बिसञ्चो सगरमाथा

Share:
  
p58c
 
 

सगरमाथाबाट महँगो हवाई भाडा तिरेर ल्याइएको फोहोरबाट विभिन्न कलाकृति बनाएर आम्दानी गर्ने नयाँ काम थालेको छ 'द माइण्ड ट्री' नामक संस्थाले। 'माउन्ट एभरेस्ट ८८४८ आर्ट' प्रदर्शनीमा यस्तै ७५ कलाकृति समावेश छन्। १९ कलाकारको टीमले एक महीनामा बनाएका कलाकृतिको मूल्य रु.१५०० देखि रु.२ लाख १० हजारसम्म छ। संस्थाकी निर्देशक कृपा राना शाही भन्छिन्, “आयको २० प्रतिशत रकम सगरमाथा संरक्षणमै खर्च गरिनेछ।” 

काठमाडौंका होटल अन्नपूर्ण दरबारमार्ग, होटल सांग्रिला लाजिम्पाट, मेकोनोप्सिस् बुटिक पुल्चोक र गोदावरी पार्क गोदावरीको ग्यालरीमा जारी प्रदर्शनीको अहिलेसम्म चार हजारले अवलोकन गरिसकेका छन् भने कला बिक्री पनि भएको छ। पहिलो प्रदर्शनी उत्साहजनक भएकाले आगामी वर्षदेखि नेपाल पर्वतारोही संघसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउने योजना बनेको निर्देशक शाहीले बताइन्। फोहोरमा कलाकारले कला देखेका कारण यो सम्भव भयो। तर, हरेक वर्ष सगरमाथामा थपिने फोहोर व्यवस्थापनमा यति मात्र पर्याप्त छैन।  
 
हिमालमा फोहोर 
सगरमाथामा हरेक वर्ष पर्वतारोहीहरूले लगेका अक्सिजन सिलिण्डर, बियरका बोतल, इनर्जी ड्रिङ्सका क्यान, भाँडाकुडा, कपडा, डोरी, तयारी खाद्यपदार्थका खोललगायतका सामान थपिन्छन्। ती चिजका डंगुरले वातावरणीय प्रभाव पार्न थालेको अनुभव गरेका विभिन्न संघसंस्थाको पहलमा सन् २००५ देखि फोहोर संकलन तथा विसर्जन थालिए पनि सगरमाथा आधार शिविरको २ नम्बर क्याम्प (६५०० मिटर) भन्दा माथिको फोहोर छोइएको छैन।  
 
अधिकांश आरोहीले पर्यटन मन्त्रालय र सगरमाथा प्रदूषण नियन्त्रण समितिमा दर्ता गरेभन्दा धेरै सामान लैजाने तर फर्काएर नल्याउने पर्वतारोही संघका महासचिव दिवस पोख्रेल बताउँछन्। गत वर्षको चैत–जेठ सिजनमा ३३ समूहले सगरमाथा आरोहण गरेकोमा अनुगमनका लागि सरकारले खटाएका पाँच जना मात्र सम्पर्क अधिकृत आधार शिविरमा बसेका थिए। सम्पर्क अधिकृतहरू आधार शिविरमा नबस्दा कसले कति लगे वा ल्याए भन्ने हिसाबै रहन्न। 
 
पर्यटन मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म ३४३६ जनाले सगरमाथाको चुचुरो टेकेका छन्। सगरमाथा क्षेत्रको फोहोर न्यूनीकरण प्रयास थालिए पनि २०११ र २०१२ मा जम्मा गरिएको आधार शिविरदेखि क्याम्प–२ सम्मको १० हजार किलो मात्र व्यवस्थापन भएको महासचिव पोख्रेलले बताए। तीमध्ये ७ हजार उतै व्यवस्थापन गरिएको र प्रतिकिलो २०० डलर (रु.१७,५००) भाडा तिरेर बाँकी हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। त्यसमध्ये १३०० किलो नेपाल ढलोट संघ र १७०० किलो 'द माइण्ड ट्री' समूहले लिएका थिए। सरसफाइ टोली जान नसक्ने क्याम्प–२ भन्दा माथि घटीमा १०,००० किलो फोहोर जम्मा भएको अनुमान छ। जलवायु प्रदूषणको समस्यामा गम्भीर हुने हो भने सगरमाथा आरोहण अभियानलाई रोकेर भए पनि हिम खाल्डोमा पुरिएको फोहोर हटाउनुपर्ने पर्वतारोही संघको भनाइ छ। अन्यथा, सगरमाथा साँच्चै बिरामी हुने पर्वतारोही संघका महासचिव पोख्रेल बताउँछन्। 
 
मीना शर्मा 
comments powered by Disqus

रमझम