भीमबहादुर तामाङ

Share:
  
- राधेश्याम अधिकारी
(वि.सं. १९९०–२०६९)
p55
 
 

२०३१–३२ सालतिर दमन ढुंगानाको मित्रको रूपमा मैले भीमबहादुर तामाङलाई चिनेको हुँ। त्यो सामान्य पहिचान क्रमशः मित्रता र घनिष्ठतामा बदलिंदै गयो। सधैं टोपी, कोट, पाइन्टको पहिरनमा एउटा झ्ोला भिर्ने भीमबहादुर जाडो धेरै हुँदा ज्याकेटसम्म थप्नुहुन्थ्यो, त्यत्ति हो। ६ दशक लामो राजनीतिक यात्रामा करीब डेढ वर्ष मन्त्री भएर पद छोड्दा एकसरो लुगा र एउटा सानो गुण्टा बाहेक उहाँसँग केही थिएन। कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईसँग दाँज्न मिल्ने उहाँको यो जीवनशैली मृत्युपर्यन्त कायम रह्यो। 

राजनीतिमा लाग्नुअघिका शिक्षक भीमबहादुरले त्यतिबेलाको विकट दोलखामा शिक्षाको प्रकाश छर्नुभयो। लामोसाँघु–जिरी सडक र जिरी प्राविधिक शिक्षालय निर्माणमा सहयोग गर्ने स्वीस सरकारको मुक्तकण्ठले प्रशंसा गर्नुहुने भीमबहादुरदोलखाको जुनसुकै विकास गतिविधिमा एकनास सक्रिय रहनुभयो। महीनामा कम्तीमा दुई पटक जिल्ला पुग्नुहुने उहाँले विकासलाई राजनीतिक दाउपेचमा पर्न नदिन र अन्य राजनीतिक दलसँग सामञ्जस्य राख्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। माथिल्लो तामाकोशीमा अवरोध नआओस् भन्नेमा सचेत उहाँ तामाकोशीबाट अरू थप २०००–३००० मेगावाट बिजुली उत्पादन गर्न सकिने कुराबाट अत्यन्त उत्साहित हुनुहुन्थ्यो।  
 
२००७ सालको क्रान्तिलाई आधुनिक नेपाल निर्माणको सबैभन्दा महत्वपूर्ण घटना मान्नुहुने भीमबहादुर त्यो क्रान्तिमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकाकै कारण २०१३ सालमा पार्टीको सदस्य बन्नुभयो, भद्रअवज्ञा आन्दोलनमा सरिक हुनुभयो, २०१५ सालको निर्वाचनमा पार्टीको पक्षमा सक्रिय हुनुभयो, २०१७ सालको राजाको कदमपछि निर्वासनमा गएर नेपाली कांग्रेसले शुरू गरेको सशस्त्र क्रान्तिमा धनुषा, महोत्तरी, उदयपुर, सिन्धुलीमा खट्नुभयो। त्यसपछि कहिले काराबास, कहिले निर्वासन उहाँको नियति बन्यो। 
 
भीमबहादुर बीपी कोइरालाको साँचो अनुयायी हुनुहुन्थ्यो। बीपीले अघि सार्नुभएको कांग्रेसका मूलभूत सिद्धान्त प्रजातन्त्र, राष्ट्रियता र समाजवादप्रतिको उहाँको निष्ठा अविचलित थियो। अहिले समावेशिताको सवालले हलचल पैदा गरेको बेला उग्र समावेशी नेताहरूले भीमबहादुरलाई आफूतिर तान्न के मात्रै गरेनन्! तर, उहाँले सन्तुलित समावेशिताको पक्ष लिएर मुलुकको वास्तविकताको प्रतिनिधित्व गर्नुभयो। उहाँ भन्ने गर्नुहुन्थ्यो― 'कांग्रेसले त शुरूदेखि नै समावेशी सिद्धान्तलाई अँगालेको छ नि, त्यसलाई अझ् सशक्त पार्दै लग्ने पो हो!' भीमबहादुर र कुलबहादुर गुरुङ जस्ता नेताकै कारण यो हलचलमा पनि कांग्रेसभित्र उग्र समावेशी नाराको नगन्य प्रभाव परेको छ। 
 
लोकतान्त्रिक राजनीतिका सिपाही भीमबहादुर खेलका नियमहरूलाई विनासंकोच स्वीकार्नुहुन्थ्यो। जनमत संग्रहमा बहुदल पराजित हुँदा, संसदीय र संविधानसभा निर्वाचनहरूमा चार पटक पराजित र एक पटक विजयी हुँदा तथा पार्टीभित्र सभापतिको निर्वाचनमा पराजित हुँदा उहाँले हारलाई संयमित एवं विनयशील भएर स्वीकार गर्नुभएको र जितलाई सहजतापूर्वक लिनुभएको थियो।  
 
राजनीतिमा लाग्दा भीमबहादुरको परिवार छिन्नभिन्न भयो, तर उहाँले यो निजी मामलालाई आफैंमा सीमित राख्नुभयो। यति लामो संगतमा पनि मैले उहाँकी छोरी छिन् भन्ने थाहा पाइनँ। यति हुँदाहुँदै पनि उहाँ अत्यन्त सामाजिक र पारिवारिक व्यक्ति हुनुहुन्थ्यो। मेरो घरमा ९४ वर्षकी आमादेखि साना केटाकेटी सबैको प्रिय र स्वीकार्य उहाँ जहाँ–जहाँ बस्नुभयो, त्यस घरको परिवारसँग कहिल्यै नटुट्ने सम्बन्ध रह्यो। भीमबहादुरको मृत्युमा दमन र भुवन ढुंगानाले शोक मनाइरहँदा उहाँहरूका छोराछोरी नीतिका, निमेष र निशेष पनि शोकमग्न भए। यस्तो अद्भुत चरित्र, व्यक्तित्व र क्षमता थियो उहाँको। 
 
दोलखामा भीमबहादुरको के छ मलाई थाहा छैन, हैन भने उहाँ जमिन नभएको व्यक्ति हो। तर, जमिनसँग लगाव पत्याइनसक्नु थियो। जेलमा होस् वा बाहिर― माटोसँग जोडिएरै रहनुभयो फूल र फलफूलका सौखिन भीमबहादुर। बोटबिरुवालाई चाहिने प्राङ्गारिक मल समेत आफैं तयार गर्ने उहाँका प्रिय फूल थिए― क्याक्टस, गोदावरी, सयपत्री र गुलाफ। फूलको सोखमा उहाँको बाल्यकाल बितेको कालिम्पोङ्गको प्रभाव देख्न सकिन्थ्यो।  
 
साहित्य, कलामा गहिरो अभिरुचि राख्ने भीमबहादुरको अर्को लगाव थियो― पुस्तक। पुस्तक पढ्नेहरूसँग आफूले पढेका विषयमा छलफल गर्नुहुन्थ्यो। दुई–तीन महीनाअघि मात्र हरि शर्मासँग दुई वटा किताब मागेर ल्याएको सुनाउनुभएको थियो। यो अभिरुचि बीपी कोइराला र सरोज कोइरालाले पैदा गरेको भनेर प्रसंगवश सुनाउनुहुन्थ्यो। भीमबहादुर धार्मिक हुनुहुन्थ्यो–हुनुहुन्नथ्यो मलाई थाहा छैन, उहाँको बसउठबाट त्यो कुरा झ्ल्कँदैनथ्यो। तर, एकचोटि बौद्धमा आउनुभएको अवतारी लामाछेउ पुग्दा खादा र केही रुपैयाँ चढाउनुभएको र मलाई पनि खादा दिएर अभिवादन गर्न सिकाउनुभएको थियो। धर्मबारेमा उहाँले चर्चा गरेको मैले सुनिनँ, तर आध्यात्मिक भावले ओतप्रोत हुनुहुन्थ्यो। उहाँमा सम्यक्भाव कुटकुट भरिएको थियो। आफ्नो र पराइ नभन्ने उहाँको बानी थियो।  
 
जीवनभर राजनीतिको माध्यमबाट मुलुकलाई परिवर्तन गर्न हिंड्नुभएका भीमबहादुर अब हाम्रा माझ् नरहँदा शून्यको अनुभूति भएको छ। जीवनभर स्वतन्त्र रहने प्रण गर्नुभएको उहाँ मृत्युअघि पनि कसैको शरणागत हुनुभएन, मृत्युपछि पनि सबैको हुनुभयो। त्यसैले त उहाँको शवयात्रामा पनि समावेशी राजनीतिको झ्ल्को पाइएको थियो। ठूलो हैन असल हुने चाहनाबाट सदैव प्रेरित भीमबहादुर तामाङलाई श्रद्धाञ्जली!
comments powered by Disqus

रमझम