२०-२६ वैशाख २०७२ | 3-9 May 2015

मजलिस– पुनर्प्रवेश

Share:
  
- क.दी.
१२ वैशाखको भैंचालाले भत्केको मजलिसघर पुगेर मेरो त्यो प्रथम विद्यालयको माटोको टीका निधारमा दलेर दिक्क मान्दै तल झर्दा मनमा यत्ति मात्र आयो– मेरो यो सरस्वतीको मन्दिर फेरि बनाइदेलान् त यिनीहरूले?

तस्वीरः मपुपु
अस्ति फेरि मैले मेरो पुरानो मजलिसघरको सिंढी चढें सत्तरी वर्षपछि। २००२ सालमा दरबार स्कूलबाट एसएलसी पास गरेर 'रानीपोखरी तरेपछि' मैले ती सिंढीहरू शायदै चढेको थिएँ होला। तर त्यो वैशाख १२ गतेको भैंचालामा मेरो मजलिसघर भत्केको देखेपछि एक पटक त्यहाँ पुगेर क्षतिग्रस्त दरबार स्कूलको पनि दर्शन गर्न मन लाग्यो र गएको थिएँ म, दुई दिनअघि। त्यहाँ पुगेर मेरो त्यो प्रथम विद्यालयको माटोको टीका निधारमा दलेर दिक्क मान्दै तल झ्रें म। र्झ्दा पनि मेरो मनमा यत्ति मात्र आयो– मेरो यो सरस्वतीको मन्दिर फेरि बनाइदेलान् त यिनीहरूले? कुन्नि!

त्यहाँ मैले 'नोस्टाल्जिक' भएर १९९५ साल फागुन महीनाको त्यो घमाइलो पूर्वान्ह सम्झें। म नौ वर्षको केटालाई दाजुले डोर्‍याए जस्तै गरेर त्यो सिंढी उकाल्नुभएको थियो। त्यहाँ भित्र गएर कसलाई हो भन्नुभयोः 'भाइलाई भर्ना गर्न ल्याएको'। भर्ना पनि भएँ म त्यसै दिन। त्यसपछि एक दुई वर्ष मैले त्यही 'घर' मा पढें अनि तला चढें 'फिफ्थ क्लास' (ऐलेको कक्षा ६) मा पढ्न दरबार स्कूलपट्टि। त्यसपछि बल्ल पो म 'स्कूल' मा पढ्ने जस्तो भएको थिएँ! त्यस बखत दरबार स्कूलमा पढ्नेहरूको शानै बेग्लै हुन्थ्यो। त्यो स्कूलको बयान 'गोभाप्रस' को 'गोरखा शिक्षा पहिलो भाग' मै पढेको थिएँ मैले। त्यसै बेलादेखि मेरो मनमा टक बसेको थियो दरबारस्कूल। मेरो मात्र होइन महाकवि देवकोटाको मनमा पनि आफ्नो 'अल्मा मातेर' को छविको छाप बसेको रहेछ। नत्र 'कुञ्जिनी' मा उनको गोरे राउतले अफगानिस्तानको अस्पतालको 'बेड' बाट पनि कसरी सम्झिन्थ्यो यस स्कूललाई “मौरी–कोठे लहरे इस्कुल् पानीदरबार बनेर जलमा/परी शहरहरूका घर झैं गुनगुन गरी मधूरो गीत गाउने” भनेर?

हिमाल खबरपत्रिकामा यो 'दृश्य सम्पदा' भन्ने स्तम्भ शुरू गर्न नाम राख्नुपर्दा मैले आफ्नो पैलो विद्या–आलयका रूपमा चिनेको दरबार स्कूलको 'मजलिस घर' सम्झें र त्यही नाम छानेको थिएँ। ऐले अस्तिको ठूलो भैंचालाको पहिला दिनमै त्यो भवन र पूरै दरबार स्कूल क्षतिग्रस्त भएको देखेर म स्मृति–भावुक (नोस्टाल्जिक) भएर माथि त्यतिका पुराना कुरा लेख्न पुगेछु। त्यसैले, आज क्यै नगरी हामी यसै स्कूलको वरिपरि घुमूँ। सम्झूँ पहिले दरबार स्कूल कैले बन्यो। महाराज जङ्गबहादुर बेलाइत पुगेर फर्केपछि उनले देखे आफ्ना भाइभतिजा भारदारहरूलाई इङ्गलिश नपढाई नहुने रहेछ। अनि आफ्नै थापाथली दरबार परिसरमा उनले एउटा स्कूल खोल्न लगाए। दरबारभित्रै बनेकाले स्वाभाविक रूपले त्यसलाई मान्छेले 'दरबारको स्कूल' भन्न थाले। पछि बिस्तारै त्यस नामको 'को' झ्रेर नामै बन्यो 'दरबार स्कूल'।

१९४२ सालमा वीरशमशेर महाराज भएपछि उनलाई त्यो स्कूल थापाथलीमा राखिरहनु उचित लागेन र उनले त्यसलाई आफ्नै दरबार नजिक सारे। अनि छेवैमा रानीपोखरीको डिलमा ऐलेको यो आकर्षक सेतो मौरीकोठे लामो भवन निर्माण गराइदिए स्कूलका लागि १९५० सालतिर। त्यसपछि हाम्रो स्कूलको त्यो भवन काठमाण्डूको महत्वपूर्ण 'ल्याण्डमार्क' भएर बसेको छ ऐलेसम्म। उसै बेला स्कूलको सँगै एउटा सभा समारोह गर्ने भवन पनि बनाउन लगाए महाराजले। त्यही हो मेरो यो ऐतिहासिक 'मजलिसघर'। स्कूलको इतिहासै बताउँदा भन्नुपर्छ २०२८/२९ सालमा नेपालमा 'नयाँ शिक्षा' प्रणाली लागू भएपछि धेरै स्कूलहरूका नाम परिवर्तन भएका बेला नेपाली भाषाप्रेमी गोपाल पाँडेको पहलमा दरबार स्कूल पनि 'भानु माध्यमिक विद्यालय' भएको थियो। तर, एक दशक जतिपछि यो फेरि 'दरबार स्कूल' नै भएको छ। कसैले यसलाई भानु माध्यमिक भन्दैन!

१९९० सालको भैंचालोले पनि दरबार स्कूलको छाना केही बिगारेको थियो रे, हामीले स्कूलमा सुनेको। छानाको मरम्मत गर्दा त्यसलाई केही अल्गो पारेर माथि सामानहरू पनि राख्न सकिने गरी होचो बुईंगल बनाइएको हो भनी बताउँथे हामीलाई स्कूलका बूढा पालेहरू। पालेहरूले अरू पनि भन्थे। पैले दरबार स्कूलमा बीचमा एउटा मात्र भर्‍याङ थियो रे! भैंचालोपछि स्कूलका दुई कुनामा, उत्तर र दक्षिणतिर एउटा एउटा भर्‍याङ थपिएको हो रे!

पैले नै भनिसकेको भए पनि फेरि भनूँ, नब्बे सालको भैंचालाले मजलिसघरको भने ठूलै नोक्सान भयो, त्यसको त नामोनिसानै मेटियो! अस्तित्वै सकियो। कसरी भने, दरबार स्कूलमा गाभिएर त्यो घर दरबार स्कूलको एउटा अङ्ग नै बन्यो। त्यसको र स्कूलका बीच भएको 'दशगजा' मासिएर त्यहाँ दुवैलाई जोड्ने एउटा 'पुलघर' बनाइयो!

विडम्बना भनूँ कि भाग्य नै भनूँ– आज आउनुपर्ने मेरो 'मजलिसको आँखा' लेखिसकेर पनि मैले दिन पाइनँ १२ गतेको भैंचालाले गर्दा। त्यस प्रकरणमा हाल्नका लागि ल्याण्डनका फोटोग्राफरले खिचेका दुई फोटोसँग तुलना गर्न हुने फोटो खिच्न यो हप्ता हाम्रा फोटोग्राफर धरहरा चढ्न जाने भएका थिए। ती अंग्रेज फोटोग्राफरले पुरानो धरहराको माथिबाट खिचेका धेरै मध्येका दुई चित्र, एउटा बागदरबारपट्टिको र अर्को खिचापोखरीपट्टिको मैले छानेको थिएँ मेरो लेखमा हाल्न। (हेर्नू फोटोहरू) तिनै दुई 'याङ्गल' बाट तस्वीर खिचेर ल्याउन हाम्रा क्यामेराम्यानलाई भनिएको थियो। उनीहरू घरहराको बार्दलीबाट ती फोटोहरू खिच्न लागेका बेला यो भैंचालो गैदिएको भए?

comments powered by Disqus

रमझम