१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

शिक्षाको थालनी

Share:
  
महाराज रणोद्दीपसिंह र देवशमशेरले नेपालमा शिक्षा प्रसारको संगठित थालनी गरेका थिए।

श्री ३ जंगबहादुर राणाको पालामा एकपल्ट गुरु विजयराज पाँडे काशी जाँदा त्यहाँका अंगे्रज रेजिडेन्टले 'नेपालमा स्कूल, कलेज कति छन्' भनेर सोधेछन्। गुरु पनि के कम, जवाफ फर्काएछन्, “हाम्रो देशमा त तपाईंको देशमा जस्तो यिने–गिनेको ठाउँमा मात्र स्कूल चलाउने होइन, जिल्लैभरि गावैपिच्छे विद्वान्हरू घर–घरका दलानमा पढाइरहेका हुन्छन्!”

पाँडे गुरुले सोह्रै आना सत्य बोलेका थिएनन्, तर झूटो पनि बोलेका थिएनन्। त्यसबेला नेपालमा एउटै पाठशाला खोलिएको थिएन, गाउँमा पण्डितहरूले प्रारम्भिक शिक्षा दिन्थे। जनकपुरको मटिहानी मठमा गुठीको आम्दानीबाट विद्यार्थी पालेर पढाइन्थ्यो। पछि १९३२ सालमा बालब्रह्मचारी षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा संस्कृत पाठशाला खोले। उहिल्यैबाट पढेका विद्वान्हरूलाई बिर्ता–वृत्ति–जागिर दिने चलन थियो। यिनले आफूले पाएको बिर्तामा बस्ती बसाई, रस्ती चलाई त्यहाँका बासिन्दालाई प्रारम्भिक शिक्षा दिन्थे। कर्मकाण्ड गराउने जिम्मेवारी पनि उनीहरूकै हुन्थ्यो।

बिर्तावारले श्राद्ध, रुद्री पूजा, वेदपाठ आदि त दैनिक गर्नु गराउनु पर्थ्यो नै, तिथि, नक्षत्र बताउनु, जन्मोत्सव, न्वारानदेखि अनेकौं धार्मिक कार्यहरूसम्मको समाधान गर्नुपर्थ्यो। त्यसका लागि फलित ज्योतिषि पढेर चिना लेख्न, पञ्चाङ्ग गन्न, पात्रो लेख्न सक्ने हुनु अनिवार्य थियो। दैनन्दिन आवश्यक पर्ने तमसुक आदिको लेखापढी पनि गर्नुपर्थ्यो। त्यस अतिरिक्त सामान्य चल्तीको औषधिमुलो र झ्ारफुक गर्न पनि जान्नुपर्थ्या। पुराना बिर्ता–बस्तीका विद्वान्, बिर्तावाल, मुखियाको घरहरूमा आज पनि त्यस्ता दस्तावेज भेटिन्छन्।

वर्षासन–वृत्ति

नेपालमा सरकारका तर्फबाट शिक्षा दिने कुराको सोच २०औं शताब्दीमा मात्र आएको हो। पृथ्वीनारायण शाहले देश बिस्तार गरेपछि विदेशसँग सम्बन्ध बाँध्नुपर्ने भयो। त्यसका लागि तत् देशवासीको भाषामा वाकिफ भएका मान्छेबाट काम चलाउनुपर्थ्यो। पृथ्वीनारायण पछिकाले अंग्रेजसँग सम्बन्ध राख्दा फारसी भाषामा पोख्त वकील दिनानाथ उपाध्याय, उदयानन्द अर्जेल आदिबाट काम चलाएका थिए। भोटसँगको व्यापार सम्बन्ध पहिल्यैबाट नेवारी जान्ने नाइकेबाटै चल्थ्यो। भोटे भाषा जान्ने पनि धेरै थिए।

चीनसँग पनि सम्पर्क हुन थालेपछि वैदेशिक सम्बन्ध बढ्दै जाँदा नेपाल सरकारलाई विभिन्नभाषा जान्ने मान्छे चाहियो अनि वर्षासन–वृत्ति दिएर संस्कृत, फारसी, चिनियाँ भाषा पढाउन थालियो। प्रतिनिधिमण्डल पठाउन नाइके नियुक्ति गर्न भनेर नेपाल धेरै विद्यार्थीलाई चिनियाँ भाषा पढाउन चाहन्थ्यो, तर पेचिङले दुई–चार जनाभन्दा बढीलाई स्वीकृति दिंदैनथ्यो। पछि नेपालमै तालीम दिन बौद्ध च्याग्रेसी (अवलोकितेश्वर) मा पनि चिनियाँ भाषा पढाउन एक जना चिनियाँ लामा ल्याएर राखियो। उनले कति विद्यार्थी उत्तीर्ण पारे थाहा भएन, तर पछिका चिनियाँ लामा वृत्ति त्यहाँ खान्थे, पढाउन चाहिं पढाउँदैनथे। यताका कुरा उता, उताका कुरा यता पुर्‍याउँथे।

संवत् १९०७ मा जंगबहादुर बेलायत गएर आएपछि छोरा–भतिजालाई अंग्रेजी पढाउन भनेर थापाथली दरबारमा स्कूल खोले। राणाका छोराले मात्र पढ्न पाउने हुँदा त्यसको नाम दरबार स्कूल रह्यो।

शिक्षाप्रेमी शासक

जंगबहादुरपछिका महाराज रणोद्दीप सिंहले जनताका छोरा पनि पढुन् भनेर रानीपोखरीको पश्चिम डिलमा ठूलो लामो दुईतले घर बनाई माथि दरबार स्कूल र तल रानीपोखरी संस्कृत पाठशाला स्थापना गरे। जनतालाई प्रारम्भिक शिक्षा दिन नेपालमा सरकारले गरेको प्रयासको प्रारम्भ त्यही थियो। त्यसको २३ वर्षपछि देवशमशेर आफू प्राइममिनिष्टर हुने वित्तिकै एकैचोटि ठाउँ–ठाउँमा ३५ वटा भाषा पाठशाला स्थापना गर्ने घोषणा गरे। ती भाषा पाठशालाहरू जनतालाई शिक्षित जागरण गराउनुपर्छ भन्ने उदार विचारको फल थिए।

रणोद्दीपसिंह जस्तै धार्मिक स्वभावका देवशमशेरले जनतालाई देश–विदेशको खबर दिने उद्देश्यले नेपालको पहिलो अखबार गोरखापत्र पनि प्रकाशित गराए। अघि बहादुर शाहले राजा र कामदारको लागि कामको समय तोकेकोमा देवशमशेरले श्री ३ महाराज हुनासाथ भीमफेदी भिच्छाखोरीमा खानेपानीको व्यवस्था गर्नुका साथै जंगी निजामती कर्मचारीको कार्य समय र विदाको व्यवस्था पनि गरे।


देवशमशेरले ३५ पाठशाला खोलेको, भिच्छाखोरीमा पानी ल्याएको र कर्मचारीलाई काम गर्ने समय र विदाको बन्दोबस्त आदि असल काम गरेको कुरा.

संवत् १९५८ साल मिति वैशाख् सुदी ११ रोज २ मुतावीक सन् १९०१ अप्रिल मेन्हाको १९ तारेख्का दीन् लेफ्टेन्ट कर्नेल लाक् साहेवका बदलामा रेजीडेन्ट भै लेफ्टेन्ट कर्नेल टि.सि. पियर्स साहेब आउदा भयाको.

हेटौंडासम्म गडीमा कप्तान् टेकबहादुर बस्न्यात् छेत्रृ गै इस्तवाल गरी त्याया ढोका भीम फेदीसम्म इस्त्यकवाल् गरी ल्याउनालाई मेजर कप्तान् मनवी गुरुङ् खटिये. चीसापानी गढीसम्म लिन जाने ले.क. डिल्लिसम्सेर थापा छेत्रृ...

रेजीडेन्ट साहेब् र कर्नेल डिल्लीसम्सेर थापा छेत्रृ गढीबाट यस्तरफ आउंदा बाटोमा कुरा कहानी भयाको वीस्तार मौसुफ कर्नेलले श्री ३ महाराज्का हजुर्मा बिन्ती चढाउंदा यो कुरा सवालजवाफ भयाको लेखी मुन्सीखानामा दीनू भनी हुकुम भयाको हुंदा मजकुर कर्नेलले बुझायाको कागज् बमोजीम् तल लेखीयाको छ– रेजीडेन्ट– हाल माहाराजलाई दुनियाहरू कत्तिको रुचाउंछन्... १

दिल्ली– विद्याले जस्तो उन्नति र खुस् अरु कौनै चीज्ले नहुने हुनाले दुनियांको निमित्त गाउंगाउंमा ३५ पाठशाला राखी बक्सनाले पानी नभयेको भिमफेदी–भीच्क्षाखोरीमा दुनीयाका नीमित्त पानीको कल बनाई बक्स्याकाले जंगी निजामति दुवै अफिसरहरूलाई अघी बिदा नभएकोमा वर्षको १७ दीन् बीदा बक्सेकाले नीजामति गैह्र अडालाई १० बजेदेखी सांझ्सम्म काम गर्नु पर्नेमा ४ बजे छुट्टि पाउने गरी बक्सेकाले समेत् दुनीया श्रीमहाराजदेखी बहुतै खुसी छन्...२

रेजी– सधैं ठुलो गडबडी हुने मिनिष्टरीका चेंजमा यस्पाली कत्ति गड्बड् नभयेको कारन् भन्नसक्नुहुन्छ कि...३

डिल्ली– १४ वर्ष अगाडीदेखी सब मुलुक्को कामु काज आफैले तन्मन् दी गरीबक्सेकोले दुनियाहरूले जति फायदा पायेका थिये. सो सबै सम्झेका हुनाले र श्रीमाहाराजको राजकाज गर्न्या सक्तिलाई १४ वर्षदेखी भारादार लगायत दुनियां सबैले यथार्थ जानेका हुनाले यत्रो ठूलो मिनिष्टरीको बदलीमा पनि गुलमाल केही हुन नसकी सबैको खुशीसाथ महाराज होइबक्सियो...४

comments powered by Disqus

रमझम