१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

'मिसलिडिङ' रिपोर्टिङ

Share:
  
- छिरिङडोल्कर गुरुङ
जाजरकोटे जनता बिरामी परिरहँदा सरकार मूकदर्शक मात्र भयो भनेर मिडियाले 'मिसलिडिङ' रिपोर्टिङ गरे।

तस्वीरः गोपेन राई
जाजरकोटमा स्वास्थ्यकर्मी नपुगेको आक्रोश काठमाडौंमा व्यक्त भइरहँदा पैंक उपस्वास्थ्य चौकीमा अहेब रामकृष्ण गिरी सहितका चिकित्साकर्मीहरु महामारी विरुद्ध लड्दै थिए। त्यही क्रममा स्वाइन फ्लुबाट संक्रमित गिरी काठमाडौंमा उपचारपछि ११ वैशाखमा पुनः कार्यस्थलतर्फ फर्किएका छन्।
जाजरकोटमा फ्लु फैलिएको तीन हप्तापछि घुमन्ते डा. गोविन्द केसी नेपालगञ्जबाट उकालो लागेको खबरसँगै उनी ठाउँ–ठाउँमा पुगेको तस्वीर गत साता सामाजिक सञ्जालमा खूब चल्यो। यो खबरलाई ठूला दैनिक पत्रिकाले पनि महत्व दिए। धेरै पत्रकारले उनलाई 'हिरो' बनाए– सरकारको प्रयासलाई बेवास्ता गर्दै।

चिकित्सा शिक्षामा सुधारका लागि डा. केसीले गरेको निरन्तर संघर्षले गर्दा उनी नेपालका एक जना श्रद्धेय भएका छन्। उनी ११ दिन लामो अनशन गरेको शरीर तंग्रिन नपाउँदै जाजरकोटतिर लागेका थिए। तर, उनलाई मात्र ध्यानमा राख्दा शुरूदेखि नै जाजरकोटमा सेवा पुर्‍याइरहेका डाक्टर र स्वास्थ्यकर्मीहरू ओझ्ेलमा परे। ती स्वास्थ्यकर्मीहरू जसले सबै कुराको अभाव भएको कठिन परिस्थितिमा पनि अनगिन्ती ज्यान बचाए। तिनैमध्येका एक अहेब रामकृष्ण गिरीले आफैं संक्रमणमा पर्नुअघिसम्म पैंक गाविसमा १४ सय बिरामीको उपचार गरेका थिए। (हे.फिल्डका हिरो)

काठमाडौंको टेकू अस्पतालमा उपचार गराएका गिरीका अनुसार, जाजरकोटको पैंक सबभन्दा बढी फ्लु प्रभावित क्षेत्र हो जहाँको उपस्वास्थ्य चौकीमा उनी हिंडेपछि पनि एक डाक्टर सहित पाँच जना स्वास्थ्यकर्मीले अहोरात्र बिरामीको उपचार गरिरहेका छन्। तर, उनीहरू राजधानीबाट प्रकाशन हुने पत्रिकाहरूको प्रथम पृष्ठमा कहिल्यै समाचार बनेनन्। बरु, सरकारको अक्षमता, उदासीनता र उपेक्षाले ठूलो 'कभरेज' पायो।

हो, स्वास्थ्य मन्त्रालयले अझ् धेरै र योभन्दा छिटो गर्न सक्थ्यो। तर, अति दुर्गम स्थान, महामारीको प्रकृति, देशको कमजोर शासनको व्यवस्थाबीच पनि मृत्यु संख्या कम गर्ने काम त त्यहाँका स्वास्थ्यकर्मीहरूले नै गरे। काठमाडौंका मिडियाका अनुत्तरदायी प्रस्तुति हेर्दा लाग्छ, अहिले नेपालमा सबभन्दा अपमानित समूह भनेका जाजरकोटका स्वास्थ्यकर्मीहरू हुन्। काठमाडौंका पत्रिकाहरू सही तथ्य प्रस्तुत गर्ने र जनतालाई रोगबारे जानकारी दिने भन्दा सनसनीखेज तथा अतिरञ्जित हेडलाइन बनाउने प्रतिस्पर्धामा लागे, जसबाट सन्त्रास फैलाउने, सेवा दिइरहेकालाई निराश बनाउने र सत्य लुकाउने काम मात्र भयो।

पत्रकारहरूले प्रतिपक्षीकै भूमिका खेल्ने हो, तर त्यसो गर्दा सत्यलाई बलि चढाउन पाइँदैन। सरकारको विरोध गरिनुपर्छ तर, तथ्यले अर्कै संकेत गरिरहेका बेला घुँडा टेकाउन खोज्नु मूढाग्रह हो। यस्तो महामारीको रिपोर्टिङ गर्दा कुपोषण, क्षयरोग, हैजा, फोक्सो सम्बन्धी रोग आदिले पहिल्यैदेखि प्रतिरोधात्मक क्षमता कमजोर बनाएकाहरूलाई इन्फ्लुएन्जाले कसरी आक्रमण गर्छ भन्ने जानकारी दिइएन। अति प्रतिपक्षी वा राजनीतिक हुँदा यस्तो हुन पुग्यो।

यस्तो बेला मिडियाले सरकार मूकदर्शक मात्रै बन्यो भन्नु नियोजित रिपोर्टिङ हो। काठमाडौंको मिडिया राजनीतिक 'अजेण्डा सेटिङ' को अवस्थामा रहेकोले रिपोर्टरहरू सम्पादकहरूको रुझानमा लाग्दा यस्तो 'कभरेज' हुन पुग्यो। यही कारण, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले महामारी फैलिएको निश्चित गरेको दुई दिनपछि २९ चैतमा स्वास्थ्य मन्त्री खगराज अधिकारीसँगै जाजरकोट पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल मेडिकल एसोसिएसनका १३ जना चिकित्सक विभिन्न हेल्थपोस्टमा खटिएको कुराले पनि महत्व पाएन। हो, २०६४ मा जाजरकोटमा ३०० भन्दा बढीको ज्यान लिने गरी फैलिएको हैजाबाट पाठ सिकेर स्वास्थ्य मन्त्रालयले तत्काल परिचालन हुने संयन्त्र बनाउनुपर्थ्यो। त्यो अवस्थामा एकातिर निगरानी बढ्थ्यो भने अर्कातिर चाँडो टीम परिचालन हुनुका साथै फ्लुको भाइरस पनि चाँडै पत्ता लाग्थ्यो।

नेपाली टाइम्स अंग्रेजी साप्ताहिकबाट अनूदित र सम्पादित

comments powered by Disqus

रमझम