एअरबस उडान तालीमका लागि माघ अघि र पछि दुई चरणमा फ्रान्स गएका निगमका १० जना वरिष्ठ क्याप्टेनमध्ये पाँच जना तालीम नै नसकी फर्किएका छन्। चार जनाले तालीम सिध्याएका छन् भने एक जना तालीममै छन्।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार निगमले तेस्रो चरणमा थप ६ जना पाइलट टोली तालीमका लागि पठाएको छ। उनका अनुसार एअरबस कम्पनीले जहाजसँगै पठाएका दुई विदेशी पाइलट वैशाखको अन्त्यतिर फर्कंदैछन्। “हामीलाई तत्काल १६ जना जति पाइलट चाहिन्छ तर चार जना मात्रै छन्” निगमका कर्पोरेट डाइरेक्टर समेत रहेका शर्मा भन्छन्। दैनिक १८ घण्टासम्म उडाउन सकिने एअरबस पाइलट अभावकै कारण पाँच घण्टा उडेर थन्क्याइने गरिएको छ। नयाँ जहाज आउने मिति एक वर्षअघि नै निश्चित भए पनि निगम व्यवस्थापनले भने गत १४ पुसमा मात्र पहिलो चरणमा ६ जना पाइलटलाई तालीमका लागि फ्रान्स पठाएको थियो।
नयाँ क्षेत्रको उडान त पछिको कुरा, पर्याप्त पाइलट नहुँदा काठमाडौं–दिल्ली उडान समेत प्रभावित भइरहेको छ। पाइलट अभावकै कारण सातामा चार उडान भर्नुपर्ने काठमाडौं–दिल्ली तीन उडानमा सीमित छ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व परियोजना निर्देशक प्रेमराज लोहनी जहाज किन्ने योजनासँगै पाइलटको क्षमताबारे नसोच्दा समस्या आएको बताउँछन्। “अब केही होला भन्ने आशा जागेको थियो तर निगमलाई कहिल्यै उठ्न नदिने तत्व अझ्ै हावी रहेछन्”, उनी भन्छन्।
चीनबाट ल्याइएको ३६ सीटे 'एमए १६' र १९ सीटे 'वाइड १२ ई' जहाजले पनि क्षमता अनुसार उडान भर्न सकिरहेका छैनन्। स्रोतका अनुसार ३६ सीटे जहाजले २५ र १९ सीटे जहाजले १२ जना यात्रु मात्र बोक्दै आएको छ। यी जहाजले भनिएको क्षमता अनुसार कार्गो समेत बोक्न सकिरहेका छैनन्। निगमले चीनबाट ६ वटा जहाज ल्याउने सम्झौता गरेको थियो। तर, दुइटाको खराब 'पर्फमेन्स' पछि थप जहाज ल्याउने कुरामा निगम अन्योलमा रहेको बताइन्छ।
पाइलट विनाको जहाज
निगम–एअरबस जहाज खरीद सम्झौतामा १४ सेट (२८ जना) पाइलटको उडान तालीम खर्च पनि समावेश छ। ३५ दिने तालीमका लागि प्रति पाइलट ३० हजार अमेरिकी डलर (करीब रु.३० लाख रुपैयाँ) लाग्छ। निगमले पठाएका पाँच जना पाइलट तालीम पूरा नगरी फर्कंदा रु.१ करोडभन्दा बढी रकम खेर जानुका साथै तालीमको कोटा समेत गुमेको छ।
निगमसँगको 'बोइङ ७५७' जहाज उडाउन सक्षम २४ जना क्याप्टेन र दुई जना को–पाइलट छन्। एउटा बोइङको नियमित उडानका लागि नै कम्तीमा पनि १४ जना पाइलट चाहिन्छ। निगमले यिनै पाइलटमध्येबाटै एअरबस तालीममा पठाएको हो। एअरबस तालीम लिएका पाइलटले फेरि बोइङ उडाउन नपाउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियमले पनि अबका दिनमा निगममा पाइलटको समस्या अझ् गहिरिने देखिन्छ।
“भोलि जहाज आउँदैछ, आज तालीम लिन पठाएर हुन्छ?” निगमका पूर्व वरिष्ठ क्याप्टेन नरेश पुरी भन्छन्। बोइङ उडाइरहेका पाइलटलाई पूर्व तयारीविना एक्कासी एअरबस उडाउने तालीममा पठाउनु नै निगमको कमजोरी भएको बताउँदै उनी भन्छन्, “बोइङ र एअरबसको प्रविधिमा धेरै फरक छ, त्यसैले इच्छुक पुरानालाई मात्र तालीममा पठाएर बाँकी नयाँ पाइलट तयार गर्नुपर्दथ्यो।”
तीन दशकदेखि अमेरिकी कम्पनी बोइङका जहाज उडाइरहेका नेपाली पाइलटका लागि आधुनिक प्रविधियुक्त एअरबस असहज लाग्नु स्वाभाविक मानिन्छ। हाइड्रोलिक प्रणालीको बोइङ उडाउँदा पाइलटले शारीरिक बल पनि लगाउनुपर्छ। तर अटोमेटिक सिग्नलको प्रणाली भएको एअरबस चलाउनु 'भिडियो गेम' खेल्नु जस्तै अनुभव हुने पुरीको भनाइ छ। “नयाँ बोइङ ल्याएको भए यस्तो समस्या नै आउँदैनथ्यो”, उनको तर्क छ। विमानस्थलका पूर्व परियोजना निर्देशक लोहनी विदेशमा एअरबस उडाइरहेका नेपाली पाइलटलाई प्रस्ताव नगरिनु र कनिष्ठ पाइलट 'अपग्रेड' मा ध्यान नदिंदा पनि समस्या बढेको दाबी गर्छन्।
निगमका प्रवक्ता शर्मा भने निगमले एअरबसका विदेशी पाइलट 'हायर' गर्ने तयारी गरिरहेकोे बताउँछन्। उनका अनुसार तत्काललाई पाँच जना एअरबसका पाइलटको खोजी भइरहेको छ। हाल निगमसँग एअरबस कम्पनीका दुई जना र भाडाका एक जना गरी तीन जना विदेशी पाइलट छन्। फ्रान्सका ती पाइलटको मासिक तलब नै १२ हजार डलर (करीब रु.१२ लाख) छ।
राजनीतिले बिगार्यो
गत २ साउनमा निगमको सञ्चालक समिति अध्यक्षमा शिवशरण न्यौपाने नियुक्त भए। नेकपा (एमाले) निकट हुनु नै उनको 'बलियो क्षमता' थियो। २७ महीनाअघि खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धकमा छनोट मदन खरेलले डेढ महीनाअघि मात्र राजीनामा दिए। उनको राजीनामा अझै 'रहस्यमय' मानिन्छ। एअरबससहित चीनबाट नयाँ जहाज भित्र्याउने काममा सक्रिय खरेल स्वास्थ्य कारण देखाए पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्य र निगमका अध्यक्ष न्यौपानेको 'दबाब' प्रमुख रहेको बताइन्छ। तर, नयाँ जहाज खरीद सम्झ्ौतापछि कमिसनको जोडघटाउका कारण खरेलले राजीनामा दिएको बताउनेहरू पनि निगमभित्रै छन्। स्रोतका अनुसार करीब रु.१२ अर्बका दुई वटा जहाज ल्याउँदा कम्पनीले दिने १० प्रतिशत कमिशन करीब रु.१ अर्ब २० करोडमा सबैको आँखा लागेको थियो। यो खेल थाहा पाएपछि तत्कालीन नागरिक उड्डयन मन्त्री भीम आचार्यले हटाउन खोजेका थिए। तर, खुल्ला प्रतिस्पर्धाबाट आएकाले यो सम्भव हुन सकेन। बरु, उल्टै आचार्य नै हटाइए। एअरबस कम्पनीले जर्मनीमा १५ वैशाखमा दोस्रो जहाज हस्तान्तरणको मिति टुंगो लागेलगत्तै १ चैतमा खरेलले राजीनामा दिएका थिए।
दुई एअरबस र दुई बोइङले निरन्तर अन्तर्राष्ट्रिय उडान भरेमा विश्व आकाशमा गुमेको नेपाली ध्वजावाहकको साख बचाउन सक्छ। तर, निगमभित्रको अव्यवस्था र राजनीतिक हस्तक्षेपले कहिल्यै उठ्न नसक्ने गरी थलिन पनि सक्छ।
आउँदै 'लुम्बिनी'
पाइलट अभावबीच नेपाल भित्रिने अर्को एअरबस 'लुम्बिनी' जेठको दोस्रो साता आएपछि निगमले भारतका मुम्बई, बैङ्गलोरसँगै दुबई र चीनको ग्वाङझ्ााउ उडान बिस्तार गर्ने जनाएको छ।
१५० इकोनोमी र ८ बिजनेस क्लास सीटयुक्त 'ए ३२०–२००' सिरिजको यो जहाज १७ वैशाखसम्म काठमाडौं आइपुग्नेछ। नयाँ जहाज आएपछि दुई एअरबससँगै नयाँदिल्ली सातामा १० तथा बैंकक् र हङकङका लागि एक–एक उडान थपिने जनाएको छ। त्यस्तै युएईको दुबई र चीनको ग्वाङझाउ उडान गर्न निगमले जनरल सेल्स एजेन्ट नियुक्ति प्रक्रिया अघि बढाएको छ।
तर, निगमको फितलो व्यवस्थापनका कारण दुई वटै एअरबस थन्कने सम्भावना पनि उत्तिकै छ। बोइङका केही पाइलटले एअरबस उडाउँदा बोइङको नियमित उडानमा समेत असर पर्नेछ। हाल भएका जहाजहरू नै पाइलट अभावका कारण तोकिएको उडान गर्र्न समेत नसकिरहेको अवस्थामा नयाँ पाइलट नथपिए नयाँ उडान सम्भव छैन। पछिल्लो समय निगम व्यवस्थापन जर्मनीको लुफ्थान्सा कन्सल्टेन्सीलाई सुम्पने कुरा पनि चलिरहेको छ। प्राधिकरणका पूर्व परियोजना निर्देशक लोहनी भन्छन्, “विदेशी व्यवस्थापनले पो सुधार्ला कि भन्ने आशा बाँकी छ।”