६-१२ वैशाख २०७२ | 19-25 April 2015

मजलिसको आँखा–१३ टङ्गाल दरबार

Share:
  
- क.दी.
नेपालका श्री ३ हरूमा वीरशमशेरले जति धेरै भवन अरू कसैले बनाएनन्।

आफूलाई 'तीन चाँदे' लगाउन सहयोग गर्ने आफ्ना भाइहरूप्रति श्री ३ वीरशमशेर अति कृपालु थिए। आफू राजा भएपछि उनले ती सबै भाइलाई दरबार बनाइदिए एकपछि अर्को गरी। ती सबै दरबार डिजाइन गर्ने, बनाउने श्रेय चाहिं वास्तुकलाविद् बाबुछोरा 'भाजुमान' र 'जुजुमान' अर्थात् जोगलाल र जुजुमान स्थापितलाई दिन्छन्, इतिहासकार पुरुषोत्तमशमशेर राणा।

पुरुषोत्तमशमशेरको 'राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू' (२०६४) भन्ने कितापमा एक दर्जन जति यस्ता भवनका विवरण छन्। त्यसैमध्येको एउटा हो, भीमशमशेरका लागि बनाइदिएको टङ्गाल दरबार पनि। तर त्यसको नाम उसबेला 'दरबार' थिएन। चन्द्रशमशेरलाई (अंग्रेज फोटोग्राफरले) चढाएको याल्बममा यसलाई 'टङ्गाल हाउस' भनेर लेखिएको छ। आफू बस्न थालेपछि भीमशमशेरले व्यापक थपथाप गरेर यसलाई अझ् सुन्दर बनाए रे! यो पुरुषोत्तमशमशेरकै भनाइ हो। त्यसको प्रमाण फेला पारें मैले पनि अस्ति त्यो परिसर घुम्न जाँदा।

टङ्गाल दरबारः पहिले।

कपिल तिमिल्सिना
अहिले।

त्यहाँ प्रयोग भएका ईंटाहरूमा 'श्री ३ चन्द्र' छाप भएका पनि देखिए। त्यसको मतलब के हुन्छ भने वीरशमशेरले बनाउन लगाएको त्यो भवन अलि सानो लागेर त्यसलाई 'कमाँडचिफ' सुहाउँदो भव्य बनाइदिएका हुन् महाराज चन्द्रले आफ्ना भाइ भीमका लागि। त्यसमा अझ् थपथाप गरे भीमशमशेरले १९८६ साल मंसीरमा आफू राजा भएपछि। त्यसको पनि प्रमाण छ। त्यही परिसरमा 'श्री ३ भीम १९८८' भन्ने छाप भएका ईंटाहरू पनि भेटिन्छन्।

वीरशमशेरले त्यो दरबार बनाइदिंदा त्यसको क्याम्पा (परिसर) अत्यन्त ठूलो थियो रे! अंशबण्डा हुँदाहुँदा टुक्रिएर, बिकेर त्यस क्याम्पाको स्वामित्व ऐले त दुई दर्जनभन्दा बढी व्यक्ति र संस्थाहरूमा पुगिसकेको बुझिन्छ। ती सबै जग्गाजमीनको लेखाजोखा गर्ने थलो यो होइन। हामी माथिको बायाँ फोटोमा देखिएको दरबारको अग्रभागको मात्र चर्चा गर्दैछौं।

१९८६ सालमा 'टङ्गाल दरबार' हुनुभन्दा अघिको 'टङ्गाल भवन' को फोटो हो यो। तर, १९४६ सालमा वीरशमशेरले भाइ भीमशमशेरका लागि बनाइदिएका भवनको मुहुडा (फसाड) यो हो कि होइन, पुरुषोत्तमशमशेरले भनेजस्तो भीमले 'थपथाप गरी भव्य बनाए' पछिको हो कि त्यो? थाहा छैन। ऐलेको यस दरबारको मुहुडा त्यो पुरानोसँग मिलेर पनि अलि मिल्दैन। १९९० सालको भैंचालोमा त्यो दरबार भत्केकै भए पनि मुहुडा समेत बिग्रने गरी अवश्य भत्केन होला। भत्केबिग्रेको भए त्यो यति राम्रोसँग पुनर्निर्माण हुने/हुनसक्ने थिएन, किनभने भीमशमशेर महाराजको स्वर्गवास भैसकेको थियो। टङ्गाल दरबार उजाड भैसकेको थियो अनि त्यसका मालिक कङ्गाल। यो मैले ऐले अनुप्रास मिलाउन भनेको होइन। त्यसै बेलाको एउटा उखान हो 'टङ्गालका राजा कङ्गाल' भन्ने! १९८९ सालमा भीमशमशेर मरेपछि यस दरबारका मालिक भए जनरल रामशमशेर। उनका धेरै पत्नी, उप–पत्नीहरू थिए। तिनका अनेक सन्तान अनि सन्तानका पनि सन्तानहरू थिए। अंश गर्दागर्दा टङ्गाल दरबारको यति बण्डा भयो भन्ने गनिसाध्य भएन रे! ऐले यो फोटोमा देखिएको मुहुडाकै भवनको पनि स्वामित्व चार जनाको छ भन्नुभयो मलाई हाल भाडामा त्यो चलन गरिआएका सीएबी कलेजका प्रिन्सिपल रमेश पाण्डेयले।

सवासय वर्षको इतिहास बोकेको सम्पदा, यो भवन अब विलुप्त हुने तर्खरमा छ। १२/१५ वर्षदेखि त्यस भवनलाई जोगाएर 'मेन्टेन' गरिआएको सीएबी कलेजलाई घर खाली गरेर जाने दबाब बढिरहेछ। त्यो पुरानो 'खण्डहर' भत्काएर नयाँ आधुनिक 'सपिङ मल' बनाउने नक्शा बनिसकेको छ। बबुरो त्यो शिक्षण संस्थासँग साहूजीलाई पैसाले जिती भवनलाई मासिनबाट बचाउने क्षमता छैन। अब कि त सरकारको संस्कृति मन्त्रालय नै अगाडि आउनुपरुर्‍यो, यो विनाश रोक्न। नभए सम्पदाको संरक्षणमा लागेका सार्वजनिक सरोकारको हितमा संलग्न संस्थाहरूले चासो लिएर न्यायालय घच्घच्याउनु परुर्‍यो।

कुनै चमत्कार भएर यो टङ्गाल दरबार सम्पदा जोगियो भने त्यसलाई राटि्रय हितमा कसरी प्रयोग गर्ने भन्ने भिन्नै समस्या हो। ऐले नै पनि सरकारी स्वामित्वमा रहेका ऐतिहासिक भवनहरूको राम्रो रेखदेख र सह्यारसम्भार नभएर अलपत्र परेका देखिरहेका छौं। अधिग्रहण गरिएको हरिहर भवनमा मिल्दो न जुल्दो गरेर राष्ट्रिय पुस्तकालय थन्क्याइयो। रानी जगदम्बासँग हात थापेर लिएको श्रीमहल परिसरको 'राम बङ्गला बोटानिकल गार्डेन' फोहोर थुपार्ने थलो बनाइएको छ। यस्तोमा टङ्गाल दरबार बच्यो नै भने पनि त्यसमा के के गर्ने हामीले उही बेला सोच्नुपर्नेछ। ऐलेलाई भने त्यसलाई बचाउन मात्र आवाज बुलन्द पारौं।

comments powered by Disqus

रमझम