जाजरकोटमा १७ जनाको ज्यान लिइसकेको मौसमी रुघाखोकी नियन्त्रण गर्न पैक गाविसमा खटिएका डा. दीपक पुन भन्छन्, “सबै गाउँमा त्रास बढेको छ, यतिबेला उच्च सतर्कता अपनाउनुपर्छ।”
१३ दिन पहिले र अहिलेको पैकको अवस्थामा ८० प्रतिशत सुधार देखिएको छ। तर, प्रकोप अन्य गाउँमा फैलिरहेको छ। शुरुमा त बिरामी नियन्त्रण गर्न नै हम्मेहम्मे पर्यो। अहिले टालेगाउँ गाविसमा धेरै बिरामी देखा परेका छन्।
८ जना स्वास्थ्यकर्मीको टोलीले बिहान ५ बजेदेखि राति १ बजेसम्म बिरामी जाँच्यौं। चिसोमा दाउरा बालेर भए पनि काम गर्यौं।
प्रकोपका प्रमुख कारण के हुन्?
रोग लाग्ने वित्तिकै स्वास्थ्य संस्था आउनुको साटो झारफुकमै लागेको पाइयो। जनचेतनाको अभाव, सरसफाइको कमी, कमजोर स्वास्थ्य, स्वास्थ्य सेवा पहुँचमा कमी, दूषित पानीको सेवन प्रकोप फैलिनुका मुख्य कारण हुन्।
कसरी बच्ने?
हात नमिलाउने, अंकमाल नगर्ने, एकमीटर टाढैबाट कुराकानी गर्ने, झोलिलो खानेकुरा खाने, भीडमा नहिंड्ने, मास्कको प्रयोग गर्ने, रुघाखोकी देखिने वित्तिकै स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ।
बिरामीको उपचारमा राज्यले उदासीनता देखाएकै हो त?
ठ्याक्कै त्यस्तो चाहिं लाग्दैन। पटक पटक गरेर औषधि पनि पुगेकै छ तर समयमै रोग पहिचान र उपचार गर्न सकेको भए यति क्षति हुँदैनथ्यो। पैक उपस्वास्थ्य चौकीमा ल्याबको व्यवस्था थिएन। हामी पुगेपछि मात्र त्यो सम्भव भयो। छिमेकी जिल्लाबाट स्वास्थ्यकर्मी बोलायौं। हाम्रो सम्पर्कमा आएका कसैको पनि ज्यान गएन।
अब के गर्नुपर्छ?
स्वाइनफ्लु भएको पुष्टि भएपछि गाउँले आत्तिएका छन्। जिल्लाभर त्रास छ। यतिबेला राज्य थप संवेदनशील हुनुपर्छ। उच्च सतर्कता अपनाउनुपर्छ। हप्तादिनसम्म खटिएका स्वास्थ्यकर्मीलाई विश्राम दिई नयाँ टीम पठाउनुपर्छ। रोग नफैलेका ठाउँमा पनि स्वास्थ्यकर्मी र औषधि तयारीमा राख्नुपर्छ। सतर्कता र चेतना फैलाउने सन्देश दिनुपर्छ, त्रास फैलाउने होइन। किनभने यो सामान्य रोग हो। दुई–चार दिन राम्ररी घाम लाग्ने हो भने समस्या घटेर जान्छ।
प्रस्तुतिः राजेन्द्र कार्की