६-१२ वैशाख २०७२ | 19-25 April 2015

भोलानाथ चालिसे

Share:
  

६३ वर्षको उमेरमा १ वैशाखमा दिवंगत अर्थशास्त्री डा. भोलानाथ चालिसे उदार अर्थव्यवस्थाका हिमायती थिए। खुला बजार अर्थतन्त्रका पक्षमा निरन्तर वकालत गर्ने चालिसेले उद्योग सचिव, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक, राष्ट्रिय वाणिज्य ब्यांकको सञ्चालक समिति अध्यक्ष लगायतको ओहोदामा रहँदा आफूलाई एक जना कुशल र निडर प्रशासकका रुपमा चिनाएका थिए। देशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढ्न दिनुपर्ने मान्यता राख्ने उनले निजी क्षेत्र सुहाउँदो ऐन–कानून तर्जुमामा महत्वपूर्ण भूमिका खेलेका थिए।

(असोज २००८ – वैशाख २०७२)

२३ वर्षे सरकारी सेवामा रहँदा २० वर्ष उद्योग मन्त्रालयमै बिताएका डा. चालिसेले स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा पनि काम गरे। उनी एकाधिकार र सरकारी नियन्त्रणको आलोचक अर्थशास्त्रीको रुपमा चिनिन्थे। २०४८ पछि सरकारले शुरु गरेको निजीकरण र आर्थिक सुधारको प्रयासमा भरथेग गरेका डा. चालिसे उद्योग–व्यवसायमा सरकारको उपस्थिति हुनुहुन्न भन्ने मान्यता राख्थे। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, निजीकरण सम्बन्धी नीतिको मस्यौदा कोर्न उनको प्रत्यक्ष भूमिका थियो। यिनै ऐनले नेपालको व्यावसायिक क्षेत्रमा 'लाइसेन्स राज' हटाएर खुला र प्रतिस्पर्धी वातावरण सिर्जना गरेका थिए।

डा. चालिसेले सरकारी संस्थानहरुको निजीकरण र कर्पोरेट करको दर घटाउने काम पनि गरेका थिए। उनी नेपालमा वैदेशिक लगानीलाई सहज राजनीतिक र प्रशासनिक तजबिजी नियन्त्रण गर्नुपर्ने बताइरहन्थे। भियना विश्वविद्यालयबाट विद्यावारिधि गरेका चालिसे नेपाली रुपैयाँलाई परिवर्त्य मुद्रा बनाएर नेपाली उद्यमीलाई पनि विदेशमा लगानीको अवसर दिनुपर्ने विचार राख्थे। काठमाडौं, आरुबारीका रैथाने उनी २०५५ मा सरकारी सेवाबाट निवृत्तिपछि विभिन्न संघ–संस्थाको सल्लाहकार, आर्थिक परामर्शदाता र लेखकको भूमिकामा थिए।

पछिल्लो समय वित्तीय संघीयतामाथि अध्ययन गरिरहेका डा. चालिसे शक्ति विकेन्द्रीकरण र लोकतन्त्रको उच्चतम अभ्यासका लागि संघीयता महत्वपूर्ण हुने धारणा राख्थे। एशिया लिबर्टी फोरमको 'फ्रिडम च्याम्पियन अवार्ड– २०१५' बाट सम्मानित डा. चालिसेका एक श्रीमती र चार छोरा छन्।

रमेश कुमार

comments powered by Disqus

रमझम