“मम्मी, विदेशबाट बाबा कहिले आउनुहुन्छ?”
पाँच वर्षका छोरा विजयराजलाई आमा भीमा (भागीरथी) ले फेरि एकपटक ढाँटिन्, “अब आउनुुहुन्छ, पर्तिरको अंकलसँगै।”
एक दिन छिमेकका साथी संजीव पुनका बाबु आएको सुनेर विजयराज त्यता दौड्दा भीमाले रोक्न सकिनन्। अब साँचो कुरा बताउनु बाहेक अरु उपाय थिएन, उनीसँग।
“तिमी मेरो पेटमा थियौ, संविधान ल्याउन हिंड्दा बाबालाई गोली लाग्यो। उहाँ नआए पनि अब संविधान आउँछ ...।”
तर, आमा–छोराबीच यस्तो संवाद भएको चार वर्षमा पनि न बाबा आए, न संविधान आयो। २०६२/६३ को जनआन्दोलनका शहीद विष्णुप्रसाद पाण्डेको परिवारको कथा हो, यो। आन्दोलनका क्रममा ३० चैत २०६२ मा परासी बजारको बुद्धचोकमा विष्णुलाई गोली लाग्दा भीमा पाँच महीनाकी गर्भवती थिइन्। उनले छोराको नाम विजयराज राखिन्, जनआन्दोलन सफल भएकाले। अहिले १० वर्षका विजयराज तीन कक्षामा पढ्छन्। उनका दिदीहरू स्मृति (१४) र आकृति (१२) आठ र ६ कक्षामा छन्।
स्थानीय जमुवार स्वास्थ्य चौकीमा अस्थायी जागिरे भीमा भने हरेक वर्ष लोकतन्त्र दिवस आउँदा हैरान रहन्छिन्। “न संविधान आयो, न शहीदको सम्मान भयो”, उनी भन्छिन्, “बरु, झुण्डिएर मरेका र परिवर्तनका लागि शहीद भएकाहरूलाई यौटै कोटिमा राखियो!”