मांगा मन

Share:
  
जापानी कमिक्स मांगाका नेपाली फ्यान राजधानीमा 'मांगा संस्कृति' निर्माण गर्न चाहन्छन्।

गोपेन राई
जापानी शब्द 'मांगा' को अर्थ कमिक्स (हास्य किताब) हो। जापानमा प्रख्यात 'मांगा' कहिलेबाट नेपाल भित्रियो, यसै भन्न सकिन्न। तर, टेलिभिजन र इन्टरनेटका कारण यो कमिक्स युवामाझ प्रिय छ।

नेपालमा जापानी कमिक्स पढ्न मनपराउनेको संख्यामा कमी छैन। तर, बजारले यो संख्या सम्बोधन गरेको छैन। यही बेला वातारु राम श्रेष्ठ (१९) ले काठमाडौंको कान्तिपथमा 'दि ओताकु स्टोर' नामक नेपालको पहिलो मांगा स्टोर खोलेका छन् जहाँ पोस्टर र मांगा सम्बन्धी सामग्री किन्न पाइन्छ। “पसल खोल्दा यत्तिका ग्राहक पाइएला भन्ने लागेकै थिएन”, वातारु भन्छन्, “पैसा कमाउन भन्दा पनि मांगा संस्कृतिको प्रवर्द्धनका लागि थालेको थिएँ।” हप्ताको एक दिन मात्रै खुल्ने उनको पसलमा सबै सामान चीनबाट आयात गरिन्छन्।

गत डिसेम्बरमा शालिनी राणा (२५), कभिन शाह (२६) र कृशान्त राणा (२४) मिलेर निकालेको नेपालको पहिलो मांगा म्यागजिन 'ओकातु नेक्स्ट' ले पनि राम्रै पाठक कमाएको छ। “मांगा र अनिमेका प्रशंसकलाई एक ठाउँमा ल्याएर मांगा संस्कृतिको विकास गर्ने सोचाइ छ”, शालिनी भन्छिन्।

युवा मांगाका कथा र पात्रसँग आफूलाई नजिक्याउन खोज्छन्। यति मात्रै होइन, उनीहरू मांगा कलाकारका सिर्जना र कल्पनामा पनि रमाउँछन्। “मांगाहरू धेरै काल्पनिक हुन्छन् र अन्य कमिक्सभन्दा यिनका कथाको आयु लामो हुन्छ”, निरोश धिताल (२४) को बुझाइ छ।

अन्य कमिक्सभन्दा मांगा किन फरक हुन्छन् भने यिनका विषयवस्तु (प्यानल) दायाँबाट बायाँतिर लेखिएका हुन्छन्। कला र कथा पनि विशेष हुन्छ जसले जुनसुकै उमेरकालाई रिझाउन सक्छ। नेपालमा मांगाको 'हार्डकपी' भित्र्याउन महँगो पर्ने भएकाले पाठक प्रायः मांगा सम्बन्धी वेबसाइटहरू हेर्ने गर्छन्। वेबसाइटमा स्क्यान र अनुवाद गरिएका मांगा सित्तैंमा हेर्न र पढ्न सकिन्छ।
“अघिल्लो वर्ष जापान जाँदा मैले एक सूटकेस मांगा किनेर ल्याएको थिएँ”, वातारु भन्छन्, “विदेश जाँदा मांगासँग रमाउने गतिलो अवसर मिल्छ।” शालिनीले पनि सिंगापुर पढ्न जाँदा मनग्ये मांगा किनेकी थिइन्।

ओकातु नेक्स्टले बेला–बेला मांगा प्रतियोगिता गर्ने गरेको छ। अघिल्लो वर्षको प्रतियोगितामा १५ जनाले भाग लिएका थिए। “मांगाबारे समीक्षा गर्ने एक पाठकले हाम्रो म्यागजिनलाई सोनेन जम्प (प्रख्यात मांगा म्यागजिन) सँग तुलना गरे”, ओकातु नेक्स्टका कृशान्त भन्छन्, “यसले हाम्रो मांगा साक्षरता कति बलियो छ भन्ने उजागर गर्छ।”

हाल १६ लेखक तथा चित्रकारसँग सहकार्य गरिरहेको ओकातु नेक्स्टले मे महीनाको अन्तिमसम्ममा दोस्रो अंक प्रकाशन गर्ने लक्ष्य लिएको छ। मांगा र अनिमेका प्रशंसकको कमी नभए पनि भेटघाट र सामूहिक वातावरण सिर्जना गर्ने ठाउँको अभाव छ। मांगाका पाठक दिपांकर श्रेष्ठ तामाङ (२७) भन्छन्, “हाम्रै जस्तो रुचि भएका साथीहरू कहाँ भेटिन्छन्, थाहा छैन। त्यसैले अनुभव आफैंसँग राख्नुपरेको छ।”

मांगा १०१

मांगा शब्दलाई जापानी उडब्लक प्रिन्ट आर्टिस्ट हुकोसाईले प्रख्यात बनाएका थिए। ग्राफिक आर्ट र चित्रकला सम्बन्धी लामो इतिहास बोकेको जापानमा शब्द र चित्र प्रयोग गरेर कथा भन्ने श्रृंखलाबद्ध शैली अहिले पनि प्रचलनमा छ। १८औं शताब्दीको लोकप्रिय किब्योसी (पहेंलो गाता भएको किताब) मांगा–जस्तै किताबमा अक्षरहरू इंक–ब्रस इलुस्टे्रसनमा छापिन्थे।

कतिपयले राकुतेन किताजावालाई आधुनिक मांगाको संस्थापक मान्छन्। उनको तागासाकु टु मोकुब नो टोक्यो केन्बुत्सु (टोक्योमा तागोसाकु र मोकुबको दृश्यावलोकन) कमिक्स प्रख्यात छ।

सोनेन (केटा) र सोजो (केटी) लक्षित मांगा १९ औं शताब्दीको शुरुमै प्रख्यात थिए। यिनलाई ओसामु तेजुकाले आफ्नो 'माइटी एटम' कृति मार्फत विश्वव्यापी बन्न सघाए। उक्त कृतिको एनिमेटेड भर्सन सन् १९६० को दशकमा 'एस्ट्रो ब्वाई' नाममा अमेरिकी टेलिभिजनमा प्रसारण गरिन्थ्यो। तेजुकाले मांगामा सिनेमाटिक तरीका अपनाए। उनले प्यानलहरूलाई बढाएर अनुहारका अनेक भावभंगी देखाउन थाले। यसले मांगाको बजार विस्तारमा सहयोग पुर्‍यायो।

जापानी संस्कृतिको महत्वपूर्ण हिस्सा बनेको मांगाले विश्वभर हरेक उमेर समूहका मान्छेलाई आकर्षण गर्छ। यी कथा डोरेइमन, नारुतो, ड्रयागनबल जेड जस्ता कार्टुन श्रृंखलाका स्रोत पनि हुन्। चिनियाँ र कोरियाली मन्ह्वा वा मांगा कलाकारमा पनि यसको प्रभाव छ।

सहिना श्रेष्ठ

comments powered by Disqus

रमझम