१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

नियन्त्रणमा आउँदै

Share:
  
उत्तरपश्चिम जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा आए पनि गरीबी, चेतना अभाव र सरकारी उदासीनताले अर्को महामारी निम्तिने खतरा भने टरेको छैन।

साभारः कान्तिपुर दैनिक
जाजरकोटको ढिमे–२ मा उपचार गर्दै डा. गोविन्द केसी।
२९ जनाको ज्यान लिने गरी मध्यपश्चिमी पहाडी जिल्ला जाजरकोटका विकट गाउँमा महामारीको रूप लिएको मौसमी रुघाखोकी विस्तारै नियन्त्रणमा आउँदैछ। यसबाट प्रभावित करीब डेढ दर्जन गाउँमा काठमाडौं, नेपालगञ्ज, सुर्खेत र रुकुमबाट आएका ३४ जना चिकित्सक सहितका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। योसँगै एचवानएनवान विषाणुको संक्रमणमा परेका बिरामीको संख्या घट्दै गएको छ। तर, अन्य रोगबाट प्रभावित बिरामी आउने क्रम कम नभएको ढिमे गाविसमा सञ्चालित शिविरमा पुगेका मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेतका डा. राजेन्द्र जीसी बताउँछन्।

घरंगामा सञ्चालित शिविरको नेतृत्व गरेका जिल्ला स्वास्थ्य कार्यालयका डा. विभान्त साहका अनुसार १० वैशाखमा परीक्षण गरिएका ६० मध्ये एकजनामा पनि रुघाखोकी देखिएन।

सबैभन्दा धेरै १० जनाको मृत्यु भएको पैंक गाविसमा दुई सातायता कसैको मृत्यु नभएको, दुई हजारभन्दा बढी गाउँलेको उपचारपछि बिरामीको संख्या पनि घटेको पैंक स्वास्थ्यचौकीका अहेब हस्तबहादुर रोकाय बताउँछन्। अहिले त्यहाँ नेपाल प्रहरीका डा. शंकर थापा नेतृत्वको टोली खटिएको छ।

टालेगाउँ–९ सौरेनीमा बिरामी बढेको खबर पाएपछि वडा नं १ स्थित स्वास्थ्यचौकीमा डा. कृष्णगोपाल महर्जन नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ। जँचाउन आएका २०० जना बिरामी सबैको अवस्था सामान्य रहेको स्वास्थ्यचौकीका इन्चार्ज पेम्बा दोर्जे लामा बताउँछन्। “शुरूमा बिरामीको चाप थेग्न नसक्दा आत्तियौं”, उनी भन्छन्, “दिनरात काम गर्‍यौं, अहिले अवस्था सामान्य छ।”

महामारी प्रभावित गाविस ढिमे पुगेर १० वैशाखमा सदरमुकाम फर्केका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनुभवमा पनि महामारी नियन्त्रणबाहिर छैन। “शुरूमा सरकारी उदासीनताले धेरैको ज्यान गए पनि अहिले पर्याप्त औषधिसहित स्वास्थ्यकर्मी परिचालन भएकाले महामारी नियन्त्रण उन्मुख छ।” जिल्ला जनस्वास्थ्य प्रमुख धीरजंग शाही खबर आउनासाथ चिकित्सक र औषधि पठाइएको, गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टरबाटै सदरमुकाम ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको बताउँछन्। हालसम्म आठ हजारभन्दा बढीको उपचार गरिसकेको उनको भनाइ छ।

सधैंको समस्या

साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च गरेर २८ फागुन २०७० मा खुला दिसामुक्त गाविस घोषणा गरिएको टालेगाउँमा अझ्ै पनि सबैले शौचालय प्रयोग गर्दैनन्। जिल्ला विकास समितिका अनुसार जिल्लाका ३० हजार ३४० घरधुरीमध्ये २७ हजार ११५ मा पक्की र तीन हजार २२५ घरमा कच्ची चर्पी बने पनि पानीको अभावमा कतिपय ठाउँमा प्रयोगमै आएका छैनन्। केही ठाउँमा चाहिं चर्पी प्रयोग गर्ने बानी नै नहुँदा सरसफाइयुक्त जिल्ला बनाउने अभियानमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन्।

अधिकांश जिल्लावासी खोला, कुलो र मूलको पानी पिउन बाध्य छन्। खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख महेशी महतो जिल्लामा २४ प्रतिशतले मात्र धाराको पानी पिउने गरेको बताउँछन्। उनका अनुसार पिउने पानीकै कारण बिरामी हुनेहरू प्रशस्त छन्।

घर र गोठ एकैठाउँ भएकाले पनि विभिन्न रोगव्याधीले च्याप्ने गरेको डुंगे उच्चमाविका प्रधानाध्यापक वाल्मीकिप्रसाद सिंह बताउँछन्। चेतना, गरीबी, पोषणको कमी, अस्वस्थ व्यवहार पनि रोगका कारण भएको सिंहको ठहर छ। स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी नहुनु सधैंको रोग भएकाले धामीझ्ाँक्रीको विश्वास कायमै छ।

धेरैजसो जिल्लावासी मजदूरीका लागि भारततिर जान्छन्। महिलाले नै घरव्यवहार धान्दा बालबालिकाले उचित स्याहार पाउँदैनन्। सुत्केरी र गर्भवती महिलाले पर्याप्त पोषण र आराम पाउँदैनन्। भारत पुगेका युवा अनेक रोग लिएर फर्कन्छन्। यसपटकको स्वाइन फ्लुको विषाणु पनि उतैबाट भित्रिएको चिकित्सकहरूको आशंका छ।

२०६६ मा महामारीको रूप लिएको हैजा र झ्ाडापखालाबाट ३०० भन्दा बढीले ज्यान गुमाएका थिए। अहिले मौसमी रुघाखोकी महामारी बनेका टालेगाउँ, पैंक, पजारु, अर्छानी, नायकवाडा लगायतका उत्तरपश्चिमी भेगका गाविस गरीबी र पछौटेपनबाट ग्रस्त छन्। त्यस क्षेत्रमा रहेका दुइटा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन्। २०५२ मा स्थापित गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहित ९ जनाको दरबन्दी रहेकोमा मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव असिस्टेन्ट कोही पनि छैनन्। २०६७ मा स्थापित लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रको स्थिति पनि यस्तै छ।

अधिकांश स्वास्थ्य संस्थामा अहेब र अनमीले सेवा दिइरहेका छन्। धेरैमा निःशुल्क पाइनुपर्ने औषधि समेत पाइँदैन।

राजेन्द्र कार्की, जाजरकोट

comments powered by Disqus

रमझम