जीवनकथाको कथा

Share:
  
- केदार शर्मा
सूर्यबहादुर थापा जस्ता अथक् राजनीतिज्ञको जीवनीलाई बिसाउने अर्को उपयुक्त ठाउँ नदेखेर किताबलाई नयाँ संविधानमा लगेर टुंग्याउने मैले राखेको प्रस्ताव उहाँले मनपराउनु भएको थियो।

मीनरत्न बज्राचार्य
केही वर्षदेखि मैले यदाकदा जवाफ दिइरहेको एउटा प्रश्न सोधिने क्रम केही दिनयता ह्वात्तै बढेको छ, “सूर्यबहादुरजीको किताब कहिले निस्किन्छ?”

केही दिनअघिसम्म मलाई सजिलो थियो, “उहाँले केही च्याप्टरहरू हेर्दै हुनुहुन्छ, सकेर दिनासाथ म काम अघि बढाउँछु।” अब त्यसो भन्ने सुविधा मसित छैन।
म आफैं छक्क परेको छु, अलिकति अप्ठ्यारोमा पनि परेको छु, किनभने आफ्नो जीवनीको जिम्मेवारी लिन अब उहाँ रहनुभएन। गएको मंसीरमा उहाँसित लामै गफगाफ गरेको थिएँ। त्यसबेला उहाँले भन्नुभएको थियो, “चुनावले, अस्वस्थताले र अन्य विभिन्न कुराले गर्दा हेर्न पाएको छैन। अब तपाईं काठमाडौं आउँदा चाहिं है...!”

उहाँ फर्कनुभएन

मदन पुरस्कार पुस्तकालय जहिले पनि आर्थिक सङ्कटमा हुन्छ, २०६५ सालमा पनि त्यस्तै अवस्था थियो। पुस्तकालयका कार्यकारी प्रमुख अमर गुरुङले एकदिन भन्नुभयो, केही बिक्ने किताब निकाल्न पाए अलिअलि पैसा हुन्थ्यो। पुस्तकालय अन्तर्गतको जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीका आत्मवृत्तान्त र जेल जर्नलबाट पुस्तकालयलाई केही भरथेग भइरहेको थियो। यस्तो गफ गर्नेमा अमरजी, दीपक अर्यालजी र म हुन्थ्यौं। त्यसक्रममा मैले भनेको थिएँ, “सूर्यबहादुर थापाको जीवनी बिक्छ।”

साथीहरूले किन वा कसरी भनेर सोधेनन्। आधुनिक नेपालको राजनीतिलाई उहाँले जसरी देख्ने अर्को पात्र कोही छैन भन्ने कुरा मैले भनिरहनै पर्दैनथ्यो।

“कसले गर्छ र त्यो काम?” अमरजीले सोध्नुभयो।

“म गर्छु”, मैले भनें।

“तपाईंले चिन्नुभएको छ?”

“कुन नेपालीले चिनेको छैन होला र?” मैले थपें, “तर एउटा सानो समस्या छ, उनले मलाई चिन्दैनन्।”

हामी हाँस्यौं।

मैले कुन्द दीक्षितलाई यो कुरा भनें। यस काममा मदत माग्न सबभन्दा नजिकको व्यक्ति उहाँ नै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “सङ्गीता पनि सूर्यबहादुरजीको किताब निकाल्ने कुरा गर्दै थिइन्।”

सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका, सुपरिचित कला सङ्कलक र संरक्षक सङ्गीता थापा सूर्यबहादुर थापाकी बुहारी हुन् भन्ने थाहा थियो। सुनीलजी र सङ्गीताजीसित एक चरण कुराकानी भएपछि मेरो भेट सूर्यबहादुर थापासित भयो। म जसको जीवनीको सम्पादक हुन सूरिंदै थिएँ, ती पात्र, अर्थात् सूर्यबहादुर थापा मेरो राजनीतिक चेतनाका पहिला खलनायक, जनमत संग्रहमा पंचायतलाई जिताउने प्रधानमन्त्री! हामीले कुनै आदर्शले अभिप्रेरित भएर, उहाँलाई आदर्श राजनीतिज्ञ मानेर किताब लेख्न चाहेका थिएनौं। पहिलो काम, बिक्ने किताब लेख्नु थियो र दोस्रो, नेपालको आधुनिक राजनीतिको इतिहास भन्न मिल्ने एउटा अभिलेखसित जोडिने रहर थियो। तर हामीले माने पनि नमाने पनि उहाँ नेपाली राजनीतिका म्याराडोना हुनुहुन्थ्यो; तेज, कुशल र अविस्मरणीय खेलाडी। जनमत संग्रहमा हातैले भए पनि गोल गरेर कमाएको नाम उहाँको खाताबाट मेटिन सक्ने थिएन।

उहाँलाई मैले पहिलो पटक २०३५ सालको शिवरात्रिमा पशुपतिमा देखेको थिएँ। दोस्रो पटक २०३८ मा उहाँकै हातबाट एउटा कविता प्रतियोगिताको पुरस्कार थापेको थिएँ र तेस्रोपटक म उहाँकै बैठक कोठामा थिएँ। हाम्रो स्वार्थलाई उहाँको स्वार्थसित जोड्नुथियो। मलाई राजनीतिक पत्रकारितामा कहिल्यै नाम नसुनिएको, शक्ति र राजनीतिका हिसाबले कुनै प्रोफाइल नभएको, आफूलाई पत्रकार भन्न समेत आँट नगरेर 'सञ्चारकर्मी' भन्ने म नेपाली राजनीतिका अत्यन्त चतुर र क्षमतावान् राजनीतिज्ञका अगाडि छु र अलिकति चुकें भने मलाई पन्छाउन उहाँलाई कुनै बहाना चाहिंदैन भन्ने रामै्र थाहा थियो।

“धेरैले मेरो बारेमा किताब लेख्छु भनेका छन्, तर के लेख्ने र कसरी लेख्ने भन्ने कुरा मैले टुङ्गो गर्न सकेको छैन। म लेखक त होइन नि!” उहाँले भन्नुभयो। “यहाँ नेपाली राजनीतिको सबभन्दा विवादास्पद व्यक्ति हुनुहुन्छ”, मैले जानाजान हजुर र तपाईंका बीचको सम्बोधन चलाएर भनें, “आफ्ना बारेमा चलेका चर्चा र आरोपहरूको जवाफ मात्र दिए पुग्छ जस्तो लाग्छ मलाई। थपमा आजभन्दा असी वर्षअघिको नेपाल, पढ्न बस्दाको काठमाडौं– लेख्ने कुरा त कति छन् कति नि!”

उहाँले किताबको ढाँचा सोध्नुभयो, मैले आत्मकथात्मक जीवनी हुने बताएँ। अर्थात्, उहाँ लेखक, म सम्पादक। म 'घोस्ट राइटर' अर्थात् केही नेपाली लेखकहरूले भनेको 'प्रेत लेखक' होइन। मैले जानेसम्म 'घोस्ट राइटर' नियुक्त गरिएका हुन्छन्, म एउटा सानै भए पनि प्रतिष्ठित प्रकाशन गृहका तर्फबाट आफूले सोचेको योजना लिएर गएको थिएँ।

काम भयो। 'जगदम्बा प्रकाशन' को नाम नभएको भए मैले अझ् धेरै प्रयत्न गर्नुपर्थ्यो होला, वा उहाँसित भेटै नहुन पनि सक्थ्यो होला। तर सूर्यबहादुर थापाले आफूलाई अनेक प्रश्न मार्फत कोट्याएर आफ्नो जीवनी लेख्न पत्याउनु मात्र पनि मेरा लागि हात तन्काएर आफ्नै पिठ्युँमा धाप मार्ने कुरा भयो।

मलाई एकजना सहयोगीको आवश्यकता थियो। निकै समय र श्रम लाग्ने त्यस काममा विना गुनासो, थोरै पारिश्रमिकमा काम गर्न त्यो कामको महत्व बुझने र त्यसमा रमाउन सक्ने व्यक्ति चाहिन्थ्यो। ती गुण भएका व्यक्तिका रूपमा मैले गणेश पौडेललाई छानें। उनी शिष्ट, कुशल, गोपनीयता कायम राख्न सक्ने व्यक्ति हुन् भन्ने मलाई थाहा थियो।

२०६५ सालको हिउँदमा हामीले सूर्यबहादुरजीसित कुराकानी शुरू गर्‍यौं। अनि विस्तारै हामी उहाँको ऊर्जा, व्यवहार र स्पष्टताको फ्यान हुन थाल्यौं।

समाज र संसारले मान्छेको मूल्याङ्कन ठूला कुराबाट गर्छ। उसबाट समाजले वा देशले के पायो र के गुमायो भन्ने कुरा विभिन्न कोणबाट हेरिन्छ र त्यस्तै कुराका आधारमा मान्छेको सार्वजनिक छवि बन्छ, अद्यावधिक हुन्छ। तर कसैसित सङ्गत गरिसकेपछि उसका बारेमा अर्को व्यक्तिले कसरी सोच्छ भन्ने कुरामा व्यवहारका मसिना कुराहरूको प्रभाव हुन्छ। शुरूमा त हामी छक्कै पर्‍यौं, सूर्यबहादुरजीको अत्यन्त विनम्र व्यवहारका कारण। ड–डर पनि लाग्यो। पछि बुझयौं, त्यो उहाँको स्वभाव नै रहेछ। उहाँले आफ्ना हजुरबाबाट सिकेको शिष्टाचार राणा दरबारको बसाइमा अझ् परिमार्जित भएको रहेछ। ठूल्ठूलो स्वरमा बोल्ने र अनेक उपमा दिएर विरोधीहरूको तेजोबध गर्ने सूर्यबहादूर थापामा सूर्यको तेज मात्र होइन, चन्द्रमाको शीतलता पनि उत्तिकै रहेछ।

सम्झ्नामा आइरहने राम्रा कुरा धेरै छन्। उहाँ कुराकानी गर्न नोट वा टिपोट लिएरै बस्नुहुन्थ्यो। “तपाईंहरूले सोधेकाले गर्दा बिर्सिसकेका धेरै कुरा सम्झिएँ” भनेर हामीलाई धन्यवाद दिइरहनुहुन्थ्यो। हामी गएका बेला सँगै बसेर चिया खाजा खानुहुन्थ्यो। समय फेरबदल गर्नुपर्दा जहिले पनि आफैं फोन गर्नुहुन्थ्यो र हामीलाई नै अप्ठ्यारो लाग्ने गरी 'सरी' भन्नुहुन्थ्यो।

किताबमा परिमार्जन गर्नुपर्ने केही काम बाँकी थिए। मैले केही कुरालाई अझ् स्पष्ट पार्ने आवश्यकता देखेको थिएँ र उहाँलाई भनेको पनि थिएँ। सङ्गीताजी बेलाबेलामा “बुबाको उमेर धेरै भइसक्यो, किताबको काम कहिले सकिन्छ केदारजी?” भनेर सोध्नुहुन्थ्यो। म ठट्टा गर्थें, “उहाँलाई राजनीतिबाटै फुर्सद छैन, कसरी भ्याउनु र?” र थप्थें, “पीर नमान्नुहोस्, नौ दशक त सजिलै हान्नुहुन्छ उहाँले!”

यस पटक, चैतको शुरूमा उहाँको जन्मदिनको पार्टीमा मान्छेको भीड घटेपछि हामीले एकछिन कुरा गर्‍यौं। “उपचारका लागि जानु छ। अब इन्डियाबाट फर्केपछि कुरा गरौंला है?” उहाँले भन्नुभएको थियो।

इन्डियाबाट उहाँ आउनुभएन, नराम्रो खबर आयो।

भोलिपल्ट मैले ट्वीट गरें, “ऊर्जा, विचार र विनम्रताका प्रतिमूर्ति सूर्यबहादुर थापाको ८८ वर्षमा भएको निधनलाई पनि असामयिक भन्न मन लागिरहेको छ। हार्दिक श्रद्धाञ्जलि!”

comments powered by Disqus

रमझम