६-१२ वैशाख २०७२ | 19-25 April 2015

मुक्तिको अन्त्यहीन आवाज

Share:
  

घामको उज्यालो यहीं हुनेछ

यहीं रहनेछ रातको जून

घुमिरहनेछ माटोलाई म्वाइँ खाएर शीतल पवन

तर रहने छैनन्, कतै बादशाहहरु ...

(बाइसौं शताब्दीमा)

क्रान्तिमा भूमिगत थियो योद्धा

खुला थिए उसका परिबन्दहरु

खुला प्रकट भयो जब क्रान्तिमा

भूमिगत हुन थाल्यो क्रमशः योद्धाका सम्बन्धहरु

कवि झस्कियो

तर, निर्माण भयो मिस्टर योद्धा!

(मिस्टर योद्धा)

नेपाली समाजमा रहेको असमानता विरुद्ध लगातार तिखो कलम चलाउँदै आएका आहुतिले लेखेका दुई कविताका यी हरफबाट मुक्ति आन्दोलनमा आएको विश्रंृखलता बुझ्न गाह्रो पर्दैन। 'बाइसौं शताब्दीमा' लेखिएको १० वर्षपछि लेखिएको 'मिस्टर योद्धा' निराशाले भरिएको छ। अवसरवादले आन्दोलनलाई नै बदनाम बनाएको उल्लेख छ। अर्का कवि संगीतश्रोताले सम्पादन गरेको 145गहँुगोरो अफ्रिका' यिनै मुक्ति आन्दोलनको उत्थानदेखि स्खलनसम्मको २० वर्षे संकलन हो।

पुस्तक गहुँगोरो अफ्रिका

लेखक आहुति

पृष्ठ १४७

प्रकाशन सांग्रिला बुक्स

मूल्य रु.१९९

आहुतिद्वारा २०५१ पछि लेखिएका २८ कविता संकलित 'गहुँगोरो अफ्रिका' मा औसत नेपालीजनको विद्रोही मनोविज्ञान उनिएको पाइन्छ। छुवाछूत उनको लेखनको ज्यान हो। तर, वर्गीय र लैङ्गिक असमानताप्रतिको आक्रोश पनि कम छैन। मधेशी महिलाका पीडा पनि अटाएका छन्। उनका कविताहरुमा सत्ता पीडक कित्तामा पर्छ। उत्पीडित समुदाय सत्ता र समाजमा आफ्नो हैसियतको याचना होइन, हकदाबी गर्छन्। त्यसैले 'गहुँगोरो अफ्रिका' विद्रोहको आवाज हो।

दोस्रो खण्डमा आहुतिले आफ्नो कविता यात्राबारे 'मेरो कविताको कथा' लेखेका छन्। जसबाट उनको कवित्व र विचारधाराको स्रोत बुझ्न सकिन्छ। एमाओवादीसँग आबद्ध उनी पूर्व सभासद् समेत हुन्। पार्टी राजनीति र साहित्य सिर्जना फरक भएको बताउने उनी आफैं पनि त्यसबाट मुक्त हुन भने सकेका देखिंदैनन्। नारा र कविता फरक हुनुपर्नेमा जोड दिने उनका कतिपय कवितामा नारा बढी र सौन्दर्य कम लाग्छन्।

महाकवि, राष्ट्रकवि जस्ता पगरीप्रति आहुतिको अस्वीकारोक्ति बहसयोग्य विषय हो। नयाँ पुस्तालाई उनका कतिपय 'टिप्स' भने निर्देशित र पूर्वाग्रही छन्। कता कता आफ्नो कविताको सामर्थ्यप्रति उनमा नसुहाउँदो अहम् पनि झल्कन्छ।

यथार्थ के पनि हो भने आहुति परैबाट सुनिने यस्ता आवाज हुन्, जो आजसम्म सान्दर्भिक छन्, र यही नै उनको रचनाको शक्ति पनि हो। छुवाछूत जस्ता अनेक विभेद व्यावहारिक रुपमै अन्त्य गर्ने हो भने आहुति नपढिन सक्छन्। तर, त्यो दिन पनि आहुति नै सफल हुनेछन्।

सइन्द्र राई

comments powered by Disqus

रमझम