६-१२ वैशाख २०७२ | 19-25 April 2015

लाइन आर्ट लहर

Share:
  
- अनुशील श्रेष्ठ
एकै किसिमको क्यानभासमा नयाँ–पुराना २० कलाकारका कला भर्न लगाएर चित्रकार रवीन्द्र श्रेष्ठ (३६) ले लाइन आर्ट विधामा नयाँ प्रयोग थालेका छन्।

युवा कलाकार रवीन्द्र श्रेष्ठ (३६) को सक्रियतामा शुरु भएको लाइन आर्ट (रेखाकला) ले नयाँदेखि पुराना २० कलाकारलाई एउटै पंक्तिमा उभ्याएको छ।

'लाइन द सोल अफ द युनिभर्स' शीर्षकमा उनले बनाएको कोलाबे्रटिभ आर्ट प्रोजेक्ट नेपाली चित्रकलाका लागि नौलो बनेको छ। काठमाडौं विश्वविद्यालयका फाइन आर्टका विद्यार्थी रवीन्द्रले ६ महीने कला प्रोजेक्टमा लाइन आर्ट रोजेका थिए।

रवीन्द्र श्रेष्ठ

रवीन्द्रको लाइन आर्ट प्रोजेक्टमा शशिविक्रम शाह, दुर्गा बराल, मनुजबाबु मिश्र, किरण मानन्धर, प्रेममान चित्रकार, गोपाल कलाप्रेमी, लोक चित्रकार, वीरेन्द्रप्रताप सिंह, एससी सुमन जस्ता हस्तीहरूसँगै आदित्य अर्याल, सागर मानन्धर, संगी श्रेष्ठ, ६ वर्षीया विज्ञता सत्याल लगायत २० चित्रकारले आफ्ना सिर्जना पस्केका छन्।

६ फीट लम्बाइ र साढे ३ फीट चौडाइको खाली क्यानभासमा तीन इञ्च चौडा लाइन छुट्याएर रवीन्द्रले आफूलाई मन लाग्ने सिर्जना कोर्न अनुरोध गरेका थिए। २० जनाको चित्रकला तयार गर्न ६ महीना लागेको रवीन्द्र बताउँछन्। लाइन आर्टमा मूर्त, अमूर्तदेखि ग्राफिक, मैथली, पौवा, थान्का कला समेटिएका छन्।

अहिले रवीन्द्र सय देशका दुई/दुई जना कलाकारसँगको सहकार्यमा २०० लाइन आर्ट कृतिको तयारीमा छन्। यसका लागि उनीसँग १० वर्षे योजना छ। कृतिको बिक्रीबाट उठेको रकमबाट अन्तर्राष्ट्रिय कोष खडा गरेर कला क्षेत्र प्रवर्द्धन गर्ने उनको इच्छा छ।

रवीन्द्र श्रेष्ठको क्यानभास र लाइनमाथि प्रेममान चित्रकार

सृजनराज भण्डारीको कला

लाइन मोह

सानै छँदा आमाले आफ्ना लागि खानेकुरा–पानी छेवैमा राखेर पटुकाले बाँधी काममा निस्कने गरेको रवीन्द्रलाई सम्झना छ। भक्तपुरका उनी त्यही पटुकाको डोरीसँगै खेल्थे।

उमेर बढ्दै गएपछि डोरी जस्तै लम्बाइ भएका वस्तुहरूले उनलाई आकर्षित गर्‍यो। भक्तपुरका घरका चर्केका भित्ता देख्दा उनलाई लाइन आर्ट हेरे जस्तो लाग्थ्यो। खाली भित्ता, पत्रिका र चुरोटका खाली खोललाई क्यानभास बनाउँदै उनी चित्र कोर्थे। उनको बुझाइमा संसारका सबै वस्तुको अस्तित्व लाइनमै अडिएको छ। तिनमा कतिमा लाइन स्पष्ट देखिन्छ कतिलाई लाइनले आकार दिएका छन्।

“संसार देखिने र नदेखिने वस्तुहरूको सम्मिश्रण हो जुन लाइनमा टिकेको हुन्छ”, उनी भन्छन् “बस्; रेल, पहाड, खोला, झरना, रुख, हाँगा, बिजुलीको तार सबैमा लाइन देख्छु। किनभने ब्रह्माण्डको आत्मा नै लाइन हो।”

संसार नै रेखा भित्र हुन्छ भन्ने अर्थ मसँग धेरै मिल्न आएकाले चित्र बनाउन उत्साहित भएँ।

किरण मानन्धर

क्यानभासको लाइन हेरेर पेन्टिङ बनाउँदै गर्दा कोरिया जाने फाराम भर्न लागेका युवाको लाम सम्झिएँ।

शशि शाह

चित्र बनाउँदा सभ्यता, संस्कृति, जातभातको रेखै रेखाको जञ्जालमा अल्झेको आधुनिक विश्व सम्झिएँ।

मनुजबाबु मिश्र

रवीन्द्रको लाइन आर्टको सोच र कामलाई फिल्म मेकर असिम चित्रकारले वृत्तचित्रमा उतारेका छन्। वृत्तचित्रमा लाइन आर्ट कोर्दाको कलाकारको अनुभूतिलाई पनि समावेश गरिएको छ। जसमा चित्रकार किरण मानन्धर, मदन चित्रकार, मनुजबाबु मिश्र, शशिविक्रम शाहले संसार, जातजातिदेखि दक्षिणकोरिया जान फाराम भर्न लाम लागेका युवासम्म सम्झना गरे।

रवीन्द्रले शुरुमा लाइन आर्टबारे योजना सुनाउँदा उनका साथी र शिक्षकले समेत पत्याएका थिएनन्। चर्चित कलाकारले उनको क्यानभास पोत्ने कुरा सुन्दा पनि अनौठो थियो। तर उनले हिम्मत हारेनन्। भन्छन्, “पढाइ दुई वर्ष पछि सारेर भए पनि यो काम गरिछाड्छु भनेर लागें। सबैको सहयोगले चाँडै सकियो।”

चार वर्ष अघिदेखि उनी लाइन आर्ट प्रदर्शन गरिरहेका छन्। उनको कला देश–विदेशमा बिक्री समेत भएका छन्। २०१२ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भएको राष्ट्रिय फाइन आर्ट प्रदर्शनीमा उनले बनाएको प्रतिस्थापन कला उत्कृष्ट ठहरिएको थियो। कला इतिहासकार एन्ड्रियु ग्राहम डिक्सनको कला सम्बन्धी पुस्तकहरूमा नेपाली कलाबारे केही उल्लेख नगरिएको पाएपछि उनले त्यसको रोष प्रतिस्थापन कला मार्फत पोखेका थिए। जुन भारतको कोचिनमा भएको कला प्रदर्शनीमा राखिएको थियो।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गत वर्ष भएको प्रदर्शनीमा लाइन आर्ट।

रवीन्द्रले नेपालमा थालेको लाइन आर्टलाई जर्मन कलाकार फ्रिज रिस्केनले पछ्याएका छन्। तर, ६ वर्ष अघिदेखि चिनेका उनै रिस्केनले आफूलाई कुनै 'क्रेडिट' नदिएकोमा भने उनी खिन्न छन्। भन्छन्, “अर्काको अवधारणा चोरेर छोटो समयमै चर्चा पाउन खोज्नु दुःखको कुरा हो।” यस्तै कला चोरीमाथि व्यङ्ग्य गरिएको उनको प्रतिस्थापन कला अहिले नाफाको एक महीने सामूहिक प्रदर्शनीमा देख्न पाइन्छ।

comments powered by Disqus

रमझम