६-१२ वैशाख २०७२ | 19-25 April 2015

रबरको खबर

Share:
  
- जीवनप्रसाद राई
रबरजन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन अग्रसर झापाली किसानलाई सरकारले निराश बनाएको छ।

जीवनप्रसाद राई
पूर्वी तराईको झापालाई खाद्यान्नको भण्डार मानिन्छ। नेपालमा रबर खेतीको लागि पनि यही जिल्ला सबैभन्दा उपयुक्त रहेछ, बंगालको खाडी नजिक २१ डिग्रीदेखि ३५ डिग्री सेल्सियसम्मको सापेक्षित आर्द्रताका कारण।

२०४९ सालमा खुलेको गोरखकाली टायर उद्योगले देशमै कच्चा पदार्थ उत्पादन सम्बन्धी अध्ययन गर्दा झापामा रबर खेती राम्रो हुने थाहा भयो। यसरी रबर रोप्न थालेका किसान अहिले निराश छन्। उनीहरूले रबर खेती अगाडि बढाएका छन्, विस्तार र उत्पादन पनि बढेको छ, तर प्राविधिक ज्ञान र उपकरणको अभावमा हुनुपर्ने जति उत्पादन र फाइदा भएको छैन। झापाको धाइजनबाट शुरू भएको रबर खेती गत २२ वर्षमा बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, घेराबारी, वैगुनधुरा, कोहबरा, पृथ्वीनगर र भद्रपुरसम्म फैलिएको छ। अहिलेसम्म दुई सयभन्दा बढी किसानले करीब सात सय बिघामा रबर लगाएको अनुमान छ।

किसानहरूको 'प्राकृतिक साना किसान रबर उत्पादक संघ, नेपाल' पनि छ। आफूहरूले देशलाई रबरजन्य पदार्थमा आत्मनिर्भर बनाउने अभियान थालेको तर, सरकारी निकायमा जाँदा धान फल्ने खेतमा किन रबर रोप्ने भन्दै निराश बनाएर फर्काउने गरेको संघका वरिष्ठ उपाध्यक्ष बालकृष्ण सापकोटा बताउँछन्। उनका अनुसार, झापामा लगाइएको करीब दुई लाख रबरका बोटमध्ये धेरैजसो ८–१० वर्षका छन् र तिनीहरूले रबरको कच्चा पदार्थ चोप दिइरहेका छन्। तर, प्राविधिक ज्ञानको अभावमा चोप संकलनदेखि कारखानासम्म पुर्‍याउने प्रक्रिया नमिल्दा खेर गइरहेको छ।

काइदाको खेती

समुद्री सतहबाट ३५० मीटरसम्मको उचाइमा रहेको झापामा एक बिघा जग्गामा ३५० देखि ४०० बोट रबर हुर्काइएको छ। कतिपय किसानले चिया बगानमा पनि रबर हुर्काएका छन्। अन्य रूखले भन्दा बढी कार्बन सोस्ने सदाबहार रबरले बिरुवा रोपेको ६ वर्षबाट चोप दिन थाल्छ। शुरूका तीन वर्ष योसँगै अरू बाली पनि लगाइन्छ। एउटा बोटबाट ३० वर्षसम्म चोप निकाल्न सकिन्छ। एक बिघा जमीनको रबरबाट वर्षमा १८ सय किलोसम्म चोप निक्लन्छ।

अहिले किसानहरूले प्रतिकिलो चोप रु.२५० मा मोरङका कारखानाहरूलाई बेचिरहेका छन्। उनीहरूले गोरखकाली टायर उद्योगलाई दिने परिमाण नै पुर्‍याउन सकेका छैनन्। रबरको चोपबाट गाडीका टायरबाहेक जुत्ता, चप्पल, चश्मा, कलम, पेन्सिल, इरेजर, रबर व्याण्ड, झोला, इलास्टिक, मोजा, घडी, मोबाइल फोन, क्यामरा इत्यादि बनाउँदा प्रयोग हुने सामग्रीहरू बन्ने भएकोले बिक्री नहोला भन्ने चिन्ता छैन।

कुलो नलाग्ने जमीन, नदी कटान क्षेत्र, चिया बगान र सामुदायिक वनहरूमा पनि रबर रोप्न सकिन्छ। सरकारले यस्तो नीति लियो भने झापामा हजारौं बिघा जमीन निस्कन्छ, रबरको लागि।

सम्भावना र समस्या

नेपालमा अहिले वार्षिक रु.७ अर्बको रबरजन्य वस्तु आयात हुने गरेको छ। स्वदेशी उत्पादनबाट रबरजन्य उत्पादनमा आत्मनिर्भर हुने हो भने झापामा १८ लाख बोट हुर्काउनुपर्छ, जुन सरकारबाट हुने अलिकति पहलबाट सजिलै हुन्छ। यति बिरुवा हुर्काउन सक्दा वार्षिक अनुमानित रु.१६ अर्बको रबर उत्पादन हुनेछ। त्यो भनेको वार्षिक रु.९ अर्बको रबरजन्य वस्तु निर्यातको अवस्था हो।

रबर खेतीमा प्रति बिघा तीन जनाले रोजगारी पाउँछन्। प्रशोधन उद्योगले त्योभन्दा बढी रोजगारी सिर्जना गर्छ। रबर खेती त्यसै पनि उद्योगमूलक कृषि हो। पहिले आसामबाट बिरुवा ल्याएका झापाली किसानहरू अहिले रबरको कलमी गर्न आफैं सिपालु भएका छन्। तर, सरकारले नै रबरको महत्व नबुझदा किसानले समस्या भोग्नु परेको छ। कृषि विकास मन्त्रालयले रबर खेती चिनेको सम्म छ, तर बजेट छुट्याएको छैन। किसानहरूले प्राविधिक सहयोग, सरल व्याजदरमा ऋण, गुणस्तरीय रबर प्रशोधन हुने ठाउँहरूको भ्रमण, बिरुवा र प्रशोधनजन्य सामग्रीमा अनुदान मागिरहेका छन्, तर सरकारले यति काम पनि गरेको छैन।

comments powered by Disqus

रमझम