बेलाको राग मीठो

Share:
  
- दिनकर नेपाल
नेपालको राजनीतिक नेतृत्वले व्यक्तिगत सफलता/असफलताको घेरा बाहिर गएर परिस्थितिको मूल्यांकन गरे समाधान टाढा छैन।

चेतनशील समाजमा अग्रगमन कहिल्यै नरोकिने निरन्तर प्रक्रिया हो। यसको बाटो भने स्पष्ट र सीधा हुँदैन। कहिले यसको गतिमा 'क्रान्तिकारी' विचारकहरूले ज्यामितीय फड्को ल्याइदिन्छन् भने कहिले सुधारमुखी संरचनावादीहरूको धिपधिपे चालमा चल्छ। समाजले एकपछि अर्को क्रान्तिकारी फड्को थेग्न पनि सक्दैन। केही समयको विश्रामबाट गुमेको सन्तुलन भेटेपछि फेरि अर्को फड्कोको लागि तयार हुन्छ।

क्रान्तिकारी पात्रहरूको व्यक्तिगत जीवनयात्राले पनि इतिहासको बहावमा अलग प्रकारको प्रभाव पार्छ। तर, क्रान्तिकारीहरू पनि सधैं परिवर्तनकारी रहन सक्दैनन्। विशुद्ध दार्शनिक अभिप्रायले कालजयी चिन्तन गर्ने विचारक विरलै पाइन्छन्। धेरैजसो चिन्तक कि स्वार्थप्रेरित हुन्छन् कि त समयबाट प्रभावित। तुलनात्मक रूपमा दूरदर्शी विचारकहरू पनि इतिहासको तात्कालिक प्राथमिकताबाट ओझेलमा पर्न सक्छन्। इतिहासले सोच्नेलाई भन्दा गर्नेलाई प्राथमिकता दिन्छ।

हरेक प्रभावशाली व्यक्तित्वले समाजलाई आफूले देखे/बुझे अनुसारको आदर्शमा आफ्नै जीवनकालमा पुर्‍याउन सक्ने ल्याकत आफूसँग रहेको ठान्छ। त्यसमा पहिला आफैं विश्वस्त नभई ऊ न नेतृत्वमा पुग्न सक्छ न त प्रभावशाली हुन। त्यसकारण, इतिहासका पात्रहरूको व्यक्तिगत जीवनयात्राको उतारचढावले समग्र समाजको प्रगतिलाई घुमाउरो बाटोमा हिंड्न विवश पार्छ। केही समय दिशा फेरिएको, पछाडि फर्केको जस्तो लाग्न सक्छ, तर समग्रमा यात्रा उकालै चढ्छ। किनभने, समय पछाडि फर्कंदैन।

परिवर्तनका वैधता र बाध्यता

समाधान निकाल्न खोज्ने विचारकले आफ्नो समयको प्रभावमा छिट्टै परिणाम देखाउने माध्यमलाई नै वैधता दिन्छन्। वैज्ञानिक विचारधारामा पनि हिंसालाई राजनीतिक परिवर्तनको वैध माध्यम मानिनुमा एकातिर त्यही सामयिक प्रभावले काम गरेको मान्न सकिन्छ भने अर्कोतिर आफ्नो आदर्श र सिद्धान्तप्रतिको अतिविश्वास, अन्धविश्वास, सर्वज्ञानी र भविष्यवेत्तासम्मको भ्रममा तन्केको छनक देखाउँछ।

नेतृत्वले त्यही वैधतामा टेकेर आफ्नै जीवनकालमा सबै समस्याको निदान खोज्छ र असफलतालाई ढाकछोप गर्न जुनसुकै हत्कण्डा उचित मान्छ। यसरी आदर्शको नाममा शुरू गरिएको राजनीति स्खलित भएर जान्छ। मार्क्सवाद र त्यसबाट उम्रेका अरू आँकुराहरूले पनि एउटा 'आदर्श' पछ्याउन जुनसुकै माध्यम प्रयोग गर्ने अनुमति दिए, तर व्यक्तिगत स्वार्थका लागि ती माध्यमहरू प्रयोग हुँदा आउने विकराल परिस्थितिलाई नजरअन्दाज गरिदिए। त्यही प्रायोजित लाटोपनाले 'वाद' लाई आत्मविश्वास दियो, जुन सिद्धान्त प्रतिपादन विना सम्भव थिएन। त्यो अन्धविश्वासलाई नचिरी अघि बढ्न पनि सम्भव छैन।

अर्कोतिर लोकतन्त्रको कुरो छ। ठाउँ, मान्छे र संस्कार अनुसार लोकतन्त्रका रूप अलग–अलग र बुझ्ाइ फरक–फरक छन्। तर, सबैको मर्म, ध्येय र आदर्श सर्वहित र सुख हो। लोकतान्त्रिक राजनीतिको केन्द्रमा यही आदर्श हुन्छ। तर, सबैको हित सबैले एउटै कुरामा छ भनेर चित्त बुझाउन सम्भव हुँदैन र यो आदर्शको राजनीति पनि असम्भवप्रायः हुन जान्छ।

राजनीतिमा विभिन्न विचारधारा र स्वार्थ समूहको प्रतिस्पर्धा हुन्छ, सत्ताका लागि। मानवीय स्वभाव, गुटगत शक्ति–सन्तुलनको खेल र निरन्तर जनमत रिझाइरहनुपर्ने बाध्यताले लोकतन्त्रमा विकृति ल्याउँछ। अहिले विश्वभरिकै विचलन र नेपालकै पनि दुरवस्था हेर्दा लाग्छ– शासनको रूपरेखा त्यति फेरिएको छैन। अमेरिका जस्तो आफूलाई परिष्कृत लोकतन्त्रको नमूना मानेर विश्वलाई प्रवचन दिने मुलुकमा बाबु र छोरा राष्ट्रपति भए। अहिले अर्का छोरा पनि राष्ट्रपति बन्ने अभियानमा छन्।

शासकले भएभरका साधनहरू आफ्नो कब्जामा गर्ने प्रवृत्ति त ज्यूँका त्यूँ नै छ। परिवर्तनका लागि जुनसुकै माध्यम ठीक भन्ने 'मेकियाभिली' को जस्तो 'रियलपोलिटिक' र उद्देश्य तथा माध्यम दुवै उत्तिकै महत्वपूर्ण हुन् भन्ने गान्धीमध्ये मानव सभ्यताले दोस्रोलाई पछ्याउन जोडबल गर्छ, तर पहिलोको जालबाट पनि उम्कन सक्दैन। र पनि, समग्र चेतनामा कहिल्यै 'ब्याक गियर' लाग्दैन भन्ने बुझियो भने अन्तरविरोधहरू भित्रै अग्रगमन स्पष्ट देखिन्छ।

स्वाभाविक खतरा

जुन जटिल मुद्दाहरूले अहिले संविधान निर्माण प्रक्रिया अड्किएको भनिएको छ, संघीयता त्यसको चुरोमा छ। 'ऐतिहासिक अन्याय' प्रति राज्यसत्ताको स्वीकारोक्ति त्यसको मर्म हो भने हुनसक्नेसम्मको भर्पाइ सीमान्तकृत वर्गको तात्कालिक र दीर्घकालीन राजनीतिक स्वार्थ। यसमा विभिन्न पक्षका मध्यमार्गी बौद्धिकहरूले समाधानमुखी उपाय सुझाएकै छन्। राजनीतिक इच्छाशक्ति भए यो गुजुल्टो फुकाउन गाह्रो छैन।

हामीले भविष्यलाई ध्यानमा राखेर सबभन्दा पहिला बुझनुपर्ने कुरा हो– जातीय पहिचान र जातीय राष्ट्रियता वास्तवमा अवैज्ञानिक अवधारणा, अप्रगतिशील मुद्दा हुन्। मार्क्सवादका अनुसार, आधुनिक कल्याणकारी राज्यपद्धतिमा यो मेल खाँदैन र भारतमा गत ६० वर्षमा गरिएका राजनीतिक प्रयोगले पनि यसलाई अप्रगतिशील नै सिद्ध गरेको छ। यसलाई वर्गको रूप दिएर नेपालमा प्रगतिशीलताको टाई लगाइदिने कोशिश मात्र गरिएको हो। नत्र त, यस्तो राजनीति र धर्मवादी राजनीतिमा केही फरक छैन।

पहिचान र जातीयतालाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आवश्यक छ, जसमा विगतको अपमान–आवेग होइन, भविष्यका सम्भावना–प्रगतिप्रधान होस्। हाम्रो राजनीतिलाई पहिचानको मादकताले होइन, सदासयको आकर्षणले डोर्‍याओस्। आशंका र त्रासले होइन, आपसी सम्मानको नजरले एकअर्काको नियत जाँच्न सकियोस्। दबाबका माध्यम र विरोधका साधन खोजिनु सामान्य हो, तर बहुमतको निर्णय प्रक्रिया लोकतन्त्रको सुरुआती बिन्दु हो। लोकतन्त्रमा त्योभन्दा अर्को कुनै निर्णय प्रक्रिया मान्य हुँदैन भन्ने कुरो आत्मसात् गरेर मात्र अहिलेको अनिश्चितताको शान्तिपूर्ण अन्त्य सम्भव छ। अन्यथा, हिंसाको खतरालाई पनि स्वाभाविक मानेर अघि बढ्नुपर्ने हुन्छ।

भावी पुस्ताको तर्फबाट नेपालको वर्तमान राजनीतिक नेतृत्वलाई अनुरोध गरौं– 'यो कुखुरा जस्तो खुट्टाले खोस्रेर मुन्टो गाड्ने बेला होइन, चीलका आँखाले फराकिलो आयाममा धेरै टाढासम्म हेर्ने समय हो। इतिहासको घुमाउरो चाललाई स्वीकार्नुहोस्, आफ्नै जीवनकालमा सबै समस्याको निदान गर्ने भ्रमबाट मुक्त हुनुहोस्। परिणतिलाई व्यक्तिगत असफलता नभई हरेक आदर्शवादीको अन्तिम नियति भनेर अघि बढ्नुहोस् र प्राप्तिलाई ग्रहण गर्नुहोस्। अनि हाम्रो पुस्तालाई आफूले बुझेको समयको परिधिमा भविष्य कोर्ने बाटो बनाइदिनुहोस्। तपाईंहरूले जे–जति गर्नुथियो गर्नुभयो, राम्रो गर्छौं भनेर नै गर्नुभयो। नयाँ पुस्ताले खोसेर नेतृत्व लिनुपर्ने बाध्यता आउनुअघि नै अभिभावकको भूमिका खेल्ने बाटो सुरक्षित गर्नुहोस्।'

comments powered by Disqus

रमझम