१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

फिल्डका हिरो

Share:
  

रामकृष्ण गिरी

अहेब, पैंक उप–स्वास्थ्य चौकी

जाजरकोटको जगदीपुर–९ का रामकृष्ण गिरी (२३) गत १ फागुनमा उप–स्वास्थ्य चौकी प्रमुख भएर पैंक पुगेका थिए। जागिरे जीवनको पहिलो पोस्टिङमा आफ्नै जिल्लाको विकट गाउँमा पर्नुलाई उनले सेवाको ठूलो अवसर ठाने। उनी दैनिक आउने २५–३० जना बिरामीलाई जाँचेर भएका औषधि दिन्थे। परिवार नियोजन तालीम, चौमासिक समीक्षा लगायत कामका लागि १८ कोस टाढाको सदरमुकाम आएका उनी उप–स्वास्थ्य चौकीमा औषधि सकिन लागेकोले घर पनि नगई दुई वटा घोडा र एक जना भरियालाई औषधि बोकाएर पैंक फर्किए।

दुई दिनमा पैंक पुगेपछि अहेब गिरीले १४–१५ चैतदेखि बिरामी बढेको पाए। गाउँमा दमका रोगी थुप्रै भएकाले उनलाई शुरूमा सामान्य होला भन्ने लाग्यो। तर, बिरामीको चाप थाम्न गाह्रो भएपछि उनले जिल्लामा खबर पठाए। जनस्वास्थ्य कार्यालयका डाक्टर दीपक पुन दुई अनमी र एक अहेबसहित २४ चैतमा पैंक पुगेपछि हरेक बिहान ४ बजेदेखि राति १२ बजेसम्म उपचारको काम भयो। गिरी भन्छन्, “ठाउँ नपुगेर बाहिरै भुईंमा राखेर पनि उपचार गर्‍यौं।” उप–स्वास्थ्य चौकी आउन नसक्नेलाई गाउँकै विद्यालय र मन्दिरमा जम्मा गरेर पनि उपचार गरे, उनीहरूले। २९ चैतदेखि गिरी आफैंलाई पनि अप्ठ्यारो महसूस हुन थाल्यो, तर धपेडीले होला भन्ने ठानेर कसैलाई भनेनन्। ज्वरो निकै बढेपछि १ वैशाखमा डा. पुनलाई भने, तर हिंड्न नसक्ने भइसकेका उनलाई सदरमुकाम लैजान भरिया पाइएन। २ वैशाखमा घोडा चढेर सदरमुकाम हिंडेका उनी केही समयपछि घोडामा अडिन नसक्ने भएर लडे। “त्यसपछि प्रहरीले बोकेर सदरमुकाम पुर्‍याइदिए”, उनले भने।

त्यसपछि रातारात जीपबाट नेपालगञ्ज पुर्‍याइएका उनी ३ वैशाखको साँझ विमानबाट काठमाडौं उत्रेर टेकूस्थित ट्रपिकल अस्पताल भर्ना भए। उनलाई एचवानएनवान भाइरसको संक्रमण भएको ल्याव परीक्षणबाट थाहा भयो। ११ वैशाखमा डिस्चार्ज भएर त्यही बेलुका ४ बजे जाजरकोट जाने बस चढे। बेलुका सात बजे धादिङ पुगेका उनले टेलिफोनमा हिमाल लाई भने, “डाक्टरको सल्लाह अनुसार एक–दुई दिन आराम गरेर कार्यक्षेत्र जान्छु।”


दीपक पुन

मेडिकल अधिकृत, जिल्ला अस्पताल, जाजरकोट

तस्वीरहरूः राजेन्द्र कार्की

रुकुमको मुरू–७ का दीपक पुनले बाङ्लादेशबाट एमबीबीएस गरेपछि डेढ वर्ष सिन्धुपाल्चोकको निजी स्वास्थ्य संस्थामा काम गरे। गत ११ चैतमा स्वास्थ्य सेवा विभागबाट करार सेवामा नियुक्ति लिएर १३ चैतमा जाजरकोट पुगेका डा. पुन त्यसको एक सातामै 'अज्ञात रोग' बाट मानिसलाई बचाउन पैंकमा खटिएका थिए। उनी भन्छन्, “म पुगेपछि डाक्टर आएका छन् भनेर बिरामीको झ्ान् भीड लाग्यो।”

२४ चैतदेखि २ वैशाखसम्म डा. पुनले १४०० बिरामीको उपचार गरे। राति आगो ताप्दै पनि उपचार गरे। करिअरको शुरूमै सम्झना लायक सेवा दिन पाएकोमा उनी खुशी छन्। भन्छन्, “सम्पर्कमा आएका सबैलाई बचाउन सफल भयौं।”


हृदयकुमारी सिंह

अनमी, टालेगाउँ स्वास्थ्य चौकी

टालेगाउँ–१ की ४९ वर्षीया हृदयकुमारी सिंह २० वर्षदेखि गाउँकै स्वास्थ्य चौकीमा कार्यरत छिन्। २०६६ मा फैलिएको झाडापखालाको महामारीमा दिलोज्यान खटिएकी उनी अहिले पनि रातदिन बिरामीको सेवामा छिन्। उनी स्वास्थ्य चौकीको अतिरिक्त नेपाली सेना र स्वास्थ्यकर्मीका अरू टोलीले सञ्चालन गरेका शिविरहरूमा पनि सक्रिय छिन्। महामारी फैलिएयता उनी कुनै दिन बिदा बसेकी छैनन्।


पेम्बादोर्जे लामा

अहेब, टालेगाउँ स्वास्थ्य चौकी

काभ्रेको सर्स्युंखर्क–६ का पेम्बादोर्जे लामा गत २६ माघदेखि टालेगाउँ स्वास्थ्य चौकीमा सिनियर अहेबका रूपमा कार्यरत छन्। 'स्वाइन फ्लु' महामारीको हल्ला फैलिएपछि स्वास्थ्य चौकीमा बढेको चापले उनलाई खान/सुत्न दिएको छैन। उनी यस क्षेत्रमा धेरै खटिनेमध्येका स्वास्थ्यकर्मीमा पर्छन्। बिरामीको चापबाट आत्तिएका उनले नेपाली सेना र अरू स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गरेपछि भने राहत महसूस गरेका छन्। “हाम्रो सम्पर्कमा नआउँदै केही बिरामीको मृत्यु भए पनि आएका सबैलाई बचायौं”, लामा भन्छन्, “गाउँ–गाउँमै पुगेर बिरामी खोजी–खोजी पनि उपचार गर्‍यौं।”


डा. विभान्त साह

मेडिकल अधिकृत, जिल्ला अस्पताल, जाजरकोट

सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस गरेर गत माघमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेका मोरङका विभान्त साह (२६) दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम अनुसार जाजरकोट आएका थिए। दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका उनी अहिले पैंकका बिरामीको उपचार गरिरहेका छन्। उनले ढिमेको घरंगास्थित स्वास्थ्य चौकीमा संचालित स्वास्थ्य शिविरमा पनि थुप्रै बिरामीको उपचार गरे।


प्रणय कार्की र अनिल डंगोल

चिकित्सक, नेपाली सेना

काठमाडौंका डा. अनिल डंगोल र डा. प्रणय कार्की नेपाली सेनामा क्रमशः प्रमुख सेनानी र उप–सेनानी छन्। डंगोल १६ वर्ष र कार्की एक वर्षदेखि सेनामा कार्यरत छन्। महामारी फैलने वित्तिकै जाजरकोटमा खटिएका डंगोल पाँच सयभन्दा बढी बिरामीको उपचार गरेर फर्केका छन् भने डा. डंगोल स्वास्थ्य शिविर चलाइरहेका छन्। नेपाली सेनाका डा. सुरेश कायस्थ र डा. राजिव महासेठ पनि स्वास्थ्य शिविरमा खटेका छन्।


हरिकला सिंह

अनमी, अर्छानी स्वास्थ्य चौकी

४३ वर्षीया हरिकला सिंह आफ्नै गाविसको स्वास्थ्य चौकीमा २०५० सालदेखि कार्यरत छिन्। यसपटकको महामारीमा उनी २०६६ को झाडापखाला नियन्त्रणमा जस्तै रातदिन खटिइन्। स्वास्थ्य चौकीमै बसेर बिरामीको सेवा गरिरहेकी उनले अवस्था सामान्य नहुन्जेल घर नजाने बताइन्। हरेक बिहानदेखि मध्यरातसम्म खटिरहेकी हरिकला भन्छिन्, “मृत्यु हुने अवस्थामा पुगेका बिरामीहरूलाई बचाउन पाउँदा मेरो पढाइको उद्देश्य पूरा भएको छ।”

प्रस्तुतिः राजेन्द्र कार्की र तुफान न्यौपाने

comments powered by Disqus

रमझम