उल्टो बच्चा खतरनाक

Share:
  
- डा. सुमनराज ताम्राकार
गर्भावस्थाको ३७ हप्तासम्म पनि बच्चा उल्टो बसेको छ भने प्रसूति गराउँदा सिजेरियन (शल्यक्रिया) विधि नै सुरक्षित हुन्छ।

प्रसूति विज्ञानमा गर्भवती महिलाको पाठेघर (पेट) मा बच्चाको टाउको तल हुनुलाई सुल्टो मानिन्छ। अर्थात् पाठेघरमा बच्चाको टाउको माथि हुनुलाई बच्चा उल्टो छ भनिन्छ। जसलाई 'ब्रीच' भनिन्छ। गर्भावस्थाको २८ हप्तामा करीब २० प्रतिशत गर्भवतीको पेटमा बच्चा उल्टो हुन्छ भने ३४ हप्तासम्म आइपुग्दा पाँच प्रतिशतमा मात्र यस्तो देखिन्छ अर्थात् तीन चौथाइमा यो समस्या आफैं सुल्झ्न्छ। गर्भावस्थाको शुरूतिर गर्भे शिशु वरिपरि पानीको मात्रा धेरै हुनुका साथै गर्भे शिशुको आकार पनि सानो हुने कारण स्थिति (बसाइ) परिवर्तन भइरहन्छ। गर्भावस्थाको ३७ हप्ता पूरा हुँदा करीब ३ प्रतिशतमा मात्र बच्चा उल्टो तरीकाले बस्ने समस्या बाँकी रहन्छ।

कारण

करीब तीन प्रतिशतमा भने बच्चा पछिसम्म उल्टो तरीकाले बस्नाका सबै कारण थाहा हुनसकेको छैन। तर, महीना नपुग्दै सुत्केरी बेथा लाग्दा तुलनात्मक रूपमा बच्चा सानो हुनु प्रमुख कारण हो। यदि बच्चा सानो छ, बच्चाको वरिपरि धेरै वा कम पानी छ, पुट्ठाको हड्डी साँघुरो छ, साल पाठेघरको तल्लो भागमा वा माथिल्लो कुनामा टाँसिएको छ, गर्भवतीको पेटको मासु धेरै खुकुलो छ भने पनि बच्चा उल्टो बस्न सक्छ। साथै पाठेघरमै जन्मजात खराबी छ वा बच्चामा जन्मजात खराबी (जस्तै टाउकोमा पानी भरिने समस्या) छ, वंशाणुगत खराबी (मांसपेशी शिथिल हुने समस्या) छ, जुम्ल्याहा बच्चा छ भने पनि यस्तो असामान्य परिस्थिति उब्जिन्छ।

जोखिम

बच्चाको टाउको तल हुँदा पहिले हिप त्यसपछि जीउ र अन्तिममा टाउको निस्कन्छ। जीउ बाहिर निस्किएलगत्तै पाठेघरको मुख एक्कासी खुम्चिन्छ। पाठेघरको तल्लो भागमा टाउकोले जस्तो जीउको अन्य भाग (हिप) ले निरन्तर दबाब दिन सक्दैन। नितम्ब र जीउ सहज रूपमा जन्मिए पनि टाउको निक्लिने बेला समस्या उत्पन्न हुन्छ र बच्चाको ज्यान जाने खतरा हुन्छ।

जीउ निस्केपछि टाउको निस्कन पाँच मिनेटभन्दा बढी लागेमा निस्सासिएर बच्चाको मृत्यु हुने सम्भावना हुन्छ। कथंकदाचित जिउँदो बच्चा जन्मिहाल्यो भने पनि गिदीमा अक्सिजन अभाव हुने भएकाले बच्चाको शारीरिक र मानसिक विकास राम्रो हुँदैन।

यस्तो स्थितिमा प्रसूति गराउँदा औजार प्रयोग गर्नुपर्ने हुन्छ। यसले जननेन्द्रियमा चोट लाग्ने, सिजेरियन (अप्रेशन) को आवश्यक हुने जस्ता कारणले गर्भवतीलाई जोखिम बढ्छ।

उल्टो बच्चा जन्मिने क्रममा शिशुको टाउकोभित्र रक्तस्राव हुने, निस्सासिने, रगत जम्मा हुने, हड्डी भाँच्चिने, स्नायुमा दक्खल पुग्ने, कलेजो, मिर्गौला जस्ता नरम अङ्गमा चोट पुग्ने हुनाले नै अधिकांशको मृत्यु हुन्छ। त्यसकारण पनि आधुनिक प्रसूति विज्ञानमा बच्चा उल्टो छ भने योनीद्वारबाट सुत्केरी गराउनु भन्दा सिजेरियन गर्नु सुरक्षित मानिन्छ। उल्टो बच्चाको खुट्टाको स्थिति, तौल र गर्भवतीको पुट्ठाको हड्डीको बनावटबाट जोखिम आकलन गर्न सकिन्छ।

रोकथाम

बच्चा उल्टो बस्नाका कारण गर्भावस्थामै पत्ता लाग्ने हुनाले स्वास्थ्यकर्मीसँग नियमित जाँच गराउनुपर्दछ। गर्भवती जाँचका क्रममा पेटको माथिल्लो भागतिर टाउको छामिएमा, मुटुको धड्कन अलि माथिसम्म सुनिएमा बच्चा उल्टो बसेको आशंका हुन्छ। आजकल अल्ट्रासाउण्डले शुरूमै बच्चाको अवस्था थाहा पाउन असाध्यै सजिलो बनाएको छ।

अल्ट्रासाउण्डले ब्रीच (बच्चाको उल्टो बसाइ) मात्र होइन, गर्भे शिशु वा पाठेघरमा भएको जन्मजात खराबी पत्ता लगाउन, सालको अवस्थिति, पानीको मात्रा तथा तौल पत्ता लगाउन पनि मद्दत गर्छ।

पहिलो पटकको गर्भमा बच्चा उल्टो बसेको भए अप्रेशन उपयुक्त विकल्प हो। दोस्रो, तेस्रोपल्टको गर्भमा बच्चा उल्टो बसेको छ भने दक्ष डाक्टरको सहायताले पेट बाहिरैबाट बच्चा सुल्ट्याउने विधि सावधानीपूर्वक अपनाउन सकिन्छ।

बच्चा उल्टो बसेका बेला प्रसूतिका लागि अस्पताल नै जानुपर्छ। नवजात शिशुलाई कृत्रिम श्वास–प्रश्वास र सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन सक्छ। त्यसैले पनि लापरवाही गर्नुहुन्न।

comments powered by Disqus

रमझम