाउँदै सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिंदा शरणार्थी भएर भारत गएको आफ्नो परिवारको दारुण कथा सुनाए। देश विभाजनको वियोगान्तबाट उठेका इन्दरकुमार गुजराल आधुनिक भारतका एक अविस्मरणीय राजनेताको रूपमा चिनिए। औपचारिक पदमा नहुँदा पनि दक्षिण एशियाली नागरिक समाज, लेखक, कलाकार, पत्रकार र कूटनीतिज्ञबीच चर्चित उनको नाम क्षेत्रीय सद्भावको पर्याय बन्यो।  
 
१९८० को दशकको मध्यतिर विदेशमन्त्री हुँदा 'क्षेत्रीय समृद्धिको सोच' (गुजराल डक्ट्रिन) लाई व्यवहारमा उतार्न शुरू गरेका गुजराल १९९७ मा भारतको प्रधानमन्त्री भएपछि छिमेकीहरू राम्रैसँग तरंगित भएका थिए। भारतको परराष्ट्रमन्त्री र प्रधानमन्त्री हुँदा उनी हामीसँगको औपचारिक–अनौपचारिक भेटघाटमा जे भन्थे, व्यवहारमा त्यही लागू गर्न खोज्थे। 'ठूलो आकांक्षा लिएको भारत छिमेकीहरूलाई अपेक्षित ध्यान नदिई शक्तिकेन्द्रको पछाडि लाग्यो, यो नै हाम्रो विदेश नीतिको कमजोरी रह्यो', भारत सरकारको कर्मचारी, सोभियत संघमा भारतीय राजदूत, परराष्ट्रमन्त्री र प्रधानमन्त्री जे हुँदा पनि उनी यसै भन्थे।  
 
छिमेकी राष्ट्रहरूसँग समान व्यवहार गरेर भारत प्रभुत्ववादी हैन, दक्षिण एशियाको सहयोगी र विश्वासयोग्य राष्ट्र हो भन्ने मान्यता स्थापित गर्नु 'गुजराल डक्ट्रिन' को मजबुन थियो। भारतको प्रगति छिमेकमा बाँडिएन भने त्यो नयाँ तनावको विषय बन्ने देखेका उनी परम्परादेखि यस क्षेत्रमा कायम तनाव शमन गर्ने समानतामा आधारित व्यवहारवादी कूटनीतिका प्रथमाप्रथम अभियन्ता र प्रयोक्ता थिए। तर उनको यो प्रयोगमा आफ्नै देशको परम्परागत संरचना बाधक बनेको थियो। भारतले एउटा शक्तिशाली देशको हैसियतबाट छिमेकीहरूसँग व्यवहार गर्नुपर्छ भन्ने 'साउथ–ब्लक' र 'नर्थ–ब्लक' लाई आफ्नो डक्ट्रिनमा मनाउन गुजराललाई कठिन परेको थियो। 
 
भारत–पाकिस्तानबीचको मात्र हैन, समग्र दक्षिण एशियाको तनाव कम गर्न नयाँदिल्लीले छिमेकीहरूप्रति 'ननरेसिप्रोकल टि्रटी, एरेन्जमेन्ट र टि्रट' को नीति अपनाउनुपर्ने गुजरालको अवधारणामा भारतीय नीतिनिर्माता, कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र सञ्चारमाध्यमको एउटा हिस्सा असहमत थियो। बुद्धिजीवीहरूको एउटा तप्काले भारतलाई कमजोर बनाएको भनेर गुजराल डक्ट्रिनको खुलेरै विरोध गर्‍यो। तर पदमा हुँदा होस् या नहुँदा, समग्र दक्षिण एशियाको विकास चाहने गुजरालले यो धारणा बदलेनन्।  
 
म राजदूत भएर दिल्ली जाँदा गुजराल प्रधानमन्त्री हुनु एउटा सुखद् संयोग थियो। शिष्टाचार भेटमा मैले भुटानी शरणार्थी समस्याको विषय उठाउँदा मौन बसे र पछि 'यसमा मलाई दबाब नदिनुहोला' भने। मैले उनीसँग संगत गरेको १५ वर्षमा यही एउटा विषय र समय थियो, जसमा उनले लाचारी प्रकट गरेका थिए। र पनि, गुजराल नेपालप्रति विशेष चासो राख्दथे। उनी प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रूपमा नेपाल नै आए। 'नेपाल फर्स्ट' गुजरालको मान्यता नै थियो। त्यसयता कुनै भारतीय प्रधानमन्त्रीबाट नेपालको औपचारिक भ्रमण भएको छैन। सार्क स्थापनाताका उनले गरेको लविङ्ग पनि यहाँनेर स्मरणीय छ।
 
नेपालीहरूले गुजराललाई सम्झिरहने अरू पनि धेरै कारण छन्। उनकै पहलमा १९९५ मा भएको नेपाल–भारत व्यापार सन्धिले भारतमा नेपालको व्यापार सहजीकरणको बाटो खोल्यो। त्यसैगरी, पारवहन सन्धि स्वतः नवीकरण हुने व्यवस्थासहित पाँचबाट सात वर्षको बनाइयो। व्यापार सन्धिपछि बिहार, बंगाल र उत्तर प्रदेशका उद्योगलाई नेपाली उद्योगहरूले उछिन्न थालेका थिए। तर पछि, व्यापारिक लबीहरूको सक्रियतामा भारतले २००२ मा त्यो सन्धिमा पुनरावलोकन गर्‍यो।  
 
नेपालको जलस्रोतका सम्बन्धमा लगानी जसको भए पनि बिजुली भारतमै बिक्री हुने गुजराल बताउँथे। १९५० को शान्ति तथा मैत्री सन्धि लगायतका प्रसंग उठ्दा उनी 'तपाईंहरूले औपचारिक कागज बनाएर दबाब दिन थाल्नुभयो भने हामीकहाँ तुरुन्त नकारात्मक धारणा बन्छ, विस्तारै अनौपचारिक रूपमा वार्ताका माध्यमबाट समस्या उठाउने हो भने त्यसलाई समाधानतिर लैजान सकिन्छ' भन्थे। भारतका कुनै उच्च अधिकारीले यस्तो कुरा कहिल्यै गरेनन्। तर, गुजराल जम्मा १३ महीना मात्र भारतको प्रधानमन्त्री भए। उनका उत्तराधिकारीले 'गुजराल डक्ट्रिन' लाई निरन्तरता दिएको देखिएन।  
 
शरणार्थी परिवारबाट उठेर भारतको प्रधानमन्त्री बनेका गुजराललाई चिन्ने–सम्झ्ने उनले प्रतिपादन गरेको सिद्धान्तबाटै हो, जसले दक्षिण एशियाली क्षेत्रमा सामूहिक प्रगतिको बाटो देखाएको छ। नेपाल र नेपालीका लागि त उनी बिर्सन नसकिने र बिर्सनै नहुने व्यक्ति हुन्। 
comments powered by Disqus

रमझम