त्यो दिन बुवा ललितपुर, दाइ काठमाडौं र आमा तनहुँ घरमा हुनुहुन्थ्यो। आफू सुरक्षित भए पनि त्यस्तो बेला परिवार, इष्टमित्र, साथीभाइबाट बेखबर भएर बस्नुपर्दा असाध्यै निरीह अनुभव भयो। भूकम्पको थर्कन थेग्न सक्ने घर बनाउन र मापदण्डभन्दा अग्लो नबनाउन सल्लाह दिंदा नटेर्ने आफ्ना सेवाग्राहीसँग चर्काचर्की गरेको पनि याद आयो। अन्तरमनले भन्यो– “हाम्रो टीमको डिजाइनमा बनेका एउटै घर भत्केका छैनन्, कोही मरेका छैनन्।” बारम्बारको थर्कन खेप्दै बानेश्वरबाट शहीदगेट पुगेर यस्सो अगाडि हेरेको, छैन धरहरा। धरहरा नदेखेपछि सातोपुत्लो उड्यो। बाटामा ढलान घरहरू खासै भत्केको देखिएको थिएन।
सुन्धारा क्षेत्र आतंकित थियो। थुप्रै सर्वसाधारण, सुरक्षाकर्मी युद्धस्तरमा जुटेका थिए। बुल्डोजर र एम्बुलेन्सको लर्को थियो। अर्काथरी रमितेहरूको भीडले आकाशे पुल भाँच्ला कि जस्तो भएको थियो। सुरक्षाकर्मीले माइकिङ गरेर टुँडिखेलभित्र जान भनेपछि भीड अलि हट्यो। टुँडिखेलभित्र रामदेवको योग शिविर शरणार्थी शिविरमा परिणत भइसकेको थियो। म चाहिं टुँडिखेलको वल्लो र पल्लो छेउतिर भौंतारिरहेको थिएँ। त्यसैबीच बुवाको आवाज आयो। आमा–बुवा सुरक्षित हुनुभएको खबरले सास आयो। दाइलाई फोन नलागेपछि म्यासेज गरेर आफू सुरक्षित रहेको खबर पठाइसकेको थिएँ। अब कसैको घरमा मानवीय क्षति भए/नभएको बुझन थालें। 'म चिहानको हैन, सुरक्षित बासको डिजाइनर हो' भन्दै सम्झ्ाएको काम लागेछ।
तर, देशभर अपार मानवीय क्षति भइरहेको थियो। म आफैं अमूल्य सम्पदा क्षणभरमै सखाप भएको दृश्यको लाचार साक्षी बनिरहेको थिएँँ। गह्रौं पाइला उचाल्दै आफ्नो डेरा रहेको रानीवनतिर लागें। त्यहाँका पुराना घरहरू धेरै भत्किएछन्। ढुंगेधाराभन्दा अलिकता भित्र बिहान सर्लक्क देखेको चारतले घर जगैबाट भाँचिएर पसारिएको थियो। त्यहाँ मानवीय क्षति नभएको जानकारीले ढाडस दियो, तर सानो भर्याङको रुम्बा डिपार्टमेन्टल स्टोरको खबरले हृदयलाई विदीर्ण बनायो। भोलिपल्ट त्यहाँ पुग्दा २० जनाजति मान्छे च्यापिएको, केहीको लाश निकालिएको थाहा भयो।
१२ वैशाख साँझ् दृश्य फेरियो। घरछेउका पालहरूमा बत्ती पिलपिलाउन थाले। म पनि पालमै छु। वरिपरिका पालहरूमा आमा बच्चा स्याहार्दै थिए, पुरुष खानेकुराको जोहो गर्दै थिए। चार दिनको पाल बसाइँ आतंकितहरूलाई सम्झ्ाउने, सरसर्ती वरिपरिका घर हेर्ने, आफूले डिजाइन गरेका घरको हालखबर बुझने, खासै क्षति नभएका घरका घरधनी र डेरावाललाई सुरक्षित तरीकाले बस्न प्रोत्साहन गर्ने जस्ता क्रियाकलाप गरेर बिताइयो।
भुईंभन्दा बढी मन हल्लिएका छन् सबैका। मानवीय र भौतिक क्षतिको हिसाबकिताब छैन। देश शोकमा डुबेको छ। आफन्त र इष्टमित्र गुमाएका छन्, धेरैले। जिन्दगीभरिको कमाइ बाटोछेउमा थुप्रो बनेको छ। यो अवस्थामा अनेक अफवाह फिंजाउनेहरू पनि देखिएका छन्, तिनीहरूबाट सचेत रहनुपर्छ। एउटा विपत्ले सय विपत् नजन्माओस्।
नयाँ घरका लागि बलियो–राम्रो उपाय पछ्याउँदै गरौंला, सम्पदा पुनःनिर्माण र जीर्णोद्धार पनि बिस्तारै गरौंला। अहिलेको पहिलो प्राथमिकता भने घरसँगै भत्केका मनहरूमा मलमपट्टी हो। मृतकका परिवारलाई राहत दिने, घरबारविहीन भएकालाई पुनर्स्थापन गर्ने र सबैलाई सामान्य स्थितिमा फर्काउने काममा ध्यान जाओस्। नेपाललाई विपत्तिको भड्खालोबाट छिट्टै उम्काउन पहल गर्नेहरूको जय होस्।