२०-२६ वैशाख २०७२ | 3-9 May 2015

जनताले थेगे अब राज्यको पालो

Share:
  
- रघु पन्त
जे–जति सहयोग आएको छ, राज्यले जे–जति सक्छ त्यसलाई युद्धस्तरमा परिचालन गरेर पीडितमाझ पुर्‍याउनुपर्छ, भूकम्पले ध्वस्त पारेको उपत्यका, हिमाल, पहाड सबैतिर एकसाथ पुनःनिर्माण थाल्नुपर्छ।

देवकी बिष्ट
खुला स्थानको अभावमा नारायणहिटी संग्रहालय परिसरभित्र शरण परेका भूकम्प पीडित।
हजुरआमाको काखमा बसेर हजुरबुबाको मुखबाट १९९० सालको भुईंचालोबारे अनेकौं पटक सुनेको मैले २०७२ सालमा झ्न्डै त्यत्रै भुईंचालोको प्रत्यक्ष अनुभव गरें। यस्तो अनुभव भावी पुस्ताले गर्न नपरे हुन्थ्यो। के हामी त्यस्तो नेपाल बनाउन समर्थ हुनेछौं? अब सम्पूर्ण नेपालीको ध्यान र प्रयत्न त्यतातिर केन्द्रित हुनुपर्छ।

प्रकृतिको वरदान र श्राप मान्छे हेरेर लाग्दैन। उसका प्रकोप र प्रलयले सबैलाई पीडित बनाउँदा रहेछन्, साधन र सुन्दरता सबैका लागि भए जस्तै। त्यसैले पृथ्वी र प्रकृतिको सुरक्षा सबैको साझा दायित्व बन्दोरहेछ। पृथ्वीलाई सुरक्षित राखेर त्यसमा व्यवस्थित ढंगले बस्न सके, प्रकृतिको सम्मान गर्न सके जीवन बढी सुरक्षित–व्यवस्थित बन्दो रहेछ। यसपल्टको भूकम्पले सिकाएको यो पाठ जीवनमा कार्यान्वयन गर्न सकौंला त? आ–आफ्नो ठाउँबाट यसका लागि प्रयत्नशील हुनैपर्छ।

ठाउँको अभाव

सानातिना भूकम्पले हल्लाउँदा एकछिन घर बाहिर निस्कने बानी परेको मैले यसपल्ट भने त्यसो गर्न सकिनँ। १२ गते भूकम्प थामिएपछि मात्र बाहिर निस्कन सकें। दुइटी छोरी, साली र भेट्न आएका दुई साथी विना चोटपटक बाहिर निस्कन सक्दा मैले सबभन्दा पहिले दिवंगत पितालाई सम्झ्िएँ। २०४३ सालमा यो घर बनिरहँदा म पञ्चायती सरकारको जेलमा थिएँ। बुबा र माइलो भाइको रेखदेखमा बनेको घर बलियै रहेछ। जुनसुकै बेला आउनसक्ने भुईंचालोलाई ध्यानमा राखेर घर बनाउनु पर्दोरहेछ।

भूकम्पको झ्ट्काबाट सामान्य अवस्थामा आएपछि छिमेकीहरूको खोजखबरतिर लागियो। वरपर केही घर भत्के पनि कोही हताहत भएका थिएनन्। त्यसपछि आउन थालेका समाचार भने अत्यन्त दुःखद् थिए। सम्पदाको भण्डारका रूपमा रहेका उपत्यकाका तीनवटै दरबार परिसर, बुङ्मती, खोकना लगायत देशका अनेक सम्पदा क्षेत्र ध्वस्त भएको खबरले मन थाम्नै सकिएन। काठमाडौं र ललितपुरका भूकम्प प्रभावित क्षेत्रहरू हेरेर आवश्यक सल्लाह गर्न भनी १३ गते खाना खाएर निस्कँदा विष्णुमती नदीको दुवै किनारामा मानिसहरू प्लास्टिकको ओतमुनि कोचाकोच बसिरहेका थिए। त्रसित मानिसहरू जताततैका स–साना खाली ठाउँमा अत्यन्त अप्ठ्यारो सहेर ज्यान जोगाइरहेका थिए।

हाम्रो टोली सैंबु भैंसेपाटीहुँदै बुङ्मती पुग्यो। यही वर्ष मत्स्येन्द्रनाथको १२ वर्षे मेला लाग्नेथियो। त्यसैले रथ बुङ्मतीमै बनाएर अलिपरसम्म तानेर राखिएको थियो, शिखर शैलीको मत्स्येन्द्रनाथको मन्दिर थिएन। सँगैको भैरव मन्दिर पनि भत्केछ। पुरानो नेवार वस्ती बुङ्मती नै ध्वस्त थियो। ठाडा रहेका अधिकांश घर चर्केका थिए। मानिसहरू चोक–चउरमा प्लास्टिकको ओतमुनि थिए। रातो मत्स्येन्द्रनाथको घर मानिने सुन्दर मत्स्येन्द्रबहाललाई महाभूकम्पले क्षतविक्षत बनाएछ। भूकम्पको विनाश लीलाले मन रन्थनिएको थियो। त्यही बेला वरिपरिका घरहरूलाई पीङ झैं मच्चाउँदै, ढाल्दै भूकम्प आयो। धन्न कसैलाई केही भएन। हामी खोकना जाने कार्यक्रम रद्द गरेर पुल्चोक फर्कियौं।

उपत्यकामा खुला ठाउँ र पार्कहरूको अभाव यसपालि धेरै खट्कियो। उपत्यकामा थप २०/२५ टुँडिखेल र थुप्रै पार्क बनाउनु जरूरी छ। सरकारले यस्ता खुला मैदान र पार्कहरू बढाउनैपर्छ। अर्कोपल्ट यस्तै भुईंचालो आयो भने खुला ठाउँ नभएरै हजारौं मान्छे मर्न सक्छन्।

राष्ट्रिय संकल्प

मर्नेहरू त मरेर गैगए, आफन्तजनहरू ठूलो पीडामा छन्। त्यो पीडामा कसरी मलम लगाउने, कसरी जनजीवनलाई छिटोभन्दा छिटो सामान्य–सहज बनाउने भन्नेमा सबैको प्रयत्न केन्द्रित हुनुपर्छ अब। महाभूकम्पले उपत्यकाका सर्वाधिक मह140वपूर्ण सांस्कृतिक केन्द्र र सम्पदाहरू पनि ध्वस्त पारेको छ। पहिलेको मौलिक स्वरुपमा अझ् बलियो गरी तिनीहरूको पुनःनिर्माण गर्ने, वरपरका स्थानलाई पहिलेको भन्दा फराकिलो पार्ने काम तदारुकताका साथ थाल्नुपर्छ। भत्केका सम्पदाहरूको पुनःनिर्माण र चर्केका सम्पदाहरूको मर्मत–संरक्षणको कार्य राष्ट्रिय चुनौतीका रूपमा खडा छ। यो काम गर्न सकिएन भने उपत्यकाले पर्यटकहरूको आकर्षण गुमाउनेछ। पर्यटकहरूको अर्को आकर्षण क्षेत्र हिमाली भूभागका गाउँहरूलाई पनि महाभूकम्पले ध्वस्त पारेको छ। थुप्रै पर्यटक भूकम्पको चपेटामा परेका छन्। ती क्षेत्रको पुनःनिर्माणमा समेत तत्काल ध्यान जानुपर्छ।
सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रे र गोरखाका साथसाथै उपत्यकाका पीडितहरूले यथेष्ट आर्थिक, भौतिक सहायता पाउनुपर्छ। जनताको नाममा जम्मा भएको पैसा प्रधानमन्त्री कोषमा थन्क्याएर यही लोसो पाराले चल्ने हो भने हामी आर्थिक–सामाजिक रूपमा वर्षौं पछिपर्नेछौं। सरकारले पुग्दो आर्थिक सहायताका साथसाथै भूकम्प पीडितहरूलाई घर पुनःनिर्माणका लागि नाममात्रको व्याजदरमा वा निर्व्याजी रूपमा दीर्घकालीन ऋण दिन थाल्नुपर्छ।

नेपाल र नेपालीलाई आइलागेको यो चुनौतीको सामना एकताबद्ध भएर गर्नुपर्दछ। सानातिना स्वार्थ र लोभहरूले हामीलाई कमजोर नबनाओस्, हाम्रो स्वाभिमान निर्बल नहोस्। हामीले यो संकटबाट छिटै पार पाउँछौं भनेर अठोटका साथ अघि बढ्ने बेला हो, यो। चुनौती र अप्ठ्याराहरूलाई पराजित गर्दै सबै मिलेर पुनःनिर्माणका लागि राष्ट्रिय संकल्प गर्नुपर्दछ।

अवसरमा परिणत गरौं

संकटलाई अवसरमा रूपान्तरण गरेका देश विश्वमा थुप्रै छन्। चीन र जापानले यस्ता प्राकृतिक संकटहरूको सामना गर्दै आफूलाई संसारमा शक्तिशाली राष्ट्रका रूपमा उभ्याएका छन्। नेपालले पनि १९९० र त्योभन्दा पहिलेका भुईंचालोहरू सामना गर्दै आफ्नो पुनःनिर्माण गरेको हो। अहिले त हामीले विश्वभरिबाट सहयोग र सद्भावना पाएका छौं। आफ्नै स्रोत, साधन, क्षमता र योग्यतामा मुख्य रूपले भर पर्दै विदेशी सहयोगको समेत ठीक ढंगले उपयोग गर्न सक्यौं भने हामी अहिलेको संकटलाई पुनःनिर्माणको अवसर बनाउन सक्छौं।

जस्तोसुकै संकटको बेला पनि एउटा स्वतन्त्र देशले आफ्नो स्वाभिमान र राष्ट्रिय अस्मितामा हस्तक्षेप गर्न दिंदैन, सहयोगको नाममा थिचोमिचो सहँदैन। हाम्रो यो संकटमा सहयोग गर्ने नाममा अनावश्यक मानिस प्रवेश गराउने र आफूले गरेको सहयोगलाई अतिरञ्जित रूपमा प्रचार गर्ने केही मानिसका गलत प्रवृत्तिको आलोचना गर्दै अनावश्यक हस्तक्षेप रोक्नुपर्छ।

यतिबेला हामीलाई सबै मित्रराष्ट्रको सहयोग–सद्भाव आवश्यक छ। हाम्रो पुनःनिर्माण कार्यको लागि निकट छिमेकीहरूको सहयोग त अझ् बढी आवश्यक छ। त्यसको लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।

सबभन्दा बढी धन्यवादका भागीदार नेपाली जनता हुन्, जसले एउटै मैदान, चोक र त्रिपालमुनि तराई, पहाड र हिमालका धनी, गरीब सँगै बसेर संकटको सामना गरे। उनीहरूले बेमौसममा परेको पानी एकसाथ झेले, एउटै आकाश ओढे, आफूसँग भएको बाँडेर खाए अनि एकअर्कालाई सघाए। एउटाको दुःखमा अर्को रोयो, अर्कोको आफन्त बाँचेको समाचारमा आँसु पुछेर हाँस्यो। नेपाली जनताले आफूबीचको यो युगौं पुरानो मेल, भाइचारा र सद्भावको शक्तिले यसपालिको भुईंचालोले ल्याएको संकटको सामना गरे।

अब पालो राज्य र राजनीतिक दलहरूले आफ्नो उपस्थितिको औचित्य सावित गर्नुपर्छ। मुख्य रूपले सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरू संकटको गाम्भीर्य बुझन समर्थ हुनुपर्छ।

comments powered by Disqus

रमझम