१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

इभानाका अनेक इच्छा

Share:
  

फ्यान्टा द हिडेन टे्रजर मिस नेपाल–२०१५ इभाना मानन्धर (२३) सफल व्यवसायी बन्न चाहन्छिन्। अमेरिकाको विल्किस् विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक उनी नेपालका महिलालाई सीपमूलक तालीम दिई आत्मनिर्भर बनाउन लागिपर्ने बताउँछिन्।

“सुदूरपश्चिमका महिलाको अवस्था नाजुक छ”, उनी भन्छिन्, “उनीहरूलाई सामाजिक र मानसिक रूपमा बलियो बनाउने लक्ष्य लिएकी छु।”

नरेश श्रेष्ठ

अधिकांश मिस नेपाल जस्तै इभानालाई पनि सञ्चार क्षेत्रमा रुचि नभएको होइन। “एउटा टेलिभिजन टक–शो गर्ने रहर चाहिं छ”, उनी भन्छिन्। चलचित्र क्षेत्र भने आफ्नो लागि परको कुरा भएको उनले बताइन्।

रियल स्टेट व्यवसायी इन्जिनियर बुबा र फेसन डिजाइनर आमाकी छोरी इभाना बुबालाई नै सघाउन ६ वर्षपछि नेपाल आएकी हुन्। तर, उपाधिसँगै उनको बाटो मोडिएको छ। अहिले आफूलाई पारिवारिक भन्दा सामाजिक जिम्मेवारीले घच्घच्याएको उनी बताउँछिन्। भन्छिन्, “बोलेर भन्दा काम गरेर देखाउन चाहन्छु।”


रेशम फिलिलीः गीत जस्तो छैन

कामेश्वर चौरसिया, विनय श्रेष्ठ, मेनुका प्रधान र शिशिर बाङ्देल।

गीतका कारण चर्चा कमाएको 'रेशम फिलिली' ले दर्शकको अपेक्षा पूरा गर्दैन।
पिरतीको छाता ओढाउन र रेशम फिलिली गीतबाट प्रदर्शनअघि नै चर्चा कमाएको चलचित्र 'रेशम फिलिली' प्रतिको दर्शकको आशा गलत थिएन। तर, ११ वैशाखदेखि प्रदर्शन भएको यो चलचित्रले लय गुमाएको छ।

हास्यप्रधान भनिएको रेशम फिलिली मा रेशम (विनय श्रेष्ठ) र हरिया (कामेश्वर चौरसिया) को पहाडे–मधेशी सम्बन्धका केही दृश्यले दर्शक हँसाउँछन्। फिल्मको सुरुआतमा सपना सँगालेर राजधानी छिरेका युवाका समस्या, वैदेशिक रोजगारका क्रममा म्यानपावर कम्पनीबाट हुने ठगीका चित्रणले मन छुन्छ। तर, जसै कथा बढ्दै जान्छ, पटकथाका कमजोरी खुल्दै जान्छन्। चलचित्रले पात्रको संवाद, हाउभाउ र अभिनयको बलमा हँसाउने क्षमता गुमाउँदै जान्छ। हँसाउनै भनेर राखिएका दृश्य समेत पाच्य लाग्दैनन्।

फिल्मका लेखक समेत रहेका निर्देशक प्रणव जोशी धेरै ठाउँ चिप्लिएका छन्। जस्तो कि, बजारमा नायकलाई पक्रन लखेटिरहेको खलपात्र बाटोमा मःमको वास्नाले मुग्ध हुन्छ र मःम खान पसलमा पस्छ। म्यानपावर कम्पनीले युवाहरूलाई कतार भनेर चितवनतिरको जंगल पुर्‍याउँछ। युवा ठगिएका छन् तर निर्देशकले सोचेजति बुद्धू छैनन्। चलचित्रमा बाख्री करणीको दृश्य हेर्नु पर्दा लाज लाग्छ। यस्तो दृश्य आवश्यक हुन सक्छ तर त्यस्तो दृश्यमा अपनाउनुपर्ने कलात्मकता देखिंदैन। ड्रोन मार्फत खिचिएका 'एरियल सट' गुणस्तरीय छैनन्। गुण्डाले रेशम र हरियालाई लखेटेको दृश्य अनावश्यक लम्ब्याइएको छ। फिल्मभित्रको फिल्म छायांकनका क्रममा भएको द्वन्द्वको दृश्य पनि उस्तै कमजोर छ। फिल्मका खलनायक दोर्जे (शिशिर बाङ्देल) को आन्दोलनकारीलाई पुराना टायर बेच्ने धन्दा असुहाउँदो लाग्छ।

हेर्नका लागि कामेश्वरको अभिनय र सुन्नका लागि कालीप्रसादको संगीतबाहेक फिल्ममा अर्थोक नयाँ केही पाइँदैन। फिल्मले उठाएको विषयवस्तुमाथि यसअघि धेरै फिल्म बनिसकेका छन्। कामेश्वरको उम्दा अभिनयले दर्शकको दिमागमा छाप छाड्छ। विनय र मेनुका प्रधानको अभिनय औसत छ। ब्रायन (कर्म) लाई दिइएको भूमिकाले उनको अभिनय क्षमतामा न्याय गरेको छैन।

संगीतकार कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीले गाएको पिरतीको छाता ओढाउन गीतको गतिलो फिल्मांकन हेर्न नपाउँदा पनि दर्शक निराश हुनसक्छन्। फिल्ममा नायकको हालत केटी घुमाउने छैन। उनले कल्पना गरेजस्तो लाग्ने यो गीत 'लिप्सिङ' विना नै बजिरहन्छ। केटा र केटी डाँडा–पाखामा घुमेको दृश्य मात्र देखिन्छ।

पोस्टरमै '२०७२ साल, प्रोड्युसर मालामाल' लेखिनुले पनि निर्माताद्वय अभिनेता विनय र माधव वाग्लेको ध्याउन्न चलचित्र राम्रो बनाउनुभन्दा पैसा उठाउनुमै रहेको प्रष्ट हुन्छ। लूट र कबड्डी जस्ता चल्तीका पछिल्ला फिल्मको अपेक्षा गर्ने दर्शकको चाहना यसको कमजोर पटकथा र संवादले पूरा गर्दैन। फिल्मले लगानी उठाउनु र पैसा कमाउनुलाई नै 'हिट' मान्ने हो भने अर्कै कुरा, नभए नेपाली चलचित्र उद्योगमा थप एउटा फिल्म बन्यो भन्नुबाहेक अर्को उपलब्धि रेशम फिलिली ले दिन सक्दैन।

अनुशील

comments powered by Disqus

रमझम