६-१२ वैशाख २०७२ | 19-25 April 2015

स्वराजको सौन्दर्य

Share:
  
- शंकर तिवारी
अरविन्द केजरीवाल नेतृत्वको आपको निष्काशनमा परेका प्रभावशाली नेताको समूह 'स्वराज अभियान' मार्फत अन्तरपार्टी शुद्धीकरण अभ्यासमा होमिएको छ।

१४ अप्रिलको 'स्वराज संवाद' भेला मार्फत देशभर 'स्वराज अभियान' चलाउने निष्कर्षका साथ आम आदमी पार्टी (आप) को असन्तुष्ट तर प्रभावशाली खेमाले तत्काल नयाँ पार्टी बनाउने वा पार्टी फुट्ने सम्भावना इन्कार गरेको छ। २६ नोभेम्बर २०१२ बाट औपचारिक पार्टीका रूपमा शुरू भएको आपको यात्राले एउटा गोलचक्कर पूरा गरेको छ। यस अवधिमा योगेन्द्र यादव, प्रशान्त भूषण, आनन्द कुमारहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको छ। तर, 'स्वराज अभियान' मार्फत उनीहरूले वैकल्पिक राजनीति र सामाजिक, आर्थिक, सांस्कृतिक आन्दोलन जारी राख्ने भएका छन्। देशभरका करीब चार हजार अगुवा स्वयंसेवकबाट अनुमोदित हुँदै अभियानको आधारभूमि र प्रस्थानबिन्दु तय गरेका छन्।

प्रशान्त भुषण।

नमूना 'स्वराज संवाद'

डा. भीमराव अम्बेडकरको १२४औं जन्मजयन्तीको दिन पारेर नयाँदिल्ली नजिकको गुडगाव (हरियाणा प्रदेश) मा अरविन्द केजरीवाल असन्तुष्ट आपका हजारौं कार्यकर्ता देखिए। सञ्चारमाध्यमलाई खुला पहुँचमा ८ घण्टाको पूरै कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न दिएर 'स्वराज संवाद' का आयोजकले पारदर्शिताको नमूना पेश गरे। कार्यक्रममा पार्टीको आन्तरिक लोकतन्त्र र भविष्यको बाटो तय गर्न दुई पटक मतदानको व्यवस्था गरिएको थियो। मतदानमा सहभागी करीब ९० प्रतिशतले स्वराजका लागि स्थापित पार्टीमा आन्तरिक लोकतन्त्र नै नभएको मत जाहेर गरे। ७० प्रतिशतले पार्टीभित्रै रहेर संघर्ष गर्ने अभिमत जनाए भने २५ प्रतिशत नयाँ पार्टी स्थापनाको पक्षमा देखिए। ८ घण्टाको छोटो समयमा कुनै राजनीतिक अभियानले कसरी लोकतान्त्रिक शैलीबाट आफ्ना अति महत्वपूर्ण कार्यक्रम तय गर्न सक्छन् भन्ने झ्ल्को 'स्वराज संवाद' ले दिएको थियो।

'स्वराज संवाद' मार्फत निर्धारित चार कार्यक्रम– देशका ज्वलन्त समस्यामा निरन्तरको आन्दोलन; राज्य, जिल्ला र स्थानीयस्तरमा 'स्वराज संवाद'; वैकल्पिक राजनीतिका लागि कार्यकर्ता परिचालन र प्रशिक्षण तथा कार्यकर्ता र बुद्धिजीवीका साथ अजेण्डा तय– गर्न देशभर 'स्वराज अभियान' चल्नेछ। ६ महीनासम्म चल्ने यो अभियानले नै भविष्यको दिशा तय गर्ने अभियानका नवनियुक्त संयोजक आनन्द कुमारको भनाइ छ।

अभियान र जयप्रकाश नारायण

२०११ को 'इन्डिया अगेन्स्ट करप्सन' अभियानबाट शुरू भएको भारतीय जनताको चालू व्यवस्थाप्रतिको असन्तुष्टि अन्ना हजारे आन्दोलनमा विस्फोट हुँदै राष्ट्रिय आन्दोलनको रूप लिन पुगेको थियो। यो असन्तुष्टिको उभारले भारतको सबैभन्दा पुरानो र लामो समय शासन गरेको भारतीय कंग्रेस पार्टीलाई किनारा लगाइदियो। संस्थापनप्रतिको आक्रोशको लाभ पाएर हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) बहुमतका साथ सत्तामा छ। तर आम जनता प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा गरेको वाचा अनुरुप काम नगरेको भन्दै गुनासो गरिरहेका छन्। सन् १९७५ मा इन्दिरा गान्धी पाकिस्तानबाट बंगलादेश टुक्र्याएर र सिक्किम भारतमा विलय गराएर असिम आत्मविश्वासका साथ सत्ता चलाइरहेकी थिइन्, तर त्यहीबेला लोकनायक जयप्रकाश नारायणको 'सम्पूर्ण क्रान्तिको' एक आह्वानले सत्ता हल्लाइदियो। २०१२ देखि निरन्तर देखा परिरहेको असन्तुष्टिले कुनै पनि बेला विस्फोटको रूप नलेला भन्न सकिन्न।

आनन्द कुमार।

'स्वराज संवाद' मा मन्तव्यका क्रममा योगेन्द्र यादवले भनेका थिए– पाप र झूटमा खडा भएको सत्ताको महल तासको पत्ता जस्तै ढलेको इतिहास छ। इमान्दारिताका साथ व्यावहारिक राजनीति सम्भव छ, हामी देखाउन चाहन्छौं। भारतको राजनीति सुधार्न हामीलाई पाँच हजार राजनीतिक साधु चाहिएको छ। मेरो बाँकी जीवन वैकल्पिक राजनीतिको खोजीमा अर्पण गरेको घोषणा गर्दछु। मलाई तपाईंहरूको केही समय दिनुहोस्, सक्नुहुन्छ भने केही नौजवानले आफ्नो जीवन दिनुहोस्।

त्यतिबेला यादवको आवाजमा १९७० को दशकका जयप्रकाश नारायणको प्रतिध्वनि गुन्जायमान भइरहेको जस्तो लाग्थ्यो।

आनन्दकुमारको उदय

'स्वराज अभियान' का संयोजक आनन्दकुमारलाई हस्तान्तरण गरेर भूषण र यादवले पदका लागि राजनीति नगरेको प्रमाणित गरे। आनन्द कुमार १९७५ मा जयप्रकाश आन्दोलनका अग्रणी युवा हुन्। उनी त्यतिबेला राष्ट्रिय युवा भेलाका संयोजक थिए। बनारस हिन्दू विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका सभापति बनिसकेका थिए। प्राध्यापन पेशामा लागेर उम्दा समाजशास्त्रीको छाप छाडेका कुमार अहिले 'स्वराज अभियान' को केन्द्रमा आइपुगेका छन्।

संयोग के भने, १९७५ को आन्दोलनको कारण बनेको जनता दल करीब चार दशकपछि एकत्रित भएकै दिन आन्दोलनका चर्चित युवाले वैकल्पिक राजनीतिको चिराग सम्हालेका छन्। आपको संगठन र प्रभाव विस्तारमा यादव र कुमारको भूमिका मह140वपूर्ण ठान्नेहरूको कमी छैन। आपको झ्गडामा मध्यस्थकर्ता बनेका कुमारमाथि पनि केजरीवालले कारबाही गरेपछि उनले भनेका थिए– समुद्र मन्थन भएपछि अमृत पनि निस्कन्छ र विष पनि। मेरो भागमा अहिले विष परेको छ। विष त शिवजीले जस्तै कसैले खानै पर्दथ्यो। यसमा मलाई खुशी नै लागेको छ।

आपकै अंग

१९३० को दशकमा भारतीय कंग्रेस पार्टीभित्र गान्धी निकटस्थ मार्क्सवादी रुझान राख्ने युवाहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूले 'कंग्रेस समाजवादी पार्टी' खोलेका थिए। भारत स्वतन्त्र हुँदासम्म समाजवादी पार्टी भारतीय कंग्रेस पार्टीकै अंग थियो। अहिले स्वराज अभियानले औपचारिक रूपमा राजनीतिक पार्टीको आकार ग्रहण नगरुञ्जेल आपकै अंग भएर रहने भनिएको छ। स्वयंसेवकहरूको कथन छ– आप देशभरका स्वयंसेवकहरूको पार्टी हो, कसैको बिर्ता होइन।

योगेन्द्र यादव।

दिल्लीमा निर्वाचन जिताउन देशभरका स्वयंसेवक अहोरात्र दिल्ली आएर खट्ने तर जितेपछि दिल्ली बाहिर पार्टी जानुहुन्न भन्ने केजरीवालको घोषणाप्रति स्वयंसेवकको आपत्ति छ। यति हुँदाहुँदै पनि असन्तुष्ट पक्षले केजरीवाललाई कुनै अवरोध नगर्ने र सकारात्मक कार्यको प्रशंसा गर्ने बताएका छन्।

'स्वराज संवाद' कै दिन नयाँ पार्टी घोषणा गरेको भए पार्टी थोपरिएको जस्तो हुन्थ्यो। देशभर ६ महीना घुमेर घोषणा गर्दा पार्टी जमीनबाटै बनेको सावित हुन्छ। नयाँ पार्टीलाई पनि आपकै नियतिबाट कसरी बचाउने? त्यसबारे विश्वस्त तुल्याएर मात्र नयाँ पार्टीको घोषणा सार्थक र विश्वसनीय हुनेमा नेतृत्वपंक्तिको बुझाइ छ।
राजनीतिक पार्टी चुनावी मेसीन नभएर लोकतन्त्रको पहरेदारी गर्दै लगातार जनदलीय आन्दोलनका रूपमा रहन सके मात्र जीवन्त रहने 'स्वराज अभियान' को तर्क छ। पार्टी व्यक्तिपूजाबाट टाढा, कुनै पनि हालतमा सफलताको लालसा, मर्यादालाई दाउमा राख्ने प्रवृत्ति, येनकेन प्रकारेण चुनाव जित्ने शैली र सत्तामा रहिरहनका लागि जस्तोसुकै सम्झौता गर्ने संस्कारबाट टाढा रहने अभियानले घोषणा गरेको छ। 'स्वराज अभियान' पार्टी निर्माणमा आवश्यक कार्यक्रम, समृद्ध कार्यकर्ता र सामाजिक आधार थप गहिरो बनाउन चाहन्छ।

'तन्त्र' हावी हुँदा हराएको 'लोक' एकत्रित गर्दै, राम्रा नेता, असल नियत, नीति र नियमका साथ विवेकसम्मत महामार्गमा हिंड्न खोजेको 'स्वराज अभियान' ले विश्वकै ठूलो लोकतन्त्रलाई गति दिने विश्वास गर्न सकिन्छ।

comments powered by Disqus

रमझम