१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

टीम लीडर नेपाली

Share:
  
तेक्वान्दो प्रशिक्षक प्रकाश थापा (३४) अमेरिकाका कुशल कार्यक्रम व्यवस्थापकमा गनिन थालेका छन्।

२१ वर्ष पुरानो 'सान फ्रान्सिस्को ग्लोबल मूभी फेस्टिभल' मा 'ग्लोबल टीम लीडर' मा चुनिएपछि प्रकाश थापा चर्चामा छन्। आउँदो ७–१६ अगष्टमा हुने यो चलचित्र महोत्सवको महत्वपूर्ण पदमा चुनिने उनी पहिलो नेपाली हुन्। खुशीको कुरा त के भने थापा 'ग्लोबल टीम लीडर' बनेलगत्तै फेस्टिभलमा पहिलोपटक नेपाली चलचित्रहरु चकलेट र टाटा बाइ–बाइ ले पनि सहभागिता जनाउने भएका छन्। यसमा पनि थापाकै भूमिका छ। “फेस्टिभलमा विश्वका चलचित्रकर्मी र दर्शकले नेपाली चलचित्रमा पनि छलफल गर्नेछन्”, उनको भनाइ छ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित पार्क तेक्वान्दो स्कूलका प्रशिक्षक थापा अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसनको मान्यताप्राप्त प्रशिक्षक र क्लास बी अम्पायर समेत हुन्। सन् २०११ मा भएको साउथ एशियन आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा हेड अफ द टीम कोच बनेका थापाले खेलाडीका रुपमा पनि थुप्रै उपाधि जितिसकेका छन्।

थापाले सन् २००८ मा भएको युएस ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका थिए। २००७ मा बेलायतमा भएको आठौं ओपन तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप, २००४ मा कोरियामा आयोजित पहिलो अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिप लगायत प्रतियोगितामा समेत उनले भाग लिएका थिए। विख्यात मार्सल आर्ट खेलाडी ब्रुस लीबाट प्रभावित थापा खेल्न जानेर मात्र केही नहुने बताउँछन्। “यसलाई त आवश्यक परेका बेला जीवनमा प्रयोग पनि गर्नुपर्छ”, गोरखा इन्टरनेशनल ग्रुपका अध्यक्ष समेत रहेका थापा भन्छन्। उनको कम्पनीले बलिउडका कलाकार बोलाएर विभिन्न इभेन्ट समेत गर्दै आएको छ।

ङिमा पाखि्रन, अमेरिका

comments powered by Disqus

रमझम