जाजरकोट पोस्टमर्टम

Share:
  
- तुफान न्यौपाने
करीब एक महीनामा जाजरकोटमा भएको दुई दर्जनभन्दा बढीको मरणका लागि मृत्युदर उच्च नहुने एचवानएनवान भाइरसलाई मात्र कारक मानिनु आधारभूत स्वास्थ्य सेवा प्रणाली सुधारलाई पन्छाउनु हो।

तस्वीरः राजेन्द्र कार्की
जाजरकोटको अर्छानी स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामी।
पछिल्लो एक महीनामा जाजरकोटमा भएको लगातार मृत्युको लागि आमरूपमा स्वाइन फ्लु भन्ने गरिएको एचवानएनवान संक्रमणलाई जिम्मेवार मानिए पनि यसको वास्तविक कारण यकिन हुनसकेको छैन– मृतकको नमूना परीक्षण नगरिएकाले। केही बिरामीको खकार र रगतमा एचवानएनवानको विषाणु पाइएकाले यसको कारण त्यही नै हुनसक्ने चिकित्सकको अनुमान छ। गत १० चैतमा पैंक–३ का जसुदी उपाध्याय (९०) को मृत्यु भएपछि शुरू भएको यो चक्रमा ११ वैशाख साँझ्सम्ममा २९ जना परिसकेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ वैशाखमा १२ जना बिरामीको नमूना परीक्षण गर्दा तीन जनामा एचवानएनवान भाइरसको संक्रमण देखिएको थियो। त्यसपछि दोस्रो र तेस्रो चरणमा गरिएको १८/१८ नमूना परीक्षणमा क्रमशः ८ र ५ जनामा एचवानएनवान भाइरस पाइयो। स्वास्थ्यकर्मीको सम्पर्कमा नआएरै मृत्यु भएकाहरूका परिवारका सदस्यहरूले स्वास्थ्यकर्मीको टोलीलाई बताए अनुसार, मृतकमध्ये पाँच जनामा मात्र यो जीवाणुको लक्षण देखिएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका महामारी फोकल पर्सन कृष्णबहादुर खत्रीका अनुसार, स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका कुनै बिरामीको ज्यान गएको छैन। त्यसो भए, केही गाविसमा थोरै समयमै यति धेरै व्यक्तिको मृत्यु कसरी भयो त? यसको सोझो जवाफ हो― आधारभूत स्वास्थ्य सेवा नै नपुगेकाले। बिरामी भएकाहरू कि गाविसका उप–स्वास्थ्य चौकीसम्म पुग्न पाएनन् कि त पुगेकाले पनि स्वास्थ्यकर्मी र औषधि भेटेनन्। अनुसन्धानकर्ता डा. समीरमणि दीक्षित काठमाडौंले पनि महामारी फैलिएको निकैपछि मात्र चासो दिएको बताउँछन्। “मौसमी रुघाखोकीले मृत्यु भएको खबर सुन्नेबित्तिकै तानिनुपर्थ्यो”, उनी भन्छन्, “चितवन र काठमाडौंमा पनि संक्रमणले खतराको घण्टी बजाइसकेको थियो।”

पूर्वतयारी नै भएन

२०६६ सालमा जाजरकोटमै फैलिएको हैजाले ३०० भन्दा बढीको ज्यान लिएको थियो। त्यसबेला पनि संचारमाध्यमहरूले अहिले जस्तै लगातार समाचार दिएको धेरैपछि मात्र सिंहदरबारले सक्रियता देखाएको थियो। यस पटक ३ वैशाखपछि मात्र उल्लेख्य रूपमा औषधि र चिकित्सकहरू जाजरकोटमा पुग्न थाले। गाउँमै रहेका तथा सदरमुकामबाट पुगेका केही चिकित्सक तथा स्वास्थ्यकर्मी विरामीको ज्यान जोगाउन दिनरात खटे। तर विरामीको अत्यधिक चाप उनीहरुले मात्र थेग्न सक्नेगरिको थिएन। (हे. फिल्डका हिरो) ११ वैशाखमा ३४ जना चिकित्सक डेढ दर्जन स्वास्थ्य शिविरमा बिरामी जाँचिरहेका थिए, जबकि जिल्ला जनस्वास्थ्य कार्यालयले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई टेलिफोनबाट २४ चैत र लिखित रूपमा २७ चैतमै त्यहाँको संवेदनशीलता बारे जानकारी गराएको थियो।

२०६६ मा जीवनजल समेत नपाएर ३०० भन्दा बढीले ज्यान गुमाएका थिए। त्यसमाथि, सरसफाइ र प्रशस्त सफा पानी पिउनुपर्ने चेतनाको पनि अभाव थियो। यो पटक पनि मौसमी रुघाखोकीकै कारण त्यतिका जाजरकोटवासीले ज्यान गुमाउनु पर्‍यो, त्यो पनि सामान्य औषधि र स्वास्थ्यकर्मी नै नदेखी।
अघिल्लो महामारीपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आगामी दिनमा आइलाग्न सक्ने महामारीको अनुसन्धान, पूर्वतयारी र तत्काल सक्रियताका लागि 'महामारी अनुसन्धान समिति' बनाएको थियो। समितिमा स्वास्थ्य सम्बन्धी सरकारी निकायका निर्देशक र स्वतन्त्र अनुसन्धानकर्ताहरू थिए। तर, सरकार परिवर्तनसँगै स्वास्थ्यमन्त्री र निर्देशकहरू फेरिने चलनले समितिलाई थला पार्‍यो। शुरूको समितिमा सदस्य रहेका अनुसन्धानकर्ता डा. दीक्षित अहिलेको जस्तो संक्रमण रोक्ने पूर्व तयारीका सन्दर्भमा यस्तो समिति अत्यावश्यक देख्छन्।

अहिले जाजरकोटमा आतंक मच्चाइरहेको एचवानएनवान सन् २००९ मा मेक्सिकोमा, २०१५ को शुरूमा भारतमा र त्यसपछि नेपालको चितवन र काठमाडौंमा देखिएको थियो। पश्चिम पहाडका धेरै मानिस रोजगारीका लागि भारत जाने र उनीहरू विषाणुको वाहक हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी–नियन्त्रणको तयारी नै हुन सकेन। अहिले नेपाल र पहिले भारतमा देखिएको विषाणुमा के फरक छ भनेर खुट्याउने 'जिनेटिक एनालाइसिस' पनि हुनसकेको छैन। विषाणु समिश्रण हुँदै नयाँ रूपमा देखिएको भए अझ् खतरनाक हुने चिकित्सकहरू बताउँछन्। २०६६ सालको समिति क्रियाशील भइराखेको भए यस्ता काम सहज हुनेथियो।

२०६६ ले स्पष्ट पारेको थियो― अप्रत्यासित प्रकोपसँग जुध्ने हाम्रो क्षमता छैन। जाजरकोट―२ का सभासद् राजीवविक्रम शाह पछिल्लो ६ वर्षमा यस्तो क्षमता विस्तारमा सिन्को नभाँचिएको बताउँछन्। अर्थात्, त्यत्रो क्षतिबाट पनि कुनै पाठ सिकिएन। अहिले पनि मान्छे मर्न थालेको समाचार सुनेको दुई सातासम्म सरकार नचलमलाएको सभासद् शाह बताउँछन्। “पूर्वतयारीको त कुरै नगरौं”, सभासद् शाह भन्छन्, “आधारभूत स्वास्थ्य सेवा समेत नपुगेका जाजरकोटका गाउँहरूमा महामारी फैलन थालेको सुन्ने बित्तिकै 'एक्सन' मा आउनुपर्थ्यो, त्यो समेत गरिएन।”

स्वास्थ्य सेवाको दुरवस्था

यसपटक पनि जाजरकोटमै महामारी किन? इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनी उक्त क्षेत्रमा कुपोषण र दीर्घ रोगले गर्दा रोग प्रतिरोधी क्षमता कम भएका धेरै व्यक्तिलाई मौसमी फ्लूको संक्रमणले छोप्दा मृत्युदर अस्वाभाविक रूपमा उच्च देखिएको बताउँछन्। जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका अनुसार त्यहाँ जनसंख्याको २.२ प्रतिशतमा दम, क्षयरोग लगायतका दीर्घ रोगको समस्या छ भने पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका रक्तअल्पताको शिकार भएका छन्।

मानव विकास सूचकांकमा जाजरकोट ७५ जिल्लामध्ये ६७ औं स्थानमा छ। औसत आयु, साक्षरता प्रतिशत, प्रतिव्यक्ति आय जस्ता सूचकांकमा पनि जाजरकोटको अवस्था मध्यपश्चिमको औसत भन्दा नराम्रो छ। पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था, स्वच्छ खानेपानीको उपलब्धता र गरीबीको सूचकांकमा पनि जाजरकोटको अवस्था दयनीय छ। (हे. इन्फोग्राफिक्स)जाजरकोटका यी सूचकांकसँग स्वास्थ्य सेवाको दुरवस्था जोडिएको छ। बिरामी भएपछि जँचाउन स्वास्थ्य संस्थामा नजाँदा धेरैको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ। कोही स्वास्थ्य संस्था गए भने पनि स्वास्थ्यकर्मी र औषधिको मुख विरलै देख्न पाउँछन्।

करीब दुई लाख जनसंख्या भएको जाजरकोटमा १५ बेडको जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, १५ स्वास्थ्य चौकी र १६ वटा उप–स्वास्थ्य चौकी छन्। जिल्ला अस्पतालमा हात भाँचिंदा गर्नुपर्ने प्लास्टर र सुत्केरी हुँदा गर्ने अप्रेशन (सीएस) सेवा समेत नभएको सभासद् शाहले बताए। उनका अनुसार, जिल्लाका स्वास्थ्य संस्थामा कुल २३५ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि ६१ जनाको पदपूर्ति भएको छैन। महामारी प्रभावित क्षेत्रका दुईसहित एमबीबीएस डाक्टरको दरबन्दी रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र महामारी फैलिंदासम्म रित्तो थिए।

यस पटक मृत्यु भएका २९ जनामध्ये कसैले पनि स्वास्थ्य सेवा पाएनन्। अर्थात्, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था बिरामीको पहुँचमा थिएनन्। सुर्खेतको छिन्चुबाट आएको सडकले सदरमुकाम खलंगा छोएको बाहेक जाजरकोटमा कतै मोटर नगुड्ने भएकोले बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन पनि समस्या छ। सडक नहुँदा आपतकालीन सेवा पुर्‍याउने सरकारी प्रयास पनि प्रभावहीन भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. मरासिनी बताउँछन्। उनी भन्छन्, “शिक्षा, सरसफाइ, स्वच्छ खानेपानी र जनचेतनाको अभाव त छँदैछ।”

जिविस जाजरकोटले २०६७ मा गरेको स्थलगत सर्वेक्षण अनुसार, जिल्लाका ४४ प्रतिशत परिवारले प्राथमिक स्वास्थ्य सेवा पाउन १ घण्टा भन्दा बढी हिंड्नुपर्छ। जिल्लाका १७ प्रतिशत जनसंख्या बिरामी हुँदा धामीझाँक्रीको भर पर्ने गरेको सर्वेक्षणले देखाएको थियो। (हे.इन्फोग्राफिक्स) हरेक वर्ष अस्पतालहरूको स्तरवृद्धि र नयाँ अस्पताल माग गरे पनि केन्द्रको प्राथमिकतामा नपरेको जाजरकोट–२ का सभासद् शाह बताउँछन्।

भविष्यलाई पाठ

नेपाल ट्राभल मेडिसिन सोसाइटीकी अध्यक्ष डा. प्रतिभा पाण्डे जाजरकोट लगायत मध्यपश्चिम पहाडमा एचआईभी, मलेरिया, टाइफाइड, हेपाटाइटिस बी लगायतका संक्रमणको अध्ययन नै नभएको बताउँछिन्। त्यस्ता संक्रमण भएकाहरूलाई एचवानएनवान भाइरसले छुने बित्तिकै घातक भएको हुनसक्ने उनको आशंका छ। “त्यो क्षेत्रका कम्तीमा १०० जनाको नमूना संकलन गरेर विस्तृत अध्ययन गर्नु अत्यावश्यक भएको छ”, डा. पाण्डे भन्छिन्।

२०६६ को हैजामा जाजरकोट पुगेर नमूना संकलन गरेका डा. दीक्षित पनि त्यस क्षेत्रमा क्षयरोग, उच्च रक्तचाप, मधुमेह, मलेरिया आदिको समस्या रहेको बताउँछन्। त्यस्तो ठाउँमा मौसम अनुसार सक्रिय हुने विषाणुहरूले कहर निम्त्याइहाल्ने भएकाले सधैं तम्तयार भएर बस्नुपर्ने भए पनि निगरानी प्रणाली अत्यन्त कमजोर रहेको उनले बताए। डा. दीक्षितका अनुसार, महामारी फैलिएको क्षेत्रको 'मेडिकल हिस्ट्री' भविष्यका लागि समेत आवश्यक हुन्छ। यस्तै, हेल्थ एट होम फाउन्डेसनका डा. विशाल ढकाल कुनै पनि प्रकारको महामारीबाट बच्न आजसम्म नगरिएको पूर्वतयारी र निम्तिएको क्षति भविष्यका लागि पाठ भएको बताउँछन्। “अहिले दर्जनौं संस्थाका धेरै जना डाक्टर जाजरकोट पुगेका छन्, तर पहिल्यै कसैको ध्यान गएन”, डा. ढकाल भन्छन्, “महामारी र सामान्य कालमा गर्ने कामको प्रकृति एउटै भयो।”

गर्मीमा निष्त्रि्कय हुने एचवानएनवान भाइरस निरन्तर परिवर्तन हुने हुनाले यसका लागि आज विकास गरिएका भ्याक्सिन/औषधि भोलि प्रभावकारी हुँदैनन्। अहिलेकै स्वरूपमा पनि महामारी अन्य जिल्लामा फैलियो भने के गर्ने भन्ने योजना पनि छैन। मन्त्रिपरिषद्ले जाजरकोट महामारी नियन्त्रणको समन्वय गर्ने जिम्मा मुख्य सचिव लीलामणि पौड्याललाई दिएको छ, तर स्थायी संयन्त्र बनाएको छैन।

नेपालको उपचार केन्द्रित पद्धतिलाई सुधारेर पूर्वतयारी पद्धति लागू गर्ने सोच पनि देखिएको छैन। अर्कातिर, एउटै निकायबाट महामारी व्यवस्थापन सम्भव नहुने डा. ढकाल बताउँछन्। अहिले नै पनि जाजरकोटमा जनशक्ति र औषधि पुर्‍याउन सरकारी निकायबीच समन्वय भएको देखिएन। “नेपाली सेनासँग तत्काल चिकित्सक र औषधि पठाउने साधन हेलिकप्टर छ, भनेको बेला त्यो चलाउन सकिएन”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. मरासिनी भन्छन्, “भोलिका विपत्तिमा तत्काल काम थाल्न पनि योजनाबद्ध भएर अगाडि बढ्नुपर्छ।”

comments powered by Disqus

रमझम