प्रभावशाली व्यक्तित्व चतुर राजनीतिज्ञ

Share:
  
- रघु पन्त
सूर्यबहादुर थापाले पंचायतकालमा सर्वशक्तिमान दरबारसँग टक्कर लिने साहस देखाएका थिए।

मीनरत्न बज्राचार्य
म स्कूल पढ्दा सूर्यबहादुर थापा प्रधानमन्त्री भइसकेका थिए। द्वैध शासनमाथि प्रश्न उठाएर अनशन बसेपछि भने उनीप्रति ध्यान जान थाल्यो। कालो टीका लगाएर सूर्यबहादुर थापा जेलमै अनशन बसेको चर्चा हामी सुन्थ्यौं। एसएलसी परीक्षा दिएपछि राजनीतिमा क्रियाशील भएका हामी केही साथी उनीबारे छलफल गर्थ्यौं। त्यो बेला आज जस्तो स्वतन्त्र अवस्था थिएन, धेरै कुरा खासखुसमा चल्थे। भारतले सिक्किम लिएपछि शुरू भएको विद्यार्थी आन्दोलनमा सहभागी हामी केही साथीबीच गहन राजनीतिक छलफल चल्थे, सूर्यबहादुरको पनि चर्चा हुन्थ्यो।

सूर्यबहादुर थापाको राजनीतिक जीवन राजा महेन्द्रको छत्रछायाँमा हुर्केको थियो। महेन्द्रले सभाध्यक्ष, मन्त्री, मन्त्रिपरिषद्को अध्यक्ष र प्रधानमन्त्रीको रूपमा उनलाई उपयोग गरे। दरबारले पंचायत विरोधी गतिविधि निरुत्साहित गर्नमा उनको चातुर्यको प्रयोग गर्‍यो। सूर्यबहादुर चतुर र प्रभावशाली थिए। पंचायतमा प्रधानमन्त्री हुँदा पनि उनको व्यक्तित्व कमजोर रहेन। त्यही कारण, पंचायत र दरबारभित्रका विभिन्न खेमाहरूसँग उनको द्वन्द्व चलिरहन्थ्यो। तर, उनले राजा महेन्द्रलाई चिढ्याउने भन्दा रिझाएरै आफ्नो राजनीतिक भूमिका र प्रभाव बढाए। महेन्द्र समय–परिस्थिति अनुसार राजनीतिक मानिसहरू प्रयोग गर्थे। उनले जति चतुर्‍याईंपूर्वक सूर्यबहादुरको प्रयोग गरे, राजा वीरेन्द्रले गर्न चाहेनन्। यद्यपि; महेन्द्र, वीरेन्द्र र राजा ज्ञानेन्द्र तीनै जनाले उनलाई प्रधानमन्त्री बनाए।

वीरेन्द्र राजा भएपछि दरबारसँग सूर्यबहादुरको सम्बन्ध सुमधुर नभएको देखिन्छ। २०३६ सालको आन्दोलन चर्केर जनमतसंग्रहको घोषणा गर्न बाध्य भएपछि भने राजालाई चतुर र प्रभावशाली प्रधानमन्त्रीको आवश्यकता पर्‍यो अनि सूर्यबहादुर थापा दरबारको रोजाइमा परे। जनमत संग्रहमा पंचायतलाई जिताउन सूर्यबहादुरले राज्यशक्तिको चरम दुरुपयोग गरे। त्यही बेला नेपालको वन–जंगलमा व्यापक कटानी भयो। त्यसरी पंचायतलाई जिताएपछि पंच राजनीतिमा थापा अझ् प्रभावशाली भएर देखा परे।

जनमत संग्रहपछि पंचायतभित्रको खेमाबन्दी चर्कंदै गयो। पंचहरू उदार र अनुदार खेमामा विभाजित हुन थाले। आफूलाई उदार खेमामा उभ्याएका सूर्यबहादुर थापाले दरबारभित्रको एउटा समूहलाई लक्षित गर्दै 'भूमिगत गिरोह' भनेर राजनीतिक आक्रमण थाले।

२०३६ सालमा पंचायतलाई जिताइए पनि बढ्दो जनचेतनाले गर्दा प्रेसको भूमिका बढ्न थालेको थियो। प्रतिबन्धित राजनीतिक दलहरू पनि विद्यार्थी संगठन मार्फत खुला राजनीतिक गतिविधि गर्न थालेका थिए। राष्ट्रिय पंचायतको निर्वाचनमा पनि दलहरू सक्रिय हुन थालेका थिए। प्रधानमन्त्री सूर्यबहादुर थापाले दरबारबाट राजीनामाको दबाब आउँदा राष्ट्रिय पंचायतमा अविश्वास प्रस्तावको सामना गर्ने अडान राखे। अन्त्यमा सूर्यबहादुरसँग १७ जना मात्र राष्ट्रिय पंचायत सदस्य रहे पनि उनले अविश्वास प्रस्तावको सामना गरेर दरबारसँग टक्कर लिए। दलविहीन पंचायतभित्र दलीय अभ्यास थियो, त्यो घटना।

सर्वशक्तिमान दरबारसँग टक्कर लिने त्यो राजनीतिक साहसमा सूर्यबहादुर थापा एक्लै भने थिएनन्। राजा महेन्द्रको भूमिकाबाट बनेको त्यो व्यक्तित्वलाई विभिन्न ढंगले सहयोग पुर्‍याएर फाइदा लिन छिमेकी भारत जहिल्यै तत्पर रह्यो। आफ्नो राजनीतिक जीवनभर सूर्यबहादुर थापा नेपालमा भारतका 'विश्वसनीय मित्र' रहिरहे। पछिल्लो पटक प्रधानमन्त्री हुँदा उनले वीरगञ्जमा भारतीय वाणिज्य दूतावास खोल्न र तीन करोड रुपैयाँसम्मको विकास कार्य दूतावास आफैंले गर्न पाउने निर्णय गरिदिए, जसको दुरुपयोग नेपालको राजनीतिमा हस्तक्षेप गर्नका लागि भइरहेछ।

राजा महेन्द्र र वीरेन्द्रले लिएको असंलग्न परराष्ट्र नीति र देशभक्तिपूर्ण अडानका सन्दर्भमा दरबारलाई पंचायतभित्रैबाट चुनौती दिने कार्यमा सूर्यबहादुर थापाको उपयोग भारतले गर्थ्यो भने भारतसँग सम्बन्ध सहज बनाउनु पर्दा दरबारले सूर्यबहादुरको प्रयोग गर्थ्यो। तिनै सूर्यबहादुरले २०४६ सालको जनआन्दोलनपछि आफूलाई सहज रूपमा परिवर्तन गरे। पंचहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी खोलेर आफ्नो 'उदारवादी' छवि कायमै राखे। बहुदलीय कालमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ताको लुछाचुँडी चल्दा कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्ने मौका सूर्यबहादुर थापाले पाए। ज्ञानेन्द्रले सत्ता लिएपछि उनी पाँचौं पटक नेपालको प्रधानमन्त्री बने।

सूर्यबहादुर थापाले नेपाल गणतन्त्र भएको घटनालाई परिस्थितिको आवश्यकता भन्दै सहर्ष स्वीकारे। फेरिएको परिस्थिति बुझेर त्यस अनुसार आफूलाई छिटो तयार पार्दै आफ्नो उपयोगिता सावित गर्ने क्षमता सूर्यबहादुरले पटक–पटक देखाए। हक्की स्वभावका उनमा प्रभावकारी ढंगले आफ्ना विचार राख्ने क्षमता थियो। राष्ट्रिय पंचायत, संसद्, संविधानसभा सबै ठाउँमा उनको उपस्थिति प्रभावपूर्ण रह्यो। सूर्यबहादुरले संसद्मा भाषण गर्दा 'हैन, यो बूढो अहिले पनि बाघ जसरी गर्जन्छ' भनेर सांसद्हरूले टिप्पणी गरेको मैले सुनेको छु।

सूर्यबहादुर थापाले तीन राजा र पंचायतदेखि बहुदल र गणतन्त्रसम्मका सबै शीर्ष नेतासँग संगत–सहकार्य गरे। मैले पहिले सांसद् र पछि प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख सल्लाहकार रहँदा उनीसँग कुराकानी गर्ने मौका पाएँ। २०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा राप्रपाको प्रतिनिधित्व सम्बन्धमा कुरा गर्न म राज्यमन्त्रीको मात्र प्रस्ताव लिएर उनको निवास मालीगाउँ गएको थिएँ। मैले राज्यमन्त्रीको प्रस्ताव स्वीकार्न अनुरोध गर्दा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले सजिलै 'राज्यमन्त्री मात्र दिए हुन्छ, तर अरू मन्त्रीको मातहत हुँदैन, स्वतन्त्र मन्त्रालय चाहिन्छ' भने। मुलुकको राजनीतिक परिस्थिति, सरकार गठन, सञ्चालन आदि विषयमा एक घण्टा जति कुराकानी गरेर फर्कने बेलामा उनले भनेका थिए, “रघुजी, मैले तपाईंलाई पहिले चिनेको पत्रकारका रूपमा हो। तपाईं सांसद्, मन्त्री र प्रमुख सल्लाहकार पनि हुनुभयो, यी अनुभवहरूले तपाईंलाई लेख्न झ्न् सघाउला।”

म प्रमुख सल्लाहकार रहँदा प्रधानमन्त्री कार्यालयका अनुभवी कर्मचारीहरूले 'प्रधानमन्त्रीका रूपमा मन्त्रिपरिषद्को बैठकको अध्यक्षता धेरैले गरे पनि साँच्चैका प्रधानमन्त्रीमध्ये एक सूर्यबहादुर देखिएको' बताउँथे। आफ्नो मन्त्रिपरिषद्लाई नियन्त्रणमा राख्ने, मन्त्रीहरूले भन्दा गहिरिएर फाइल पढ्ने, बुझने र निर्णय दिने गर्थे, सूर्यबहादुर थापा। कतिपयले यो कुरा विभिन्न सन्दर्भमा लेखेका पनि छन्।

पंचायतको व्यक्तिवादी राजनीतिमा हुर्केका खेलाडी सूर्यबहादुरले सिद्धान्तको भन्दा पदकै राजनीति धेरै गरे। उनले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टीलाई पटक–पटक फुटाए, जुटाए। आफ्नो लागि उपयोगी हुँदैन भने त्यस्तो पार्टी के काम भन्ने मान्यताका उनले जीवनकालको उत्तरार्द्धमा छोरालाई राजनीतिमा ल्याए, मन्त्री बनाए। राजनीतिक आदर्शका दृष्टिले सूर्यबहादुर थापाबाट नयाँ पुस्ताले सिक्नुपर्ने कुरा धेरै नदेखिए पनि उनको देहावसानबाट नेपालले एउटा चतुर, प्रभावशाली र अनुभवी नेता गुमाएको छ।

comments powered by Disqus

रमझम