२०-२६ वैशाख २०७२ | 3-9 May 2015

पुरानो शिल्प नयाँ निर्माण

Share:
  
- तुफान न्यौपाने
महाभूकम्पबाट ध्वस्त अमूल्य सम्पदालाई पुरानै शिल्पमा भूकम्प प्रतिरोधी बनाएर पुनःनिर्माण गर्नुछ।

तस्वीरहरुः गोपेन राई
बुङ्मतीस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर।
'विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार परिसर घुमें। विध्वंस मुटु निचोर्ने खालको छ। नेपाल र विश्वले अमूल्य सम्पदा गुमाएको छ।'

महाभूकम्प आएको पर्सिपल्ट आर्थिक सहयोग लिएर काठमाडौं उत्रिएका भूटानी प्रधानमन्त्री छिरिङ तोब्गेले गरेको यो ट्वीट काफी छ, नेपाली सम्पदामा पुगेको क्षति जनाउन। यहाँका ऐतिहासिक धरोहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का महानिर्देशक इरिना बोकोभाले यो विनाशले विश्वलाई स्तब्ध बनाएको बताएकी छन्। महाभूकम्पबाट काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र पूर्णतः ध्वस्त भएको युनेस्कोले जनाएको छ।

उपत्यकाका तीन जिल्लाका मठ–मन्दिर, चैत्य, पाटी–पौवा, डबली, सत्तल लगायतका सम्पदा क्षतिग्रस्त छन्। पुरातत्व विभागले उपत्यकाका ६० वटा मन्दिर भत्किएको १७ वैशाखसम्म गनेको छ। चाँगुनारायण, पशुपति र स्वयम्भू क्षेत्रमा महाभूकम्पले धेरै असर पुर्‍याएको छ। (हे. बक्स) पुरातत्व विभागले क्षतिको विवरण संकलनसँगै पुरिएका सामग्रीको सुरक्षामा ध्यान दिएको बताएको छ।

खोजी, सुरक्षा र निर्माण

उपत्यकाका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र तथा पशुपति, स्वयम्भू, बौद्ध र चाँगुनारायण विश्व सम्पदा सूचीमा समावेश छन्। ती क्षेत्रमा पुरिएका कतिपय सामग्री उद्धार नगर्दा फुट्ने, हराउने सम्भावना छ। पुरातत्व विभागले त्यस्ता सामग्रीको उद्धार र सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको जनाए पनि ढलेको धरहराको ईंटा चोरी भइरहेका खबर सार्वजनिक भइसकेका छन्। यसले त्यहाँको सुरक्षा प्रबन्ध प्रभावकारी नभएको देखाउँछ।

बेलाबेलामा मर्मत–सम्भार भएकाले दुई–दुई पटकको महाभूकम्प थेगेको पाटनको कृष्णमन्दिर।
पुरातत्वविद् प्रा.डा. सुदर्शनराज तिवारी सबभन्दा पहिले क्षति आकलन गरेर त्यो क्षेत्रलाई एकैछिन पनि सुरक्षा निगरानीबाट बाहिर राख्नु नहुने बताउँछन्। यस्तै, 'काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट' का डा. रोहित रञ्जितकारले कुन सामग्री, कहाँ, के कस्तो अवस्थामा छ भन्नेबारे फोटो तथा अरू प्रमाणका आधारमा ड्रइङ र डकुमेन्टेसन गरेर त्यसैका आधारमा नयाँ निर्माण हुनुपर्ने बताए। अबको निर्माण भने पुरानो शैली र भूकम्प प्रतिरोधी हुनुपर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन्। डा. रञ्जितकारका अनुसार, परम्परागत प्रविधिका कमजोरी हटाएर त्यही शैलीमा नयाँ बनाउँदा सम्पदाको 'भ्यालू' कायम रहन्छ। पुरातत्वविद् डा. तिवारी नयाँ इन्जिनियरिङ प्रणाली हावी हुँदा सम्पदाको पुरातात्विक 'भ्यालू' नासिनेतर्फ होशियार रहनुपर्ने बताउँदै भन्छन्, “पुरानो प्रविधि, शैली र कला छाड्नै हुँदैन।”

डा. तिवारीका अनुसार, भक्तपुरको ५५ झयाले दरबार, पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पाटनको कृष्णमन्दिर र बनेपाको चन्द्रेश्वरी मन्दिरको समय–समयमा जीर्णोद्धार गरिएको थियो। यी सम्पदा जोगिएका छन्। परम्परागत शैली, सामग्री र प्रविधि भए पनि समय–समयमा मर्मतसम्भार गर्दा टिक्ने उदाहरण यिनै धरोहर हुन्। आगामी निर्माणमा पनि परम्परागत तरीका छोड्नै नहुने आर्किटेक्ट प्लानर सूर्यभक्त साँगाछे बताउँछन्। “पुर्खाले जसरी बनाए, त्यसरी नै बनाउने, मर्मत गर्ने र टिकाउने हो”, उनी भन्छन्, “धरहरामा रङ पोत्नेबाहेक अरू केही गरिएको थिएन, १९९० सालपछि।”

परम्परागत शैलीमा जीर्णोद्धारको लागि काठ र ईंटाको काम गर्ने जनशक्ति लगभग सकिएकाले नयाँ पुस्तालाई तालीम दिन थालिहाल्नुपर्ने डा. तिवारीको सुझ्ाव छ। पुरातत्व विभागका महानिर्देशक दाहाल सम्पदाको क्षेत्रमा काम गर्ने इन्जिनियरहरू कम रहेको बताउँछन्। उनको विचारमा पर्याप्त बजेट र जनशक्ति भए ५–७ वर्षमा सम्पूर्ण सम्पदाको पुनःनिर्माण सकिनेछन्।


त्यो धरहरा

पुरुषोत्तमशमशेर राणा
१९९० सालको भूकम्पमा भत्किएपछि

पुनःनिर्माण गरिएको धरहरा

डम्बरकृष्ण श्रेष्ठ
१२ वैशाखको कम्पन थेग्न सकेन।

१२ वैशाख मध्यान्ह आएको महाभूकम्पको पहिलो शिकार करीब २०० वर्षको नेपाली इतिहासको साक्षी धरहरा बन्यो। १८८२ सालमा मुख्तियार भीमसेन थापाले बनाएको ११ तले धरहरा १८९० को महाभूकम्पमा जोगिएको थियो भने १९९० को महाभूकम्पमा भाँचियो। ९० सालमा भाँचिएको धरहरालाई श्री ३ जुद्धशमशेरले ९ तलामा पुनःनिर्माण गराएका थिए, १९९२ सालमा।

त्यो बेला धरहराबाट विगुल बजाएर जंगी तथा निजामती सूचना प्रसार गरिन्थ्यो। पछिल्लो समय पर्यटकीय केन्द्रको रूपमा विकास गरिएको धरहराबाट काठमाडौं नियालिंदै आइएको थियो। बिदाको दिन भएकोले शनिबार महाभूकम्प आउनुअघिसम्म धरहरा चढ्न १६७ जनाले टिकट काटेका थिए।

मुगल शैलीको धरहरा बनाउँदा ईंटाहरूलाई जोड्न सुर्की, चून, मास र चाकुको मिश्रणबाट बनेको बज्र प्रयोग गरिएको थियो। भीमसेन थापाले वि.सं. १८८१ मा 'राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजले वार्षिक भारु २ लाख दिएर अधीनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीक' को रूपमा अहिलेको धरहराको दक्षिण–पश्चिमपट्टि ११ तले यस्तै मिनार बनाएका थिए, जुन १८९० को भूकम्पमा परेपछि फेरि उभिन पाएन। (हे. [http://nepalihimal. com/article/599](http://nepalihimal. com/article/599)


उपत्यकाको सम्पदामा पुगेको क्षति

धरहरा सम्पूर्ण रूपमा नष्ट।

हनुमानढोका दरबार क्षेत्र

हनुमानढोका दरबार क्षेत्र पूरै चर्किएको।

नौ तले दरबारको छानो खसेको।

विष्णु मन्दिर, माजु देवल मन्दिर, भगवती मन्दिर, महादेव मन्दिर, कृष्ण मन्दिर, दश महाघर मन्दिर, प्रताप मल्लको सालिक र शिखर शैलीको महादेव मन्दिर, कागेश्वरी मन्दिर, जगन्नाथ मन्दिर छेउछाउका पाँच साना मन्दिर, काष्ठमण्डप र यसको उत्तरतर्फको शिखर शैलीको सानो मन्दिर ध्वस्त।

तलेजु मन्दिरमा आंशिक क्षति।

महाविष्णु मन्दिर चर्किएको।

रानीपोखरी मन्दिरमा क्षति।

चाँगुनारायण

सेतो गुम्बा, किलेश्वर मन्दिर, अमात्य सत्तल लगायत सम्पूर्ण सत्तल ध्वस्त।

छिन्नमस्ताको मन्दिरमा आंशिक क्षति।

स्वयम्भू

मुख्य चैत्य र बौद्धनाथको त्रयोदश भुवनको चैत्य चर्किएको।

अनन्तपुर, शान्तिपुर, देवधर्म महाविहार ध्वस्त।

प्रतापपुरको जग भत्किएको।

थापाथली–त्रिपुरेश्वर

त्रिपुरेश्वर महादेवको मन्दिर, हेम–हिरण्य मन्दिर र सत्तलहरू ध्वस्त।

पशुपति

गुह्येश्वरी मन्दिर, किराँतेश्वर सत्तल, आर्यघाटको सेतो शिवालय, पञ्चदेवल, शंकराचार्य मन्दिर, विश्वरुप मन्दिर, मृत्युञ्जय महादेवको मन्दिर, चन्द्रेश्वर सत्तल, राममन्दिर, लक्ष्मीनारायण मन्दिर, गोरखनाथ मन्दिर, भण्डारघर र पशुपतिको पूर्वतर्फको पाटी र उत्तरतर्फका सत्तलहरु ध्वस्त।

जयवागेश्वरी मन्दिरको गजुरसहित माथिल्लो भाग भत्केको।

ललितपुर

चार नारायण र हरिशंकर मन्दिर ध्वस्त।

मूलचोकको तलेजु मन्दिरको छानो चर्किएको।

सुन्दरी चोक र सोह्रखुट्टेका दुइटा पाटी ध्वस्त।

शंखमूलको जगतनारायण मन्दिर ध्वस्त।

बुङ्मतीको रातो मत्स्येन्द्रनाथको मन्दिर ध्वस्त।

भक्तपुर

वत्सलाको मन्दिर, फसिदेवल, हरिशंकर सत्तल, केदारनाथ मन्दिर, लाल बैठक र न्यातपोल मन्दिर अगाडिका सम्पूर्ण साना मन्दिर ध्वस्त।

न्यातपोल मन्दिरको छानो चर्किएको।

संग्रहालय/म्यूजियम

चाँगुस्थित दुई संग्रहालय ध्वस्त।

राष्ट्रिय संग्रहालय, पाटन दरबार संग्रहालय चर्किएको।

comments powered by Disqus

रमझम