पेन्टिङमा महिला

Share:
  
- ऋषिराम कट्टेल
नेपाली ललितकलामा महिलाको उपस्थिति अब दुई हातका औंलामा नअटाउने भएको छ।
p58
 
सञ्जना राजभण्डारी, सौरगंगा दर्शनधारी
, विधाता केसी, प्रमिला बज्राचार्य, सुष्मा शाक्य
(माथिबाट घडीको सुई अनुसार)।
तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

एक दशकयता राष्ट्रिय जीवनको हरेक क्षेत्रमा महिलाको उपस्थिति सशक्त बन्दै गएको छ। साहित्य, गीत–संगीत, खेलकुदलगायत सबैजसो क्षेत्रमा महिलाको गुणात्मक उपस्थिति बाक्लिएको छ। नेपाली ललितकलाको कुरा गर्दा, दुई दशकअघिसम्म उर्मिला गर्ग, शारदा चित्रकार, शशिकला तिवारी, प्रमिला गिरी जस्ता सीमित कलाकारको नाम आउँथ्यो। त्यसपछि थपिएको रागिनी उपाध्याय, अस्मिना रञ्जित, सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठहरूलाई पछ्याउँदै अहिले तेस्रो पुस्ताको ठूलो समूह यो क्षेत्रमा आएको छ। “यो समूहमा गुणात्मक हिसाबले पनि एक से एक कलाकार छन्”, ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धर भन्छन्। 

तीन दर्जन चित्रकार आवद्ध महिला कलाकार समाजकी अध्यक्ष रागिनी उपाध्याय युवा महिलाहरूबाट अभूतपूर्व रूपमा उत्साहजनक कलाकर्म भइरहेको अनुभव सुनाउँछिन्। उनको भनाइमा, प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले पनि नयाँ पुस्तालाई मेधावी हुन लगाएको छ, जुन पहिला थिएन। समकालीन नेपाली पेन्टिङमा नारीहरूले उत्कृष्ट काम गरिरहेको बताउने सिद्धार्थ आर्ट ग्यालरीका क्युरेटर संगीता थापा भन्छिन्, “हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवमा पनि नेपाली महिला कलाकारका सिर्जनाहरू निकै प्रशंसित भए।” 
 
महिलाको दबदबा 
अहिले सुनिता राणा, एरिना ताम्राकार, विधाता केसी, प्रमिला बज्राचार्य, सुनिला बज्राचार्य, सुष्मा शाक्य, सम्झ्ना राजभण्डारी, सौरगंगा दर्शनधारी, आर्या राजभण्डारी, जस्मिन राजभण्डारी, सरिता डंगोल, संगी श्रेष्ठ आदि पेन्टिङको क्षेत्रमा उम्दा नामहरू हुन्। रीता मानन्धर, सुनिता महर्जन, चन्द्रा श्रेष्ठ, विपना महर्जन, संगीता घिमिरे, सरोजा खड्गी, ज्ञानु गुरुङ, पूजा महर्जन, मञ्जु स्याउला, सविना चित्रकार, अनिता खनाल, प्रमिला परियार, मञ्जु खड्का, सुप्रिया राजभण्डारी, रुक्मणी श्रेष्ठ, अरुणा हिङमाङ, सन्ध्या सिलवाल, रविता किसी, सत्यशिला कसजू लगायतका नाम पनि राम्रो कलाकारको कोटिमा पर्छन्।  
 
p58a
 
सन्ध्या सिलवाल।

एक दशकदेखि पेन्टिङमा सक्रिय विधाता केसीले स्वदेश र विदेशमा गरी ६ एकल र ३० सामूहिक प्रदर्शनी गरिसकेकी छन्। पेन्टिङमा स्नातकोत्तर उनी आफ्नो सिर्जनाको बिक्रीबाट पनि उत्साहित छिन्। उता एरिना ताम्राकार, प्रमिला बज्राचार्य र सुनिला बज्राचार्यले काष्ठमण्डप आर्ट स्टुडियोमार्फत व्यावसायिक चित्रकला अगाडि बढाएका छन्। उनीहरूको सिर्जना यूरोपदेखि अमेरिकासम्म बिक्री भएका छन्। देश–विदेशमा १३ एकल र करीब ६० सामूहिक प्रदर्शनी गरिसकेकी काष्ठमण्डपकी एक सदस्य एरिना यो क्षेत्रमा नेपाल अब कमजोर नरहेको बताउँछिन्।

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि यो विधामा स्नातकोत्तर तह शुरू गरेर धेरै राम्रो गरेको मान्नुपर्छ। महिला कलाकारको जमातमा स्नातकोत्तर गरेका र गरिरहेकाहरूको संख्या १०० हाराहारीमा छ। त्रिविको कला विभाग प्रमुख डा. सीमा शाह स्नातक तहमा पनि महिलाको ठूलै समूह रहेको बताउँछिन्। नेपाली महिलाहरू विदेशमा पनि ललितकला पढिरहेका छन्।  
 
p58b
 
एरिना ताम्राकार दरबारमार्गस्थित रेडकार्पेट ग्यालरीमा
प्रदर्शनीमा राखिएको आफ्नो पेन्टिङ देखाउँदै।

परिवर्तित समय 

पहिला ललितकलामा स्नातकोत्तर गर्न विदेश नै जानुपर्थ्यो। शशिकला, उर्मिला, प्रमिला, रागिनी, अस्मिना आदिले विदेशमै पढेर आए। २०३३ सालमा मात्र ललितकलामा स्नातक तह शुरू भएको नेपालमा अहिले भने यो विधाका शैक्षिक संस्थाहरू पनि बढेका छन्। जस्तो, २०५८ सालदेखि सिर्जना कलेज अफ फाइन आर्टस् खुल्यो भने २०६० मा काठमाडौं युनिभर्सिटीमा सेन्टर फर आर्ट एण्ड डिजाइन शुरू भयो।
 
यस्ता सुविधासँगै ललितकलाप्रतिको सामाजिक धारणा (नाम–दामको टुंगो नहुने) पनि परिवर्तन भएर यो क्षेत्रमा महिलाको आगमन सहज बनेको कुलपति मानन्धर बताउँछन्। उनको भनाइमा, अहिले सोखको लागि भन्दा पनि नाम र दामका लागि यो क्षेत्रमा लाग्ने धेरै छन्। यो विधा जानेपछि पेन्टिङमा मात्रै सीमित हुनुपर्छ भन्ने पनि छैन, ग्राफिक डिजाइन वा अध्यापन पनि गर्न सकिन्छ। बंगलादेशबाट स्नातकोत्तर सौरगंगा दर्शनधारी अहिले पेन्टिङका साथै ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टस्मा अध्यापन गरिरहेकी छन्।  
 
पहिले बिहेपछि महिला कलाकार यो क्षेत्रबाट पलायन हुन्थे। अहिले बिहेपछि पनि यस क्षेत्रलाई निरन्तरता दिएका कारण यो क्षेत्रमा महिलाको ठूलै जमात भएको बताउँछन् ललितकला समीक्षक समाजका अध्यक्ष रमेश खनाल। भन्छन्, “बिहेपछि पनि यसै क्षेत्रमा सक्रिय हुनेहरूको संख्या निकै ठूलो छ।”  
comments powered by Disqus

रमझम