चट्याङ बनेर कृष्णकुमारी र उनका पति पदमबहादुर (८६) श्रेष्ठको कानमा बज्रेको यो खबर उनीहरूको मनले पत्याउन मानिरहेको छैन। चौतारामा २५ वर्षदेखि शिक्षक रहेका बैगुनधुरा–७ झापाका सुरेश गएको दशैंमा आमाबाबुको आशीर्वाद लिएर फर्किएका थिए। उनी श्रीमती विष्णु र कान्छो छोरा सुजिनका साथ चौतारामा बस्थे। उनीहरूको जेठो छोरो युजिन रसियामा मेडिसिन डाक्टरी पढिरहेका छन्।
गौरादह–४ का मोहनलाल गिरीलाई बेलाबेला मामा भन्दै फोन गरिरहने दुइटी भाञ्जी पनि १३ वैशाखको भूकम्पमा परे। अर्का मामा भीमलालसँग काठमाडौंको गौशालामा बसेर पढिरहेका समीक्षा (१२) र सोनु (१४) लामो समय गौरादह मावलीमै बसेका थिए। चञ्चले दिदीबहिनीको शव घरको भग्नावशेषबाट निकालेर पशुपतिमा दाहसंस्कार गरिएको खबरले झापाको यो टोल शोकमग्न छ। “भान्जीहरू टेलिभिजन हेरिरहेका बेला परे रे”, हातमा उनीहरूको फोटो लिएका मोहनलालले गला अवरुद्ध पारे, “आँखाले देखेन, मनले पत्याइरहेको छैन।”
वीरबहादुर दमक–११ को एउटा सुन पसलमा कालिगडी र हीरादेवी डकर्मीको काम गर्छिन्। रमेशले त्यही शनिबार बिहान फोन गरेर आफू संभवतः आउँदो साता अमेरिका उड्न सक्ने बताएका थिए। उच्चमावि पढ्दा दमकका सुन पसलहरूमा कालिगडको काम गरेका हँसमुख रमेश पछिल्लो समय पुनर्वास भएर विभिन्न मुलुक पुगेका भूटानी शरणार्थीहरूले मगाएका सामान दमकबाट कुरियर गरी पठाउँथे। त्यही क्रममा उनी महीनामा सरदर दुई पटक काठमाडौं आउजाउ गर्थे। टोलको एउटा बोलाइलो तन्नेरी भूकम्पमा परेको खबरले दमक–१० को सुकुम्बासी बस्तीमा शोक छाएको छ।
फेरि विदेश जाने भन्दै काठमाडौंस्थित म्यानपावर एजेन्सीमा पासपोर्ट बुझ्ाउन २० चैतको बिहान झापाकै शिवसतासी–५ स्थित घरबाट हिंडेका रेवती गौली (३८) को मोबाइलमा १२ वैशाखको मध्यान्हपछि परिवारका सदस्यले सयौं पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। रेवतीले त्यही बिहान ८ बजे बालाजुबाट घरमा फोन गरेका थिए। १७ वैशाख दिउँसो आएको फोन भने प्रहरीको थियो, जसले बालाजुको धौलागिरी गेष्ट हाउसको भग्नावशेषबाट रेवतीको शव झ्िकिएको जानकारी दियो। “पहिल्यै १२ वर्ष विदेश बसेर आएको थियो”, १८ वैशाखमा बाकसमा भरिएर आएको छोराको शव सुम्सुम्याउँदै पर्शुराम गौली (७०) ले भने, “यो उमेरमा मैले छोरालाई मट्टी दिनुरहेछ।”
उता, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका नरि कामी (५९) लाई वैशाख १२ गते राजधानीबाट आएको फोनले बेहोशै बनायो। वैदेशिक रोजगारीका लागि दुबई जान लागेका उनका छोरा हरि (३०) काठमाडौंको गोंगबुस्थित रूपाकोटी गेस्टहाउसमा पुरिएर मृत्यु भएको खबर थियो, त्यो। “अघिल्लो बिहान ९ बजे फोन गरेर म्यानपावरको मान्छेले भोलि–भोलि भन्छ, भोलि १२ गते पनि उडाएन भने घर आउँछु भनेको थियो”, सकी–नसकी नरिले सम्झिए, “अब सबै खत्तम भयो।”
दुबई उड्नका लागि हरि तेस्रो पटक गत २५ चैत ऋणको थैलो बोकेर काठमाडौं गएका थिए। उनले गाउँलेहरूबाट लिएको रु.२ लाखमध्ये रु.१ लाख ५० हजार कञ्चनपुरकै सुडा–२ सिसैयाका म्यानपावर एजेन्ट उत्तम साउदलाई बुझाएका थिए। दम र मुटुका रोगी नरि छोराको काजक्रियामा बस्न नसक्ने भएपछि बाजुराको मार्तडीबाट तीन दिन लगाएर पिपरैया झ्रेका कासी कामी (५७) भतिजाको किरियामा बसे। भुईंतले घरमा ठाउँ नभएकोले गोठमा काका ससुरासँगै २८ वर्षीया रुक्मणी १३ र १० वर्षका छोराहरू लिएर किरियामा बसेकी छन्। “९ गते फोन गरेर चिन्ता नलिनू, दुई–चार महीनामा ऋण उकास्छु, छोराहरूलाई राम्ररी पढाउनुपर्छ भन्नुभएको थियो”, रुक्मणी भन्छिन्।
चार महीनाअघि लिएको ऋणको ६० प्रतिशत ब्याज बुझाउन लिएको रु.४० हजार ऋण पनि हरिको शव पिपरैया पुर्याउँदैमा सकिएको छ। अब घरबारी बेच्नुपर्ने अवस्था आएको नरिले बताए। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार, काठमाडौंमा हरिसहित सुदूरपश्चिमका १० जना महाभूकम्पमा परेको सूचना छ।