घरमै ध्यान–योग

Share:
  

राजधानीका चउर, पार्क वा मन्दिर आसपास खुला ठाउँमा साँझ–बिहान ध्यान र योग गर्नेको भीड हुन्छ। यसले पनि देखाउँछ, यहाँ व्यायामका लागि चाहिने सार्वजनिक स्थल कम छन्। प्रदूषणका कारण घरबाहिर व्यायाम गर्दा उल्टै रोग लाग्ने डर नभएको पनि होइन। घरभित्रै ध्यान, योग गर्ने वातावरण बनाउनु नै अहिलेका लागि उत्तम समाधान हो।

आर्किटेक्ट राहुल बज्राचार्य कोठाभित्रको प्रकाश, तापक्रम, भित्ता/सिलिङको रङ र कुन कोठा कहाँ राख्ने भन्नेतर्फ विचार पुर्‍याउन सके घरमै योग/ध्यान गर्ने ठाउँ निस्कने बताउँछन्। यस्तो ठाउँमा सोझ्ौ सूर्यको किरण नआउने तरीकाले झ्याल–ढोका राख्नुका साथै मधुरो प्रकाशका बत्ती जडान गर्नुपर्ने उनको सुझाव छ। “डेरामा बसेकाले सोझै प्रकाश आउने झ्यालमा पर्दा लगाएर पनि ध्यान गर्न सक्छन्”, उनी भन्छन्, “तर, यसो गर्दा कोठा अँध्यारो भने हुनुहुँदैन।”

तापक्रमका कारण योग/ध्यान कोठामा पार्केटिङ गर्नु उपयुक्त हुन्छ। काठको फ्लोरिङले कोठा न्यानो बनाउने, भित्ता र सिलिङमा फिका रङ लगाउँदा कोठा शान्त देखिन्छ। बगैंचा छ भने बगैंचातिरै फर्किएको कोठालाई यस्तो कोठाको रुप दिनु सही मानिन्छ। “कोठाभित्र फूलका गमला राख्नु झनै राम्रो। यसो गर्दा योग गर्नेलाई प्रकृतिनजिक पुगेको महसूस हुनुका साथै कोठामा अक्सिजनको प्रवाह पनि हुन्छ”, आर्किटेक्ट बज्राचार्य भन्छन्।

ध्यान–योग कोठा भान्सा, सुत्ने कोठा र शौचालयसँग नजोडिकन बनाउन सके अर्को कोठाको हल्लाले अवरोध पुर्‍याउँदैन। राजधानीको मध्यबानेश्वरमा रहेको विश्व जागरण अभियानका संस्थापक स्वामी आनन्द विनोद त योग/ध्यान कोठामा घडी, पंखा, फोटो फ्रेम, फर्निचर आदि केही पनि नराख्न सुझाव दिन्छन्। “वरिपरि अनेकथोक राखेमा एकाग्रता टुट्छ”, उनी भन्छन्, “कोठा शून्य बनाई भुईंमा बसी ध्यान गर्दा चाँडै तरंग पैदा हुन्छ।”

योग/ध्यान कोठा भुईंतलामै हुनु राम्रो मानिन्छ। उत्तर–पूर्व फर्केको वर्गाकार कोठा छ भने त सुनमा सुगन्ध हुने स्वामी विनोदको भनाइ छ। उनी सधैं एकै ठाउँमा बसी ध्यान गर्नुपर्ने बताउँछन्। आर्किटेक्ट राहुल बज्राचार्य छतमा सानो कोठालाई पूजा कोठा बनाउनु सबै हिसाबले सहज हुने बताउँछन्।

हिन्दू विद्यापीठ नेपालका प्रमुख डा. चिन्तामणि योगी घरका सबै सदस्य अट्ने पूजा–गृह बनाउन सुझाउँछन्। “यसले पारिवारिक एकता बढाउन मद्दत गर्छ”, उनी भन्छन्। पूजा–कोठा सफा र सुग्घर राख्न सुझाव दिंदै उनी पूजा सकिएपछि भेन्टिलेसन खुला राख्न जोड दिन्छन्।

प्रस्तुति : सजना बराल

comments powered by Disqus

रमझम