१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

६७ वर्ष र भविष्य

Share:
  
- रघु पन्त
नेपालको कम्युनिष्ट आन्दोलन २००६ सालमा कलकत्ताको गल्लीमा पुष्पलाल र उनका सहकर्मीहरूले कम्युनिष्ट पार्टी गठन गर्दा देखेको सपना छुने हैसियतमा छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जीवनकालमा राजाको निरंकुशता समाप्तिको न्यूनतम लक्ष्य पनि पूरा भएन। तर, उनले कार्यक्रममा राखेको गणतन्त्र अहिले साकार भएको छ। नेपालमा गणतन्त्रको सपना देख्ने पहिलो राजनीतिक शक्ति कम्युनिष्ट पार्टी नै थियो। गणतन्त्र ल्याउनमा निर्णायक भूमिका पनि कम्युनिष्टहरूकै रह्यो। गणतन्त्रको स्थापनामा नेपाली कांग्रेस वामपन्थीहरूको सहयात्री बन्दा यो प्रक्रिया सहज भयो।

नेकपा स्थापनाको ६७औं वार्षिकोत्सव मनाइरहँदा नेपालका कम्युनिष्टहरूसँग गर्व गर्ने उपलब्धिहरू छन्। नयाँ संविधान मार्फत देशलाई संवैधानिक–राजनीतिक निकास दिंदै नवस्थापित गणतन्त्रलाई संस्थागत गर्ने मूल लक्ष्य पूरा गर्न नदिने अलोकतान्त्रिक काम पनि कम्युनिष्ट नामधारी समूहबाटै भइरहेको छ। यस्ता उग्रवामपन्थीहरूलाई केही जातिवादी, क्षेत्रीयतावादी र उग्रदक्षिणपन्थीहरूले सघाइरहेका छन्। आज नेपालका कम्युनिष्टहरू यो विडम्बनापूर्ण परिस्थितिको सही मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने अवस्थामा छन्।

कम्युनिष्ट लोकप्रियता

संसारको महाशक्ति सोभियत संघ चलाउने लेनिनले जन्माएको रूसको कम्युनिष्ट पार्टी इतिहासका पानाहरूमा सीमित भएको छ। पूर्वी यूरोपमा आज कम्युनिष्ट पार्टीहरू नै छैनन् भन्ने अवस्था छ। सन् १९९० को दशकमा संसारमा कम्युनिष्ट पार्टीहरू धरासायी हुँदै गर्दा यता नेपालमा कम्युनिष्टहरू शक्तिशाली रूपमा देखा परे। र, लोकतान्त्रिक प्रक्रियाबाट नेपालका कम्युनिष्टहरूले हासिल गरेको शक्ति बढेकै छ, घटेको छैन। अहिलेको संविधानसभा–संसद्मा प्रत्यक्ष निर्वाचितमध्ये करीब ५० प्रतिशत वामपन्थी छन्। त्यसमा समानुपातिक तर्फकालाई पनि जोड्ने हो भने कम्युनिष्टहरू नेपालको पहिलो राजनीतिक शक्ति हुन्।

नेपालमा वामपन्थीहरूले लामो संघर्ष, त्याग र बलिदानबाट आजको राजनीतिक हैसियत बनाएका हुन्। यसको मुख्य कारण नेपालका कम्युनिष्टहरूले स्थापनाकालबाटै राष्ट्रियता संरक्षण, लोकतन्त्र स्थापना र जनजीविकालाई तत्कालीन लक्ष्यका रूपमा अघि सार्दै आउनु थियो। यस्ता लक्ष्यहरूले उनीहरूलाई जनतासँग निरन्तर जोडिरह्यो।

राजा महेन्द्रले २०१७ सालमा 'कु' गरेपछि संसद् पुनर्स्थापनालाई राजनीतिक माग बनाउने पहिलो नेता पुष्पलाल थिए। समय बित्दै जाँदा उनले कम्युनिष्ट–कांग्रेस मिलेर पञ्चायती व्यवस्था विरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने कार्यनीति अघि सारे, जसलाई नेपाली कांग्रेसका सिद्धान्तकार बीपी कोइरालाले जीवनभर बुझन सकेनन्। पुष्पलालले भने आजीवन संसदीय लोकतन्त्र स्थापनाको लागि कम्युनिष्ट–कांग्रेस मिल्नुपर्नेमा जोड दिइरहे। उनको मृत्युपछि नेकपा माले (आजको एमाले) ले संयुक्त संघर्षमा जोड दियो र संयुक्त वाममोर्चा गठन गर्‍यो। २०४६ सालमा त्यही वाममोर्चाले नेपाली कांग्रेससँग मिलेर गरेको आन्दोलनले ३० वर्षपछि बहुदलीय व्यवस्था पुनःस्थापना गर्‍यो। कांग्रेस–कम्युनिष्ट सहकार्यमा कांग्रेसका नेता गणेशमान सिंहको विशेष अग्रसरता रह्यो।

यसरी लोकतान्त्रिक आन्दोलनहरूमा जनतासँग एकाकार हुँदै आएका नेपाली कम्युनिष्टहरू विदेशी थिचोमिचो विरुद्ध पनि निरन्तर संघर्ष गर्दै आए। उनीहरू सुकुम्बासी, भूमिहीन, श्रमिक, किसान, राष्ट्रिय पूँजीवादको पक्षमा निरन्तर लागिरहे। नेपाली कम्युनिष्टहरू यस्ता भूमिकामा जस्तोसुकै अप्ठ्यारोमा पनि लागिरहे। बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार जनहितकारी काम गर्न सफल भयो। यस्तै संघर्ष, त्याग र बलिदानका आधारमा नेपालमा कम्युनिष्टहरू बलियो भए।

चुनौतीपूर्ण वर्तमान

नेपालको कम्युनिष्ट नेतृत्व आज इतिहासको ब्याज खाइरहेको छ, तर वर्तमानलाई भविष्यको जग बनाउन असफल भइरहेको छ। यहाँका कम्युनिष्टहरूसँग गौरवशाली इतिहास त छ, तर वर्तमानमा आफूसँग रहेको शक्तिलाई भविष्य निर्माणमा उपयोग गर्ने दूरदृष्टिको नितान्त अभाव छ। वाम पार्टीहरूमा बढ्दो लोभी, भ्रष्टाचारी, स्वाभिमानविहीन र सत्तालोलुपहरूको वर्चस्वले नेपाली कम्युनिष्ट आन्दोलनलाई विघटनतिर लैजाने त होइन भन्ने चिन्ताले कम्युनिष्ट कार्यकर्ताहरूलाई पिरोल्न थालेको छ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई कुनै बाहिरी शक्तिले कमजोर बनाउन सक्ने छैन। यसको कमजोरी आफैंभित्र छ। नेतृत्व पंक्तिको वैचारिक, व्यावहारिक र आचरणगत विचलनलाई बेलैमा रोक्न सकिएन भने कम्युनिष्ट आन्दोलन विघटनतर्फ उन्मुख हुने खतरा देखापरेको छ। नेपालका अधिकांश कम्युनिष्ट नेताहरू सम्पत्ति आर्जनका लागि अपारदर्शी सम्बन्ध, भड्किलो शानशौकत, मदिराप्रेम, कमिशन मोह, सत्तालोलुपता लगायतका प्रवृत्तिबाट आक्रान्त छन्। अरूमा जस्तै यी प्रवृत्तिहरू वामपन्थीहरूमा समेत देखापर्नुले जनतामा सबै नेता उस्तै हुन् भन्ने पार्दै लगेको छ। कम्युनिष्ट नेताहरूको नैतिक मापदण्ड निरन्तर कमजोर हुँदै गएको छ।

यस्तो विचलनले नेतृत्व र कार्यकर्ता निर्माणको आधार समेत भताभुंग पार्न थालेको छ। कम्युनिष्ट पार्टीहरूभित्र नयाँ वर्गहरू देखा पर्न थालेका छन् र आम जनताबाट पार्टी टाढिंदै गइरहेको छ। नेताहरूको स्वार्थका आधारमा गठबन्धनहरू बन्ने र भत्कने गर्न थालेका छन्। राजनीतिक सिद्धान्त, नीति र कार्यक्रमलाई विरलै सम्झ्न थालिएको छ। संसद्भित्र र बाहिर रहेका कम्युनिष्ट पार्टीहरूमा व्यावहारिक विचलन, सैद्धान्तिक अस्पष्टता, जातिवाद, क्षेत्रवाद चर्को रूपमा देखिंदैछ। यस्ता विचलन रोक्नुपर्नेमा अधिकांश शीर्षस्थ नेताहरू आहालमा भैंसी रमाए झैं गरिरहेका छन्। हरेक पार्टीभित्र आन्तरिक असन्तोष र छटपटी चुलिंदो छ। जनता र कार्यकर्ताको चिन्ता आक्रोशमा रूपान्तरित हुने खतरा बढ्दो छ।

नेपालको ६७ वर्षे कम्युनिष्ट आन्दोलन यस्तो अवस्थामा रहनुपर्ने होइन। कम्युनिष्ट पार्टीहरूसँग समर्पित कार्यकर्ताको विशाल पंक्ति, देशव्यापी जनसमर्थन र अन्य दलको तुलनामा सुदृढ संगठनात्मक आधार छ। तर, व्यक्तिगत स्वार्थ, द्वेष र कुण्ठाबाट मुक्त नेतृत्वको अभावले कम्युनिष्टहरू नेपालको राजनीतिलाई निर्णायक बनाउन सकिरहेका छैनन्।

नेताहरूले सबभन्दा पहिले वैचारिक रूपमा स्पष्ट हुनु जरूरी छ। पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दहरूले बुझनुपर्छ– अबको कम्युनिष्ट आन्दोलन चल्ने एक मात्र बाटो लोकतान्त्रिक पद्धति हो। २०० वर्ष पुरानो राजतन्त्रको निरंकुशता अस्वीकार्ने नेपाली जनता कुनै पार्टीले ल्याउने जनवाद या कुनै पनि प्रकारको अधिनायकवाद स्वीकार्न तयार हुने छैनन्। उत्तेजक भाषणहरूले एकछिन शब्दहरूको काल्पनिक संसार त बनाउला तर वास्तविक संसारको निर्माण श्रम, पूँजी र राज्य शक्तिको सही संयोजनबाट मात्र हुन्छ।

सबभन्दा पहिला जनता र कार्यकर्तासामु आफ्नो विश्वसनीयता स्थापित गर्न सक्नुपर्छ। जनताका छोराछोरीको भागमा बन्दूक, बारुद र अरबतिरको श्रम अनि आफ्ना छोराछोरीको भागमा बंगला, गाडी र श्रीसम्पत्तिको थुप्रो लगाउने कामबाट 'क्रान्तिकारी' नेताहरूको विश्वसनीयता कायम हुन्न। यता, सरकारमा पुगेर जनहित गर्नु सट्टा गतिछाडा भएर आफ्ना लागि सम्पत्ति आर्जनमा लागेका केही नेता–मन्त्रीबाट पनि 'जनताको बहुदलीय जनवाद' को व्याख्या सुन्नुपर्ने दुःखान्त दृश्य बन्द गरेर पार्टीलाई सही ढंगले अघि बढाउने हो भने नेकपा एमालेका सामु अवसरै अवसर छ। आफ्नै स्वार्थमा कायम रहने हो भने चाहिं अवसरहरूले घाटै घाटा ल्याउनेछ।

नेपालको कम्युनिष्ट नेतृत्वको यतिबेलाको पहिलो काम भनेको विचलनबाट मुक्त हुँदै लोकतान्त्रिक संविधान बनाउने हो। यो काममा एकीकृत हुने हो भने कम्युनिष्टहरूले चुनौतीले भरिएको वर्तमानबाट सम्भावनाहरूले भरिएको सुन्दर भविष्य बनाउने छन्।

comments powered by Disqus

रमझम